कोइराला निवास, विराटनगरको एउटा भिन्नै पहिचान । विराटनगरभन्दा बाहिरबाट आउने जो कोहीका लागि पनि कोइराला निवास एकपल्ट हेर्न र पुग्न मन लाग्ने ठाउँ । बाहिरबाट आउनुहुने धेरै साथीहरूलाई मैले पनि पटक–पटक कोइराला निवास पुर्याएकी थिएँ । त्यसरी आउनेहरू सबै कांग्रेसी हुँदैन थिए ।
त्यहाँ पुग्न कुनै राजनीतिक रङ चाहिंदैन थियो । त्यो धरोहर कुनै पार्टी विशेषको थिएन । बरू एउटा राजनीतिको स्मारक थियो, इतिहास थियो र थियो जोसुकैका लागि पनि कौतुहलको गन्तव्य ।
२०८२ को भाद्र २४ गतेको दिन । देश जताततै दन्दनी बलिरहेको थियो । स्कुल, कलेज, बैंक, कार्यालय सारा बन्द थिए । कफ्र्यु र निषेधाज्ञाका कारण देश त्रासदीको क्षणबाट गुज्रिरहेको थियो । मानिसहरू घरबाट बाहिर निस्कन सकेका थिएनन् । सबैका मनमा डर थियो– ‘अब के हुने हो ?’ एक किसिमले भन्ने हो भने मुलुक स्तब्ध थियो ।
जेन–जी नाम दिएर पछिल्लो पुस्ताले नेपालको राजनीतिमा भएको बेथिति हटाउन, मुलुकमा भ्रष्टाचाररहित सुशासन कायम गर्न र गणतन्त्रले दिएका तर नेतृत्वद्वारा कुण्ठित बनाइएका अधिकारहरूलाई फुकुवा गर्न पाउनु पर्ने विविध माग राखेर आन्दोलन गर्दै थियो । अर्थात् मुलुकमा भएका तमाम विकृति र विसंगतिलाई नामेट बनाउनु पर्ने मागसहित २८ वर्ष मुनिको एउटा आक्रोशित युवा पुस्ता अगाडि आएको थियो ।
२३ गतेका दिन काठमाडौंको माइतीघर मण्डलाबाट विद्यालय पोशाकका जेन्जी पुस्ताका भाइबहिनीहरू शान्तिपूर्ण आन्दोलनको यात्रामा अगाडि बढिरहेका थिए । ओठ निचोर्दा दूध आउने जस्ता कलिला स्कुले नानीहरू पनि त्यहाँ देखिन्थे । त्यहाँ उनीहरू मुलुकमा आफ्नो भविष्य खोजिरहेका थिए ।
किनभने दैनिक रूपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब २,००० देखि २,५०० को हाराहारी सङ्ख्याका कक्षा १२ उत्तीर्ण गरेका युवाहरू अन्योल भविष्य बोकेर रूँदै बिदेशिएका दर्दनाक दृश्यहरू उनीहरूले दैनिक जसो हेरिरहेका थिए ।
अहिलेका आन्दोलनमा उत्रिएका ती भाइबहिनीहरू मुलुकमै आफ्नो भविष्य बनाउन चाहन्थे । आफ्नै देशमा केही गर्नुपर्छ भन्ने उनीहरूको इरादा थियो । तर शासन संयन्त्रमा रहेका उच्च पदाधिकारीहरू कानमा तेल हालेर आफ्नै घरका कोठाहरू नोट, डलर र क्विन्टलका क्विन्टल सुनले भर्न व्यस्त थिए ।
भ्रष्टाचार चरमचुलीमा बढ्दै गएको थियो । मुलुकमा भएका बेथिति र विसंगतिहरूले शिखर छोइसकेको थियो । अझ उल्टै यो एआई (कृत्रिम बौद्धिकता) को जमानामा सामाजिक सञ्जालसमेत बन्द गरेर युवाहरूको आवाजलाई जबरजस्ती दबाउने कोसिस गरिएको थियो । यस्ता थुप्रै विकृतिहरूका विरूद्धमा उनीहरूको आवाज बुलन्द भएको हो, जेन्जीको नाममा ।
तर त्यो शान्तिपूर्ण आन्दोलनमा अचानक प्रहरी दमन सुरू भयो । प्रहरीले जताततै गोली हान्न थालेपछि अग्रपंक्तिमा रहेका युवाहरू भकाभक ढल्न थाले । कसैको त्यही तत्कालै रगतको खोलो बगाउ“दै निधन भयो भने कतिलाई अस्पतालतिर दगुराइयो । कतिपय ठाउँमा देखियो; एम्बुलेन्स आउँदैछ ।
एक हुल युवाहरू आफ्ना घाइते साथीलाई अस्पताल पुर्याउन सहयोग माग्दै छन् तर उल्टै ती युवालाई नै एम्बुलेन्स भित्रैबाट गोली हानेर भागेको देख्दा कसको पो हृदय चिराचिरा भएन होला र । मानवता किन यति क्रुरतापूर्वक मरेको हँ !
दिनभर मोबाइल स्क्रोल गर्नमा र टेलिभिजनका दर्दनाक दृश्यहरू हेर्दैमा बित्यो । रातभर निन्द्रा परेन । ’अब के हुने हो ?’ को त्रासदीले सताइरह्यो । २४ गते बिहानदेखि नै फेरि उही दैनिकी सुरू भयो– मोबाइल र टेलिभिजनका पर्दाहरूमा आँखा डुलाउने ।
स्कुल, कलेज, कार्यालयहरू साराका सारा बन्द थिए । मानिसहरू घरमै सुस्केरा हाल्दै टेलिभिजन र मोबाइलका भिडियोहरू हेर्दै बसिरहे । बिस्तारै काठमाडौंमा तोडफोडका घटनाहरू देखिन थाले । मुलुकको सिङ्गो इतिहास बोकेको जिउँदो धरोहर सिंहदरबार बल्न थाल्यो । नेपालीहरूको उच्चतम् प्रतिष्ठा सर्वोच्च अदालत जल्यो । मान्छेका गलत प्रवृत्ति र दुरूपयोगका फाइल बोकेर बसेको अख्तियार जल्यो ।
हुँदाहुँदै व्यक्तिगत सम्पत्ति तोडफोड गर्ने, कुटपिट गर्ने र जलाउने काम सुरू भयो । अफिसहरू जताततै जलाइए । तोडफोड र आगजनीका घटनाहरू मुलुकभरि हुन थाले । विराटनगरमा रहेका प्रदेश प्रमुखका भवनदेखि लिएर वडा अफिसहरू समेत जलाउने काम भयो ।
यस्तैमा एउटा उद्दण्ड हुल कोइराला निवास पस्यो र राणाकालदेखि धेरै राजनीतिक र सामाजिक व्यक्तित्वलाई आश्रय दिइरहेको एउटा जिउँदो इतिहास जलायो । यो कुनै व्यक्तिको सम्पत्ति मात्र थिएन, यो त थियो नेपालको प्रजातन्त्रको एउटा जीवित स्मारक । पिताजी कृष्णप्रसाद कोइरालाले राणाकालमै बनाएको यो कोइराला निवास कुनै भव्य हवेली थिएन । तर थियो आफ्नै विरासतमा बाँचेको राजनीतिको पुरानो इतिहास । यहाँ जो कोहीलाई पनि उदार भावले प्रेरणा दिने; त्याग, समर्पण र जनताका पक्षमा समर्पित हुने एउटा आदर्श उभिएको थियो ।
यो त्यही निवास हो जसले राणाकालीन निरंकुशता ढाल्न नेपाल प्रजातान्त्रिक रेडियोको प्रादुर्भाव गरायो । यसले त्यही प्रजातान्त्रिक रेडियोको स्थापना गर्ने तारिणीप्रसाद कोइराला जस्ता होनहार योद्धालाई जन्मायो । जनताका छोरा प्रधानमन्त्री हुने देशकै ऐतिहासिक विरासतलाई जन्मायो । अर्थात् कालक्रमिक रूपमा प्रधानमन्त्री भएका पिताजी कृष्णप्रसाद कोइरालाका तीनजना छोराहरू मातृकाप्रसाद, बीपी र गिरिजाप्रसाद जन्मी हुर्की गरेर प्रजातन्त्रको दियो बाल्ने यही धरोहर हो ।
यो धरोहर सामान्य घरको रूपमा आफू मात्र जलेन प्रजातन्त्रको एउटा सच्चा मन्दिरसमेत जल्यो । अर्थात् भनौ, त्यहाँ केवल कोइराला निवास मात्र जलेको थिएन नेपाली राजनीतिको गौरवशाली स्मारक जलिरहेको थियो । नेपालीहरूकै एउटा ऐतिहासिक सम्पत्ति जलिरहेको थियो ।
राणाकालीन बर्बर सामन्ती समयमा सिन्धुली जिल्लाको दुम्जाबाट खरिदारका रूपमा आएका एउटा सामान्य नागरिक पिताजी कृष्णप्रसाद कोइरालाले प्रजातन्त्रको उज्यालो सपना बोकेर थुप्रै कठिनाइ झेल्दै भावी पुस्ताका लागि विद्यालयहरू खोले । बाटो घाटोको व्यवस्था मिलाए; व्यापार व्यवसाय तथा सहकारीको प्रारम्भिक विकास गरे ।
महिला शिक्षामार्फत् महिला अधिकारको कुरा उठाए । आफूले स्थापना गरेका आदर्श विद्यालय र बालिका विद्यालयका लागि बनारसबाट पढेलेखेका युवा युवतीहरू ल्याई आफ्नै घरमा राखेर शिक्षकको प्रबन्ध गरे ।
राणाहरूलाई गरिबका थोत्रे कपडाको पोको पार्सल गरी पठाएर जनताले भोगिरहेको गरिबीतर्फ ध्यानाकर्षण गराए । यसको बदलामा बरू आफू सर्वस्वहरणसहित सपरिवार भारत निर्वासित भए । तर उनले कहिल्यै पनि हिम्मत हारेनन् । जटिल चुनौतीहरू सामना गर्दै यिनले समाज सुधारका धेरै काम गरे ।
कोइराला निवासले धेरैलाई संरक्षण दियो । निवासमा राजनीतिको पाटो र बाटो हेरिएन, जातीयता हेरिएन, रूप रङ हेरिएन । निवासले सबैप्रति सदैव समभाव राख्यो । राजनीतिमा विपरित धारबाट बग्नेलाई समेत फकाएर ल्याई आफूसँगै बसाएर न्यानो आतिथ्यता प्रदान गर्ने एउटा विरासत बोकेको थियो यो निवासले ।
एकपटक त्यही निवासमा नै अतिथि बनेर गणेशमान सिंहले गिरिजाप्रसाद कोइरालाका विरूद्ध लाग्ने कुराको शङ्खघोष गर्नुभएको थियो । तर पनि कोइराला निवासबाट यस विषयमा कुनै आपत्ति भएन ।
यहाँ आउने जति सबैले निवासकै पक्षमा बोल्नुपर्छ भन्ने केही थिएन । मैत्री, समाजसेवा र उदारताको एउटा नमुना थियो कोइराला निवास । समानता र सहअस्तित्वको कदर गर्ने आदर्शको प्रतीक थियो कोइराला निवास । प्रजातन्त्रको उद्गमस्थल र त्यसको हिमायती थियो कोइराला निवास ।
कोइराला निवासमा कुनै जातजातिको भेदभाव थिएन । सानो ठूलोको कुनै दर्जा थिएन । सबैप्रति समान व्यवहार हुन्थ्यो । यति मात्र होइन, प्रजातन्त्र प्राप्तिको क्रममा सहिद भएका परिवारका सन्ततिहरूको अभिभावकत्व ग्रहण गर्दै शिक्षादीक्षा र विवाहसमेत गरिदिने संस्कार थियो कोइराला परिवारमा । कोइराला निवासबाट यसरी विवाह गरिएका छोराछोरीहरू धेरै छन् जो अहिले पनि कोइराला निवासलाई नै आफ्नो माइती वा घर सम्झेर आउने जाने गरिरहन्छन् ।
यसरी सबैको अपनत्व ग्रहण गर्न सक्ने मौलिक र आदर्शको प्रतीक कोइराला निवास जलेको देख्दा सबैको मन जलिरह्यो । सायद त्यो जेन्जी पुस्ताको काम थिएन होला । अरू नै कोहीले धमिलो पानीमा माछा मार्ने काम गरे होलान् । जो सुकैले गरेको होस्, त्यो अत्यन्त गलत र निन्दनीय काम थियो । किनकि त्यो भौतिक क्षतिसँगै पिताजी कृष्णप्रसाद कोइरालाले धोती फेरेर भात खाने, माटोले लिपपोत गरिएको भान्सा जल्यो । बुइगलमा जाने काठको सानो भर्याङ जल्यो ।
बीपीले कालजयी रचनाहरूको सिर्जना गर्ने खुल्ला बार्दली जल्यो । प्रजातन्त्र र लोकतन्त्रलाई सदैव सम्झाइरहने कोइराला निवासको अपरिमित आदर्श जल्यो । देशविदेशका विशिष्ट व्यक्तित्वहरू आएर भेटघाट गर्ने ऐतिहासिक थलो जल्यो । पिताजी जस्ता संघर्षशील व्यक्तिको अनुकरण र अनुशरण गर्नुपर्ने नमुनागृह जल्यो । यतिसम्मकि यो भवन बीपीको ११२ औं जन्मजयन्तीकै दिनमा जल्यो ।
जसलाई कोइराला निवासको तेस्रो पुस्ताले इमान्दारीपूर्वक जोगाएर राखेको थियो । यो भौतिक र मानसिक क्षतिको क्षतिपूर्ति त कसैगरी पनि हुँदैन । तथापि भौतिक निर्माण भत्किए पनि पिताजीको आदर्शलाई भत्किन दिनु हुँदैन ।
नहुनुपर्ने कुरा भइसक्यो ; अब सबैले मिलेर भावी पुस्तालाई संस्कार सिकाउन पनि आदर्शको त्यो धरोहर उठाउनु पर्दछ ।
nirmala.koirala1717@gmail.com
View : 762
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved