विराटनगर । कोशीका पूर्वमन्त्री एवम् एमाले सांसद लीलाबल्लभ अधिकारीको विराटनगर बरगाछीस्थित निवासमा आइतबार बिहान केही समर्थकहरू भेला भएका थिए । उनीहरूमाझ अधिकारी भन्दै थिए ‘साथीभाइको भर पर्दा ठूलो एम्बुसमा परियो !’
सम्भवतः प्रहरीले आफूलाई समात्दैछ भन्ने सूचना उनलाई भइसकेको थियो । त्यसैले उनले यस्तो दिक्दारी प्रकट गरेका थिए । सरकारी प्रक्रिया र विधि मिचेर उनी जापान जाँदा सुरू भएको विवाद पछिल्लो समय मानव तस्करीको गम्भीर प्रकरणमा रूपान्तरण भइसकेको छ ।
यस्तो आरोप लागेका अधिकारीले आफ्नै कोठामा यसो भनेको केही समय नबित्दै उनको निवास प्रहरीको नियन्त्रणमा पुगिसकेको थियो ।
धेरैजसो प्रहरी सादा पोशाकमै थिए । प्रहरीले पक्राउ गर्ने सूचना पाउनासाथ अधिकारीले ‘प्रहरी अनुसन्धानमा सघाउन आफू काठमाडौं जान लागेको’ जानकारी सञ्चारकर्मीलाई दिएका थिए ।
उनलाई आइतबार दिउँसो १ः५० को जहाजबाट प्रहरीले काठमाडौं पु¥याएर अदालतमा पेश गरिसकेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई प्रदेशको गृह मन्त्रालय पनि भनिन्छ । सुरक्षा अंगकै तालुकदार मन्त्रालयको मन्त्रीका रूपमा साताअघिसम्म स्यालुट खाँदै आएका प्रहरीले नै उनलाई नियन्त्रणमा लिएर काठमाडौं पठाएको हो ।
‘उनी आफ्नो राजनीतिक जीवनकै कठिन घुम्तीमा आइपुगेका छन्’, अधिकारीका एक जना राजनीतिक साथीले भने ‘निष्कर्षबारे अहिल्यै अनुमान नगरौं । तर, यतिका वर्षमा बनेको छवि ध्वस्त हुने गरी यो घटना भयो । यो दुःखद् भयो ।’
काठमाडौं जिल्ला अदालतले अधिकारीलाई दुईदिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । पदबाट राजीनामा दिएको यतिका दिनसम्म पनि अनुहारमा त्यसको तनावको छायाँ पर्न नदिएका अधिकारी आइतबार भने मलिन देखिन्थे । आफूमाथि छानबिन होस् भन्दै आएका उनी पक्राउ पर्ने दिन भने पहिलेको जस्तो आत्मविश्वासी देखिन्न थिए ।
छँदाछँदैको मन्त्री पद गुमाएका र पार्टीबाट पनि निलम्बनमा परेका अधिकारीलाई राजनीतिक जीवनको उत्तराद्र्धमा ‘मानव तस्करी’ को गम्भीर आरोपले लखेटेको छ । पदबाट हट्ने मात्रै होइन, यो प्रकरणले उनलाई ठूलो बद्नामीसमेत दिएको छ ।
‘प्रहरीले उहाँमाथि मानव तस्करीका विषयमा अनुसन्धान गर्नुपर्ने भन्दै म्याद मागेको थियो, त्यसैले दुई दिनको समय दिइएको हो’ काठमाडौं जिल्ला अदालतका श्रेष्तेदार रामु शर्माले भने । प्रहरीले अनुसन्धान गर्न चाहेकै विषयले पनि उनीमाथि लागेको आरोप संगीन छ भन्ने देखाउँछ ।
विराटनगरलाई आधार बनाएर लामो समयदेखि वकालत र राजनीति दुवै क्षेत्रमा क्रियाशील अधिकारी पेशागत र राजनीतिक दुवै ‘फिल्ड’ मा सफल बन्दै आएका थिए । मोरङ–२ को प्रदेश क्षेत्र नम्बर–२ बाट दुईपटक प्रदेशसभा सदस्य भइसकेका उनी छोटो–छोटो समयका लागि तीन पटक प्रदेशको मन्त्री भइसकेका छन् ।
कानुनी क्षेत्रमा पनि उच्च बारको अध्यक्ष भइसकेका उनी मोरङका स्थापित कानुन व्यवसायी हुन् । उनका समवयी कानुन व्यवसायीहरूका अनुसार अधिकारी फौजदारी मुद्दामा विशेष दख्खल राख्ने वकिल थिए ।
वकालत हुँदै राजनीतिमा फड्को मारेर तीन पटक प्रदेशका मन्त्री भइसकेका अधिकारी अन्ततः फौजदारी अभियोगकै आरोपित बनेर प्रहरी हिरासतमा पुगेका छन् । उनलाई पक्राउ गरेको बारे प्रहरीले प्रदेशसभा सचिवालयलाई जानकारी गराइसकेको प्रदेशसभाका प्रवक्ता गौतमराज अमात्यले बताए ।
प्रदेश मन्त्रिपरिषद् र संघीय सरकारसंग अनुमति नै नलिई जापान उडेका तत्कालीन मन्त्री अधिकारीसंगै जापान पुगेका खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटाको बयानका आधारमा प्रहरीले अन्य ३ जनालाई पनि यसअघि नै पक्राउ गरिसकेको छ ।
उनीहरूको बयानका आधारमा प्रहरीले जुगल रिजाल, वीरबहादुर सुनुवार र महेश पाण्डेलाई थुनामा राखेर बयान लिइरहेको छ । अब तत्कालीन मन्त्री अधिकारी पनि प्रहरी नियन्त्रणमा पुगेका हुन् ।
‘घटनाको छानबिनका लागि उहाँलाई पक्राउ पुर्जी दिएर नियन्त्रणमा लिइएको हो’, अधिकारीलाई पक्राउ गरेर काठमाडौं पठाएका मोरङ प्रहरी प्रमुख एसपी नारायण चिमरियाले भने । अधिकारीले भने आफू फसेको दाबी गर्दै आएका छन् ।
हङकङमा नचिनेका मान्छे भेटिएपछि उनीहरूबारे प्रहरीलाई आफै जानकारी दिएको, उनीहरूलाई प्रहरीको जिम्मा लगाएको, पदबाट राजीनामा दिएर अनुसन्धानमा सघाउन तयार भएको जस्ता तर्क अघि सार्दै अधिकारीले आफू निर्दोष रहेको बताइरहेका छन् । उनीसहित थप तीन जनालाई जापानी अध्यागमनले डिपोर्ट (देशबाट निस्कासन) गरेको थियो ।
प्रहरीले अधिकारीसहितका सात जनामाथि दुई वटा कसुरमा अनुसन्धान थालेको छ । पहिले लिखत सम्बन्धी (सरकारी कागजात किर्ते) कसुरमा मात्रै अनुसन्धान अघि बढाएको थियो । आइतबारदेखि भने प्रहरीले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अनुसार पनि अनुसन्धान अघि बढाएको छ ।
View : 80
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved