Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
विचार

थानदेखि राजवंशी चोकसम्म

वासुदेव विश्वासको संघर्ष र समर्पण

रामसुन्दर राजवंशी
१४ माघ २०८२, बुधवार

थानको संस्कृति र पूजा : वासुदेव विश्वासले विराट राजवंशी समुदायको थानमा मौलिक तरिकाले पूजापाठ गर्दै आउनुभएको छ। गाउँघरको छाना अनुसार थानको छाना बनाउने गरिन्थ्यो। बाँस अथवा काठको खम्बा प्रयोग गरी थान निर्माण गर्ने गरिन्थ्यो।

थान पूजा संस्कृति र पूजनलाई उहाँले महत्व दिनुभएको छ। धान रोप्नुभन्दा अगाडि गोबर लिएर प्राकृतिक पूजन गरिन्छ।

अन्नबाली भिर्नुभन्दा पहिले थानको प्राकृतिक पूजन गर्ने चलन छ। रातबिरातको समयमा दैविक शक्तिको खराब प्रभाव पर्ने विश्वास रहेको छ।

विराट राजवंशी समुदायको थानमा पूजा गर्ने 'गह्रदार' र तान्त्रिक पाठ गर्ने 'धामी' राख्ने संस्कार चल्दै आएको छ। यस्तो संस्कार प्रायः तराईका अन्य आदिवासी समुदायमा पनि छ। यसै सन्दर्भमा सकार, निराकार र आकारसँग भूमि र थानलाई जोड्न सकिन्छ।

बानी व्यवहार : उहाँ सानैदेखि निडर, हक्की, खरो र साहसी हुनुहुन्थ्यो। यसले गर्दा उहाँसँग जायज कुरा मात्र अरूले गर्ने गर्थे। अनावश्यक कुरामा उहाँको खासै चासो थिएन।

यसले गर्दा आज पनि उहाँको विचार स्वच्छ र स्वस्थ रहेको छ। कसैले चाहेर पनि धमिलो पार्न नसक्ने गरी आचरण बनाउनुभएको छ। उहाँमा निर्धक्क भएर कुनै पनि कुराको जवाफ दिन सक्ने साहस रहेको छ। यसले गर्दा उहाँ सबैको विश्वासिलो बासुदेव विश्वास सधैं सम्झनालायक हुनुहुन्छ।

 

मौलिक सीपहरू :  वासुदेव विश्वासको रुचि कृषिमा पनि रहेको छ। उहाँको घरमा खेतीपाती गर्ने सहयोगी कामदार हुँदा पनि आफैं सक्रिय भएर काम गर्ने बानी रहेको छ। पहिले बाबुबाजेको पालामा आधुनिक कृषि सामग्री तथा औजार नहुँदा परम्परागत औजारहरूको प्रयोग गरिन्थ्यो।

जस्तै: खेत जोत्ने हर र पाहुनाजाने बेला टपार गाडी। यी खेती गर्ने औजार 'हर' का हरेक अंग बनाउने कार्यमा उहाँ पोख्त हुनुहुन्थ्यो। यसले गर्दा उहाँको पितालाई खेतीकिसानीका औजारहरूको समस्या पर्दैनथ्यो।

भेषभूषा र पहिरन : उहाँले सादगीपूर्ण जीवनलाई नै बाँच्ने आधार बनाउनुभएको छ। यसले गर्दा उहाँको खानपान र रहनसहन त्यागी जीवनसँग मिल्दोजुल्दो छ। उहाँको भेषभूषा र पहिरनले विराट राजवंशीको पहिचान झल्काउने खालको जीवनशैलीमा निर्वाह गर्दै आउनुभएको छ।

साथै, कुनै पनि समुदायको संस्कृतिको पहिचानलाई संरक्षण एवं प्रवर्द्धनका लागि जोड दिनुभएको छ। उहाँले आफ्नो दैनिक जीवनमा सफा र सेतो लुगा लगाउन मन पराउनुहुन्छ। यसले गर्दा सेतो कुर्ता, पाइजामा र कमिज जस्ता पहिरनहरू अहिले पनि लगाउँदै आउनुभएको छ।

 

धार्मिक र सांस्कृतिक कर्म : विराट राजवंशी समुदायमा बिहान उठ्नैबित्तिकै कुलदेवतालाई सम्झने वा प्रणाम गर्ने चलन छ। स्नानपछि सूर्यदेवलाई जल चढाउने र घरको पूजा कोठामा दियो बाल्दै धूप धूपसार गर्ने गरिन्छ। यस्ता धार्मिक र सांस्कृतिक कर्म गर्ने योगी वासुदेव विश्वास हुनुहुन्छ।

उहाँ गान्धी विचारधाराबाट प्रभावित व्यक्तित्व हुनुहुन्छ। खानपान, रहनसहन र पहिरन गान्धीको जीवनशैलीसँग मिल्दोजुल्दो छ। स्वदेशी उत्पादन प्रयोग गरेर आत्मनिर्भरता बनाउने मौलिक विचारले आजसम्म राजवंशी हाटमा स्वदेशी वस्तुहरूको विक्री र वितरणलाई प्राथमिकता दिइएको छ।

यसले गर्दा राजवंशी हाटमा बस्तु तथा सेवाको मौलिकता रहेको छ। उहाँ सबैको हित र भलाइ चाहने व्यक्तित्वमा गनिनुहुन्छ।

उहाँको विराट राजवंशी समुदायसँग मात्र नभएर समाजका राजनीतिक र साहित्यिक व्यक्तित्वहरूसँग पनि घुलमिल रहेको छ। अहिले पनि राजनीतिक र साहित्यिक जगतमा गहिरो चासो राख्नुभएको छ। यिनको अध्ययन र अनुसन्धानले उहाँलाई सिर्जनशील बनाउँदै गएको छ।

पूर्व प्रधानमन्त्री मातृकाप्रसाद कोइरालासँग विराटनगरमा भेटघाट हुँदा एक पटक राजनीतिक र राजवंशी समुदायका केही विषयमा कुराकानी भएको थियो। सो कुराकानीमा शिक्षा र स्वास्थ्य सेवालाई सर्वसाधारणको पहुँचमा कसरी बनाउने भन्ने जिज्ञासा राख्नुभएको थियो।

त्यसैगरी विराट राजवंशी समुदायको जातीय पहिचान र प्रथम जातिको रूपमा कायम गर्नका लागि धारणा राख्नुभएको थियो। यी विषयहरूलाई कोइरालाले 'कोशीको कथा'मा उल्लेख गरेको पाइन्छ।

 

मातृकाप्रसाद कोइरालासँगको भेटले राष्ट्रिय पञ्चायतलाई जिताउनुपर्छ भनेर आग्रह गर्नुभयो। विराटनगर बनाउने विषयमा गहिरो संवाद पनि भयो। मातृकाप्रसादसँग विभिन्न विषय लिएर धनीलाल तबादर र कनुलाल दास माझीसंग छलफल पनि भयो।

पञ्चायती व्यवस्थामा उहाँलाई चुनावमा उठाउन दबाब दिंदा पनि मान्नुभएन। तर, वासुदेव जनता र राष्ट्रिय हितका लागि कोइरालासँग सम्झौता गर्नुभएन्। त्यो उहाँको निडर र अटल स्वभावका कारण कसैले पनि दबाब दिन सकेनन्।

 

उहाँले मातृकाप्रसादलाई लोटाबाट कोठा बनाउने भ्रष्ट प्रवृत्ति सुधार्नुपर्छ र हात्तीको दाँत देखाउने प्रजातन्त्र जनताको हितमा छैन भनेर भन्नुभएको थियो। पूर्व प्रधानमन्त्री नगेन्द्रप्रसाद रिजालसँगको भेटघाटमा समाजमा देखिएको गरिबी र विपन्नताको उत्थान कसरी गर्ने भन्ने कुरामा पटकपटक संवाद हुने गर्थ्यो। तर संवादले खासै उपलब्धि हुन सकेन।

त्यसैगरी पूर्व उपप्रधानमन्त्री बद्रीप्रसाद मण्डल, नेपाल सद्भावना पार्टी संस्थापक अध्यक्ष गजेन्द्रनारायण सिंह, पूर्व सांसद एवं राजदूत श्यामलाल तबादर र राष्ट्रिय प्रजापरिषद् सदस्य चैतन्य चौधरी राजवंशी लगायतसँग समाज उत्थान र विकासका लागि बहस गर्ने गर्थ्यौं भन्नुहुन्छ वासुदेव विश्वास।

 

वासुदेवको मानवीय चिन्तन : मत्स्यकालदेखि नै बसोबास गर्दै आएका विराट राजवंशी समुदायले मानवीय धरातललाई कहिले बिर्सेनन्। किनकि यो समुदायले आफ्नो गाउँघर र बस्तीमा मानवीय विस्तार गर्न अन्य समुदायलाई आश्रय दिएको थियो। यसले गर्दा विराट राजवंशी समुदायका बस्तीहरूको वरिपरि अरू जातजातिहरू पनि बसोबास गर्दै आएका छन्।

यसैगरी उहाँले पनि अन्य स्थानबाट आउने मानिसहरूलाई बसोबासको व्यवस्था सजिलैसँग गरिदिने स्थानीय बुढापाका र अग्रजले बताउनुभएको छ। तसर्थ उहाँले सबैको पहिचान र अस्तित्व स्वीकार गर्दै मानवीय धरातल र नैतिकता कहिलै बिर्सनुभएन।

 

विराट राजवंशी समितिहरू र वासुदेव : विराट राजवंशी समुदायका लागि स्थापित संस्थाको संस्थापक अध्यक्ष वासुदेव विश्वास हुन्। उहाँद्वारा विराट राजवंशी समुदायको स्तर उठाउनका लागि विक्रम सम्वत् २०४२ सालमा राजवंशी उत्थान तदर्थ समिति गठन गरिएको थियो।

यसले विराट राजवंशी समुदायलाई सशक्त र संगठित गर्न मद्दत गरेको थियो। उहाँको विचार र दृष्टिकोणले राजवंशी समुदायलाई सामाजिक, आर्थिक र सांस्कृतिक रूपान्तरण गर्न राजवंशी उत्थान समिति खोलिएको थियो।

उहाँको नेतृत्व प्रभावकारी थियो। उहाँले साविक टंकीसिनवारी अमरलाल राजवंशीको बगैचामा सो संस्थाको पहिलो बैठक बोलाउनुभएको थियो।

सो बैठकका एजेण्डाहरूमा दाइजो प्रथा, सुकरात र जितियाको फजुल खर्च, शिक्षा, जातीय भावना कायम गर्ने, संस्कार र संस्कृतिको विकास गर्ने, टोलटोलमा समिति गठन गर्नुपर्ने लगायतका विषयवस्तुमा निर्णय भएको थियो।

सो विषयवस्तुमा गम्भीरतापूर्वक लाग्नुभएको थियो। यसले गर्दा आज विराट राजवंशी समुदायमा केही रूपान्तरणको महसुस हुँदै आएको विराट राजवंशी सांस्कृतिक पुस्तकालयका अध्यक्ष  कुशेश्वर विराटराजवंशी बताउँछन् ।

सो तदर्थ समितिमा उपाध्यक्षमा शिवनारायण मण्डल राजवंशी, सचिवमा भुवनेश्वर मण्डल राजवंशी र कोषाध्यक्षमा आशनारायण मण्डल राजवंशी लगायतका युवाहरूले सशक्त भूमिका निर्वाह गरेका थिए।

विराट राजवंशी समुदायको पहिचान, समानता र सामाजिक न्यायका मुद्दाहरू उठाउनका लागि विधिवत रूपमा मोरङ जिल्ला प्रशासन कार्यालयमा विक्रम संवत् २०५४ सालमा राजवंशी उत्थान समिति नामक संस्था दर्ता भयो। यसले गर्दा समुदायका हक र अधिकारका लागि औपचारिक बाटो खुल्यो। यहाँसम्म उहाँको सक्रियताले राजवंशी उत्थान समितिलाई ल्याएको हो।

यस पछिको नेतृत्व भक्तनारायण मण्डल समितिका अध्यक्ष भई विराट राजवंशी समुदायमा सशक्तिकरणका लागि गाउँ, टोल, नगर र जिल्लाहरूमा संगठन विस्तार कार्यमा एकजुट भई अभियान सुरू गरियो। सो अभियानमा उत्साह र उमंग थियो। त्यसमा अझ सामूहिकता र अपनत्व बढाउनका लागि उहाँले विशेष भूमिका निर्वाह गर्नुभएको थियो।

विराट राजवंशी समुदायको सशक्तीकरणको बाटो बलियो हुँदै जाँदै थियो। तर अगुवाहरूमा मतभेद, मनमुटाव र आपसी द्वन्द्वका कारण संगठन दुई भागमा विभाजित हुन पुग्यो। यसले गर्दा अर्को समूहले पुनः नेतृत्व जिम्मेवारी वासुदेव विश्वासलाई सुम्प्यो। उहाँको नेतृत्वमा विक्रम संवत् २०५६ सालमा राजवंशी समाज सेवा समिति नामक समानान्तर संस्था मोरङ जिल्ला प्रशासन कार्यालयमा दर्ता भयो।

सो संस्थाले सामाजिक कल्याण परिषद्, काठमाडौंको आबद्धता प्राप्त गर्यो। यो संस्थाले पनि रचनात्मक कार्यहरू गर्दै गयो। यसले गर्दा विराट राजवंशी समुदायमा संस्थाको लोकप्रियता बढ्दै गयो।

यी दुई संस्थाको तानातानीले विराट राजवंशी समुदाय आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानमा सूचीकृत हुन सकेन। यसमा सबै विराट राजवंशी अगुवाहरूको कमी कमजोरी देखिएको छ। यसमा कुनै दुविधा छैन।

विराट राजवंशी समुदाय सूचीकृत नभएपछि केही वर्षको अन्तरालमा दुवै संस्थालाई सबैको विश्वासिलो वासुदेव विश्वासको सहजीकरणबाट एकीकृत गरियो।

मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भैसकेपछि सबै जातजाति, भाषा, धर्मसंस्कृति, लिङ्ग र पिछडिएका क्षेत्रले आफ्नो अधिकार खोज्दै थिए।

त्यसबेला विराट राजवंशी समुदायको वि.सं. २०६४ साल फागुन ६ गते महेन्द्रचोकमा पहिलो बृहत् भेला भएको थियो। सो भेलामा विराट राजवंशी समुदायले प्रतिष्ठानमा सूचीकृत गर्नका लागि सशक्त आन्दोलनको खाँचो भन्दै सबैको विश्वासिलो वासुदेव विश्वासले अपील गर्नुभएको थियो। यस अनुसार विभिन्न चरणको आन्दोलन पनि भएको थियो।

घुमफिर : तराईका मूलका आदिवासीहरूले खासै देशविदेश भ्रमण गरेको पाइदैन। उहाँले पनि देशविदेशको भ्रमण त्यति गर्नुभएको छैन। उहाँ भूमिपुत्र भएकोले आफ्नै माटोसंग रमाउँदै आउनुभएको छ। उहाँले भारतको बनारस, पटना, भेलोर, वैष्णोदेवी, मुरदान, कोचबिहार, आसाम, कामख्या भ्रमण गर्नुभएको छ।

उहाँ पुगेका केही स्थानमा धार्मिक अनुभव लिने कार्य भयो भने कोचबिहार, आसाम र कामख्यामा राजवंशी समुदायको संस्कृति र संस्कारको खोज र अनुसन्धान गर्ने अवसर प्राप्त भयो।

यसले विराट राजवंशी समुदायको भेषभूषा, भाषा र संस्कृति छुट्टै पहिचान र अस्तित्व भएको उहाँलाई महसुस गरायो। कामख्यामा शिवलाई आहुति दिने कार्य गरिन्छ। त्यहाँ तान्त्रिक शक्तिमा बढी विश्वास गर्ने मान्यता रहेको छ। जुन कुरा सबैको विश्वासिलो बासुदेव विश्वासले पनि विश्वास गर्दै आउनुभएको छ।

राजवंशी मार्ग संघर्ष:
मत्स्यकालदेखि नै भौगोलिक इतिहास बोकेका विराट राजवंशी समुदायका गाउँघर र टोलमा राजवंशी मार्ग लेख्ने अभियानकर्ता सबैको विश्वासिलो बासुदेव विश्वास नै हुन्।

पहिले खम्बामा लेख्ने अभियान चलाए। सो अभियान जातीय सहिष्णुतालाई नखल्बलाई शान्तिपूर्वक गरिएको थियो। सो अभियान सबै समुदायको पहिचान र अस्तित्वलाई स्वीकार गर्दै चलाइएको थियो। यसले गर्दा सबैको विश्वासिलो बासुदेव विश्वासको समुदायमा प्रतिष्ठा बढ्दै गयो।

राजवंशी हाट:
विराट राजवंशी समुदायका संस्कृति र संस्कारसँग विराटनगर धरान रोडस्थित राजवंशी चोकमा लाग्ने राजवंशी हाट जोडिएको छ। सो हाटमा सबैले स्वच्छ र स्वस्थ उपभोग्य बस्तु पाउने हेतुले सुरुवात गरिएको हो।

यो हाटबजारमा स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न खोजिएको छ। यसले कम मूल्यमा उपभोग्य बस्तु प्रदान गर्ने भएकोले स्थानीयवासीहरू लाभान्वित हुने गरेका छन्। यसबाट रोजगार सिर्जना सहित स्थानीयलाई आत्मनिर्भरता बनाउने योजनामा अहिले पनि सबैको विश्वासिलो बासुदेव विश्वास लागिपर्नुभएको छ।

खोजप्रिय लोकेन्द्र मल्लका साथ वासुदेव 
विराट राजवंशी समुदायको खोज र अनुसन्धानमा लोकेन्द्र मल्लले सान्दर्भिकता जोड्दै यथार्थ खोज गर्ने कोसिस गर्नुभएको छ। यसमा कुनै दुई मत छैन। अर्को सत्य नआउञ्जेलसम्म मल्लको खोजलाई स्वीकार गर्नुपर्ने हुन्छ। मल्लले 'मत्स्य देशका विराट राजा र राजवंशी' शीर्षकमा विराट राजवंशी समुदायको गहकिलो खोज गर्दै पुस्तकमा चर्चा गर्नुभएको छ।

जुन विराट राजवंशी समुदायका लागि महत्वपूर्ण छ। यसले विराट राजवंशी समुदायको पहिचान र अस्तित्वलाई उचाइमा पुर्‍याउने प्रयास गरिएको छ। लोकेन्द्र मल्लद्वारा लिखित पुस्तकलाई अझ प्रभावकारी बनाउनका लागि सशक्त खोज र अनुसन्धानको खाँचो देखिन्छ।

आदिम कालका मूलवासी अर्थात् भूमिपुत्र विराट राजवंशी समुदाय आदिवासी हुन सकेनन् तर आप्रवासीहरू चाहिँ आदिवासी भए। यसले के देखाउँछ भन्ने राज्यले नै विभेद गरेको छ।

यसप्रति सतर्क रहनुपर्छ भन्दै सबैको विश्वासिलो बासुदेव विश्वास आक्रोश व्यक्त गर्नुहुन्छ। लोकेन्द्र मल्लको लिखित पुस्तकलाई अझ प्रभावकारी बनाउनका लागि सशक्त खोज र अनुसन्धानको खाँचो देखिन्छ।

वासुदेव निकुञ्जको अर्थ
उहाँले बासुदेव निकुञ्जलाई सबैको फूलबारी हो भन्दै अर्थ लगाउँदै आउनुभएको छ। विशेष गरी राजवंशी सांस्कृतिक निकुञ्ज बनाउने उहाँको सपना थियो। तर केही कारणले अहिले वासुदेव निकुञ्ज मात्र हुन गएको हो। यसमा विराट राजवंशी समुदायका संस्कृति संरचना झल्काउने प्रयास गरिएको छ।

गोल घर : विराट राजवंशीको पहिचान लोप हुँदै गएकोले 'गोइल' घरको संरचना निर्माण गरिएको छ। गोइल घरमा 'बखारी' राख्ने चलन थियो। बखारी (भकारी) मा धान र तोरी विशेष गरी राख्ने चलन थियो। त्यस बेलाको अन्नको भण्डार विशेष सुरक्षितमा राखिन्थ्यो।

वासुकुटी : उहाँ प्रकृतिप्रेमी हुनुहुन्छ। यसले गर्दा आफ्नै भूमिको हावा र पानीसँग रमाउने व्यक्तिमा पर्नुहुन्छ। उहाँको खानपान, रहनसहन र सुत्ने कोठा सामान्य छ। पौराणिक कालतिरको खरको छानो र बाँसले बनाइएको घर जस्तो सांस्कृतिक घर छ।

जसले विराट राजवंशी समुदायको पहिचान मात्र नभएर सबैको आन, मान र शान भएको छ। यो गर्वको कुरा पनि हो। तसर्थ उहाँको जीवनशैली 'सादा जीवन, उच्च विचार' बाट सञ्चालित भएकोले आज सबैको विश्वासिलो बासुदेव विश्वास सबैको माझमा सम्मानयोग्य हुनुहुन्छ।

बजघरा घर
यो पाहुनालाई आदरसत्कार गर्नका लागि बनाइएको घर हो। जहाँ अतिथि विश्राम गर्ने गर्दछन्। विशेष गरी पुरुष अतिथिलाई बजघरमा सुत्ने व्यवस्था मिलाइएको हुन्छ। यस्तो संस्कार र संस्कृति विराट राजवंशी समुदायको बजघरा घरमा रहेको छ। यसले 'अतिथि देवो भव' लाई झल्काउने गर्दछ।

राजवंशी चोकको संघर्ष
राजवंशी समुदायको संस्कृति र पहिचानका लागि बनाइएको राजवंशी चोक हो। सो चोकको आसपासमा विभिन्न जातजाति, धर्मसंस्कृति, लिङ्ग र भाषाभाषीको बसोबास गर्ने भएकोले सबैको भावनालाई जोड्न खोजिएको चोक हो। सो स्थापना गर्ने बेलामा स्रोत साधनको अभाव देखिएको थियो।

सो चोकको स्थापनाका लागि विभिन्न संघसंस्था सहयोग गर्ने वचन दिंदा पनि वासुदेव विश्वासले अस्वीकार गर्नुभएको थियो। किनकि राजवंशी चोक नै नरहने हो कि भन्ने डर उहाँमा थियो। यसले गर्दा उहाँले आफ्नै निजी लगानीबाट राजवंशी चोक निर्माण गर्नुभयो।

वासुदेव र सित्लु राजवंशीको सम्बन्ध
अहिले पनि विराटनगरको उत्तरदक्षिण भक्ति राजमार्गको छेउमा थुप्रै जग्गाजमिन दुवै जनाको नाममा रहेको छ। वासुदेव र सित्लु जमिनका मालिक मात्र होइनन्, उहाँहरू विराटनगरको सामाजिक सद्भाव र विकासका दुई स्तम्भ पनि हुन्।

जसमध्ये एक स्तम्भ आज हामी माझ हुनुहुन्न, र परलोकधाममा विराजमान भइसक्नुभएको छ। यी जमिनदार मध्ये सित्लु दास राजवंशीको जग्गाहरू थुप्रै गुठीमा रहेको छ।

वासुदेव भन्दा सित्लु जेठो भए पनि उहाँहरू एक आपसमा असाध्यै मिल्ने गर्नुहुन्थ्यो। उहाँहरूको सम्बन्ध माटोसँग, विराट राजवंशी समुदायसँग र मत्स्य देशका राजा विराटको विरासतसँग जोडिएको छ।

शितलु दास राजवंशीको बारेमा वासुदेव राजवंशीले 'सित्लु पुरानो सभ्यताको साथी र सादगी व्यक्तित्व' भनेर प्रतिक्रिया दिनुभयो।

समाप्त

View : 260

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved