Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

बेलबारीमा स्थापना भएको नौ महिनामै रातारात सारियो प्रहरीको प्रदेश अस्पताल

उद्‌घोष संवाददाता
२७ मंसिर २०८०, बुधवार

विराटनगर, २७ मंसिर : २०७९ फागुन १० गते तत्कालिन प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले उद्घाटन गरेको १५ शय्याको प्रदेश प्रहरी अस्पताल रातारात सारिएको छ । मोरङको बेलबारी नगरपालिका–३ मा स्थापना गरिएको अस्पताललाई प्रहरीले नै इनरुवा सारेको हो ।

प्रहरीको नाममा भएपनि त्यस क्षेत्रका अन्य सर्वसाधारणहरुलाई समेत उपचार सेवा दिन भनेर अस्पताल शुभारम्भ गरिएको सिंहले बताएका थिए । तर सोमबार राती सवै उपकरणहरु सहित अस्पताल इनरुवा सारिएको छ ।
प्रहरीले रातारात अस्पताल सारेको सुईंको समेत नपाएका बेलबारीबासीले मंगलबार दिनभर अस्पताल सार्नुपर्ने कारणको जवाफ खोज्न लागेका थिए ।

सोही क्षेत्रका प्रदेश सभा सदस्य ज्ञानेन्द्र सुवेदी, मान बहादुर लिम्बू, गीता तिम्सिना, बेलबारी नगरपालिकाका जनप्रतिनिधी, राजनीतिक दलका प्रतिनिधिहरुले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई भेटेर लुटपाटको शैलीमा अस्पताल सारिएको भन्दै गुनासो पोखे ।

प्रहरी स्रोतले भने बेलबारीमा अस्पतालका लागि आवश्यक ठाउँ साँघुरो भएको भन्दै इनरुवामा फराकिलो ठाउँ भेटेर सारिएको बताएको छ । बेलबारीबाट सारिएको प्रहरी अस्पतालका उपकरण र सामग्रीहरु इनरुवास्थित जिल्ला समन्वय समितिको भवनमै प्रहरी अस्पताल राखिएको जनाइएको छ ।

यसअघि बेलबारीस्थित इलाका प्रहरी कार्यालयको नयाँ भवन बनेपछि पुरानो भवनमा प्रदेश प्रहरी अस्पताल स्थापना गरिएको थियो । उक्त अस्पतालमा २०८० बैशाख ३ गते ल्याब समेत संचालनमा ल्याइएको थियो । ल्याब स्थापना र अन्य उपकरणको व्यवस्थापनमा बेलबारी नगरपालिकाले समेत सहयोग गरेको थियो ।

View : 660

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved