Biratnagar, Morang, Nepal
२ मंसिर २०८३, बुधवार
+977 21 450305, 515728, 578305
साहित्य

पं काशीनाथ-हरिप्रिया वाङ्‌मय प्रतिष्ठानद्वारा तीन प्रतिभालाई सम्मान गर्ने घाेषणा

उद्‌घोष संवाददाता
१ मंसिर २०८३, मङ्गलवार

Advertisement

विराटनगर । पण्डित काशीनाथ उपाध्याय–हरिप्रिया कट्टेल  वाङ्‌मय  प्रतिष्ठान धरानले साहित्य, शिक्षा र संस्कृत वाङ्‌मयका विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने विशिष्ट स्रष्टा, प्रतिभा तथा संस्थाहरूलाई नगद तथा सम्मानसहित अर्पण गरिने विभिन्न प्रतिष्ठित पुरस्कारहरूको घोषणा गरेको छ ।

प्रतिष्ठानले घोषणा गरेका पुरस्कारअनुसार दमक–९ भाङबारीका प्राडा. तुलसीप्रसाद भट्टराई र झापा सुखानीका प्रा. कोमलप्रसाद पोखरेललाई उनीहरूको दीर्घकालीन साहित्यिक तथा प्राज्ञिक योगदानको कदर गर्दै ‘वाङ्‌मय पुरस्कार’ अर्पण गरिनेछ । 

त्यसैगरी, उदाउँदो प्रतिभाका रूपमा इलाम–६ जमुनाकी प्रतिभा पौडेललाई ‘हरिप्रिया कट्टेल प्रतिभा पुरस्कार’ प्रदान गरिनेछ भने संस्थागततर्फ कनकाई–३ झापास्थित श्री धनुषकोटी संस्कृत वेदविद्याश्रमलाई ‘कमलापति–डम्बरकुमारी वाङ्‌मय पुरस्कार’ बाट सम्मानित गरिनेछ ।

यसका साथै, धरानस्थित पिण्डेश्वर विद्यापीठमा आचार्य द्वितीय वर्षमा अध्ययनरत मेधावी छात्रद्वय कुलचन्द्र निरौला र सुभाष आचार्यलाई ‘मेधावी पुरस्कार’ प्रदान गरी उनीहरूको शैक्षिक साधनालाई कदर गरिनेछ ।

स‌ंस्थाकाे  १४औँ वार्षिकोत्सवका अवसरमा  शनिबार  (मंसिर ५ गते)  झापाको दमक–२ डाकिनीचोकस्थित समाज सुधार प्रतिष्ठानको सभाकक्षमा दमक बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रा. यज्ञराज गिरीको प्रमुख आतिथ्यमा आयोजित विशेष समारोहमा ती पुरस्कारहरू प्रदान गरिनेछन् ।

विसं २०६७ मा स्थापना भएदेखि नै नेपाली र संस्कृत वाङ्‌मयको संवर्द्धन, संरक्षण तथा प्राज्ञिक साधनालाई प्रोत्साहन गर्दै आएको साे प्रतिष्ठानले यसपटकका वार्षिकोत्सवमा देशभरका विभिन्न क्षेत्रमा क्रियाशील प्रतिभा र संस्थालाई एकैसाथ सम्मान गरेर वाङ्‌मय  क्षेत्रमा ऐतिहासिक योगदान पुर्‍याएको  डा. अच्युतराज कट्टेलले बताए । 

प्रतिष्ठानका  सचिव गंगाधर कट्टेल अनुसार साेही समारोहका बीच प्रतिष्ठानका अध्यक्ष नारायणप्रसाद शर्मा कट्टेलद्वारा लिखित ‘एकादशी महिमा’ पुस्तक र प्रतिभा निकेतन दमकद्वारा प्रकाशित ‘समसामयिक’ पत्रिकाको २०औँ अङ्कको लोकार्पणसमेत हुने कार्यक्रम रहेको छ ।

View : 214

२ मंसिर २०८३, बुधवार

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved