वर्णवाद, धर्मवाद र पुस्तावादले गुञ्जायमान आजको समाज हर क्षेत्रमा अग्राधिकार खोज्दै राजनीति तथा राजकीय लाभको सजिलो सिंढी अ“गाल्ने गलत नजिरले ग्रसित छ । समाज वर्गीय भावनाच्यूत बनेर वर्ण, धर्म र पुस्ताको भुँग्रोले भुत्भुतिएको छ
। राजनीतिमा हाबी गुणस्तरशून्यताले राजकीय क्षेत्रलाई प्रभाव पारिरहेको छ । दीर्घकालीन असरको ख्याल नगरी जस्तोसूकै हावालाई पनि दलको नीतिमा समावेश गर्ने दलीय नेतृत्वको भोटप्रेमी राजनीतिले राजनीतिक दलहरू सिद्धान्तशून्य, भ्रमको धारयुक्त भिडले थिलथिलो बनेका छन् । नीतिशून्यताको जगमा आम सरोकारका निकायहरू अधिकारप्रेमी बन्दै कर्तव्यशून्य अराजकतामा मौलाएका छन् । तर यस्ता अनगिन्ती सवालमा यथार्थ चिरफार भने हुन सकिरहेको छैन ।
सिद्धान्त र समर्पणको अपरिहार्यता
राजनीति, समाज, सिद्धान्त र दर्शन कुनै नश्ल र पुस्ताको मात्र निजी हुन सक्दैन । यस्ता खाले निरपेक्ष नाराले लोकप्रियता प्राप्त होला, सस्तो लोकप्रियताको पछि भिड पनि लाग्ला, तर समाजले अग्रगति हासिल गर्न सक्दैन । समाज अग्रगमनको सूचक भनेको भावी मार्गदर्शक विचार, सिद्धान्त र दर्शन तथा असल प्रवृत्ति हो । दर्शन र सिद्धान्तलाई कार्यान्वयन गर्ने इमान्दारिताले समाजका सबै तह र तप्कालाई लाभान्वित तुल्याउँछ ।
पुष्पलाल, बीपी र मदनमा इमानदारिता र प्रतिबद्धता दुवै थियो । उहाँहरूबाट प्रतिपादित आम जनहितानुकूलको दर्शन थियो । गणेशमानको त्याग थियो । मनमोहन र कृष्णप्रसादको इमानदारिता थियो । दिवङ्गत उहा“हरू सबैको आदर्शता आज पनि अमर र अनुकरणीय छ । लाखौंलाख अनुयायी छन् ।
सबैको मनमस्तिष्कमा उहा“हरू आदर्श पात्रको रूपमा आज पनि पूज्य हुनुहुन्छ । आज खेती बन्दै गरेका निरपेक्ष सवालमा उहा“हरू अल्मलिनु भएको भए देशमा राजनीतिक अधिकार सम्भव थियो ? निरङ्कुशताको अन्त्य सम्भव थियो ?
सामाजिक सञ्जालको भ्रम र कर्तव्यशून्य पुस्ता
सामाजिक सञ्जालको तथ्यहीन प्रचारात्मक मोह तथा निरर्थक लोकप्रियतावादको मोहमा समाज चरम रूपले डुबेको छ । एकखाले जमात आमूल परिवर्तनको भावी मार्गचित्र र असल प्रवृत्तिभन्दा नश्लवाद तथा लोकप्रियतावादको नसामा उन्मत्त बन्दै गएको छ । सो जमात आफू परिष्कृत भएर आफैं अनुकरणीय बन्दैन, अरूलाई परिष्कृत हुने पाठ सिकाउँछ ।
आफ्नो अधिकार खोज्छ तर आफू कर्तव्यनिष्ठ बन्दैन । आफ्नो अग्राधिकार खोजिरहँदा अरूको अधिकार हनन गर्नु हुन्न भन्ने सामान्य ज्ञानसमेत राख्दैन । तर समाजले भोग्दै आएका अनेकौं असहजताको पोको खोलेर अराजकतालाई प्रोत्साहन भने गरिरहन्छ ।
समाज सत्यतथ्यको विश्लेषण गर्न बिर्सेर दिनप्रतिदिन अनेकौं खाले भ्रमपूर्ण खेतीमा आकर्षित बन्दै छ । समाज र राजनीतिलाई ग्रसित बनाउ“दै आएको यस्तो मनोरोगको बारेमा जुन रूपमा बहस, पैरवी र उपचार हुनुपर्ने हो, त्यो हुन सकिरहेको छैन । जिम्मेवार छापा तथा विद्युतीय सञ्चार जगतले त्यस्ता विचार तथा विचारकहरूलाई अग्रभागमा ल्याउन सकिरहेका छैनन् ।
जता हावा बग्छ, उतै बहने नागरिक समाज र बौद्धिक अग्राधिकारवालाले पनि तथ्यगत कुराको मुख खोल्न सकिरहेका छैनन् । यो अत्यन्तै खतरनाक लक्षण हो र यसले समाज अञ्जानवश अझै पश्चगमन उन्मुख बन्दै छ ।
लोकप्रियतावादको खतरा र शासकीय शून्यता
लोकप्रियतावाद नाजीवादको अङ्ग हो । जब सिद्धान्त व्यवहार बन्दैन, त्यस अवस्थामा मान्छेमा जवाफदेहीशून्यताले घर जमाउ“छ । नैतिक शून्यता र अनुशासनहीनताले आम क्षेत्रहरू ग्रसित बन्छन् ।
राजनीतिक दलहरूलाई सिद्धान्तभन्दा भिडप्रेमी बनाइन्छ । विचारशून्य निरर्थक भिडको घेराले नेतृत्वलाई जनताबाट टाढा बनाउँछ । जनताका जल्दाबल्दा समस्याहरू ओझेलमा पर्छन् । झूटको खेती सामान्य बन्छ । यस्तो अवस्थाले जनतामा अन्योलता सिर्जना गर्छ । अन्योलताले असन्तुष्टि जन्माउ“छ । असन्तुष्टिले लोकप्रियतावादको सहारा लिन्छ ।
हावाको तालमा दौडने मनोगतवादी चिन्तन विकासको चरणकै बाधक हो । तर यसो भनिरहँदा के जनता हावाको सस्ता नाराको पछि मात्र लाग्थे त ? उनीहरू सिद्धान्तको पछि थिएनन् त ? स्वतन्त्र सङ्ग्राममा होमिएर आजको स्वाधीन नेपाल बनाउनमा उनीहरूको कुनै योगदान थिएन त ? अवश्य थियो । जनताले सिद्धान्तलाई गायत्री मन्त्र मान्दै आएका हुन् । राणादेखि पञ्चायत हुँदै राजतन्त्र ढाल्नसम्म शिरमाथि कात्रो बा“धेर राजनीतिक दलहरूलाई साथ दिंदै आएका पनि हुन् ।
राजनेताहरूको अनुकरणीय आदर्शलाई आत्मसात् गर्दै उनीहरूलाई ब्रम्हा, विष्णु, महेशको अवतारमा पुज्दै आएका पनि हुन् । तर आज तिनै जनता विगतमा आफूले सर्वपूज्य मानेकालाई नै किन धारे हात लाउ“दै छन् त ? कुनै दीर्घकालीन सोच र चिन्तन बिनाका निरर्थक लोकप्रियतावादको आडमा उदाएका नव जोगीको पछि किन लाग्दै छन् त ? के यसको कारण र कारक छैनन् र ? कारण र कारक दुवै छन् ।
समाधान पुस्तावाद होइन, असल प्रवृत्ति
वास्तवमा शासकीय जवाफदेही शून्यताले जनतामा निराशाको बादल छाएकै हो । निराशाको जगमा आक्रोश र अराजकताको आ“धी आएकै हो ।
सम्भ्रान्त वर्गको उत्तराधिकारी राजकीय प्रणालीले पहुंचशून्य वर्गलाई बहिष्करणको मारमा पारेकै हो । दलीय नेतृत्वको हिटलरी शैली तथा पथभ्रष्ट प्रेमिलताले जिम्मेवार राजनीतिक दलहरूलाई रक्षात्मक पनि बनाएकै हो ।
तर यसो भयो भन्दैमा यसको समाधान पुस्तावाद हुँदै होइन । निरर्थक तवरको धर्म, जाति लगायतको नश्लीयवाद पनि होइन । लोकप्रियतावाद पनि होइन । समाधान भनेको दीर्घकालीन मार्गचित्र सहितको सिद्धान्तमा आधारित असल प्रवृत्तिको खोज हो । नियत नबिग्रिएका र नबिगार्ने सिद्धान्तनिष्ठ असल र इमानदारहरूको दलीय साङ्गठनिक सञ्जाल मात्र समाधानको कडी हो ।
नश्लवादको मनोरोगले शिथिल बन्दै आएका राजनीतिक दलहरू पुस्तावादको थप जञ्जालमा फसेका छन् । दलीय शीर्षस्थहरूले आफ्ना विगत र वर्तमानको आत्मसमीक्षा गरेर आफूलाई सुधार गर्न सकिरहेका छैनन् ।
बाँचुन्जेलसम्म सत्ता र शक्तिमा जसरी पनि बस्नै पर्ने आत्मकेन्द्रित बुझाइले दलहरू एकपछि अर्को अलोकप्रियताको भासमा जाकिंदै छन् । तर नेतृत्वले आफू दिनप्रतिदिन अलोकप्रियताको शिकार बन्दै छु भनेर बुझ्ने नैतिक साहस गर्न सकिरहेको छैन । अनेकौं जोडघटाउको खेलमा एक्लो मसिहा बन्न खोजिरहेको छ । एकातिर नश्लवाद र पुस्तावाद, अर्कोतिर हिटलरवादको चेपुवामा देशको राजनीति अस्तव्यस्त अवस्थामा छ ।
आजको आवश्यकता पुस्ता होइन, असल प्रवृत्तिको हो । उमेर समूह जुनै होस्, नियत ठीक छ र उसमा दूरदर्शी चिन्तन तथा समाजलाई सुखी र खुसी तुल्याउने दूरगामी दृष्टिकोण छ भने नब्बे वर्षको वृद्धले नेतृत्व हा“क्दा पनि कुनै फरक पर्दैन । युवा अथवा किशोर–किशोरीहरू मात्र अब्बल छन् र उनीहरूले मात्र अग्राधिकार पाउने भाष्य खडा गर्ने कुरा आत्मघाती र विसर्जनवादी चिन्तन हो ।
उमेरले मात्र कोही असल र खराब हुन सक्दैन । यसो हुन्थ्यो भने विद्यमान राजनीतिक दलका उच्चतम नीतिगत तहमा आसीन युवाहरू यती, ओम्नी, वाइडबडी, हुरीबतास, बाख्रा–पाठा जस्ता अनेकौं काण्डमा विवादित हुने नै थिएनन् । उनीहरूको राजधानीकेन्द्रित अपारदर्शी अलीशान जीवनशैली पनि हुने थिएन ।
डनवादको जन्म हुने थिएन । तर के गर्ने ? दलभित्र गरमागरम पुस्तावादको बहस चल्दै छ । असल प्रवृत्तिको बहस कोमामा छ । चिरफार गर्नेहरू स्वार्थकेन्द्रित तालमा लोकप्रियताको गीता जपिरहेका छन् ।
View : 262
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved