Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
विचार

एउटा व्यापारिक चतुर्‍याइँको कथा

चुराको चुरीफुरी र हरियो पहिरनको साउन

नारीहरू, विश्वास गर्नुहोस्, जुनसुकै रङ्को सफा पहिरन लगाएर गरेको पूजाआजाले शिवजी उत्तिकै खुसी हुनुहुन्छ जत्तिको खुसी हरियो पहिरनमा सजिएकी महिलासँग हुनुहुन्छ भनेर भन्न सक्ने साहस नै बटुल्नु पर्ने भएको देखिन्छ । नत्र अघि कहिल्यै नभएको यो साउने हरियालीले महिलाहरूको मनलाई लठ्ठै पार्ने एक किसिमको अफिमको लत बसे जस्तै नै गरिसक्यो ।
मेघनाथ रिजाल
१५ साउन २०८२, बिहिवार

श्रावण महिना आउनासाथ नेपाली समाजमा महिलाहरूमाझ हरियो चुरा र पहिरनको लहर चल्छ । शिवभक्तिसँग जोडिएको यो प्रचलनले आज ठूलो सामाजिक र आर्थिक आयाम लिएको छ । तर, यो धार्मिक मान्यताको जरा कहाँ छ त ? के यो साँच्चै कुनै प्राचीन धर्मशास्त्रमा आधारित छ वा यस पछाडि लुकेको छ कुनै चतुर व्यावसायिक रणनीति ? करिब २५ वर्षअघि भारतको हरियाणामा घटेको एउटा अनपेक्षित घटनाबाट सुरु भएको यो ‘हरियो क्रान्ति’ कसरी हिन्दु नारीहरूको मथिङ्गलमा साम्राज्य जमाउन सफल भयो’ यस बारे धेरै कमलाई मात्र जानकारी छ । 

चुरा कारखानाको आपत्कालीन जुक्ति
करिब २५ वर्षअघि भारतको हरियाणा शहरस्थित एउटा चुरा कारखानामा एउटा अनपेक्षित घटना भयो । तीजका लागि रङ्गीचङ्गी चुराहरू बनाउने तयारीमा रहेको कारखानामा रङको संयोजन नमिल्दा उत्पादित सबै चुराहरू प्राविधिक खराबीका कारण हरियै हरिया भएर मेसिनबाट बाहिर निस्किए ।

करिब ६ करोड भारतीय रुपैयाँ बराबरको ठूलो लगानी डुब्ने भएपछि कारखाना मालिक र मूल प्राविधिकलाई ठूलो समस्या आइप¥यो । त्यसबेला हरिया चुराहरू हिन्दू विधवा नारीहरूले कहिलेकाहीं मात्र लगाउने गर्दथे । यति धेरै हरिया चुराहरू कहाँ र कसलाई बेच्ने भन्ने समस्या गहिरियो ।

यसै अप्ठ्यारो अवस्थामा एक चलाख अपरेटरले एउटा जुक्ति दियो । उसले मालिकलाई कानमा खुसुक्क भने, ‘मालिक’ यो शहरभित्रको ठूलो शिव मन्दिरका मूल पण्डितलाई हातमा लिएर केही लाख रुपैया“को कबोल गर्नुहोस् । उहा“लाई हरिया चुराहरूको महिमा र महत्व दर्शाउँदै करिब सात दिनसम्म कथावाचन शैलीमा भन्न लगाउनुहोस् । शिवजीले श्रावण महिनामा हरियो चुरा लगाएकी नारीले पूजा गरेको असाध्यै मन पराउनुहुन्छ र अपेक्षित वरदान अवश्य मिल्नेछ भन्ने कथावस्तुहरू जोडेर पुराणकै रूपमा वाचन गर्न लगाउनुहोस् । अनि त यी सबै चुराहरू अवश्य बिक्न थालिहाल्छन्, यसरी हाम्रो डुब्न लागेको व्यापार सजिलै उक्सन्छ मालिक ।’ 

धार्मिक आवरणमा व्यापारिक प्रचार
चुरा उद्योगका मालिकले लामो सास तान्दै खुसीका साथ त्यो सोच स्वीकार गरे । भोलिपल्टै शिव मन्दिरका मूल पण्डितलाई घरमा बोलाएर समस्या सुनाए । पण्डितजीले पनि ध्यानपूर्वक सुने र विचार लगाउँछु’ भने । निकैबेरको भलाकुसारी र योजनापछि पण्डित समूहलाई दिइने नगदको पनि छिनोफानो भयो ।

आउने सोमबारदेखि नै मन्दिर परिसरमा तीन जना विश्वासिला पण्डितहरूले शिवको महिमा सुनाउँदै यस्तो कथावस्तु जोडेर सुनाए ः जुन नारीहरूले हातभरि नयाँ हरिया चुरा लगाएर साक्षात् जटाधारी शिवजीको पूजा आराधना गर्छन्, उनीहरूले अपार फल प्राप्त गर्छन् । यस लोकबाट सदवा नारीहरू र विधवाहरूले समेत सजिलै शिव प्रसादको प्रभावले पतिदेवहरूको कल्याण हुने कुराहरू मिलेसम्मका फूलबुट्टा भरेर कथा प्रसङ्ग जोड्जाड पारेर लगातार ७ दिनसम्म पुराणजस्तै गरेर भक्तहरूलाई सुनाए ।


 पण्डितको सो कुराको सनसनी शहरभरि डढेलो सल्केजस्तै फैलियो — शिव भगवानलाई खुसी पार्ने अत्यन्त गोप्य कुरा मन्दिरमा पण्डितहरूले त्यहाँ गएर पूजा गर्ने भक्तजनहरूलाई मात्र सुनाउँदै छन् रे भन्ने गतिलो हल्ला फिँजियो । एक कान दुई कान मैदान हुँदै – शिव मन्दिरमा त लौ हरिया चुराहरू दुवै हातभरि टम्म लगाएर शिवजीको पूजा गर्नु पर्छ रे, यसको फल १० गुणा बढी पाइन्छ रे । यो हरियो चुराको हल्ला यत्रतत्र सर्वत्र बजारभरि फैलियो ।

हरियो क्रान्ति र व्यापारीको मालामाल
हरूको मालामालअब के चाहियो र ! हरिया चुरा उत्पादन गर्ने कारखानाको सोधीखोजी हुनथाल्यो, हरिया चुरा बेच्ने व्यापारीहरूको भीड बढ्न थाल्यो । त्यो हरिया चुरा उत्पादन गर्ने कारखाना वरिपरि टाढाटाढा देखिका व्यापारीहरू जम्मा हुन थाले । अनौठो कुरा के भयो भने, त्यो श्रावण सकिन अरू १०–१२ दिन बाँकी हु“दै सबै हरिया चुराहरू सकिएर थप अरू हरियो रङका चुराहरू उत्पादन गर्नु प र्यो त्यो भाग्यमानी उद्योगले ।

त्यो सालका ‘श्रावणी’  नसकिंदै करिब ९ करोड भारतीय रुपैयाँका हरिया चुराहरू बिक्री भएको हिसाब लेखापालले सुनाउँदा ती मालिक दङ्गदास हुँदै मूल पण्डितलाई थप उपहारस्वरूप ३ तोलाको सुनको सिक्री लगाइदिएर पाउ छोई धेरै आभार व्यक्त गरेछन् ।

नेपालसम्म फैलिएको ‘श्रावणी हरियाली’ को प्रभाव
अर्को श्रावणी सुरु नहुँदै कमिसन खान पल्केका पण्डितजीहरू सल्बलाउँदै ती मनकारी मालिकलाई भन्नथाले, ‘लौ चुरा मात्र होइन, अब यसो गरौं – अब सारी, चोलो, पटुका र मजेत्रो पनि हरियो नै पोसाकमा सजिएकी महिलासँग साक्षात् शिवजी खुसी हुन्छन् भन्ने उपपुराण रचेर वाचन गर्ने सल्लाह भयो हाम्रो ।’ उनीहरूले त्यसै गरे पनि । अरू छिमेकी उद्योगहरूले समेत हरियो रङका सामानहरू धेरथोर उत्पादन गर्न थाले । व्यापारीहरू पनि खुलेरै हरियो पोसाकको प्रचारप्रसार गर्न थाले ।

अर्को सालको श्रावणीदेखि शिवभक्त महिलाहरू थान नै हरिया चुरा, पोते, नङ पालिस, सारी, चोलो, पेटीकोट आदि पोसाकहरू क्रमशः बजारभरि खोज्न थाले । यो कुराको हल्ला हरियाणा शहर बाहिर पनि फिँजियो र हरियो पोसाकको प्रचलन २–३ वर्षमै बृहत् रूप लियो । उद्योगी व्यापारीहरू मालामाल कमाउन साउन कुरेर बसी रुपैयाँको भल छोप्न थाले । बिस्तारै यो विधि–विधान नेपालतिर, खासगरी तराई भागतिर सर्‍यो । 

८–१०  वर्षअगाडिसम्म नेपालमा फाट्टफुट्ट रूपमा देखिएको हरियो पहिरन हिजोआज त नेपालमा पनि साउन पूरै हरियाली भइसकेको देखिन्छ । साउन महिनाका शिव मन्दिरहरूमा पूरै हरियाली छाएको रमिता शिवजी खुसी पार्ने आशामा राम्ररी हेर्न पाइन्छ । यसबीचमा हरियो पहिरन र शिव उपासनाका धेरै कथावस्तुहरू रचना गरिसकिएको छ, र यस विषयमा खटिएका प्रवक्ताहरूमार्फत धेरै ज्ञानगुनका कुराहरू सुन्न पाइन्छ । अब त पुराणहरूमा पनि बीच–बीचमा हरियो पहिरनकी नारीको महिमा सुनाउन थालियो ।

सामाजिक प्रभाव र वास्तविकता
हुँदाहुँदा अब त साउन महिनामा हरियो पहिरन महिलाहरूको प्रतिष्ठाको विषय भएर जरा नै गाडिसकेको छ शिवभक्त हुन चाहने भक्तिनीहरूका लागि । सक्नेले त किन्लान्, लाउलान् तर नसक्नेहरूले पनि सकिनसकि ऋण काडेर भए पनि छिमेकी महिलालाई सान देखाउनु परेको छ । यो प्रचलनबाट प्रत्यक्ष फाइदा भारतका ठूला–साना उद्योग र व्यापारीहरूलाई नै पुगेको छ । 

अचेल त महिलाहरूले लगाउने भित्री कपडाहरूमा पनि हरियाली छाएको थाहा पाउँदा म त छक्क पर्न थालेको छु । हरियाणाको एउटा मामुली चुरा उत्पादन गर्ने कम्पनीले रचेको सोचाइले कसरी हिन्दू नारीहरूको मथिङ्गलमा साम्राज्य नै जमायो? अहिले त यो हरियो पहिरनले महिलाहरूको दिमागै रन्थनाएको छ । तराईबाट अब पहाडतिर पनि सरिसक्यो यो डरलाग्दो सरुवा रोग, तर उत्पादनकर्ताहरूलाई भने जब साउन आउन लाग्छ सधैंको सधैं मालामाल ।

सुरुमा सामान्यजस्तो लाग्ने यो प्रचलनले महिलाहरूको इज्जत र प्रतिष्ठाको विषय बनाइसकेको छ । सुन्दा कथाजस्तो लाग्ने यो कुरा तीतो र यथार्थ सत्य हो । यसमा न शिवजी, न पार्वती, न कुनै देवी–देवता कोही खुसी हुने कुनै धार्मिक आधारविना नै फस्टाएको यो दिमागी खेतीले खुसी हुन्छन् त तिनै हरियो पहिरनका सामान उत्पादन गर्ने कम्पनीहरू र सामान बेच्ने ठूला–साना व्यापारी बन्धुहरू । यो धार्मिक अन्धविश्वासको अनुपम नमुना भएर नेपाली समाजमा पनि गाजिंदै गाजि‌‌ंदै झाङ नै हालीसकेको छ ।

हेरौं, कहिले र कहाँसम्म पुगेर हिन्दू नारीहरूमा यसको वास्तविकताको गाँठो फुक्ने हो कि झन्झन् कसिंदै जाने हो ? अथवा कुनै सज्जन पण्डितहरूले नै ठूलठूला समारोह र धार्मिक प्रवचनहरूमा भनिदिनु पर्‍यो कि यो व्यापारिक जाल हो, यसले गरिबहरूको घरमा पारिवारिक झगडा र कुण्ठा जगायो ।

नारीहरू, विश्वास गर्नुहोस्, जुनसुकै रङ्को सफा पहिरन लगाएर गरेको पूजाआजाले शिवजी उत्तिकै खुसी हुनुहुन्छ जत्तिको खुसी हरियो पहिरनमा सजिएकी महिलासँग हुनुहुन्छ भनेर भन्न सक्ने साहस नै बटुल्नु पर्ने भएको देखिन्छ । नत्र अघि कहिल्यै नभएको यो साउने हरियालीले महिलाहरूको मनलाई लठ्ठै पार्ने एक किसिमको अफिमको लत बसे जस्तै नै गरिसक्यो ।


 

View : 627

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved