Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
साहित्य

विराटनगरका कवि पोखरेलको कविता संग्रह रुसी भाषामा

कविताहरूलाई रसिया (रुस) का ११ जना ख्यातिप्राप्त अनुवादकहरूले रुसी भाषामा अनुवाद गरेका हुन् ।
उद्‌घोष संवाददाता
३० पुष २०८२, बुधवार

विराटनगर ।  अन्तर्राष्ट्रिय स्तरमा स्थापित प्रतिष्ठित नेपाली कवि एवं साहित्यकार सुमन पोखरेलका कविताहरूको संग्रह रुशको राजधानी मस्कोबाट प्रकाशित भएको छ । ‘अत बेरेगा जिज्नी’ शीर्षकको उक्त अनूदित कविता संग्र्रहलाई मस्कोस्थित प्रसिद्ध प्रकाशन गृह ‘रसियन गलिभर’ ले बजारमा ल्याएको हो ।

अंग्रेजी नयाँ वर्ष २०२६ को सुरुवातसँगै सार्वजनिक भएको सो पुस्तकमा पोखरेलका चुनिएका ४१ वटा कविताहरू समावेश छन् । यी कविताहरूलाई रसिया (रुस) का ११ जना ख्यातिप्राप्त अनुवादकहरूले रुसी भाषामा अनुवाद गरेका हुन् ।

 अनुवादकहरूमा भादिम मेस्यात्स, इगोर सिद, झान्ना सिजोभा, गुएर्मन भ्लासोभ, मारिया ब्रेगमन, अमरसाना उल्जितुजेभ्स, अलेक्सी ओस्तदिन, युरी वैस्मन, आन्ना शारापोभा, युलीया क्रिलोभा, भेटा तेलेगिना  छन् । 

विश्व साहित्यमा गहिरो प्रभाव राख्ने रुसी पाठकहरूका माझ नेपाली भावना र दर्शनलाई पुर्‍याउनु आफैँमा एक ठूलो उपलब्धि मानिएको छ ।

आफ्नो कृति रसियामा प्रकाशित भएकोमा खुसी व्यक्त गर्दै कवि पोखरेलले यसलाई आफ्नो साहित्यिक यात्राको एक नम्र र सुखद क्षण भनेका छन् ।

उनले भनेका छन् ‘मेरो कवितामा विश्वास गर्ने र तिनलाई रुसी भाषामा निकै सावधानीपूर्वक उतार्ने कवि, अनुवादक र मित्रहरूको एउटा असाधारण समुदायको उदारता र समर्पणका कारण मात्र यो पुस्तक सम्भव भएको हो ।’

उनले इतिहासकै सबैभन्दा गहन साहित्यिक परम्परा भएको रुसी भाषाका पाठकहरूले यी कवितालाई आत्मसाथ गर्ने आशा समेत व्यक्त गरेका छन् ।

नेपाली कविताको सिमाना विस्तार गर्ने क्रममा यो प्रकाशनले ठूलो अर्थ राख्दछ । दक्षिण एसियाली साहित्यमा विशेष दख्खल राख्ने पोखरेलका कविताहरू यसअघि पनि विश्वका विभिन्न भाषाहरूमा अनूदित भई चर्चा कमाइसकेका छन् । मस्कोबाट भएको यो पछिल्लो प्रकाशनले नेपाली साहित्यको अन्तर्राष्ट्रियकरणमा एउटा नयाँ इँटा थपेको छ ।


 

View : 181

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved