Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
विचार

शिक्षकको मौन वेदना

सफल विद्यार्थी, विवश गुरु

उद्‌घोष संवाददाता
१८ असार २०८२, बुधवार

छोराले माध्यमिक शिक्षा परीक्षा ‘एसईई’ मा उत्कृष्ट नतिजा ल्याएको दिन घरभरि उत्सवको माहोल थियो  । खुसीको त्यो लहरले हरेक अनुहारमा चमक थपेको थियो । आफन्त, छिमेकी, साथीभाइदेखि सामाजिक सञ्जालसम्म—सबैजना बधाईका शब्दवाणले छोरा र हामीलाई निहालिरहेका थिए । फेसबुकका भित्ताभर फोटो र स्क्रिनसटसँगै प्रेरणादायी सन्देशहरू, ‘गर्वको क्षण’, ‘तपाईंको परिश्रमको फल’ जस्ता कैयौं टिप्पणीहरू ओइरिरहेका थिए ।

छोराको नाममा मलार्ई पनि पटक–पटक ट्याग गरिएको थियो । मेरो श्रीमती र छोराको भुइँमा खुट्टा थिएन, श्रीमती खुशीले फुरुक्क हुँदै बारम्बार भन्दै थिइन्, देख्नुभयो मेरो छोराले एसईईमा ‘ए प्लस’ ल्याएर देखायो नि ! 

तर त्यो क्षणमा म भने, छोराको सफलता र त्यसको उत्सवभन्दा पर गइरहेको थिए“—उहाँ, जसको अटुट समर्पण र शिक्षणले मेरो छोरोलाई यो लक्ष्यमा  पु¥याएको थियो, त्यो गुरुप्रति कृतज्ञताको भाव मनभित्र गडिरहेको थियो । खुशी त मनमा थियो तर त्यो खुशी स“गस“गै एक किसिमको अधुरोपन पनि । बारम्बार फोन गर्दा पनि सरको मोबाइल स्विच अफ देखिंदा मन थप बेचैन भयो ।

सा“च्चै भन्नुपर्दा, मेरो छोरो त्यति जेहेन्दार थिएन, न त पढाइप्रति खासै लगाव राख्थ्यो । उसमा आत्म–अनुशासन र प्रेरणाको बीउ रोप्ने काम त्यही शिक्षकले गर्नुभएको थियो । त्यो बीउ आज अंकुरित भएर फलदायी नतिजा दिइरहेको थियो । अनि म, एक अभिभावक, त्यो गुरुलाई भेटेर साँचो अर्थमा ‘धन्यवाद’ भन्न आतुर थिएँ—शब्दभन्दा गहिरो, भावनाले भरिएको धन्यवाद ।

जब अन्धो मान्छेले देख्न थाल्छ, ऊ सबैभन्दा पहिले आफ्नो सहारा ‘लठ्ठी’ लाई बिर्सन्छ भन्ने भनाइले मेरो मन छोइरहेको थियो । सफलता पाएपछि धेरैले आफ्नो आधार बनेका व्यक्तिलाई बिर्सन्छन् , तर म त्यो श्रेणीमा पर्न चाहन्नथेँ ।

नतिजाको भोलिपल्ट पनि फोनको स्थिति उस्तै रह्यो । अन्ततः, छोरालाई सोधें, ‘बाबु, तिम्रो सर कहा“ बस्नुहुन्छ, थाहा छ ?’
छोराले भने, ‘थाहा छ बाबु ।’ मैले निर्णय गरें—अब म सरको घरमै जानेछु, उनीसँग प्रत्यक्ष भेट गरेर धन्यवाद र सम्मानको गहिरो अनुभूति व्यक्त गर्नेछु । किनभने, छोराको यो उपलब्धी केवल उसको मात्र होइन, एउटा गुरुले दिएको अमूल्य योगदानको उज्यालो प्रतिबिम्ब पनि हो ।
सरको मोबाइल लगातार स्विचअफ देखेपछि अन्ततः म मिठाइको डब्बा लिएर उहाँलाई भेट्न घरसम्मै पुगें । उहाँको घर, साधारण एक कोठाको डेरा । भेट हुने बित्तिकै मैले चिन्ताभावमा सोधें, ‘सर, मोबाइल अफ छ नि, सबै ठिक छ त ?’

उहाँ मुस्कुराउँदै भन्नुभयो, ‘सबै ठिक छ, चिन्ता नलिनुस्, धन्यवाद ।’ तर त्यो मुस्कानभित्र लुकेको पीडा मैले एकै झलकमा बुझ्न सकें ।

थोरै मौनतापछि उहाँले भन्नुभयो, ‘म त अब कोरिया जाने तयारीमा छु । परीक्षा नजिकिंदै थियो, फोनमा बारम्बार डिस्टर्ब हुन्थ्यो भनेर अफ राखेको ।’
यो सुनेर म केही समय स्तब्ध भएँ । जसको पढाइको चर्चा कलेजदेखि स्कुलसम्म, बिहानदेखि बेलुकासम्म फैलिएको थियो—त्यो शिक्षक अब परदेश जान लागेका छन् ?

मैले फेरि जिज्ञासा प्रकट गरें, ‘सर, बिहान कलेज, दिउँसो स्कुल, अनि त्यो पनि उत्कृष्ट शिक्षण सस्थाको उत्कृष्ट  शिक्षक भनेर मानिने तपाईं जस्तो व्यक्तिले विदेश जानुपर्ने अवस्था किन आयो ? हाम्रो छोराछोरीको भविष्य त तपाईंहरूकै काँधमा  छ नि †’

त्यसपछि उहाँको गहकिलो उत्तरले मेरो मन गह्रौं बनायो ।

‘के गर्नु त सर,’ उहाँ बिर्सन नसकिने स्वरमा भन्नुभयो, ‘चार महिनादेखि तलब आएको छैन । उत्कृष्ट विद्यालय भनेर प्रचार हुन्छ, तर हामी शिक्षकका लागि त्यो ‘उत्कृष्टता’ केवल नाममै सीमित छ । घरको भाडा त दिन सकिएन, घरधनीले कोठा खाली गर्न ताकेता गर्न थालिसके । किराना, तरकारी, सबै उधारो टार्न गाह्रो छ । म त ठीकै छु, तर ममाथि आश्रित परिवारको पेट पाल्ने जिम्मेवारी छ—विद्यालय व्यवस्थापन तथा सम्पूर्ण सरोकारवालाहरुले यो कुरा बुझेनन् , आफ्नो पीडा कसलाई पोख्ने यहा“ मलम लगाउन भन्दा नुन छर्कन बढी आतुर हुन्छन् ।’

उहाँको स्वरमा थकान थियो, मनमा पीडा,अनि भविष्यप्रति गहिरो सोच  । मधुरो  स्वरमा अगाडि भन्नुभयो, ‘एकपटक त एउटा शिक्षकले व्यवस्थापनमा सञ्चालन प्रिन्सिपललाई नै  भेटेर आफ्नो समस्या राख्दा उल्टै भनिएको थियो—‘नया“ सत्रदेखि नआउनुस्, अझ हतार छ भने अहिले नै स्कूल छाड्नुस् ।’ त्यो दृश्यको प्रत्यक्षदर्शी म स्वयं हुँ ।’

हामीकहाँ शनिवार पनि कार्यभार, कार्यक्रम, प्रतिस्पर्धा अनि दवाव—तर कुनै अतिरिक्त सुविधा छैन । न जागिरको स्थायित्व, न त समयमै तलब, नत व्यवस्थापनबाट इज्जत । समाजको नजर पनि के त्यति सकारात्मक छ र ? भोलि कसैकी छोरी माग्न गयो भने, सोधिन्छ—‘देश बाहिर गएका छन् कि ? सरकारी जागिर वा  मासिक आम्दानी कति छ ?’

त्यसपछि केही क्षण चुप लागेर, उहा“ले भन्नुभयो, ‘मेरो १० वर्षे शिक्षणमा मलाई आजसम्म  जीवनमा तपाईं जस्ता केवल एक अभिभावकले मात्र यसरी खोज्दै आउनुभयो । बा“की सबैजना परीक्षा पास भएपछि हामीलाई बिर्सन्छन् । हाम्रो समर्पण, सच्चा सेवा—यी सबै समाजको नजरमा लोप भएर जान थालेका छन् ।’

उहाँका ती शब्दहरूले मन चिर्ने गरी बजिरहे—एक शिक्षकको मौन वेदना, जसलाई न राज्यले सुनेको छ, न समाजले बुझ्ने कोसिस गरेको छ ।आजको समय दिनप्रतिदिन दौडधुपमा बितिरहेको छ । मान्छेहरू व्यस्तता भन्ने चक्रव्यूहमा यति गहिरो रूपमा फसिरहेका छन् कि आफ्ना छोराछोरीप्रतिको माया, संस्कार र शिक्षाप्रतिको ध्यान समेत ओझेलमा पर्दै गएको छ । यस्तो अवस्था लामो समयसम्म यथावत् रहन गयो भने भोलिको पुस्ताले एउटा कठोर र चुनौतीपूर्ण यथार्थको सामना गर्नुपर्ने दिन टाढा नहुन सक्छ ।

हिजोका दिन सम्झिंदा, गाउँघरका गल्लीहरूमा पनि ट्युसन पढाउने उत्साही, उर्जावान शिक्षकहरू भेटिन्थे । ती शिक्षकहरू न केवल पढाउ“थे, जीवनको मूल्य पनि बुझाउँथे । तर आज ? समय बदलिंदैछ । ती युवा शिक्षकहरू, जो कहिले समाजका दीप थिए, ती अब एउटा असमर्थ व्यवस्थाले थिचिएर परदेश पथतिर लाग्न बाध्य छन् ।
हामी बिर्सनु हुँदैन—देशको समुन्नत भविष्यको पहिलो आधारशिला भनेको ‘शिक्षा’ हो । र, शिक्षाको मेरुदण्ड हुन् —हाम्रा समर्पित गुरुहरू । उनीहरूबिना सुशिक्षित समाजको कल्पना गर्नु मात्र पनि विडम्बनापूर्ण हुन्छ ।

 एक समय थियो, जब शिक्षक हुनु नै गौरवको पर्याय मानिन्थ्यो । विकसित देशहरूमा त अझै पनि शिक्षकलाई समाजका आधार स्तम्भको रूपमा हेरिन्छ — जति सम्मान डाक्टर, इन्जिनियर, वैज्ञानिकले पाउ“छन्, त्यति नै शिक्षकले पनि । तर हाम्रो सन्दर्भमा, समयस“गै शिक्षकमाथिको दृष्टिकोण परिवर्तन हुँदै गएको छ ।

आज शिक्षक हुनु भनेको केवल पठन–पाठनको काम होइन, यो निरन्तर आलोचना, अपूरा अपेक्षा र सामाजिक दबाबको भारी बोकेको यात्राजस्तै बन्न थालेको छ ।
‘शिक्षक’ शब्द उच्चारण गर्दा अब पहिलाजस्तो सधैं सकारात्मक ऊर्जा आउँदैन । कहिलेकाहीं यो परिचय आफैंमा व्यङ्ग्यको रुपमा लिइन्छ ।

तर, यतिबेला हामीले सम्झिनुपर्छ, शिक्षाको मूल्य कहिल्यै घट्दैन, घट्नु हुँदैन । समाजलाई दिशा दिने, चेतना फैलाउने, अन्धकारमा उज्यालो बाल्ने हातहरू हुन् शिक्षक । यिनै हातहरूबाट भोलिको दूरदृष्टि (भिजन) भएको नेता, वैज्ञानिक, कलाकार, सुधारक जन्मिन्छन् ।

त्यसैले, अब समय आएको छ—हामी सबैले मनन गर्ने । हामीले आफ्नै ठाउँबाट सुरुआत गर्नुपर्छ । शिक्षकहरूप्रति गहिरो सम्मान, भरपर्दो भरोसा, र यथोचित समर्पण देखाउनु आवश्यक छ । साथसाथै, राज्य र सरकार पनि मौन दर्शक नबनी ठोस र दीर्घकालीन नीति सहित शिक्षण पेशाप्रति उत्तरदायी बन्नुपर्छ ।

यदि आज हामी शिक्षकको मर्म र मूल्य बुझेनौं भने, भोलि हामीले शिक्षाको उज्यालो सम्भावनामा मात्र होइन, देशको भविष्यमै आँधी आउने खतरा बेहोर्नु पर्छ ।
                       (विराटनगर –३, पुष्पलाल चोक,मानगढ)

View : 2088

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved