Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

दलहरू आन्तरिक विवादमा फस्दै :

पद र प्रतिष्ठाको लडाइँले धरापमा लोकतन्त्र

डीपी ढुंगेल
२९ कार्तिक २०८२, शनिवार

नेपाली राजनीति दलहरू आन्तरिक विवादमा फस्दै गएका छन् । हुन त दलहरूबीचको विवाद यो नयाँ होइन । विगत ७५ वर्षको इतिहासदेखि नै दलहरू आन्तरिक विवादमा फस्दै आएको देखिन्छ । विक्रम सम्वत २००३ सालमा स्थापना भएको नेपाली कांग्रेस र विक्रम सम्वत २००६ सालमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टी यतिखेर मात्र विवादमा फसेको भने होइन । दलहरूको विवाद चाहिं लोकतन्त्र प्रजातन्त्र वा गणतन्त्रका लागि होइन । दलका नेताहरूबीचको विवाद पद र प्रतिष्ठाको लागि हो भन्ने स्पष्ट सबैले बुझिसकेका छन् ।

नेपाली कांग्रेसमा अहिले संस्थापन पक्ष, कोइराला पक्ष र कृष्ण सिटौला पक्ष गरी तीनधार छ भनेर चिन्ने गरिएको छ । उनीहरू बीचको  जनता र लोकतन्त्रको लागि होइन पद र प्रतिष्ठा तथा शक्तिका लागि लडाइँ भन्ने जनताले बुझिसकेका छन् । नेपाली कांग्रेसको ११औं महाधिवेशन समयमै गर्नुपर्ने हो तर संस्थापन पक्षले आलटाल गर्दै आएको छ भने संस्थापन इतर पक्षले समयमै महाधिवेशन गर्न हस्ताक्षरसमेत संकलन सुरू गरिसकेका छन् । तर दलका नेताहरू राष्ट्र र जनता भन्दा बाहिर गएर व्यक्तिगत स्वार्थका लागि महाधिवेशन अगाडि गर्ने वा पछाडि सार्ने भन्ने विषयमा चर्को बहस र वादविवाद गर्दैछन् । यो पक्कै एउटा पुरानो प्रजातान्त्रिक दलमा सुहाउँदैन ।

विक्रम सम्वत २००७ सालपछि नेपाली कांग्रेस ठूलै विवादमा फसेको थियो । त्यसैको फाइदा उठाउँदै तत्कालीन राजा महेन्द्रले मातृकाप्रसाद कोइरालालाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । प्रजातन्त्र स्थापना पश्चात आन्तरिक रूपमा नेपाली कांग्रेस बीचको लडाइँले गर्दा प्रजातन्त्र धरापमा परेको सत्य हो । प्रजातन्त्र लोकतन्त्र र गणतन्त्रलाई समेत प्रभाव पार्ने गरी दलहरू विवादमा फस्नु पक्कै राम्रो होइन । नेपाली कांग्रेसप्रति आम जनताको ठूलो आशा र भरोसा थियो तर विगत दुई दशकदेखि नेपाली कांग्रेसको गतिविधि नेपाली कांग्रेसभित्रको पदका लागि हानाथाप, गुट र उपगुट, नातावाद, कृपावाद, चाकडीवाद आदिले गर्दा नेपाली कांग्रेस ओरालो लागेको सत्य हो ।

हुन त इतिहास साक्षी छ बीपी  कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला हुँदै शेरबहादुर देउवासम्म आइपुग्दा नेपाली कांग्रेस पटक–पटक फुटेको र फेरि जुटेको इतिहास छ । केवल पद र प्रतिष्ठाका लागि नेपाली कांग्रेसभित्र आन्तरिक लडाइ रहेको सबैले बुझेकै छन्  ।

नेपाली कांग्रेसले नियमित रूपमा महाधिवेशन गर्नुको विकल्प छैन । यही आउँदो मङ्सिरभित्र नेपाली कांग्रेसले १५औं महाधिवेशन सम्पन्न गर्नुपर्ने हुन्छ तर विधानत के छ भने छ महिनासम्म अवधि थप गर्न मिल्ने नेपाली कांग्रेसको विधानमा लेखिएको छ  । तर दुईथरिका नेताहरूले गर्दा नेपाली कांग्रेसको १५औं महाधिवेशन मंसिरभित्र हुन्छ या पछि सर्छ अहिले ठ्याक्कै भन्न नसक्ने अवस्था रहिआएको छ  ।

कांग्रेसभित्रकै पाका तथा संस्थापन पक्षका नेताहरूको भनाइ महाधिवेशन सार्नुपर्ने तर्क गर्दछन् । फागुन २१ गतेको निर्वाचन पश्चात महाधिवेशन गर्न संस्थापन पक्ष देखिएको छ भने संस्थापन इतर पक्ष मंसिरभित्रै महाधिवेशन गर्न जोडदार माग गरिरहेको छ । दुवै समूहका आआफ्नै स्वार्थमा अल्झेका कारण कांग्रेसको १५ औं महाधिवेशन समयमै हुन्छ वा पछि सर्छ हेर्न बाँकी छ ।

नेपाल कम्युनिस्ट पार्टी एमालेभित्रको आन्तरिक विवाद पनि उत्कर्षमा पुगेको छ । हुन त कम्युनिष्टहरू फुट्दै गएको इतिहास छ, विगतमा पनि पटक–पटक नेपाल कम्युनिष्ट पार्टी फुटेको इतिहास ताजै छ । किन र के कारणले फुट्ने र जुट्ने गरेका छन् कम्युनिस्टहरू सत्य तथ्य सबैले बुझेकै छन् । पद शक्ति र प्रतिष्ठाका लागि नेपाल कम्युनिस्ट पार्टी पनि  चिराचिरा भएका छन् । वर्तमान समयमा आइपुग्दा एक दर्जनभन्दा बढी कम्युनिष्ट पार्टीहरू नेपालमा क्रियाशील रहेका छन् ।

वास्तवमा कम्युनिस्टको विचार र सिद्धान्तको आधारमा शासन प्रशासन चल्ने हो भने अलि कडा खालको शासन चाहिं कम्युनिस्ट शासकमा देखिन्छ । तर नेपालमा त्यस्तो भने होइन । नेपाली कम्युनिस्ट पार्टी नेपालका अन्य विचार सिद्धान्त भएका दलहरूसँग समेत मिलेर गएको भोटसमेत फरक–फरक विचारधारा मा खसालेको इतिहासले बोलिरहेको छ ।

 कम्युनिस्टहरू विचारमा पक्का हुन्छन् भन्ने प्रमाण नेपाली कम्युनिस्ट पार्टीमा असफल भइसकेको छ । देश र जनताका लागि कम्युनिस्ट पार्टी भन्दै भोट माग्ने तर त्यसपश्चात जनताका समस्याहरूलाई हावामा उडाइदिने नेपाल कम्युनिस्ट पार्टीहरूको विशेषता हो ।

२०४६ सालको परिवर्तनपछि राष्ट्रिय प्रजातन्त्र पार्टी नामले परिचित पूर्व पञ्चहरूले दल खोले । यस तालमा सूर्यबहादुर थापा लोकेन्द्रबहादुर चन्द प्रकाशचन्द्र लोहनी, कृतिनिधि बिष्टलगायतले राष्ट्रिय प्रजातन्त्र पार्टी स्थापना गरेता पनि समय र कालखण्डले राष्ट्रिय प्रजातन्त्र पार्टी पनि दलदलमा अन्तर विवादमा फसेको सबैले बुझेकै छन् ।

पछिल्लो समय पशुपति शमशेर जबरा, कमल थापा, राजेन्द्र लिङदेन, प्रकाशचन्द्र लोहनीलगायत नेताहरूले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई विभिन्न भागमा विभाजित गरी नेतृत्व गरिरहेका छन् । तर उनीहरूले केवल आफ्ना स्वार्थका लागि दल खोलेको सत्य तथ्य हो । 

जनताको खासै साथ र सहयोग उनीहरूले पाएका छैनन् । जनताप्रति उत्तरदायी भएर जनता सेवा गर्नु आवश्यक ठानिनुपर्ने हो तर पद र प्रतिष्ठाका लागि नेताहरू मरिहत्य गरेर अगाडि बढिरहेका छन् त्यसैले राष्ट्रिय प्रजातन्त्र पार्टी पनि आन्तरिक विवादका कारण विकास हुन सकेको छैन  ।

त्यसैगरी २०४६ सालपछि नेपाल सद्भावना पार्टी नामले गजेन्द्रनारायण सिंहले स्थापना गरे तत्पश्चात संसदमा थोरै भएपनि मधेसबाट निर्वाचित भए । गजेन्द्रनारायण सिंहको निधनपछि नेपाल सद्भावना पार्टी पनि चिराचिरा भएर विभाजित भएको थियो । हाल यो पार्टीको अस्तित्व सकिए जस्तै छ  ।

२०५२ साल देखि सशस्त्र जनयुद्ध घोषणा गरेको नेपाल कम्युनिस्ट पार्टी माओवादी शान्ति प्रक्रियामा आए पनि उसको राजनीतिक भविष्य र इतिहास त्यति राम्रो देखिँदैन । १० वर्षसम्म सशस्त्र युद्ध राज्यसित गरेर १७ हजार जतिको वलिदानबाट शान्ति प्रक्रियामा आएको माओवादी दल २०६४ सालको संविधानसभाको निर्वाचनमा अत्यधिक मतले विजय भएपश्चात यो दल बिस्तारै बिस्तारै ओरालो लाग्दै आएको छ  ।

भर्खरै आठ राजनीतिक दलहरू मिलेर संयुक्त मोर्चा गठन गरेता पनि माओवादीका तत्कालीन शीर्ष नेताहरू जनार्दन शर्मा, राम कार्कीलगायतले असहमति जनाउँदै संयुक्त मोर्चामा सहभागी भएनन् माओवादीको आन्तरिक द्वन्द भने २०६५ सालदेखि नै देखिएको हो ।

डाक्टर बाबुराम भट्टराई, रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखनाथ भट्टलगायतले माओवादी विचारधारालाई विसर्जन गरी अन्य दलमा सामेल भए तथा दल निर्माण गरे । 

माओवादीको आन्तरिक द्वन्द पनि नेपाली कांग्रेस र एमाले जस्तै पद र प्रतिष्ठाको हो भन्ने प्रमाण पेश गरिरहनु पर्दैन । २०६२–६३ को ऐतिहासिक जनआन्दोलन तथा २०६४ को मधेस आन्दोलनबाट जन्मिएको मधेसी जनाधिकार फोरम पनि अहिले । विभिन्न भागमा विभाजित भएको छ । 

उपेन्द्र यादव, महन्त ठाकुर, राजेन्द्र महतो, अशोक राई, सीके राउत, रेशमलाल चौधरीलगायतले मधेस मामिलामा दलहरू स्थापना गरी मधेसको विशेष गरी समस्याहरू उजागर गर्दै राजनीति गरिरहेका छन् । मधेसी जनता सधैं उत्पीडित र शोषित भएको भन्दै उनीहरूले मधेशबाट राजनीति गर्दैछन् । उनीहरूको पनि लक्ष्य र उद्देश्य भनेको पद र प्रतिष्ठा नै हो ।

समानन्तर रूपमा सबैभन्दा नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीमा पनि विवाद कायमै छ । राष्ट्रिय स्वतन्त्र पार्टी गठनका लागि अहोरात्र खटिएर विधानसमेत तयार पार्ने डाक्टर मुकुल ढकाल यतिखेर राष्ट्रिय स्वतन्त्र पार्टीमा छैनन् उनले आफ्ना असहमति सहित राष्ट्रिय स्वतन्त्र पार्टी त्याग गरेका छन् । त्यसैगरी सुमना श्रेष्ठले पनि राष्ट्रिय स्वतन्त्र पार्टीमा चित्त नबुझेर अलग भएकी छन् । यसरी हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले पनि नेपाली कांग्रेस, नेकपा एमाले माओवादी केन्द्रलगायतको शिक्षा लिएर आन्तरिक विवादमा फसेको छर्लङ्ग देखिन्छ  ।

दक्षिण एसियाका राष्ट्रहरूमा देखिएको राजनीतिक तनाव र अस्थिरतालाई दृष्टिगत गर्ने हो भने सबैभन्दा अस्थिरता र तनाव नेपालमा देखिन्छ । राजनीति स्थायित्व र दिगो भएन भने जनताले र देशले दुःख पाउँछ । विशेषगरी नेपाली राजनीति दलहरू र तिनका नेताहरू नसचिने हो भने दलहरूको र नेताहरूको विश्वास गुम्ने निश्चित छ । अब सच्चिनेकि सकिने यी दुई उपाय मध्ये एउटा उपाय दलहरूले लिनुपर्ने आवश्यक देखिन्छ । जनताहरूले भन्न थाले ‘नो नट एगेन ।’

आगामी फागुन २१ गते हुने मध्यावती निर्वाचनमा नेपाली जनताले कसलाई नेपालको शासन बागडोर सम्हाल्नेछन् त्यो त हेर्न बाँकी छ । तर पुराना दलहरू र नेताहरूबाट अहिलेको अवस्थामा सुशासन विकास र अग्रगमनको सपना नेपाली जनताले नदेखे हुन्छ, उनीहरूको स्वभाव बानी र व्यवहार सचिनेवाला छैन । 

कुशासन र भ्रष्टाचारमा फसेको देशलाई अब फागुन २१ गते ब्यालेट बक्सबाट नेपाली जनताले सुशासन र विकास तथा भ्रष्टाचाररहित देश बनाउने व्यक्तिलाई निर्वाचित गर्नुको विकल्प छैन ।

View : 698

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved