श्रमाधान रोजगार मेलामा प्रधानमन्त्री
विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले श्रम क्षेत्रका समस्याहरूलाई एकद्वार प्रणालीबाट समाधान गर्ने बताएका छन् । आगामी आर्थिक वर्षको बजेटमा श्रम क्षेक्रका समस्या समाधान गर्न रोजगारी वृद्धिका नयाँ कार्यत्रमहरू ल्याइएको उनले दाबी गरेका हुन् ।
बिहीबारदेखि विराटनगरमा सुरु भएको ‘श्रमाधान रोजगार मेला’ को उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले स्वदेशमै रोजगारी वृद्धिका लागि यस्तो रोजगार मेलाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । दाहालले देशमै केही गर्न सकिन्छ भन्ने कुरालाई छायाँमा पार्नका लागि बेलाबेलामा राजनीतिक नेतृत्वलाई गाली गर्दै नकारात्मक भाष्य निर्माण गर्न खोज्ने प्रवृत्ति रहेको गुनासो गरे ।
‘रोगजार क्षेत्रमा गुणात्मक परिवर्तन आएको छ, सरकारले श्रमको क्षेत्रलाई एकद्वार प्रणालीबाट समाधान गर्छ’ प्रधानमन्त्री दाहालले भने, ‘बजेटले रोजगारी वृद्धि गर्न धेरै नयाँ कार्यक्रमहरू ल्याएको छ, रोजगार बैंकको स्थापना, विदेशबाट फर्किएकाहरूलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना, प्रधानमन्क्री रोजगार कार्यत्रमलाई पुनर्संरचना गरिएको छ ।’
उनले सरकारले वैदेशिक रोजगारीबाट फर्किएकाहरू, नेपालमै रहेका सीपयुक्त श्रमिक र अनुभवको उपयोग गर्दै ऊद्यमशीलतामा अघि बढेका व्यक्तिहरूलाई सरकारले विशेष कार्यत्रम घोषणा गरेको जानकारी दिए ।
सरकारले क्षमताअनुसारको रोजगारी सुनिश्चित गर्न रोजगार बैंकको अवधारणा अघि बढाएको उनले बताए । प्रधानमन्त्री दाहालले आगामी आर्थिक वर्षमा एक लाख रिटर्नीहरूलाई उनीहरूको ज्ञान, पुँजी, सीप र प्राविधिक क्षमताअनुसारको रोजगारी सुनिश्चित गर्न सरकारले बजेटको व्यवस्था गरेको जानकारी दिए ।
उनले नागरिकको रोजगारीको संवैधानिक हक प्रत्याभूत गर्न ‘श्रमाधान रोजगार मेला’ अर्थपूर्ण कार्यक्रम भएको बताए । नेपालमा उत्पादित वस्तुहरूको उपयोग र खपतका निम्ति प्रोत्साहन, ‘मेड इन नेपाल, मेक इन नेपाल’ को अवधारणा अगाडि बढाइएको उनले बताए ।
मेलाको उद्घाटन कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले विगतमा मान्छेलाई विदेश पठाउने मन्त्रालय भनेर चिनिएका कारण मन्त्रालयकै परिभाषा बदल्नुपर्ने चुनौती आफूसामू रहेको बताए । मेलाले बेरोजगार नागरिकलाई रोजगारीसँग जोड्न महत्वपूर्ण हुने बताए ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालको श्रम र रोजगार क्षेत्र कमजोर भएको बताए । उनले बैंकले प्रवाह गर्ने ऋणको चर्को ब्याजले रोजगार क्षेत्र कमजोर बनेको धारणा राखे । त्यसका लागि संघीय सरकारले नीतिगत व्यवस्था गर्नुपर्ने बताए ।
कोभिडको असरले उद्योग र रोजगारदाताको क्षमता कमजोर भएका कारण निजी क्षेत्रलाई प्रोत्साहन गर्ने कार्यक्रमहरू आवश्यक रहेको मुख्यमन्त्री कार्कीले बताए । उनले जोगवनीदेखि किमाथाङ्कासम्मको नाका खोलेर त्रिदेशी व्यापार प्रवर्द्धन गर्न सकिए कोशी प्रदेशको आर्थिक क्षेत्र बढ्ने र रोजगारी पनि विस्तार हुने धारणा राखेका थिए ।
मुख्यमन्त्री कार्कीले मुलुकमा राष्ट्रिय पुँजीको विकास गर्न सकेमात्रै संविधानले परिकल्पना गरेजस्तो समाजवादमुखी अर्थतन्त्र तयार हुने बताएका थिए ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले रोजगारी सिर्जना गर्ने वातावरण बनाउन राजनीतिक दलहरूले सत्तापक्ष र प्रतिपक्षबाट माथि उठेर काम गर्नुपर्ने बताए । उनले रोजगारदाता र बेरोजगार व्यक्तिहरूको सम्पर्क स्थापना गरी रोजगारीको समेत अवसर प्रदान गर्न मेला फलदायी हुने विश्वास व्यक्त गरे ।
महासंघका कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले रोजगार क्षेत्रको विकासका लागि स्वदेशी लगानीलाई विस्तार गर्न सरकारले सहयोग गर्नुपर्ने बताए । उनले बजेटको पूर्ण कार्यान्वयन गर्न सकिएमात्रै अर्थतन्त्र बढोत्तरी हुने र त्यसबाट आर्थिक गतिविधि बढेर रोजगारीको अवसर विस्तार हुने धारणा राखे ।
‘स्वदेशमा उद्यमशीलता र रोजगारीका पर्याप्त अवसर सिर्जना गर्दै मुलकलाई विकास र समृद्धिका मार्गमा अघि बढाउन महत्वपूर्ण योगदान गर्न निजी क्षेत्र सदैव प्रयासरत छ’ उनले भने, ‘लगानी प्रवर्द्धन र उद्योग क्षेत्रको विकासबिना पर्याप्त रोजगारीको सिर्जना हुन सक्दैन, दक्ष र योग्य श्रमशक्तिको अभावमा कृषि, उद्योग वा सेवा क्षेत्रको विकास र विस्तार हुन नसक्ने यथार्थलाई सरकारले आत्मसात गर्नुपर्दछ ।’
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले पनि रोजगारदाता र रोजगारीको खोजीमा रहेका व्यक्तिहरूलाई एक आपसमा जोड्नका लागि सफ्टवेयरको प्रयोगबाट तथ्यांक संकलनको काम सुरु गरेको जानकारी दिए ।
बिहीबारदेखि सुरु भएर शुक्रबार समापन हुने रोजगार मेलाले आन्तरिक रोजगारी सिर्जना गर्दै स्थानीयस्तरमा नै वैदेशिक रोजगारीको विकल्प तयार गर्न महत्वपूर्ण योगदान गर्नेमा विश्वस्त रहेको बताए ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव घनश्याम उपाध्यायले वैदेशिक रोजगारीलाई थप व्यवस्थित बनाउन तथा त्यस सम्बन्धी जानकारीमूलक सन्देश प्रवाह गर्न रोजगार मेला फलदायी हुने बताए । उनले रोजगारको खोजीमा रहेका नागरिकलाई स्वदेशमै रोजगारीको अवसरसम्म पहुँच पुर्याउन पनि मेला फलदायी हुने विश्वास व्यक्त गरेका थिए ।
मेलामा उद्योग प्रतिष्ठान, तालिम सेन्टर, सामाजिक विकास मन्त्रालय कोशी प्रदेशसहित स्वास्थ्य तथा शिक्षा क्षेत्रका सेवा प्रदायक, विज्ञान प्रविधि क्षेत्रका उद्योग तथा कम्पनीहरूको करिव ५० वटा स्टलहरू राखिएको जनाइएको छ । स्टलबाट बेरोजगार युवाको विवरणसमेत संकलन गरेर विद्युतीय अभिलेख तयार पारिने छ ।
रोजगार मेलामा दुई सय ५० भन्दा बढीले रोजगारीको अवसर प्राप्त गर्ने अनुमान गरिएको छ । एक हजार बढीले प्रत्यक्ष रुपमा मेला अवलोकन गर्ने जनाइएको छ । बिहीबार विराटनगरबाट सुरु भएको रोजगार मेला हरेक प्रदेशमा दुई दिन चल्नेछ । मेला हरेक प्रदेशमा दुई दिन चल्नेछ । जेठ १७ गते कोशी प्रदेशबाट सुरू हुने यो मेला बागमती प्रदेशमा जेठ ३० गते समापन हुनेछ ।
View : 154
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved