Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
विचार

सन्दर्भ : राष्ट्रिय ज्येष्ठ नागरिक दिवस

ज्येष्ठ नागरिकको अवस्था र कानुनी व्यवस्था

मणि अर्ज्याल
१२ पुष २०८२, शनिवार

सामान्यतया ६० वर्षभन्दा माथिको जनसङ्ख्यालाई ज्येष्ठ नागरिक भनिन्छ। नेपालमा पनि ६० वर्षभन्दा माथिको जनसङ्ख्यालाई ज्येष्ठ नागरिक भन्ने कानुनी व्यवस्था छ। केही समय पहिले नेपालीहरुको औसत आयु ६० वर्षभन्दा कम थियो।

हालको अवस्थामा ६५ वर्षभन्दा माथिको जनसङ्ख्या एकदमै कम हुने भएकाले पनि ६० वर्षभन्दा माथिको जनसङ्ख्यालाई नै ज्येष्ठ नागरिक भन्ने गरिएको हो। औसत आयु बढ्दै जाने क्रमका कारणले पनि हिजोआज विश्वका कतिपय विकसित देशहरुमा ६५ वर्षभन्दा माथिको जनसङ्ख्यालाई ज्येष्ठ नागरिक मान्ने गरिएको छ।

नौ वर्ष अघि (सन् २०१६) विश्वको जनसङ्ख्या सात अर्ब एकचालीस करोड पुग्दा ६० वर्ष माथिको ज्येष्ठ नागरिकहरु १२ प्रतिशत थिए। विकसित देशहरुको मात्र ज्येष्ठ नागरिकहरुको तथ्याङ्क गणना गर्दा यो २४ प्रतिशत हुन आउँछ। यता विकासोन्मुख देशहरुमा भने १० प्रतिशत ज्येष्ठ नागरिकहरु छन्।

सङ्ख्यामा भन्दा हाल ६० वर्षमाथिको जनसङ्ख्या ९० करोड छ। यसको दुईतिहाई विकासोन्मुख मुलुकमा बस्छन्। सन् २०५० सम्ममा यो सङ्ख्या बढेर २ अर्ब पुग्ने अनुमान छ।

ज्येष्ठ नागरिकको वर्गीकरणः ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ को दफा २ ले ज्येष्ठ नागरिकको परिभाषा र वर्गीकरण गरेको छ। जस अनुसार ज्येष्ठ नागरिक भन्नाले साठी वर्ष उमेर पूरा गरेको नेपाली नागरिकलाई ज्येष्ठ नागरिक सम्झनुपर्छ भनि परिभाषित गरेको छ। त्यसैगरी असहाय ज्येष्ठ नागरिक भन्नाले जीवनयापन गर्ने कुनै आधार, आयस्रोत वा सम्पत्ति नभएको, पालनपोषण तथा हेरचाह गर्ने परिवारको कुनै सदस्य नभएको, परिवारको सदस्य भए पनि निजले पालनपोषण नगरी अपहेलित वा उपेक्षित जीवनयापन गर्नुपरेको ज्येष्ठ नागरिक भनि परिभाषित गरिएको छ।

ऐनले ‘अशक्त ज्येष्ठ नागरिक’ भन्नाले शारीरिक वा मानसिक रुपले अशक्त (शारीरिक वा मानसिक रुपले अशक्त भई अन्य सामान्य नागरिक सरह दैनिक कामकाजमा सहभागी हुन असमर्थ भएका) ज्येष्ठ नागरिक सम्झनुपर्छ भनी परिभाषा गरेको छ।

कति छन् त नेपालमा ज्येष्ठ नागरिकहरुः २०६८ सालको जनगणनाअनुसार नेपालको जनसङख्या वृद्धिदर १.४ प्रतिशत प्रतिवर्ष थियो। हाल यो घट्ने क्रममा छ, तर ज्येष्ठ नागरिक मात्रको जनसङख्या वृद्धिदर करिब ३.५ प्रतिशत प्रतिवर्ष रहेको छ। यो उमेरको जनसङख्या भने बढ्ने क्रममा छ। जनगणना २०६८ को नतिजाअनुसार नेपालमा ६० वर्षभन्दा माथिको जनसङ्ख्या ८.१ प्रतिशत थियो।

हिजोआज यो ९ प्रतिशत पुगिसकेको केन्द्रीय तथ्याङ्क विभागले २०६८ मा नै सम्पन्न गरेको नेपाल जीवनस्तर सर्भेक्षणले देखाएको छ। जुन करिब २४ लाख बढी हुन आउँछ।

केन्द्रीय तथ्याङ्क विभागले नै प्रकाशन गरेका विभिन्न सालका जनसङ्ख्या प्रतिवेदनका आधारमा नेपालमा ज्येष्ठ नागरिकको जनसङख्या वृद्धिको अनुपात २००८ सालमा ५ प्रतिशत, २०२८ सालमा ५.६ प्रतिशत, २०४८ मा ५.८ प्रतिशत, २०५८ मा ६.५ प्रतिशत र २०६८ मा ८.१ प्रतिशत छ।

ज्येष्ठ नागरिक सम्बन्धी संयुक्त राष्ट्रसङ्घको घोषणापत्र

 पहिलो पटक विश्व ज्येष्ठ नागरिक सम्मेलन अस्ट्रियाको राजधानी भियनामा सन् १९८२ मा भएको थियो। जसले ज्येष्ठ नागरिक सम्बन्धी कार्ययोजना पहिलो पटक निर्माण गर्यो। दोस्रो विश्व ज्येष्ठ नागरिक सम्मेलन स्पेनको म्याड्रिड शहरमा सन् २००२ अप्रिल ८ देखि १२ सम्पन्न भयो। सो सम्मेलनमा नेपालसहित विश्वका १५९ देशहरुले भाग लिएका थिए।

सम्मेलनले ‘म्याड्रिड अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक कार्ययोजना’ जारी गर्यो। जसमा ज्येष्ठ नागरिकको हक हितका लागि गर्नुपर्ने एक सयभन्दा बढी कामहरु सुझाइएका छन्। प्रायः सबैजसो कार्यहरु ज्येष्ठ नागरिक र विकास, बुढ्यौलीमा स्वास्थ्य सेवा र सहयोगी वातावरणको निर्माणसँग सम्बन्धित छन्। सम्मेलनले यी कामहरु कार्यान्वयन गर्ने जिम्मा राष्ट्रसङ्घका क्षेत्रीय निकायहरुलाई दिएको छ।

नेपाल लगायत संयुक्त राष्ट्रसङ्घका सबै सदस्य राष्ट्रहरु आ–आफ्ना मुलुकमा ‘म्याड्रिड अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक कार्ययोजना’ कार्यान्वयन गर्ने क्रममा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय र सरकारी तथा गैरसरकारी सङ्घ संस्थाहरुसँग मिलेर काम गरिरहेका छन्।

ज्येष्ठ नागरिक दिवस

ज्येष्ठ नागरिकहरु सिर्जनाका स्रोत, समाजका पथप्रदर्शक र अनुभव, ज्ञान एवं प्रेरणाका स्रोत हुन। उनीहरुको सम्मानमा विश्वव्यापी रुपमा अक्टोबर १ का दिन ज्येष्ठ नागरिक दिवस एक पर्वका रुपमा मनाइन्छ। सन् १९८२ अक्टोबर १ का दिन ज्येष्ठ नागरिक सम्बन्धि भियना कार्ययोजना जारी गरिएको थियो।

त्यसैको सम्झना स्वरुप सन् १९९० डिसेम्बर १४ मा बसेको संयुक्त राष्ट्रसङ्घको महासभाले हरेक वर्षको अक्टोबर १ लाई ज्येष्ठ नागरिक दिवसको रुपमा मनाउने निर्णय गर्यो। यसरी सन् १९९१ को अक्टोबर १ देखि ज्येष्ठ नागरिक दिवस मनाउन सुरु गरिएको हो। ज्येष्ठ नागरिकहरुको हकहित र सुरक्षाका लागि जनचेतना अभिवृद्धि गर्न, उनीहरुको सम्मानका खातिर समाजको ध्यान आकृष्ट गर्न र योगदानको कदर गर्न यो दिवस प्रत्येक वर्ष फरक–फरक नाराका साथ मनाउने गरिन्छ।

यस वर्ष २०२५ अक्टोबर १ को नारा अर्थात् ‘हाम्रा ज्येष्ठ नागरिकहरुको चाहना समृद्धि र अधिकार। स्थानीयदेखि विश्वव्यापी रुपमा पहिलोकरण’ भन्ने छ।

राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको सन्दर्भः नेपालमा हर्षोल्लासका साथ ज्येष्ठ नागरिकका क्षेत्रमा कार्य गर्ने संघसंस्थाहरुले देशभर नै राष्ट्रिय ज्येष्ठ नागरिक दिवस बिसं २०७८ पुष ११ गते देखि मनाउन थालिएको हो। यो दिवस ज्येष्ठ नागरिकहरुलाई पहिलो पटक सामाजिक सुरक्षा भत्ता घोषणा गरिएको दिनको सम्झनामा सरकारले प्रत्येक वर्ष पुष ११ गते लाई राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको रुपमा मनाउने गरिएको छ।

भत्ताको वितरणको सुरुवात तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको पालामा ७५ वर्षदेखि माथिका ज्येष्ठ नागरिकहरुलाई सय रुपैयाँको दरले बि.सं. २०५२ सालबाट सामाजिक वृद्ध भत्ताको वितरणको सुरुवात भएको पाइन्छ। हरेक वर्ष नयाँ नाराको साथ यो कार्यक्रम मनाउने गरिन्छ।

ज्येष्ठ नागरिकहरुको हकहित र सुरक्षाकालागि जनचेतना अभिवृद्धि गर्न, उनीहरुको सम्मानका लागि समाजको ध्यान आकृष्ट गर्न र योगदानको कदर गर्न यो दिवस प्रत्येक वर्ष फरक–फरक नाराका साथ मनाउने गरिएको छ। जस अनुसार बि.सं. २०७८ मा ‘सभ्य नागरिकको पहिचान ज्येष्ठ नागरिकको सम्मान’, बिसं २०७९ मा ‘हामी सबैको सरोकार ज्येष्ठ नागरिकको अधिकार’, बिसं २०८० ‘ज्येष्ठ नागरिकको सम्मान हाम्रो सभ्यताको पहिचान’, बि.सं. २०८१ ‘सभ्य समाजको आधार ज्येष्ठ नागरिकको मैत्री घरपरिवार’ रहेको थियो। यस वर्ष २०८२ का नारा भने ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ तय गरिएको छ।

ज्येष्ठ नागरिक ऐन र नियमावली

 ज्येष्ठ नागरिकहरुको हकअधिकारको संरक्षण र सम्बर्द्धनका लागि राज्यले २०६३ सालमा ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ जारी गरेको छ। त्यसैगरी ज्येष्ठ नागरिक सम्बन्धी नियमावली, २०६५ समेत लागू भएको छ। नेपालको संविधानको धारा ४१ मा मौलिक हक अन्तर्गत ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाका हकहुने उल्लेख गरिएको छ।

नेपालको ज्येष्ठ नागरिक ऐन २०६३ ले ज्येष्ठ नागरिकसम्बन्धी ऐनमा भएका व्यवस्थाहरु ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्ने, निजहरुमा रहेको ज्ञान, सीप, क्षमता र अनुभवको सदुपयोग गरी निजहरुप्रति श्रद्धा, आदर तथा सद्भावको अभिवृद्धि गर्ने उद्देश्य रहेको छ। तर, उल्लेखित कानूनहरुले ज्येष्ठ नागरिकका सम्बन्धमा गरेको व्यवस्थाहरुका बारेमा बहुसङ्ख्यक सरोकारवालाहरुलाई हालसम्म पनि जानकारी नहुँदा राज्यबाट उपलब्ध हुने र ज्येष्ठ नागरिकहरुले पाउने सेवा सुविधाबाट समेत उनीहरु वञ्चित हुन पुगेको अवस्था अझै विद्यमान छ।

(लेखक मणि अर्ज्याल कोशी प्रदेश ज्येष्ठ नागरिक महासंघ अध्यक्ष हुन्।)

View : 261

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved