छोराले माध्यमिक शिक्षा परीक्षा ‘एसईई’ मा उत्कृष्ट नतिजा ल्याएको दिन घरभरि उत्सवको माहोल थियो । खुसीको त्यो लहरले हरेक अनुहारमा चमक थपेको थियो । आफन्त, छिमेकी, साथीभाइदेखि सामाजिक सञ्जालसम्म—सबैजना बधाईका शब्दवाणले छोरा र हामीलाई निहालिरहेका थिए । फेसबुकका भित्ताभर फोटो र स्क्रिनसटसँगै प्रेरणादायी सन्देशहरू, ‘गर्वको क्षण’, ‘तपाईंको परिश्रमको फल’ जस्ता कैयौं टिप्पणीहरू ओइरिरहेका थिए ।
छोराको नाममा मलार्ई पनि पटक–पटक ट्याग गरिएको थियो । मेरो श्रीमती र छोराको भुइँमा खुट्टा थिएन, श्रीमती खुशीले फुरुक्क हुँदै बारम्बार भन्दै थिइन्, देख्नुभयो मेरो छोराले एसईईमा ‘ए प्लस’ ल्याएर देखायो नि !
तर त्यो क्षणमा म भने, छोराको सफलता र त्यसको उत्सवभन्दा पर गइरहेको थिए“—उहाँ, जसको अटुट समर्पण र शिक्षणले मेरो छोरोलाई यो लक्ष्यमा पु¥याएको थियो, त्यो गुरुप्रति कृतज्ञताको भाव मनभित्र गडिरहेको थियो । खुशी त मनमा थियो तर त्यो खुशी स“गस“गै एक किसिमको अधुरोपन पनि । बारम्बार फोन गर्दा पनि सरको मोबाइल स्विच अफ देखिंदा मन थप बेचैन भयो ।
सा“च्चै भन्नुपर्दा, मेरो छोरो त्यति जेहेन्दार थिएन, न त पढाइप्रति खासै लगाव राख्थ्यो । उसमा आत्म–अनुशासन र प्रेरणाको बीउ रोप्ने काम त्यही शिक्षकले गर्नुभएको थियो । त्यो बीउ आज अंकुरित भएर फलदायी नतिजा दिइरहेको थियो । अनि म, एक अभिभावक, त्यो गुरुलाई भेटेर साँचो अर्थमा ‘धन्यवाद’ भन्न आतुर थिएँ—शब्दभन्दा गहिरो, भावनाले भरिएको धन्यवाद ।
जब अन्धो मान्छेले देख्न थाल्छ, ऊ सबैभन्दा पहिले आफ्नो सहारा ‘लठ्ठी’ लाई बिर्सन्छ भन्ने भनाइले मेरो मन छोइरहेको थियो । सफलता पाएपछि धेरैले आफ्नो आधार बनेका व्यक्तिलाई बिर्सन्छन् , तर म त्यो श्रेणीमा पर्न चाहन्नथेँ ।
नतिजाको भोलिपल्ट पनि फोनको स्थिति उस्तै रह्यो । अन्ततः, छोरालाई सोधें, ‘बाबु, तिम्रो सर कहा“ बस्नुहुन्छ, थाहा छ ?’
छोराले भने, ‘थाहा छ बाबु ।’ मैले निर्णय गरें—अब म सरको घरमै जानेछु, उनीसँग प्रत्यक्ष भेट गरेर धन्यवाद र सम्मानको गहिरो अनुभूति व्यक्त गर्नेछु । किनभने, छोराको यो उपलब्धी केवल उसको मात्र होइन, एउटा गुरुले दिएको अमूल्य योगदानको उज्यालो प्रतिबिम्ब पनि हो ।
सरको मोबाइल लगातार स्विचअफ देखेपछि अन्ततः म मिठाइको डब्बा लिएर उहाँलाई भेट्न घरसम्मै पुगें । उहाँको घर, साधारण एक कोठाको डेरा । भेट हुने बित्तिकै मैले चिन्ताभावमा सोधें, ‘सर, मोबाइल अफ छ नि, सबै ठिक छ त ?’
उहाँ मुस्कुराउँदै भन्नुभयो, ‘सबै ठिक छ, चिन्ता नलिनुस्, धन्यवाद ।’ तर त्यो मुस्कानभित्र लुकेको पीडा मैले एकै झलकमा बुझ्न सकें ।
थोरै मौनतापछि उहाँले भन्नुभयो, ‘म त अब कोरिया जाने तयारीमा छु । परीक्षा नजिकिंदै थियो, फोनमा बारम्बार डिस्टर्ब हुन्थ्यो भनेर अफ राखेको ।’
यो सुनेर म केही समय स्तब्ध भएँ । जसको पढाइको चर्चा कलेजदेखि स्कुलसम्म, बिहानदेखि बेलुकासम्म फैलिएको थियो—त्यो शिक्षक अब परदेश जान लागेका छन् ?
मैले फेरि जिज्ञासा प्रकट गरें, ‘सर, बिहान कलेज, दिउँसो स्कुल, अनि त्यो पनि उत्कृष्ट शिक्षण सस्थाको उत्कृष्ट शिक्षक भनेर मानिने तपाईं जस्तो व्यक्तिले विदेश जानुपर्ने अवस्था किन आयो ? हाम्रो छोराछोरीको भविष्य त तपाईंहरूकै काँधमा छ नि †’
त्यसपछि उहाँको गहकिलो उत्तरले मेरो मन गह्रौं बनायो ।
‘के गर्नु त सर,’ उहाँ बिर्सन नसकिने स्वरमा भन्नुभयो, ‘चार महिनादेखि तलब आएको छैन । उत्कृष्ट विद्यालय भनेर प्रचार हुन्छ, तर हामी शिक्षकका लागि त्यो ‘उत्कृष्टता’ केवल नाममै सीमित छ । घरको भाडा त दिन सकिएन, घरधनीले कोठा खाली गर्न ताकेता गर्न थालिसके । किराना, तरकारी, सबै उधारो टार्न गाह्रो छ । म त ठीकै छु, तर ममाथि आश्रित परिवारको पेट पाल्ने जिम्मेवारी छ—विद्यालय व्यवस्थापन तथा सम्पूर्ण सरोकारवालाहरुले यो कुरा बुझेनन् , आफ्नो पीडा कसलाई पोख्ने यहा“ मलम लगाउन भन्दा नुन छर्कन बढी आतुर हुन्छन् ।’
उहाँको स्वरमा थकान थियो, मनमा पीडा,अनि भविष्यप्रति गहिरो सोच । मधुरो स्वरमा अगाडि भन्नुभयो, ‘एकपटक त एउटा शिक्षकले व्यवस्थापनमा सञ्चालन प्रिन्सिपललाई नै भेटेर आफ्नो समस्या राख्दा उल्टै भनिएको थियो—‘नया“ सत्रदेखि नआउनुस्, अझ हतार छ भने अहिले नै स्कूल छाड्नुस् ।’ त्यो दृश्यको प्रत्यक्षदर्शी म स्वयं हुँ ।’
हामीकहाँ शनिवार पनि कार्यभार, कार्यक्रम, प्रतिस्पर्धा अनि दवाव—तर कुनै अतिरिक्त सुविधा छैन । न जागिरको स्थायित्व, न त समयमै तलब, नत व्यवस्थापनबाट इज्जत । समाजको नजर पनि के त्यति सकारात्मक छ र ? भोलि कसैकी छोरी माग्न गयो भने, सोधिन्छ—‘देश बाहिर गएका छन् कि ? सरकारी जागिर वा मासिक आम्दानी कति छ ?’
त्यसपछि केही क्षण चुप लागेर, उहा“ले भन्नुभयो, ‘मेरो १० वर्षे शिक्षणमा मलाई आजसम्म जीवनमा तपाईं जस्ता केवल एक अभिभावकले मात्र यसरी खोज्दै आउनुभयो । बा“की सबैजना परीक्षा पास भएपछि हामीलाई बिर्सन्छन् । हाम्रो समर्पण, सच्चा सेवा—यी सबै समाजको नजरमा लोप भएर जान थालेका छन् ।’
उहाँका ती शब्दहरूले मन चिर्ने गरी बजिरहे—एक शिक्षकको मौन वेदना, जसलाई न राज्यले सुनेको छ, न समाजले बुझ्ने कोसिस गरेको छ ।आजको समय दिनप्रतिदिन दौडधुपमा बितिरहेको छ । मान्छेहरू व्यस्तता भन्ने चक्रव्यूहमा यति गहिरो रूपमा फसिरहेका छन् कि आफ्ना छोराछोरीप्रतिको माया, संस्कार र शिक्षाप्रतिको ध्यान समेत ओझेलमा पर्दै गएको छ । यस्तो अवस्था लामो समयसम्म यथावत् रहन गयो भने भोलिको पुस्ताले एउटा कठोर र चुनौतीपूर्ण यथार्थको सामना गर्नुपर्ने दिन टाढा नहुन सक्छ ।
हिजोका दिन सम्झिंदा, गाउँघरका गल्लीहरूमा पनि ट्युसन पढाउने उत्साही, उर्जावान शिक्षकहरू भेटिन्थे । ती शिक्षकहरू न केवल पढाउ“थे, जीवनको मूल्य पनि बुझाउँथे । तर आज ? समय बदलिंदैछ । ती युवा शिक्षकहरू, जो कहिले समाजका दीप थिए, ती अब एउटा असमर्थ व्यवस्थाले थिचिएर परदेश पथतिर लाग्न बाध्य छन् ।
हामी बिर्सनु हुँदैन—देशको समुन्नत भविष्यको पहिलो आधारशिला भनेको ‘शिक्षा’ हो । र, शिक्षाको मेरुदण्ड हुन् —हाम्रा समर्पित गुरुहरू । उनीहरूबिना सुशिक्षित समाजको कल्पना गर्नु मात्र पनि विडम्बनापूर्ण हुन्छ ।
एक समय थियो, जब शिक्षक हुनु नै गौरवको पर्याय मानिन्थ्यो । विकसित देशहरूमा त अझै पनि शिक्षकलाई समाजका आधार स्तम्भको रूपमा हेरिन्छ — जति सम्मान डाक्टर, इन्जिनियर, वैज्ञानिकले पाउ“छन्, त्यति नै शिक्षकले पनि । तर हाम्रो सन्दर्भमा, समयस“गै शिक्षकमाथिको दृष्टिकोण परिवर्तन हुँदै गएको छ ।
आज शिक्षक हुनु भनेको केवल पठन–पाठनको काम होइन, यो निरन्तर आलोचना, अपूरा अपेक्षा र सामाजिक दबाबको भारी बोकेको यात्राजस्तै बन्न थालेको छ ।
‘शिक्षक’ शब्द उच्चारण गर्दा अब पहिलाजस्तो सधैं सकारात्मक ऊर्जा आउँदैन । कहिलेकाहीं यो परिचय आफैंमा व्यङ्ग्यको रुपमा लिइन्छ ।
तर, यतिबेला हामीले सम्झिनुपर्छ, शिक्षाको मूल्य कहिल्यै घट्दैन, घट्नु हुँदैन । समाजलाई दिशा दिने, चेतना फैलाउने, अन्धकारमा उज्यालो बाल्ने हातहरू हुन् शिक्षक । यिनै हातहरूबाट भोलिको दूरदृष्टि (भिजन) भएको नेता, वैज्ञानिक, कलाकार, सुधारक जन्मिन्छन् ।
त्यसैले, अब समय आएको छ—हामी सबैले मनन गर्ने । हामीले आफ्नै ठाउँबाट सुरुआत गर्नुपर्छ । शिक्षकहरूप्रति गहिरो सम्मान, भरपर्दो भरोसा, र यथोचित समर्पण देखाउनु आवश्यक छ । साथसाथै, राज्य र सरकार पनि मौन दर्शक नबनी ठोस र दीर्घकालीन नीति सहित शिक्षण पेशाप्रति उत्तरदायी बन्नुपर्छ ।
यदि आज हामी शिक्षकको मर्म र मूल्य बुझेनौं भने, भोलि हामीले शिक्षाको उज्यालो सम्भावनामा मात्र होइन, देशको भविष्यमै आँधी आउने खतरा बेहोर्नु पर्छ ।
(विराटनगर –३, पुष्पलाल चोक,मानगढ)
View : 2088
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved