Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
विचार

अराजकताको  चपेटामा सर्वसाधारण

अराजक भिडको पछाडि दौडिने क्रान्ति, क्रान्तिकारी विचार र उद्देश्य कतिसम्म बोधगम्य छ त ? के परिवर्तन सधैं संघर्षमय नै हुनुपर्छ ? के व्यवस्था परिवर्तनको अर्को विकल्प अराजकता नै हो त ?
२५ साउन २०८२, आइतवार

संघीय राजधानीदेखि प्रदेश र स्थानीय सरकारका गतिविधिले अन्याय र गरिवीको चपेटामा परेका सर्वसाधारण जनतालाई उकास्न सकेको छैन । मुलुकमा अराजक बन्ने समूहको कमी  छैन ।  एउटा उद्देश्य बोकेर अघि बढेको विचारको हुलले अर्कै रूप लिइरहको अवस्था पनि छ । यहाँका कतिपय राजनीतिक गतिविधिले बाटो बिराएको देख्दा नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा गिज्याइरहको भान हुन्छ ।

 सर्वसाधारण जनता आर्थिक चपेटामा परिरहेका छन् ।  पेशागत रूपले जीवनयापन गर्दै आएको नागरिकहरू दिक्क छन् । जसको प्रत्यक्ष असर युवामा परेको छ । नेपालमा केही हुँदैन भन्ने भाष्य युवा वर्गमा पारी विदेश जान लालयित बनाइदै छ । त्यसैले युवा वर्ग  दुरदर्शी भविष्य बोकेर युवा विदेशतिर आँखा डुलाउँदै छ । 

ठूला राजनीतिक दलहरुनै पार्टीको मूल  आत्मा के हो बिर्सेर नातावाद, कृपावाद र छुटाउनै नहुने विषय कुर्सीवादमा चुर्लुम्म डुबेको अवस्था छ । राष्ट्रको ठूला दलहरुमाथिको यो खतरा पार्टीको मात्र होइन यो समस्त देशको विडम्बना हो । यसले समस्त राष्ट्रलाई नै आउने दिनहरुमा आघात पुर्‍य सक्छ ।

 अहिलेका कति युवा वर्गलाई विशेश्वरप्रसाद कोइराला, मदन भण्डारी, गणेशमान सिंह को हुन् भन्ने थाहा होला, कल्पना गरौं त ? बदलिंदो भूराजनीति, अन्तर्राष्ट्रिय सम्बन्धहरूको जञ्जालमा घुमेको यो विश्वमा अस्तव्यस्त युवा समाज भएको राष्ट्रको अबको अवस्था कस्तो होला ?

अराजक भिडको पछाडि दौडिने क्रान्ति, क्रान्तिकारी विचार र उद्देश्य कतिसम्म बोधगम्य छ त ? के परिवर्तन सधैं संघर्षमय नै हुनुपर्छ ? के व्यवस्था परिवर्तनको अर्को विकल्प अराजकता नै हो त ?

व्यवस्था परिवर्तनका कयाै‌ संघर्ष र विगतका परिदृश्यहरू कहाली लाग्दा छन् । कतिका सिन्दुर पुछिएका छन्, कयौंले सन्तान गुमाए अनि कयाैले ती घटनाका खाटाहरूसँग आज पनि दुःख  साट्दै छन् । के अब अझै त्यही घटनालाई जनताको प्रयोग गरेर झन् डरलाग्दो बनाउने प्रयास गर्ने त ?

व्यवस्था परिवर्तन हुनुपर्छ भन्नेहरु अझै गाडीमै छन् अनि जनता खाली खुट्टा सडकमा त्यस्ता पात्रलाई स्वागत गर्न बाटो खाली गर्दै  । के यो चै समानताको साथ गरिएको लडाई हो त ?

घर  (कसैको निजी सम्पत्ति) नै जलाइदै छ , के यो चै नेताहरुले गरेको अन्याय र बेथितिको अर्को रूप जस्तो छैन ? अनि केका लागि यो भीड अनि क्षति ? अनि निर्दोष जनता मारिदा सरकार जसले मुख बाँधेर बस्ने यस्तो खालको कुन खालको सरकार हो ? यतिसम्मकि राष्ट्रको अभिभावकको जिम्मेवारी लिएर बसेका व्यक्ति नै जनता बेच्ने अभियोगमा आरोपित छ ।  

मुख थुन्दा भौतिक रूपमा स्वतन्त्रताकोे हत्या होला  । दबिनु र दबाइनुकोे बीचको स्थितिमा कुण्ठित हुनु वास्तविक स्वतन्त्रताकोे हनन हो । व्यवस्थामाथिको स्वार्थी भावनाले न भूतकालमा लाभ भयो, न वर्तमानमा हुनेछ न भविष्य नै उज्यालो हुन जान्छ ।

बदला र बदलीमा भेद छुट्याउन जानिएन भने त्यो भीडको निर्णयको शिकार हामी पनि हुनुपर्छ । भीडकोे निर्णय सधै सही नै हुन्छ भन्ने हुँदैन किनभने  वर्तमान समयमा असान्दर्भिक लागेका विषयहरू भोलिका सम्भावनाका लहर हुन सक्छन् ।  त्यसैले भीड कता जाँदैछमा आफूलाई होमिनु मूर्खता हो ।
 

आजको गल्तीले भोलि हानी हुने आफैलाई हो ।

आजको हिंसात्मक वातावरणले कसैको कहिलै भलो हुने छैन जब भीड अराजक बन्दै जान्छ अनि एकसमयमा न होसमा रहनेछ नत यो लायक कि आफूले आफूलाई धिकार्नुको बाहेक अरु बिकल्पै रहँदैन । त्यसैले यो छुट्याउन सक्षम बनौकि आजको सान्दर्भिकता के हो, वास्तविक परिवर्तन र क्रान्तिमा के फरक छ भनेर ।

 जनता जनार्दन हुन् तर जनतालाई प्रयोग गरेर पछाडि आफ्नो विगतको सम्बन्धमा खलल पुगेपछि जनताको आडमा आफ्नो स्वार्थ पूरा गर्न खोज्नु सरासर निन्दनीय छ । यस्ता पक्षको खण्डन गर्नुको सट्टा हामी किन होमिदैछौं कसैको स्वार्थको भकारीमा ? गणतन्त्रको मूलभूत उद्देश्य स्वतन्त्रता हो, जनता हुन् । त्यसैले यो बेला भनेको व्यवस्थामा बसेका लुटेराहरुको बहिस्कार गर्न एकजुट हुनु हो न कि ब्यबस्था परिवर्तनको चपेटामा धकेलिएर पिरोलिनु । 

हिजो पनि यो सडक तातिएको थियो त्यसैले परिवर्तन सम्भव रहेयो तर परिवर्तनसँगै भाएका सामाजिक, सांस्कृतिक, धार्मिक, राजनीतिक क्षतिहरू छ्यापछ्याप्ती छन् एकचोटि त्यस्ता पक्षलाई केलाउने आँट पनि गरौं । इतिहासमा जसरी बज्रस्वरूप व्यवस्थामाथि प्रहार गर्ने काम बन्द गरिनुपर्छ र आगामी भविष्यले खोजेको बाटोतर्फ लम्कौ किनभने इतिहासले पाठ सिकाउँछ, नक्सा कोर्छ भविष्यको, गन्तव्यको ।

राजतन्त्रको मूल नारा बोकेका व्यक्ति उही, अनि गणतन्त्रका लागि लागिपरेका भूतपूर्व वाहकवाला पनि । अब फेरि किन मोड्ने बाटो आधुनिकताको ? किन रक्ताम्य बनाउने सडक ? 

अझैं कहिलेदेखि कानुनी अधिकारका साथ आवाज राख्ने, बोल्ने ? जवाफदेही राज्य ,सडक र सदन बनाउने ? कुर्सीका लागि मरी मेट्नेको छातिमा जनताको प्रश्न हुनुपर्छ। यो समय पुन: आमविद्रोहको हैन । अबकोे समय प्रश्न, साहस र यथार्थको हो । भ्रम, भावना र खेलको चपेटामा नपरी व्यवस्थाको आडमा शासन गर्नेहरु देश, जनता, समाज र अन्तर्राष्ट्रिय स्वार्थमाथि कस्तो धारणा राख्छन् भन्ने विषयमा जनताले मूल्याङ्कन गर्न सक्नुपर्छ । 

 हामी आन्दोलन हैन प्रश्न गर्छौं, व्यवस्थाको मर्यादालाई सम्मान गर्दै कानुनी शासनको महत्वलाई झल्काउँदै । न हामी कसैको उक्साहटमा आएर सडकमा उत्रिन्छौं नत बाटो खाली गर्दिन्छौं । अब उठ्छौं त केबल आफ्नो लागि, आफ्नो देशको लागि । हैनभने कहानी त्यही हुन्छ । राजावादीकोे अगाडि ‘हो म राजावादी’ भन्दा ज्यान जोगिने, गणतन्त्रवादीको अगाडि ‘गणतन्त्रवादी’ भन्दा जोगिने ।  

यसरी हाम्रो ज्यान धरापमा हुने भयो नै कसैको शक्ति, शासन, प्रदर्शन र शस्त्रकोे अगाडि,  देशको अर्थतन्त्र हाम्रो काँधमा छ ।  तर हाम्रो काँधको दुरुपयोग र्गै  व्यक्तिगत स्वार्थका लागि प्रयोग गरिन्छ ।  व्यवस्था आफ्नै विरासतको हो भन्ने सोचेर साम दाम दण्ड भेद प्रयोग गर्ने, सरकारको आडमा अमानवीय क्रियाकलापहरू गर्नेहरुकोे शिकार  सोझा जनतालाई बनाएको पाइन्छ । 

जसले आफ्नो सारा जीवन एकमुठी सुखका लागि संघर्ष गरिरहको छ ।  उहिनै आज न्यायका लागि सडकमा उत्रिएर प्रदर्शन गर्न वाध्य छ । यसले मुलुकमा सुशासन कुन अवस्थामा पुगेको रहेछ, देशको आर्थिक स्थित कति दयनीय अवस्थामा पुग्यो भनेर खुलस्त पारेको छ । 


 

View : 789

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved