मानव समाजको आधारस्तम्भ मानिने विकास र विनाश मानवजातिसँगै जोडिएका हुन्छन्। प्रजातन्त्रको वास्तविक अर्थ सन्तानको पालनपोषणजस्तै जाति, धर्म, खानपान, शिक्षा, स्वास्थ्य, विश्व प्रविधिको ज्ञान, अनुशासन, संस्कार, संस्कृति र सभ्यतामा बिना भेदभाव समानताको व्यवहार गर्नु हो। पिता, माता र अग्रजहरूले आफ्ना सन्तानलाई कर्तव्य, ठूलालाई आदर, सानालाई माया, परिवारप्रति जिम्मेवारीको बोध गराउँदै चेतनशील र सीपमूलक बनाउने प्रयास गर्नु नै सच्चा प्रजातन्त्र हो।
त्यस्तै, हिन्दुत्व मानवीय स्वभाव हो। जब मानिसमा विचार, बुद्धि, तिखारिएको मन र अहंकारबाट टाढा रहने प्रयास हुन्छ, तब त्यसलाई प्रजा भनिन्छ। शुक्रनीति, बृहस्पति नीति, कौटिल्य, विदुरनीति जस्ता प्राचीन ग्रन्थहरूले शासकहरूलाई यही विधि अपनाएर शासन गर्न उपदेश दिएका छन्।
नेपाली नेताहरूले यस्ता मौलिक प्रणाली नअपनाएकै कारण एकपछि अर्को गर्दै असफल हुँदै आएका छन्। नीतिविनाको कुनै पनि नेता विश्वमा सफल हुन सक्दैन। मौलिकताको ज्ञान नहुनेबाट देशको बागडोर सम्हालिएमा अहिलेको जस्तै अस्तव्यस्त अवस्था सिर्जना हुन्छ। प्रजातन्त्रसहितको हिन्दु राष्ट्रले मौलिकताको अन्वेषण गर्छ। नेपाली जनताको माग पनि प्रजातन्त्रसहितको हिन्दु राज्यप्रति नै उठिरहेको छ।
शासन प्रणाली र मानवीय मूल्य
प्रजातन्त्रमा शासन गर्ने शासकहरूले जनतालाई आफ्ना छोराछोरीसरहको दर्जा दिनुपर्छ र त्यसलाई व्यवहारमा पनि कार्यान्वयन गर्नुपर्छ। यस्तो स्थान दिएर गरिने शासन प्रणाली नै प्रजातन्त्र हो। प्रजातन्त्रमा कामको जिम्मा दिँदा योग्य र सक्षम व्यक्तिलाई मात्र जिम्मेवारी दिनुपर्छ, आफ्नै सन्तान भए पनि।
देशका शासन प्रणालीमा न्यायपालिका, व्यवस्थापिका र कार्यपालिका गरी तीन प्रमुख अङ्ग हुन्छन्। व्यवस्थापिकाले कार्यपालिकाबाट प्राप्त विधेयकहरूमाथि जनताको हितलाई ध्यानमा राखेर छलफल गरी पारित गरेपछि त्यो कानुन बन्छ। यो कानुन प्रधानमन्त्रीमार्फत विभिन्न मन्त्रालयहरूमा पुग्छ र कार्यान्वयनमा आउँछ। यदि मन्त्रीहरू र कर्मचारीहरू इमानदार, सक्षम र योग्य भएमा जनताप्रति लक्षित कार्यहरू सफलतापूर्वक अगाडि बढ्छन्।
तर, मानव स्वभावले गर्दा प्रायः मानिस स्वार्थी हुन्छन्। यदि मन्त्रीहरू र कर्मचारीहरू स्वार्थी भए भने जनताप्रति अन्याय हुन पुग्छ। त्यस्तो अवस्थामा जनताले न्यायालयको शरण लिई न्यायको आशा गर्छन्। हिन्दु दर्शनले शासक प्रजाप्रति मातृवत् (आमाले झैँ) निष्पक्ष हुनुपर्छ भन्ने मान्यता राख्दछ। प्रणालीको अर्थ ठूला जलमार्गहरूलाई जोड्ने सानो जलस्रोतलाई पनि भनिन्छ।
प्रजातन्त्रमा पनि योग्य र सक्षम व्यक्तिहरूद्वारा सम्पूर्ण बन्धुबान्धव, इष्टमित्र, छरछिमेकी, नातापाता, मातृकुल, पितृकुल, छोरा, बुहारी, फुपुको कुल, मामाको कुल, वर्ण, जातजाति र वर्णसङ्कर सबैको हितगर्ने, पिरमर्का बुझ्ने र तुरुन्त न्याय दिई समन्वय गर्ने शासन प्रणाली हुनुपर्छ। यसैको जगमा नेपाल प्रजातन्त्रसहितको हिन्दु राष्ट्र हुनुपर्छ भन्ने मान्यता हिजो थियो, आज पनि छ र भोलिका लागि पनि यही पद्धति विकसित हुनुपर्छ। यो देशभक्त र राष्ट्रभक्त नेपालीको माग हो। विदेशीका भरियाहरू भने राज्यको धर्म हुँदैन भन्दछन्, तर राज्य ढुङ्गो माटो मात्र नभई मानिस, वनस्पति, पशु, किरा फट्याङ्ग्रा, चराचुरुङ्गी, जलचर, स्थलचर, नभचर, जातजाति सबैको समग्रता हो र यी सबैको धर्म हुन्छ।
हिन्दु धर्मले भेदभाव नगरी सबैको परोपकार र हितको कुरा गर्छ। यसले हिन्दू, मुस्लिम, बौद्ध, शिख, पारसी, क्रिश्चियन सबैको कल्याण चाहन्छ र मानव स्वतन्त्रताको सम्मान गर्छ। नेपालमा हिन्दुइतर बौद्ध, किरात लगायत थुप्रै धर्म मान्ने मानिस भए पनि ९२ प्रतिशत नागरिक ॐकार परिवार मान्ने छन्। 'बहुजन हिताय, बहुजन सुखाय' को सिद्धान्तको अक्षरशः परिपालन प्रजातन्त्रसहितको हिन्दू राष्ट्रबाट हुन्छ। संस्कृति र संस्कार राज्यसँग जोडिएको हुन्छ। हिन्दूत्वले 'आत्मवत् मन्यते जगत्' भन्छ। यसकारण विश्वका विकसित र अविकसित सबै राष्ट्रका नागरिक र मानवलाई हिन्दूत्वले फराकिलो आँखाले हेर्छ।
यदि नेपाल विश्वको एकमात्र हिन्दु राष्ट्र बन्न सकेमा यहाँका संस्कार, संस्कृति र सभ्यता हेर्न विश्वभरबाट पर्यटकहरूको ओइरो लाग्छ। यसले विदेशी मुद्रा सञ्चिति भई देश समृद्ध बन्छ, र नेपालीहरू सुखी हुन्छन्। बहुमतको धारणा हिन्दूत्वप्रति छ र वैश्विक मान्यता पनि बहुमतले अल्पमतमाथि शासन गर्छ भन्ने हो। तर, नेपालका शासकहरू अज्ञानी र अदूरदर्शी भएको कारण लोकतन्त्रले अहिले पनि अल्पमतमाथि शासन गरी नेपाल विश्वसामु हास्यको पात्र बनेको छ।
अन्याय, अत्याचार गर भन्ने दृष्टिकोण हिन्दु धर्मको दर्शन होइन, किनभने यसले ८४ लाख प्राणीको जन्म र कर्मप्रति विश्वास गर्छ। सबै प्राणीप्रति समान दृष्टि राखी कल्याण र हित गर्नु नै प्रजातन्त्र हो, हिन्दूत्व हो।
हिन्दु के हो? हिन्दुत्व के हो?
हिन्दु धर्म होइन, यो सभ्यता र संस्कृति हो। यसले बहुदेववादमा विश्वास गर्छ। तेत्तीस कोटि देवी-देवताहरूलाई सम्मान गर्नुपर्छ भन्नु हो। धर्म मानव भित्रको अन्तर्य भएको हुँदा अन्य धर्मावलम्बीको सम्मान गर्नु र धार्मिक सहिष्णुता कायम राख्नु हिन्दु धर्मको वैश्विक उद्देश्य नै हो।
"हिन्दु" शब्दको जन्म फारसीहरूले सिन्धु नदी वारिका मानिसहरूलाई "सिन्धु" उच्चारण गर्न नसकेर "हिन्दु" भन्न थालेपछि भएको मानिन्छ। यो वैदिक शब्दको रुढ शब्द हो र यो एक स्थानवाची शब्द हो, जसले सिन्धु नदीलाई जनाउँछ। सिन्धु नदी (इन्डस रिभर) एसियाको सबैभन्दा लामो नदीमध्ये एक हो, जसको लम्बाई लगभग ३६१० कि.मि. छ र यसले लेह, स्कार्दु, दाँसु जस्ता शहरहरूलाई स्पर्श गर्छ। यसको वैदिक नाम परुष्णी थियो, जसलाई तिब्बतमा सिंगी खम्बन भनिन्छ। जल सभ्यतासँग जोडिएर यो स्थलवाची र नदीवाची शब्द बनेको हो, जसले वेद र पुराणहरूको दर्शन बोकेर हिँडेको छ।
सिन्धुको अन्य नामहरू
अमरकोश अनुसार, सिन्धु शब्दले समुद्र र सागरको अर्थ पनि बोक्छ, जस्तै: अबिध, अकुपार, पारावार, सरिदपति, उद्न्वान्, उदधि, सरस्वान्, सागर, अर्णव, रत्नाकर, जननिधि, वन्दपति, अदापति आदि (अमरकोश, श्लोक ६४८, पृ. ५५)।
हिन्दु धर्मलाई सिन्धु घाँटीको सभ्यताबाट विकसित भएको भनिन्छ। सिन्धु नदी वारिपारि बसोबास गर्ने आर्य सभ्यताका वर्ण जातिहरूलाई "सिन्धु" भनियो। यताबाट पारि बस्नेहरू फारसी कहलिए। भाषा विज्ञानका आधारमा 'स' को 'ह' मा उच्चारण परिवर्तन हुँदा सिन्धुबाट अपभ्रंश भई यो शब्द बनेको हो। हाल यो शब्द हिन्दु धर्ममा रुढ हुन पुगेको छ।
हिन्दु शब्दको व्युत्पत्ति
"हिन्दु" नाम शब्द हो। यसको व्युत्पत्ति 'हीनं दुषयतीति' बाट भएको मानिन्छ, जसको तात्पर्य हो हीन वा क्षुद्र स्वभाव भएका व्यक्तिलाई सुधारेर आचारवान् बनाउने र दानवबाट मानव बन्न प्रेरणा प्रदान गर्ने चिन्तन वा दर्शन। यसले संस्कारप्रति बेवास्ता गर्ने र अपरिष्कृत व्यक्तिलाई दोष लगाउँछ भन्ने अर्थ पनि लाग्छ। संस्कृत व्याकरण अनुसार 'हीन + दुष + द (उ)' बाट यो शब्द जन्मन्छ। सारमा, हिन्दु धर्म दर्शन मान्ने जाति वा एक जाति विशेषलाई हिन्दु भनिन्छ। पछिल्ला दिनमा यो शब्द संस्कृतिवाचक रुढ शब्द बनेर आयो र हाल वैदिक सनातन धर्मको पर्यायका रूपमा हेर्न थालिएको छ (तत्सम संस्कृत व्युत्पत्तिकोश, २०६८, ९८१)।
हिन्दुत्व भनेको के हो?
हिन्दुत्व नाङ्गो आँखाले देखाउन नसकिने मानिसभित्रको अन्तर्य बीज चैतन्य स्वभाव हो। यो भाववाचक नाम हो। हिन्दु बाहिरी आवरण हो भने हिन्दुत्व त्यसभित्रको चुरो वा उत्स हो, जुन प्रत्येक फलको बोक्राभित्रको बीज जस्तै हो। हिन्दुत्व अइन्द्रियजन्य र अनुभूतिजन्य ज्ञान हो। कसैले कसैलाई दया, माया, प्रेम, स्नेह गरेको नाङ्गो आँखाले देख्न सकिँदैन, तर अनुभव गरिन्छ। दूधमा घिउ, निममा तीतो, खुर्सानीमा पिरो जस्तै, हिन्दुत्व पनि समाजमा मानवतावादको नाम, काम र सहयोगबाट देखिन्छ।
हिन्दु धर्म मानवताको मातापिता र जेठो दाजु हो, धर्मको पृष्ठभूमि हो। आजको मानवतावाद र पश्चिमी मानवतावादले स्वार्थसँग हातेमालो गर्छ। यसले वाद, देश, स्थान, आग्रह र पूर्वाग्रह हेर्छ र विदेशीको भरिया बन्छ। तर, हिजोको मानवतावाद धर्मको निकट थियो, पक्षपात र भेदभाव उसको शत्रु थियो र वादको विरोधी थियो। यसले 'वसुधैव कुटुम्बकम्' र 'आत्मवत् मन्यते जगत्' को अनुशरण गर्दथ्यो।
आजको हिन्दु धर्म वैदिक सनातन धर्मको साधन र साध्यका रूपमा विकसित भइसकेको छ। यदि प्रजातन्त्रको पर्याय भएर यसलाई कार्यान्वयनमा ल्याउन सकियो र मानव शरीर तथा चेतनामा प्रवेश गर्न सफल भएमा नेपालमा त्रेता युगको रामराज्य को कल्पना सम्भव छ। तन्त्रको अर्थ रहस्यात्मक परिवर्तन हो र प्रजातन्त्र यसैको पर्याय हो। लोकतन्त्र मुखले बोलेर मात्र जीवित हुँदैन, लोकका विचार, काम, चिन्तन, सहजता, आर्थिक उपार्जनका स्रोतसाधन, शिक्षा, स्वास्थ्य, वैश्विक सीप र प्रविधिसँगको पहुँच पनि लोकतन्त्र हो।
यदि राज्यले यी विचारहरूबाट सञ्चालन गर्ने हो भने प्रजातन्त्र दुब्लाउने छैन, बरु पोषणयुक्त भई नागरिकमा अमनचयनको दिशामा द्रुत गतिमा अगाडि बढ्नेछ। त्यसकारण हिन्दु राज्यसहितको प्रजातन्त्रको कल्पना गर्न सकिन्छ। यसले नेपालको छिमेकी दुई परिवेशका आधारमा हित गर्छ र सम्मान पाउँछ नै, साथै नेपालको मात्र हित नगरी 'सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयाः। सर्वे भद्राणि पश्यन्तु, मा कश्चित् दुःख भाग् भवेत्' (सबै सुखी होऊन्, सबै निरोगी होऊन्, सबैले राम्रो देखून्, कसैलाई दुःख नहोस्) भन्ने भावनाका साथ विश्वकै कल्याणमा फड्को मार्नेछ।
( लेखक विश्व हिन्दु महासंघ, मोरङका अध्यक्ष हुन् ।)
View : 65
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved