विराटनगर । गएको बुधबार नेपालको महिला क्रिकेट टोलीले इतिहासकै सबैभन्दा ठूलो उपलब्धि आत्मसात गर्न पाएको थियो ।
नेपाली महिला क्रिकेट टोलीले पहिलोपटक आईसीसी यू–१९ ट्वान्टी–२० विश्वकप खेल्ने पक्का भएको त्यो दिन सिंगो देश खुसीले पुलकित बनेको थियो । त्यसयता यु–१९ महिला टोली र त्यसका खेलाडी बधाई र सम्मान थाप्न व्यस्त छन् । यहीबेला त्यो टिमका मुख्य प्रशिक्षक महेश रिजाल पनि गृहनगर विराटनगरमा छन् ।
नेपाली महिला टिमलाई पहिलोपटक विश्वकप पुर्याउने कामको सम्पूर्ण नेतृत्व विराटनगरकै रिजालको काँधमा थियो । क्रिकेटलाई प्रशिक्षकको खेल पनि भनिन्छ । त्यसैले मैदान बाहिर रिजालको नेतृत्वमा बुनिएको योजना ११ जना खेलाडीले मैदानमा उतारे ।
जसै युएईमाथि ८ विकेटको जित हासिल भयो, नेपाली महिला टिम पनि विश्वकप र एसिया कप जस्ता ठूला प्रतियोगितामा सहभागी हुने निश्चित भयो ।
‘आफ्नो प्रशिक्षणमा रहेको टिम विश्वकपमा पुग्दा स्वाभाविक रुपमा उत्साही र खुसी छु’, ५४ वर्षीय रिजालले सोमबार उद्घोषसँग भने ‘तर, सँगै आगामी यात्रा चुनौतीपूर्ण छ । झनै कठिन छ अबको बाटो । त्यसैको तयारीमा लाग्न तयारी हुँदैछ ।’ विराटनगर–५ नवदुर्गा मार्ग बरगाछीका स्थायी बासिन्दा रिजाल कुनै बेला वरगाछी युवा क्लब, गुराँस पुस्तकालयबाट क्रिकेट खेल्थे । विकेटकिपर ब्याटर उनले त्यसबेला विभिन्न राष्ट्रिय प्रतियोगिताहरू खेले । यद्यपि राष्ट्रिय टोलीमा भने पुग्न पाएनन् ।
सन् १९९९ मा क्रिकेट खेल्ने क्रममा हातमा चोट बोकेका उनी त्यसबेला व्यवस्थापनमा स्नात्तकोत्तर गर्दै थिए । त्यही बेला क्रिकेट कोचिङ कोर्ष गर्न उनी पन्जाबको पटियाला पुगे ।
एक वर्ष त्यहाँ प्रशिक्षण कोर्ष सकेर नेपाल फर्केपछि भने उनी विभिन्न टिमसँग जोडिएर प्रशिक्षणकर्ममा जोडिए । त्यस क्रममा उनले मोरङको जिल्ला टिम, क्षेत्रीय टिमहरूमा स्वयम्सेवी बनेर प्रशिक्षण दिए । सन् २००४ मा नेपालको यु–१९ टिमले विश्वकप खेल्दा रिजाल त्यो टिमको सहायक प्रशिक्षकको भूमिकामा थिए ।
‘त्यो टिममा पारस खड्का, शरद भेषावकर, शक्ति गौचन, बसन्त रेग्मी जस्ता खेलाडीहरू थिए’, रिजालले सम्झिए ‘त्यसपछि केही समय पारिवारिक कारणले पाएका अवसर पनि गुमाउनु पर्यो ।’
बुबाको प्रतिकूल स्वास्थ्यका कारण केही समय क्रिकेटबाट टाढिए पनि उनी छिट्टै मैदान फर्किए । त्यसपछि उनले एनपीएलमा विराटनगरलाई सम्हाले र उपाधि पनि जिताए ।
दुई वर्षअघि मात्रै उनले यु–१९ महिला टोलीलाई विश्वकप छनोटमा प्रशिक्षण गर्ने अवसर पाए । यद्यपि मलेसियामा भएको त्यो प्रतियोगिता सम्झनलायक रहेन ।
‘त्यसबेला नेपाली टिम अनुभवी थिएन, तयारी पनि धेरै राम्रो हुन पाएको थिएन’, रिजालले अहिलेको अवस्थासँग तुलना गरे ‘त्यसको दाँजोमा अहिले टिममा अनुभवी खेलाडीहरू थिए ।
दुई महिना लामो बन्द प्रशिक्षण गर्न पाइयो । त्यतिमात्रै होइन युएई जानुअघि दिल्लीमा चार वटा अभ्यास खेल खेल्न पायौं । त्यसले हाम्रो टिमको जीतको आधार बलियो बनायो ।’
रिजालका अनुसार नेपाल क्रिकेट संघ क्यानले उनलाई भरोसा गरेर यु–१९ टिमको मुख्य प्रशिक्षक बनाएको थियो । टिमलाई विश्वकपमा पुर्याएर आफूले त्यो भरोसा पूरा गर्न पाएकोमा उनी आनन्दित सुनिए ।
‘म क्यानप्रति आभारी छु’, उनले भने ‘तर, अबको यात्रा झनै चुनौतीपूर्ण छ ।’
उनका अनुसार आउँदो सातादेखि एसिया कप र विश्वकपको तयारीमा टिम जुट्दैछ । बिदा मनाउन घर आएका उनले भने ‘अब पाकिस्तान र भारत जस्ता बलिया टोलीसँग एसिया कपमा अनि बंगलादेश, साउथ अफ्रिका, स्कटल्याण्ड जस्ता टिमसँग विश्वकपमा खेल्नुछ । त्यसको तयारी आउँदो सातादेखि थाल्दैछौं ।’
यहाँसम्मको यात्रामा उनले खेलाडीको मिहिनेतलाई मुख्य श्रेय दिए । ‘हाम्रा खेलाडीको मिहिनेतको परिणाम हो, यो प्रतियोगिताको महत्व राम्ररी बुझेकाले पनि नतिजा ल्याउन हाम्रा खेलाडी दृढ संकल्पित थिए ।
महिला क्रिकेटका लागि यो आवश्यक पनि थियो’, रिजालले थपे, ‘नेपाल क्रिकेट संघले तयारीका लागि आवश्यक डेढ दुई महिनाको बन्द प्रशिक्षण शिविर र दिल्लीमा अभ्यास खेल गरेकाले पनि हामी यो नतिजा ल्याउने अवस्थामा पुगेका हौं । अब पनि यस्तै तयारी गरेर अघि बढ्नुपर्नेछ ।’
क्रिकेट खेलाडी र प्रशिक्षकको लामो भूमिकामा रिजालले लामो समय स्वयमसेवी बनेर मैदानमा समय बिताए । २०६१ सालदेखि भने राष्ट्रिय खेलकुद परिषद्मा सहायक प्रशिक्षकका रुपमा प्रवेश गरेका उनी अहिले मोरङको दरबन्दीमा छन् ।
स्थानीय स्तरमा विभिन्न टिमलाई सम्हालेको अनुभवले उनलाई राष्ट्रिय यु–१९ टिमलाई ह्याण्डल गर्न सहज भएको उनको भनाइ छ । उनको विचारमा क्रिकेटमा प्रशिक्षकको भूमिका बृहत हुन्छ ।
‘खेलाडीको दक्षता चिन्ने, त्यसलाई अझै सुदृढ बनाउने, गेममा उनीहरूलाई मोटिभेट गर्ने, आवश्यक गेम प्लान बनाउने जस्ता पर्दा पछाडिका सबै काम प्रशिक्षकले गर्नुपर्छ’, उनले भने, ‘त्यसैले यो काम चुनौतीपूर्ण छ । यो चुनौती व्यहोर्न तयार भएरै प्रशिक्षणमा होमिएको हो ।’
विश्वकप र एसियाकपलाई लिएर पनि प्रशिक्षक रिजाल उत्साहित छन् ।
आगामी डिसेम्बर र जनवरीमा हुने यी दुई प्रतियोगितामा नेपालको नेतृत्व प्रशिक्षकका रुपमा आफूले गर्न पाइने आशामा उनी छन् । रिजालले प्रशिक्षणको कमाण्ड सम्हाल्दा पूजा महतोले कप्तानको जिम्मेवारी निर्वाह गर्ने छिन् ।
पूजा तिनै खेलाडी हुन्, जसले यसपटक एकै खेलमा ब्याटबाट शतक र बलबाट ५ विकेट लिने दुर्लभ सफलता हात पारिन् ।
‘हामीसँग पूजा महतो, सोनी पाख्रिन जस्ता अनुभवी खेलाडी छन् । फेरि टि–२० भनेको त्यही दिन जसले राम्रो खेल्यो, उसैले जित्ने गेम हो’, रिजालले भने ‘हाम्रो टिम अलराउण्डरहरू पनि धेरै भएको सन्तुलित टिम हो । म चाहिँ एकदमै धेरै आशावादी छु ।’
नेपाली महिला टोलीलाई पहिलोपटक विश्वकपको मञ्चमा पुर्याएका यी अनुभवी प्रशिक्षकका भनाइमा क्रिकेटको घरेलु संरचनामा सुधार ल्याउँदै खेलाडीलाई व्यस्त राख्न सके नेपालको अवस्था अझै माथि जाने पक्का छ ।
‘मुख्य रुपमा ग्रासरुट क्रिकेट हुनुपर्यो’, उनले भने, ‘जिल्लास्तरबाटै ए डिभिजन, बी डिभिजन लिगहरू हुनुपर्यो । ५० ओभर र दुई वा तीन दिवसीय खेलहरू पनि निरन्तर हुनुपर्छ । त्यसले हाम्रो क्रिकेटको अवस्था माथि लैजाने पक्का छ ।’
View : 65
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved