विराटनगर । मेची–कोशी एकीकृत नदी जोड परियोजनामा यस पटक भारत सरकारले बजेट छुट्याएसँगै सप्तकोशी उच्च बाँध निर्माणमा जोड दिन थालेका छन् । प्रस्तावित सप्तकोशी उच्च बाँधको विस्तृत अध्ययनका लागि सन् १९९१ मा नेपाल–भारत सरकारका बीच सम्झौता भए पनि सो योजना अघि बढ्न सकेको छैन ।
भारतको केन्द्रीय सरकारले नदी जोड अभियानमा यस पटक भारु साढे एघार हजार करोड बजेट छुट्याएको छ । सो रकम बाढी नियन्त्रण र सिंचाईका लागि पनि खर्च गर्नेगरी छुट्याएको हो ।
नदी जोड अभियानबाट सिंचाईको पनि सुविधा हुने जानकारहरुको भनाइ छ । फ्लड फाइटिङ फोर्सका निवर्तमान अध्यक्ष महेश ठाकुर सुख्खा याममा सिंचाई सुविधा हुने र बर्खा याममा बाढीबाट जोगिन मद्दत मिल्ने हुँदा त्यसबाट ठूलो राहत पुग्ने बताउँछन् ।
भूगोलविज्ञ डा गणेश प्रसादका अनुसार कोशी व्यारेज ज्यादै पुरानो भएकाले त्यसको बदलामा नयाँ ब्यारेज बनाउनुका साथै नयाँ चेक ड्याम (बाँध) हरुको पनि निर्माण गर्नु पर्ने धारणा राख्छन् । जल प्रबन्धविज्ञ डा विनोद कुमार भने कोशी उच्च बाँध निर्माणको विषयलाई जोड दिन्छन् ।
उच्च बाँधको निर्माण भारतमा सम्भव नभएकाले त्यसका लागि नेपाललाई मनाउनु पर्ने उनको धारणा छ । कुनै पनि हालतमा उच्च बाँध बनाउनै पर्छ, त्यसका लागि भारत सरकारले नेपाल सरकारलाई मनाएर आपसी सहमतिमा काम गर्नुपर्छ उनी भन्छन् ।
अर्का सेवानिवृत्त कर्मचारी मोदनारायण चौधरीका अनुसार नेपाल र भारत दुवै भूभागमा नहर बनाएर नहरको माध्यमबाट नदी जोड अभियान अघि बढाउनु पर्छ । तर सो विषयमा नेपाल सरकारसँग कुरा भएको आधिकारिक जानकारी छैन ।
नदी जोड अभियान नेपाल र भारतका बीचमा मात्र नभै बंगलादेशलाई समेत राखेर आपसी सहमतिपछि सो कार्यलाई अघि बढाउनु पर्छ भन्ने धारणा पहिलेदेखि आएपनि त्यसको पहल भएको छैन । बिहारमा विजुलीको चरम अभाव छ । कोशीमा उच्च बाँध बन्यो भने सिंचाईको साथै विद्युतको समस्या पनि हल हुने भारतीय अधिकारीहरुको धारणा छ ।
View : 188
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved