Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

४२ वर्षपछि फिर्ता भएको विश्वासको त्यो ऋण

४२ वर्षअघि आफ्नो हातले लिएको ६ हजार भारुको बदला गुरागाईले मंगलबार पाँच लाख रुपैयाँको चेक दिए ।
उद्‌घोष संवाददाता
१६ पुष २०८२, बुधवार

पाँच लाख रुपैयाँको चेक स्वर्गीय नरनाथ गौतमकी श्रीमती शारदा गौतमलाई हस्तान्तरण गर्दै गोपाल गुरागाईं । तस्वीर : उद्घोष

विराटनगर । भोजपुरबाट अध्ययनको सपना बोकेर २०४० को दशकमा विराटनगर झरेका थिए गोपाल गुरागाईं । त्यतिबेला उनीसँग न त धेरै पैसा थियो, न त सजिलो बाटो । तर थियो– किताब, विचार र परिवर्तनप्रतिको गहिरो विश्वास । 

यही विश्वासको यात्रामा उनी जोडिएका थिए, विराटनगरको एउटा सानो तर ऐतिहासिक केन्द्र बाजेको पुस्तक पसलसँग ।

त्यो पसल केवल पुस्तक किनबेच गर्ने ठाउँ मात्र थिएन । त्यो तत्कालीन भूमिगत कम्युनिष्ट आन्दोलनको एउटा मौन आश्रयस्थल पनि थियो । 

पसलका सञ्चालकमा नरनाथ गौतम देखिन्थे । तर त्यसलाई पार्टीको अदृश्य लगानीको पसल पनि भनिन्थ्यो । जे भनेपनि उक्त पुस्तक पसल तत्कालीन समयमा भूमिगत पार्टीको सम्पर्क गर्ने केन्द्र भने थियो । 

खासगरी कम्युनिष्टहरू त्यसमा पनि तत्कालीन नेकपा मालेका नेता, कार्यकर्ताहरू अरुले थाहा नपाउनेगरी ओहोरदोहोर गरिरहन्थे ।

लिने र दिने चिट्ठीपत्र पसलमा छाडिरहन्थे । सोही पसलमा आक्कलझुक्कल झुल्किने व्यक्तिमा ‘सागर’ नामले चिनिने मदन भण्डारी पनि पर्दथे ।

यतिखेर रेडियोको आवाजमा अलग्गै परिचय बनाइसकेका गोपाल गुरागाईंका लागि २०४० साल भदौ २२ गते त्यही बाजेको पुस्तक पसलमा एउटा ऐतिहासिक क्षण बनेको थियो । 

नरनाथ गौतमले किताब छाप्ने उद्देश्यले पाण्डुलिपी, एउटा चिट्ठी र ६ हजार भारतीय रुपैयाँ गुरागाईंको हातमा थमाएका थिए । त्यो समयको ६ हजार रुपैयाँ सामान्य रकम थिएन ।

त्यो विश्वास, आशा र विचारको लगानी पनि थियो ।

गुरागाईं त्यो जिम्मेवारी बोकेर बनारस पुगे । त्यहाँ सीपी मैनालीसँग उनको भेट भयो । उनले त्यहाँ पाण्डुलिपी र चिट्ठी थमाए । तर बनारसमा त्यतिबेला क्रिकेटको बिछट्टै क्रेज चलेको उनले पाए । त्यहाँ त सबै जना आफ्नो कान रेडियोमा राखेर काम छाड्दा रहेछन् । जसले गर्दा प्रिन्टिङ प्रेसका कामदारहरू समयमै काम गर्न तयार भएनन् । 

भदौ महिनाको चर्को गर्मी, घमौरा र खटिरले गुरागाईंको शरीर र मन दुवै थकित बनायो । 

उता असोज महिनामा दशैं आउने, विराटनगर हुँदै भोजपुर फर्किनुपर्ने दबावले उनले पैसा र पाण्डुलिपी उतै छाडेर आए । किताब छापेरै फर्किने आदेश उनले पूरा गर्न सकेनन् । 

त्यसो नभएपछि किताब छापेर नेपाल पठाइदिने शर्तमा पैसा छाडेर गुरागाईं नेपाल फर्किए । तर समय बित्दै गयो । न किताब आयो, न पैसा । 

त्यो बेलाको अत्यन्तै महत्वपूर्ण ६ हजार रुपैयाँको हरहिसाब यसरी हराउनु केवल आर्थिक क्षति मात्र थिएन, गुरागाईंका लागि त्यो एउटा नैतिक पीडा पनि थियो । 

‘पैसाभन्दा ठूलो कुरा विश्वास थियो,’ उनले भने, ‘त्यो विश्वास पूरा गर्न नसकेको पीडा मनमा बसेर रह्यो ।’

समय बदलियो । व्यवस्था बदलियो । आन्दोलन खुला भए, नेताहरू कहिले सत्ता र कहिले इतिहासका पाना भए । तर गुरागाईंको मनभित्र भने एउटा अधुरो हिसाब भने ४२ वर्षसम्म बाँकी नै रह्यो ।

यही अधुरो हिसाब मिलाउन उनले कहिले एमाले अध्यक्ष केपी शर्मालाई भने त कहिले राष्ट्रपति भइसकेकी विद्या भण्डारीलाई मनको बह सुनाए । 

आश्वासन पाउनुबाहेक तत्कालै केही होलाजस्तो नलागेपछि गुरागाईं आफैले त्यो ४२ वर्षअघिको विश्वासको ऋण मंगलबार फिर्ता गरेका छन् । 

त्यो विश्वासको ऋण गुरागाईको फिर्ता गर्नुपर्ने दायित्वभित्र भने थिएन । तर, आफ्नो हातले लिएको पैसा उनलाई कसैगरी पनि फिर्ता गर्नुपर्ने हुटहुटीले कहिल्यै छाडेन । 

उनले आफ्नो त्यही आत्मिक बेचैनीलाई २०८२ सालको पुस १५ गते शान्त पारेका छन् । 

कम्युनिकेसन कर्नर स्थापना गरेर देशभर रेडियो नेटवर्क बनाउने गुरागाईंले २०४० भदौ २२ गते ६ हजार भारु नरनाथ गौतमसँग लिएको भन्दै उनकी श्रीमती शारदा गौतमलाई पाँच लाख नेपाली रुपैयाँको चेक दिएका छन् । 

उक्त चेक हस्तान्तरण गरेपछि गुरागाईले भने, ‘आज म एउटा ठूलो ऋणबाट मुक्त भएको छु ।’

View : 249

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved