Biratnagar, Morang, Nepal
३१ वैशाख २०८१, सोमवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

भान्सामा सुकुमेलको साटो अलैंची पुर्‍याउने अभियान

उद्घोष सम्वाददाता
११ वैशाख २०८१, मङ्गलवार

विराटनगर । नेपाली भान्सामा सुकुमेलको साटो अलैंचीलाई पुर्याउनका लागि अभियान चलेको छ । अलैंची उत्पादन हुने नेपाल, भारत र भुटानमध्ये कुल उत्पादनको ६० प्रतिशत नेपालमै हुने गरेको भए पनि घरेलु खपत ५ प्रतिशतमात्रै रहेको भन्दै अलैंचीको प्रयोग बढाउन प्रचारात्मक अभियान चलाइएको हो ।

अलैंचीको प्रयोग बढाउन मास्टरसेफ सन्तोष साहले ब्राण्डिङ गर्दै आएका छन् । सोमबार सुन्दरहरैंचास्थित होटल नेपालिरिकामा आयोजित ‘वाह अलैंची’ प्रवद्र्धनात्मक कार्यक्रममा मास्टरसेफ साहले स्वदेशी अलैंचीको प्रयोगले खानाका परिकारमा ल्याउन सकिने स्वादबारे प्रयोगात्मक जानकारी गराएका हुन् ।

नेपाल कृषि बजार विकास कार्यक्रम(सहज) र नेपाल अलैंची व्यवसायी महासंघको सहकार्यमा विराटनगर, विराटचोक, दमक, विराटनगर र इटहरीका होटल, क्याफे, बिर्यानी हाउस, चिया तथा कफी सपका कुक तथा सेफहरूलाई सहभागी गराएर घरेलु भान्सा र खानपानमा अलैंचीको प्रयोग गर्न सकिनेबारे जानकारी गराइएको हो । 

उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. लेखराज दाहालले कार्यक्रमले अलैंचीको प्रयोगको बजार पत्ता लगाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले नेपालबाट एकै वर्षमा ८ अर्ब रुपैयाँ बराबरको अलैंची निकासी हुने तर त्यस्तै प्रकारको स्वाद भएको सुकुमेल महंगो मूल्यमा आयात भएर प्रयोग हुने गरेको भन्दै अलैंचीलाई स्वदेशी भान्सामा पुर्याउनुपर्नेमा जोड दिए ।

साथै विदेशी पाहुनालाई समेत अलैंचीको प्रयोग गरेका परिकारको पवद्र्धन गर्न सकिए मुलुकको अर्थतन्त्रमै अलैंचीको योगदान अझ बढेर जाने बताए । भान्सामा अलैंचीको प्रयोगलाई बढाउनका लागि थप प्रचार प्रसार गर्न मन्त्रालयले सहयोग गर्ने उनले प्रतिवद्धता जनाए ।

सचिव दाहालले स्वदेशमा कम खपत हुने तर भारतमा धेरै निकासी हुने गर्दा मूल्य अस्थिर भई कुनै वर्ष नेपाली किसानहरूलाई घाटामा अलैंची बिक्री गर्नुपर्ने बाध्यता रहेको उनले बताए । आन्तरिक खपत बढाउन सकिए अलैंचीको मूल्यले स्थायित्व पाउने उनले बताए ।

नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराईले नेपालीले आफ्नै भान्सामा अलैंचीको साटो सुकुमेल प्रयोग गरेका कारण अलैंचीको प्रवद्र्धन हुन नसकेको बताए । अलैंचीको उपभोग बढाउन सकिए महंगोमा हुने गरेको सुकुमेलको आयात घट्ने र व्यापार घाटा न्यूनीकरणमा मद्दत पुग्ने उनले दाबी गरे ।

‘पहिले स्वदेशी उपभोग दुई प्रतिशतजति थियो, अहिले केही बढेर ५ प्रतिशत पुगेको छ, होटल तथा रेष्टुरेन्टहरूको संख्या बढेका कारण समेत अलैंचीको प्रयोग बढेको छ’ उनले भने, ‘औषधीय गुण भएका कारण अलैंचीको प्रयोगलाई सबैले प्रवर्द्धन गर्नुपर्ने हुन्छ, भान्सामै अलैंची पु¥याउन सबैको सहयोग जरुरी छ ।’

मास्टरसेफ सन्तोष साहले आफू दुई वर्षदेखि नेपाली अलैंचीको प्रयोगसम्बन्धी प्रवद्र्धनको काम गर्दै आएको जानकारी दिए । उनले अलैंचीको प्रयोग गरेर बनाउन सकिने ६० वटाभन्दा बढी परिकारको रेसिपी तयार पारेको बताए । नेपालमा हरेक होटल तथा रेष्टुरेन्टहरूलाई आफ्नो मेन्युमा अलैंचीलाई अटाइदिन उनले आग्रह गरे ।

‘पहिले नेपालमै उत्पादन हुने अलैंची खाँदै नखाने अवस्था थियो, शहरी क्षेत्रमा त्यसको साटो सुकुमेलको प्रयोग भइरहेको थियो’ उनले भने ‘अब बल्ल मसलाकै रुपमा अलैंचीको प्रयोग बढाउने काम धेरै क्षेत्रबाट सुरु भइसकेको छ, जसका कारण सुकुमेलको आयात घटाउन मद्दत पनि पुग्नेछ ।’

सहज परियोजनाकी टिम लिडर रिमा श्रेष्ठले नेपालमा सबैभन्दा धेरै अलैंची उत्पादन भए पनि खपत भने नभएको बताइन् । उत्पादित अलैंची भारत जाने र आयात भएको सुकुमेल प्रयोग नरोकिने भएपछि घरदेखि होटल रेष्टुरेन्टसम्म अलैंचीको प्रचार गर्नुपरेको उनले बताइन् ।

उनले नेपाल सरकारसँगै मिलेर होटल व्यवसायीहरूसँगको सहकार्यमा अलैंची प्रयोगसम्बन्धी अभियान चलाइएको जानकारी दिइन् ।

उक्त कार्यक्रममा ११ वटा होटल रेष्टुरेन्टका सेफ तथा कुकहरूले मास्टरसेफ साहबाट खाना तथा परिकारमा अलैंचीको प्रयोग गर्न सकिने सम्भावनाबारे प्रयोगात्मक जानकारी दिएका छन् । उनले होटलहरूमै पुगेर पनि अलैंचीको प्रयोगको प्रवद्र्धन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

View : 83

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved