आधुनिक जीवनशैलीका कारण उत्पन्न तनाव, चिन्ता र शारीरिक अस्वस्थताको समाधानको लागि प्राचीन ऋषि परम्पराको शाश्वत उपहार हो - योग र ध्यान। यी दुई अभ्यास एक–अर्काका पूरक हुन्, जसले मानव अस्तित्वको शारीरिक, मानसिक र आध्यात्मिक आयामलाई सन्तुलित गर्दछन्।
जहाँ योगले शरीरलाई स्थिर र मनलाई एकाग्र बनाउने आधार तयार गर्छ, त्यहाँ ध्यानले गहिरो आत्मबोध र चेतनाको विस्तार गर्दछ। यो गहन अभ्यासको मार्ग मुख्यतया महर्षि पतञ्जलीको योग दर्शन र गौतम बुद्धद्वारा प्रचारित विपश्यना ध्यानको दृष्टिमा केन्द्रित छ।
योग परम्परामा महर्षि पतञ्जलीको नाम अग्रपङ्क्तिमा आउँछ। उनको कालजयी ग्रन्थ ‘योगसूत्र’ ले योगलाई व्यवस्थित दर्शनको रूपमा स्थापित गरेको छ। पतञ्जलीका अनुसार योगको अन्तिम लक्ष्य ‘चित्त वृत्ति निरोध’ (मनको वृत्तिहरूको नियन्त्रण) हो, जसको प्राप्ति ध्यानको माध्यमबाट मात्र सम्भव छ।
पतञ्जलीले योगको पूर्णताका लागि अष्टाङ्ग योग (आठ अङ्ग) को मार्ग प्रस्तुत गरेका छन्। यी आठ अङ्गहरू हुन् — यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि।
आसन र प्राणायामले शारीरिक र श्वास–प्रश्वास सम्बन्धी अभ्यासबाट शरीरलाई स्थिर तथा मनलाई शान्त बनाउँछन्, जसले लामो समय ध्यानमा बस्नको लागि आधार प्रदान गर्दछ।
धारणा (एकाग्रता) ले ध्यानको लागि मनलाई तयार गर्छ। यसरी, अष्टाङ्ग योगको छैटौं, सातौं र आठौं अङ्ग- धारणा, ध्यान र समाधि - नै ध्यानको वास्तविक प्रक्रिया र त्यसको उच्चतम परिणाम हुन्। पतञ्जलीको योग प्रणालीमा ध्यान कुनै छुट्टै अभ्यास नभई सम्पूर्ण प्रणालीको केन्द्रबिन्दु हो।
पतञ्जलीको ध्यान परम्पराका साथै, ध्यानको अर्को शक्तिशाली स्वरूप हो - विपश्यना, जसको शाब्दिक अर्थ ‘वस्तुलाई जस्ताको तस्तै देख्नु’ हो। यसलाई गौतम बुद्धले करिब २,५०० वर्षअघि पुनर्जीवित गरेका थिए।
विपश्यनाको मुख्य उद्देश्य मनका विकारहरू (राग, द्वेष, मोह) लाई जडदेखि नै हटाउनु हो। यसको प्रारम्भिक चरण ‘आनापान सति’ (स्वाभाविक श्वासमा ध्यान) हो, जसले मनलाई एकाग्र र शान्त बनाउँछ। मन एकाग्र भएपछि, साधकले शरीरका विभिन्न भागमा उत्पन्न हुने हरेक सूक्ष्म संवेदनाहरूलाई साक्षी भावले अवलोकन गर्दछ।
निरन्तरको अवलोकनबाट साधकलाई सबै संवेदनाहरू क्षणिक छन् (अनित्य छन्) भन्ने गहिरो बोध हुन्छ। यो अनित्यताको बोध नै विपश्यनाको सार हो, जसले दुःखको मूल कारण चाहना र घृणालाई कमजोर बनाउँछ।
योगका आसन र प्राणायामले शरीरलाई स्थिर बनाई लामो विपश्यना ध्यानका लागि सहयोग पु¥याउँछन्। यसरी पतञ्जलीको धारणाले एकाग्रता सिकाउँछ, भने बुद्धको विपश्यनाले त्यस एकाग्रतालाई प्रयोग गरी अनित्य सत्यको अनुभूति गर्न सिकाउँछ।
योग र ध्यानको संयुक्त अभ्यासले मानव जीवनमा चामत्कारिक परिवर्तन ल्याउन सक्छ। शारीरिक स्तरमा, ध्यानले तनाव हर्मोन (कोर्टिसोल) को स्तर घटाउँछ, भने आसन र प्राणायामले रोग प्रतिरोधात्मक क्षमता बढाउँदै शरीरलाई लचिलो र स्थिर बनाउँछ। मानसिक स्तरमा, पतञ्जलीको धारणा अभ्यासले एकाग्रता र स्मरणशक्ति बढाउँछ।
विपश्यनाद्वारा अनित्यताको बोध गर्दा भावनात्मक सन्तुलन कायम हुन्छ, र चिन्ता तथा डिप्रेसनमा कमी आउँछ। आध्यात्मिक स्तरमा, दुवै परम्पराको लक्ष्य जीवनको गहिराइसम्म पुगी आफ्नो वास्तविक स्वरूपलाई चिन्नु हो। पतञ्जलीको समाधि वा बुद्धको निर्वाणको लक्ष्य भनेको दुःखबाट पूर्ण मुक्ति र आत्मबोधको पूर्णता हो। यी अभ्यासहरूले हामीलाई वर्तमान क्षणमा पूर्ण रूपमा सचेत भएर बाँच्न सिकाउँछन्।
योग र ध्यान कुनै धार्मिक अनुष्ठान मात्र होइनन्, यी त पूर्ण, सन्तुलित र स्वस्थ जीवन जिउने विज्ञान हुन्। महर्षि पतञ्जलीले अष्टाङ्ग योगमार्फत शरीर, श्वास र मनलाई अनुशासित पार्ने एउटा विस्तृत मार्ग दिए, जसको अन्तिम खुड्किलो ध्यान हो।
गौतम बुद्धले पुनर्जीवित गरेको विपश्यनाले हामीलाई जीवनका क्षणिक सत्यहरूलाई साक्षी भावले हेरेर दुःखबाट मुक्त हुने एउटा व्यावहारिक प्रविधि प्रदान गरे।
आजको तीव्र प्रतिस्पर्धात्मक युगमा, यी प्राचीन विधिहरूको सान्दर्भिकता झनै बढेको छ। योग र ध्यानको अभ्यासलाई आफ्नो दैनिक जीवनको अभिन्न अङ्ग बनाउँदा व्यक्तिले भौतिक सुख–सुविधाका साथै आन्तरिक शान्ति र आत्मिक सन्तुष्टिको अपार खजाना प्राप्त गर्न सक्छ। स्वस्थ शरीर, शान्त मन र जागृत चेतनाको लागि योग र ध्यानको मार्ग नै मानव कल्याणको सर्वोत्तम मार्ग हो।
(माधव अधिकारी पतञ्जली योग महानगर समिति, विराटनगरका अध्यक्ष हुन्।)
View : 300
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved