Biratnagar, Morang, Nepal
२६ पुष २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
साहित्य

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न

उद्‌घोष सम्वाददाता
४ मंसिर २०८०, सोमवार

विराटनगर, ४ मङ्सिर : मोरङलगायत देशका विभिन्न जिल्लाहरुमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान मोरङ, सुनसरीसहित तराई क्षेत्रका जिल्लाहरु महोत्तरी, धनुषा, सिरहा, सप्तरी, झापा, सर्लाही, रौतहट, बारा, पर्सालगायतका जिल्लाहरुमा जलाशयमा गएर उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै धुमधामका साथ छठ पर्व सम्पन्न भएको हो ।

सूर्य उपासनाको पर्व छठको अवसरमा आइतबार साँझ विराटनगरका नदी, नहर र तलाउ किनारमा ब्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएका थिए । सूर्य अस्ताउनुपूर्व नै नदी, नहर र तलाउ किनारका घाटमा पुगेका उनीहरूले पश्चिम फर्किएर अस्ताउँदो सूर्यलाई अर्घ्य दिए । विराटनगर पूर्वको सिंघिया र पश्चिमको केसलिया (बुढी) खोला तथा मोरङ–सुनसरी सिंचाइ आयोजनाको नहर किनारमा बनाइएका घाटमा छठका ब्रतालुहरुले सूर्यलाई अर्घ्य चढाए । 

हिन्दु धर्मावलम्बीहरुले सूर्यलाई अर्घ्य दिएर सूर्यको स्तुति गर्नाले चिताएको कामना पूरा हुने विश्वास गर्दछन् । सोही विश्वासमा श्रद्धालु भक्तजनहरूले छठ पर्व मनाउँदै आएका छन् । 

उनीहरुले ओखलमा कुटेको गहुँको पिठोबाट पकाइएको ठेकुवा, केरा, जट्टासहितको नरिवल सहितका सामग्री सूर्यलाई अर्घ्यसँगै चढाएका छन् । आज अस्ताउँदो सूर्यलाई अर्घ्य चढाएपछि अधिकांश श्रद्धालुहरू मनोकांक्षा पुरा होस् भन्ने कामना गर्दै घाटमै जाग्राम पनि बसेका थिए ।

शनिबार पञ्चमी तिथिमा भक्तालुहरूले ‘खरना’ व्रत लिएका थिए । खरना समापनपछि व्रतालुहरूले नुहाईधुवाई गरेर चोखो भएर घरको नयाँ चुल्होमा पकाइएको खीरलाई प्रसादका रूपमा प्रयोग गरे । 

कात्तिक चतुर्थीदेखि सुरु हुने छठ सप्तमी तिथिका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन हुन्छ । सोमबार विहानै भक्तालुहरूले उदाउँदो सूर्यलाई अर्घ्य दिएर ब्रतसँगै छठ पर्वको समापन गरेका हुन् ।

मिथिला संस्कृतिसँग जोडिएको छठ पर्व अहिले तराईका जिल्लाका साथै पहाडमा पनि उत्तिकै जाँगरका साथ मनाउन थालिएको छ । तराईमा पनि मैथिली भाषीसहित सबै समुदायले श्रद्धाका साथ छठ पर्व मनाउने प्रचलन अझ बढेर गएको जनाइएको छ ।

सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभुति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको छ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको यस पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ । पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलासयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ । 

 महाभारतका अनुसार द्रोपदीसहित पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तावास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । उक्त समयमा पाण्डव मिथिलाको किराँत राजाका क्षेत्रमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

सूर्य पुराणअनुसार सर्वप्रथम पत्नी अनुसुइयाले छठ व्रत गरेकी थिइन् । फलस्वरुप उनले अटल सौभाग्य र परिप्रेम प्राप्त गरिन र त्यही बेलादेखि छठ गर्ने परम्पराको सुरुआत भएको तथ्य उल्लेख छ ।

धार्मिक आस्थाका साथसाथै सामाजिक सद्भावको रुपमा समेत विकसित छठ पर्व हिन्दूको सँगसँगै मुस्लिमले पनि मनाउने गर्छन् । यस पर्वमा चढाइने पदार्थको सङ्ख्या ७० पुर्याउनुपर्छ । तर चढाउने सामथ्र्य नभएका गम्हरी धानको चामल मात्र चढाए पनि देउता प्रसन्न हुने जनविश्वास रहेको छ ।

View : 134

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved