Biratnagar, Morang, Nepal
९ मंसिर २०८१, आइतवार
+977 21 450305, 515728, 578305
कोशी

उर्लाबारी आगलागीका एक घाइतेको मृत्यू, सांसद गौतमले भने– ‘यहाँ उपचार नहुने भए घाइतेहरुलाई भारत लैजाऔं’

बाबुराम भण्डारी
५ मंसिर २०८०, मङ्गलवार

विराटनगर, ५ मंसिर : मोरङ क्षेत्र नम्बर १ प्रदेश सभा (१) सभा सदस्य उमाकान्त गौतमले उर्लाबारी आगलागी घटनाका घाइतेहरूको नेपालमा उपचार नहुने भए भारत लगायतका सुविधा सम्पन्न अस्पतालहरूमा लगेर उपचार गर्न सरकारसँग माग गरेका छन् ।

कोशी प्रदेश सभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै गौतमले घाइतेहरूमध्ये मंगलबार विहान मृत्यु भएका पण्डितको अवस्था अन्य घाइतेहरू भन्दा पनि सामान्य रहेको भए पनि समयमा राम्रो उपचार नहुँदा मृत्यु भएको बताए ।

‘उहाँको अवस्था सामान्य थियो, सात जना विरामीहरूको अवस्था अहिले पनि गम्भीर छ, विदेशबाट डाक्टर बोलाउने काम पनि भएको छ’ गौतमले भने, ‘यदि यहाँ उपचार हुन सकेन भने प्रदेश सरकार, संघीय सरकारको सहयोगमा भारत लगायत अन्य मुलुकका सुविधा सम्पन्न अस्पताल लगेर उनीहरूको उपचार गर्न आग्रह गर्दछु ।’

मोरङको उर्लाबारी नगरपालिका–७ मा भएको आगलागी नियन्क्रणका त्रममा आगोको लप्काले जलेर गम्भीर घाइते भएका एकजनाको मृत्यु भयो । उपचारका लागि नेपाली सेनाको जहाजबाट कीर्तिपुरस्थित बर्न हस्पिटल लगिएका उर्लाबारी–७ का ४३ वर्षीय तपन पण्डितको उपचारकै क्रममा मंगलबार विहान मृत्यु भएको मोरङ प्रहरीले पुष्टि गरिसकेको छ ।

स्थानीय दीपक कार्कीको घरमा उनैले सञ्चालन गरेको स्नेहा ज्वेलर्समा गत कात्तिक २६ गते राति साढे १० बजे आगलागी हुँदा नियन्त्रणका लागि त्यहाँ पुगेका सुरक्षाकर्मीहरूसहित २८ जना आगोको लप्काले जलेर घाइते भएका थिए । जसमध्ये २४ जनालाई नेपाली सेनाको जहाजबाट दुई चरणमा वर्न हस्पिटल कीर्तिपुर पुर्‍याइएको थियो ।

आगलागी नियन्त्रणका लागि घरको सटर फोड्न लाग्दा भित्रबाट ग्याँस सिलिण्डर बिस्फोट भएको र आगोको लप्का बाहिरसम्मै फैलिंदा जलेर उनीहरू घाइते भएका थिए । घाइतेहरूमध्ये पण्डितसहित १० जनालाई थप उपचारका लागि विर्तामोडस्थित बीएण्डसी हस्पिटल पुर्‍याइएको थियो ।

त्यहाँबाट थप उपचारका लागि उनीहरूलाई कात्तिक २८ गते मंगलबार झापाको भद्रपुर विमानस्थलबाट नेपाली सेनाको स्काई ट्रकबाट काठमाडौं पुर्‍याइएको थियो । 

उपचाररतमध्ये पाँच जनाको सल्यक्रियासमेत भएको अस्पताल प्रशासनले जनाएको थियो । बर्न अस्पतालमा उपचाररत थप दुई जनाको अवस्था अहिले पनि गम्भीर रहेको जनाइएको छ ।

आगलागी नियन्क्रणका त्रममा घाइते भएका अन्य दुई स्थानीयलाई भने परिवारले नै जिम्मा लिएर भारतको पटना लगेर उपचार गरिरहेको जनाइएको छ । उर्लाबारी–७ का २१ वर्षीय सुमन चौधरी र ३८ वर्षीय प्रशान्त जितको उपचार उनीहरूका आफन्तले आफ्नै पहलमा गरिरहेका छन् ।

‘घाइतेलाई बन्धक बनाइयो’

प्रदेश सभा सदस्य गौतमले आगलागीबाट घाइते भएका विरामीहरूलाई थप उपचारका लागि काठमाडौं लैजान खोज्दा झापाको विर्तामोडस्थित बीएण्डसी अस्पताल प्रशासनले बन्धक बनाएको आरोप लगाए । 

नेपाल सरकारको स्वीकृतिमा सञ्चालित उक्त अस्पतालले सरकारले नै सवै खर्च व्यहोर्ने जानकारी गराएर घाइतेहरूलाई काठमाडौं लैजान खोज्दा बन्धक बनाएको दाबी गरे ।

‘नेपाल सरकारको स्वीकृतिमा सञ्चालन भएको स्वास्थ्य संस्थाले बन्धक बनाएको हो, मुख्यमन्त्री आफैं बीएण्डसी अस्पताल गएर त्यहाँबाट भद्रपुर एयरपोर्ट हुँदै काठमाडौं पठाउने काम भयो’ उनले भने, ‘जीवन मरणको लडाइँ लडेका विरामीहरूलाई बन्धक बनाएर सरकारलाई चुनौति दिने सरकारकै अनुमतिबाट सञ्चालन भएको अस्पताल र त्यसको व्यवस्थापनप्रति खेद प्रकट गर्दछु ।’ 

View : 205

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved