विश्वमा केही यस्ता पैदलयात्री सडकहरू छन् जसले विश्वभरिबाट लाखौं पर्यटकलाई आकर्षित गर्छन् र पर्यटनबाट मनग्य आम्दानी गर्छन् । पैदलयात्री सडकहरूले धूलो र धुवाँ उत्सर्जन मात्र कम गर्दैन, व्यवसायी र व्यापारिक गतिविधिहरू बढाउन पनि मद्दत गर्दछ ।
विश्वमा प्रख्यात यस्ता सयौं पैदलयात्रु सडकहरूमध्ये चीनको सांघाईको ‘नान्जिङ जिएडाओ’ (नान्जिङ स्ट्रिट अर्थात नान्जिङ गल्ली) पनि एक हो, जुन चीनको नम्बर एक सडकको रूपमा प्रसिद्ध छ । जहाँ कुल वार्षिक व्यावसायिक राजस्व ११.६ अर्ब युआन अर्थात् १.६ अर्ब अमेरिकी डलर हुने अनुमान गरिएको छ । यहाँ हप्ताका दिनमा ८ लाख र सप्ताहान्तमा १३ लाख मानिस पैदलयात्रीका रूपमा भ्रमण गर्छन् ।
त्यसैगरि, डाइ जिल वाकिङ स्ट्रिट (फ्याङ्कफर्ट) जर्मनीको सबैभन्दा ठूलो किनमेल सडकको रूपमा चिनिन्छ, जबकि प्रदर्शनी रोड (लन्डन), सन् २०१२ मा निर्मित, विश्वको सबैभन्दा प्रसिद्ध पैदलयात्री सडकहरूमध्ये एक हो । त्यहाँ पर्यटक र पैदलयात्रीहरू ठूलो संख्यामा भ्रमण गर्न जान्छन् । भिक्टोरिया र अल्बर्ट संग्रहालय, विज्ञान संग्रहालय र प्राकृतिक इतिहास संग्रहालय जस्ता धेरै प्रमुख कला संग्र्रहालयहरू पनि त्यस सडकमा अवस्थित छन् ।
त्यस्तै, कोपेनहेगनको स्ट्रोगेट स्ट्रीट डेनमार्कको सबैभन्दा प्रसिद्ध पैदलयात्री सडक हो । थाइल्याण्डको रात्रिकालीन सडक ‘सिलोम नाइट मार्केट स्ट्रीट’ले प्रत्येक वर्ष लाखौं पर्यटकहरूलाई आकर्षित गर्दछ । सन् २००१ मा स्थापित, लगभग एक किलोमिटर छ लेन सिलोम हिड्ने सडक एक व्यस्त व्यावसायिक क्षेत्र हो, त्यसले सप्ताहान्तमा ५० हजारदेखि १ लाख ५० हजार आगन्तुकलाई आकर्षित गर्दछ।
यी पैदल सडक त प्रतिनिधि उदाहरण मात्र हुन् । यस्ता पैदल सडक प्रायः उच्च विकसित मुलुकहरुमा पर्याप्त व्यावसायिक गतिविधिलाई बढावा दिंदै सांस्कृतिक र पुरातात्विक संग्रहालयको रुपमा विकास गरिएका छन् । तीमध्ये कतिपय पैदल सडकहरुले पुरातात्विक, धार्मिक सांस्कृतिक महत्त्व बोकेका छन्, जहाँ पुराना कलाकृतिको नमूना संरक्षण गरिएको छ । यस्ता पैदल सडकहरुमा सवारीका साधन चलाउन भने पूर्णरुपमा निषेध गरिएको छ ।
बुकानन स्ट्रीट (ग्लासगो, स्कटल्याण्ड), क्वानमेन स्ट्रीट (बेइजिङ, चीन) यसका ज्वलन्त उदाहरण हुन् । बुकानन स्ट्रिटले डिपार्टमेन्ट स्टोरहरू र सडक कलाकारहरूको जीवन्त संग्रह, साथै राम्रोसँग संरक्षित भिक्टोरियाली र एडवर्डियाली वास्तुकला प्रदर्शन गर्दछ, जबकि क्वानमेन स्ट्रिटले परम्परागत चिनियाँ वास्तुकला र मिङ र छिङ राजवंशहरूको इतिहास (सन् १३६८-१९११) देखाउँछ । साथै आधुनिक किनमेल आउटलेटहरू र आवास, क्यानमेन स्ट्रिटले बेइजिङको पुरानो र नयाँलाई समायोजन कलालाई मूर्त रूप दिन्छ ।
विशेषगरि आफ्नो देशको धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक सम्पदाको संरक्षण गर्दै विश्वभरका पर्यटकलाई यस क्षेत्रमा आकर्षित गर्ने र व्यापारिक तथा व्यापारिक क्रियाकलापबाट आम्दानी गर्ने यस्ता सडक निर्माणको मुख्य उद्देश्य रहेको देखिन्छ । पर्यटकको स्वादअनुसार स्वदेशी तथा विदेशी खाना उपलब्ध हुने यस्ता पैदलयात्री सडकमा यात्रुहरुको सुविधाका लागि उत्कृष्ट पसल, रेष्टुरेन्ट, क्याफे र बारहरु सञ्चालनमा ल्याइएका छन् । पर्यटकहरूका लागि दैनिक उपभोग्य वस्तु, स्मारिका तथा उपहार वस्तुहरू पनि बिक्रीमा राखिन्छ, जसले थप पर्यटकहरूलाई आकर्षित गर्दछ ।
उच्च विकसित मुलुकहरूमा विकास गरिएका पैदल सडकको जस्तै परिकल्पना गरेर दुई वर्षअघि विराटनगर महानगरपालिकाले सर्वसाधारण र स्थानीय व्यापारीको विरोधका बाबजुद पनि महेन्द्रचोक पूर्वको हिमालय सडकलाई (लगभग २ सय मिटरलाई) ‘पैदल यात्रु सडक’मा परिणत गर्ने कार्य गरियो । विवादित अवस्थामै महानगरले आफ्नै स्रोतबाट १ करोड ६३ हजार खर्चेर यो सडकको पुरानो संरचनालाई भत्काएर ‘पैदल यात्रु‘ सडक निर्माणको सुरुवात गरेको थियो । यद्यपि अहिले पनि यो सडकको विवाद सेलाएको छैन । महानगरले हिमालय सडक सौन्दर्यीकरणका लागि लगानी गरेको प्रष्टोक्ति दिए पनि त्यस्तो भने देखिँदैन । सडकको बायाँपट्टि बनाइएका केही संरचना बाहेक अन्य सर्वसाधारणलाई आकर्षण गर्ने कुनै संरचना देख्न सकिँदैन । यस्ता सडकमा सवारीका साधनहरू चलाउन निषेध गरिनु पर्नेमा अहिले पनि यो सडक पार्किङ स्थल बनेको छ, हिजो पनि यो सडक पार्किङस्थलको रुपमा प्रयोग भएको थियो । आज पनि पार्किङस्थलको रुपमै प्रयोग हुँदै आएको छ ।
हिजोका दिनहरुमा अति भीडभाड र व्यस्त रहने यो सडक अहिले प्राय सुनसान देखिन्छ । पैदल सडकको निर्माण पश्चात यस सडकखण्ड भित्रका व्यवसायहरू घट्दै गएका छन् । यसले व्यवसायीहरुमा ठूलो असन्तुष्टि बढाएको छ । जसका कारण अहिले स्थानीय व्यापारी यसको विरोधमा उत्रिएका छन् । स्थानीय व्यापारीहरुले यस सडकलाई पुरानै अवस्थामा फर्काउन माग गर्दै हस्ताक्षर संकलन गरेर दबाब सिर्जना गरिहेका छन् । नवनिर्मित ’पैदल यात्रु’ सडकसँग व्यवसायी मात्रै होइन विराटनगरवासी पनि सन्तुष्ट देखिदैनन् । महानगरले पनि यसलाई भत्काउने तयारी थालेको भन्ने समाचार बाहिरिएको छ ।
बनिसकेको संरचना भत्काउनु समस्याको समाधान होइन, बरु यसलाई सुव्यवस्थित बनाएर त्यसबाट महानगरले फाइदा लिनु बुद्धिमत्तापूर्ण कार्य हुन जान्छ । अहिले मुलुकले आर्थिक संकट व्यहोरिरहेको अवस्थामा प्रस्तावित पैदलयात्री सडकको नाममा महानगरले गरेको लगानीलाई सुरक्षित गर्नुपर्छ र थप लगानी गरी उक्त सडकलाई आकर्षक र सुन्दर बनाउनु उचित हुन्छ । यसलाई भत्काएर पुरानै अवस्थामा फर्काउन खोजे यसले महानगरको असक्षमतालाई मात्र झल्काउदैन, गरिब जनताबाट उठाइएको करको समेत दुरुपयोग हुन जान्छ । हिमालय पैदलयात्रु सडक निर्माणमा महानगरले एक करोडभन्दा बढी लगानी गरिसकेको छ, यो लगानी खेर नफाल्नु नै महानगरको महानता हो ।
यति नै क्षेत्रफल ओगटेको हङकङको ‘डोंग ला बे स्ट्रीट’, न्यूयोर्क, लन्डन वा पेरिसका व्यस्त शपिङ मलहरूलाई उछिनेर संसारको सबैभन्दा महँगो किनमेल सडकको रूपमा एक प्रसिद्ध व्यापारिक केन्द्र बन्न सक्दा हामीले पनि यसलाई थप लगानी गरी आकर्षक र सुन्दर बनाउन किन लाग्दैन ? कलर जोन (रंगीन क्षेत्र) को अवधारणा अनुरूप सडकको दायाँबायाँका सबै घरहरुमा एकैखाले रङ प्रयोग गरेर यस सडकलाई आकर्षक र सुन्दर बनाउन सकिन्छ । सवारीका साधनलाई पूर्णरुपमा निषेध गरी धुलो-धुवाँमुक्त क्षेत्रको रुपमा विकास गर्न सकिन्छ । स्थानीय धर्म संस्कृति, जातीय परम्परागत कुराहरुलाई संग्रहालयको रुपमा विकास गरी आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्न सकिन्छ । विभिन्न बार, रेष्टुरेन्ट क्याफेको स्थापना गरी स्थानीय पर्यटक मात्र होइन भारतीय पर्यटकहरुलाई समेत आकर्षित गर्न सकिन्छ । यस पैदलयात्री सडकलाई सुन्दर र आकर्षक बनाउने हो भने धरै संख्यामा भारतीय पर्यटकहरु भित्र्याएर हाम्रो भारतसँग नजिक रहेको सीमाको अपार फाइदा लिन सक्छौं ।
हामी विरोधका लागि विरोध गर्छौ, हाम्रो दिमाख नकारात्मक सोचले भरिदै गएको छ । हामीमा इमान्दारिता हराउँदै गएको छ । हामीले सकारात्मक सोच राखे परिवर्तन सम्भव छ । त्यसैले भत्काएर समस्या समाधान हुँदैन परिवर्तनका लागि सकारात्मक सोच भए पुग्छ । यद्यपि हिमालय रोडले ‘पैदलयात्रु रोड'को पूर्णता पाउँदा कस्तो बन्ने हो त्यसको पूर्ण विशेषताको बारेमा महानगरले विराटनगरबासीलाई पहिले नै प्रष्ट पार्नुपर्छ ।
अर्कोतिर यस सडकको नाम एमजी रोड किन राखियो, यो विचारणीय छ । यो नाम भारतीयको लागि आदरणीय शब्द भए पनि विराटनगरबासीका लागि मौलिक छैन । यसको नाम जीपी वा बीपी रोड किन नराख्ने ? मनमोहन रोड वा कृष्णप्रसाद रोड वा विराट रोड किन नराख्ने ? यसलाई विराटनगर महानगरपालिकाले गम्भीरपूर्वक सोच्नै पर्छ ।
विराटनगर –२, मोरङ
View : 328
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved