Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
शिक्षा

२० औं वार्षिकोत्सव विशेष

नेपालको शिक्षा प्रणाली र सुधारको आवश्यकता

एकराज भट्टराई
४ भदौ २०८१, मङ्गलवार

नेपालको शिक्षा अहिले सरकारी प्राथमिकतामा छ । विद्यालयस्तरीय शिक्षालाई १२ कक्षासम्म राखिएको छ । विगतमा त्रि.वि.बाट प्रमाण–पत्र तह सञ्चालन भए पनि अहिले त्यो अवस्था छैन । +२ सम्मलाई विद्यालय शिक्षा भनिएको छ । कक्षा १२ भन्दा माथिको शिक्षालाई उच्च शिक्षा वा कलेज र क्याम्पसको शिक्षाको रूपमा पठन–पाठन गरिदै छ ।

नेपालको शिक्षा–नीतिमा पाटकपटक फेरबदलहरू भएका छन् । कहिले पुरानो शिक्षा, कहिले नयाँ शिक्षा, कहिले सेमेस्टर प्रणाली कहिले वार्षिक प्रणाली अनि कहिले व्यवसायिक शिक्षाका कक्षाहरू सञ्चालन गरेर शिक्षालाई सरकारी नीतिले नै अस्तव्यस्त बनाएको छ । शिक्षा–प्रणालीमा दिगोपन वा स्थायित्व पाइँदैन ।

त्रि.वि. का गलत नीतिले गर्दा पनि शिक्षामा विद्यार्थीहरूको आकर्षण घटेर गएको छ । १८–२० वर्ष अध्ययन गरेर प्रमाणपत्र लिए पनि अवसर नपाएका कारणले स्नातक, स्नातकोत्तर, एम. फिल र पीएचडीका उपाधिहरू पनि विद्यार्थीहरूका लागि अनुत्पादक भइ रहेका छन् । सयमा परीक्षा सञ्चालन नुहुन, गुणस्तरीय शैक्षिक सामग्रीको अभाव हुनु जस्ता कुराहरू नेपलाको शिक्षा प्रणाली खस्केर जानुका कारणहरू बनेका छन् । त्यसै गरी राजनीतिक प्रभावका कारणले महिनौसम्म पनि पठनपाठन बन्द भएको छ । क्याम्पस–कलेजमा ताला लागेको छ । योग्यता होइन राजनीतिक भागबन्डामा पदाधिकारीको नियुक्ति हुनुले पनि शिक्षालाई उद्देश्यहीन बनाइरहेको छ ।

त्रिविको अदूरर्शी नीतिले गर्दा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूमा कमी आएको छ । आज धेरै भन्दा धेरै विद्यार्थीहरू उच्च शिक्षा प्राप्त गर्नका लागि विदेश गएका छन् । जे जति विद्यार्थीहरू नेपालमा अध्ययन गरिरहेका छन् तिनीहरू पनि निजी कलेजमा अध्ययनरत छन् । प्रमाण–पत्रहरू फेज आउट गरेपछि त्रि.विले उच्च शिक्षालाई आफ्नै मातहतमा राख्नु पर्ने थियो । उच्च शिक्षाको पठनपाठनलाई त्रि.विले निजीलाई दिएपछि सरकारी विश्वविद्यालयहरूमा विद्यार्थीहरूको संख्या नघट्ने प्रश्ननै रहेन । नयाँ विषय थपेर विज्ञापन गरे पनि त्यतातिर विद्यार्थीहरूको आकर्षण नै छैन ।

जेनतेन विद्यार्थीहरूले डिग्री लिएपछि पनि देशभित्र रोजगरीको अवसर पाएका छैनन् । आफूले पाएको प्राविधिक ज्ञानलाई उपयोग गर्ने स्थान वा अवसर नपाउँदा विद्यार्थीहरूले विदेश जाने इच्छा राखेका छन् । शिक्षा प्राप्त गर्न गए पनि, रोजगारीकै लागि भए पनि विदेश गएपछि उतै व्यवस्थित भएर बस्ने परिपाटी बढेको छ । नयाँ उद्योगधन्दा नखुल्नु, भएका बन्द हुनु र चल्दै गरेका उद्योगधन्दामा अवसर नपाउनु जस्ता कारणले पनि आजका युवाहरूले विदेशी भूमिलाई आफ्नो कार्यथलो बनाइरहेका छन् । पुनश्च–नेपालमा पाएको शिक्षा वा सर्टिफिकेटले विश्वबजारमा अवसर पाउने अवस्था वा प्रतिस्पर्धा गर्न सक्ने अवस्था नरहेका कारण पनि नेपालको शैक्षिक स्तर खस्केर गएको प्रमाणित हुन्छ ।

आजको राजनीतिले नेपाललाई यति धेरै विथोलेको छ कि विदेशी विद्यार्थीहरू नेपालमा आएर पढ्न उत्सुक नै हुँदैनन् । पठनपाठन नियमित र व्यवस्थित नहुनुले यो समस्या आएको हो । पठनपाठन गर्न विद्यार्थीहरू आइहाले पनि उनीहरूले आफ्नै भाषामा शिक्षा पाउने पूर्ण व्यवस्था  गरिएको छैन । त्यसका लागि विश्वविद्यालयहरूले भाषा विज्ञको उत्पादन वा व्यवस्थापन गर्न सकेका छैनन् ।

अहिले देशको शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, व्यापर अनि एक प्रकारले सामाजिक जीवन पद्धतिनै अव्यवस्थित छ । यस कारण व्यक्तिवा घरपरिवारले कुनै स्थायी व्यवसाय गरेर जीवन चलाउने अवस्था नेपालमा देखिदैन । आजको शिक्षित युवाले विश्वलाई बुझेको छ । उसले अब देशको तुलना आफ्ना देशको अवस्थासँग गर्छ । नेपालमा कुनै व्यवसाय गर्दा सरकारी झमेलामा फस्नु पर्ने हुन्छ । यहाँ सरल र सोझो तरिकाले नियम अनुसार सरकारी कामहरू हुँदैनन् । यस्ता कुराबाट आहत भएका नागरिकले स्वदेशका अपठ्यारो भन्दा विदेशको सजिलो रोज्छ । यस्ता कारणले पनि शिक्षित युवाहरू स्वदेशमा अवसर नपाएर विदेश पलायन हुन बाध्य भएका छन् । यो सत्यलाई बुझेका अभिभावकहरूले आफ्नो सन्तानलाई विदेश पठाउने प्रयास गर्छन् । देशको सरकार अभिभावक जस्तो नभएर मुनाफाखोर व्यापारी जस्तो देखिनुले पनि शिक्षित–अशिक्षित दुवै प्रकारको जनशिक्तिले विदेश जाने बाटो समाएका छन् ।

नेपालका विश्वविद्यालयहरूमा परीक्षा, रिजल्ट, एडमिसन, पठनपाठन र कक्षा सञ्चालनमा पनि नियमितता छैन । पठनपाठन समय–सापेक्ष छैन । शिक्षकहरू सम्बन्धित विषयमा विज्ञ नहुनु अर्को समस्या हो । तल्लो कक्षाको कोर्स र माथिल्लो  कक्षाको  कोर्समा समन्जस्ता छैन । यी विविध कारणले विद्यार्थीहरूको अनुत्तीर्ण प्रतिशत धेरै छ । सरकारले शिक्षामा गरेको लगानीको उपलब्धीमूलक देखिएको छैन । विद्यार्थीहरूका लागि शिक्षा जीवन उपयोगी भइरहेको छैन । भविष्य के बन्ने ? राष्ट्रका लागि कस्तो योगदान दिने ? र आफ्नो जीवन कसरी सुरक्षित राख्ने ? यस विषयमा आजको पिढी अन्योलमा छ । विद्यालय तहबाटनै शिक्षाले जीवनको एउटा बाटो देखाइदिनु पर्ने हो । तर त्यस्तो भएको छैन । आज ट्राभल–टुरिजम, होटल व्यवसाय, त्यति अगाडि गएको छैन । त्यहाँ यथेष्ट सुरक्षाको व्यवस्था छैन । यस कारण नेपाल हेर्न आउने पर्यटकहरू घट्न थालेको पाइन्छ । विद्यालयहरू स्रोत र साधन नभएर बन्द हुने अवस्थामा छन् ।

करिकुलममा नवीनता छैन । शिक्षा उत्पादनमुखी देखिदैन । रिटार्यड भएको मान्छेले पटकपटक विभिन्न ठाउँमा अवसर पाउँछन् । नयाँ, योग्य, सक्षम, शिक्षित व्यक्तिले पछाडि पर्नु परेको छ । शिक्षित न अशिक्षित सबै शक्ति बेरोजगार भएर बस्नु भन्दा विदेश जान चाहन्छ । आफ्नो देश परिवार र समाजप्रतिनै उसले आफ्नो दायित्वबोध गर्ने अवसर नपाएर देशबाहिर निस्कदै गइरहेको छ ।

फार्मेसी, स्वास्थ्य, इन्जिनियरिङ् जस्ता कयौं अन्य आधुनिक र प्राविधिक विषयमा सरकारले ध्यान दिए पनि त्यतातिर विद्यार्थीको आकर्षण बढेको छैन । २५ प्रतिशतको संख्यामा पनि त्यस्ता विषयमा निवेदन नपर्ने अवस्था छ । लगभग १ लाखा १० हजार प्रतिविद्यार्थी लगानी गर्ने उद्देश्य सरकारको भए पनि विद्यार्थीहरूले त्यातिर उत्सुकता देखाएका छैनन् । 

हाम्रो देशमा शिक्षा यस्तो अवस्थामा गुज्रिरहेको छ भने विश्वका अन्य कतिपय देशको शिक्षा प्रणाली व्यवस्थित ढंगले चलेको पाइन्छ । देशको उन्नति र प्रगतिका लागि अनि व्यक्तिको उत्थानका लागि ती देशमा शिक्षाले प्रशस्त योगदान पुर्‍याएको पाइन्छ । हामी भने दिनानुदिन पतनको दिशातिर गइरहेका छौं । राजनीतिले हामीलाई विगारिरहेको छ । 

अन्य देशको शिक्षा–प्रणालीको अवस्था र नेपाल

विश्वका सबै देशको शिक्षा प्रणाली संरचना दृष्टिकोण र  परिणाममा केही समानता भए पनि केही भिन्नताहरू छन् । संयुक्त राज्य अमेरिका, जापान, चीन, बेलायत आदि देशका शिक्षा प्रणालीमा के कस्ता विशेषता रहेका छन् र के कस्ता चुनौतीहरू छन्  यस विषयमा पनि केहि तुलना गरेर नेपालको शिक्षा प्रणालीलाई बुझ्न वा हेर्न सकिन्छ ।

विकेन्द्रित शिक्षा–प्रणाली भएको देश हो अमेरिका । यस देशमा शैक्षिक नियन्त्रण स्थानीय तह र राज्यले गर्छ । शिक्षालाई प्रांरभिक तह, माध्यमिक तह र उच्चविद्यालयमा विभाजन गरिएको छ । कला, विज्ञान अनि व्यवसायिक तालिम जस्ता विस्तृत दायरालाई यहाँको शिक्षाले प्रस्तावित गरेका छ । यस देशमा प्रतिष्ठित विश्वविद्यालयहरू पनि छन् । तिनले संसारका विद्यार्थीहरूलाई आकर्षित गरेका छन् । नेपाल, भारत, बंगदादेश वा भनौं विश्वबाट हजारौंको संख्यामा विद्यार्थीहरू अध्ययन गर्न अमेरिकी विश्वविद्यालयमा पुग्छन् । यहाँ स्रोत र साधनको कमी छैन विभिन्न ठाउँबाट आएका विद्यार्थीहरूका लागि विशेष कक्षाको व्यवस्था गरिएको छ । जहाँ विशेष कक्षा लिन आवश्यकता भएका विद्यार्थीहरू संलग्न हुन्छन् । समावेशी कक्षाहरू, व्यक्तिगत शिक्षण कक्षा वा योजनाहरू अनि विशेष शिक्षण स्रोतहरूको पनि शिक्षाको स्तरोन्नतिका लागि व्यवस्था वा समावेश गरिएका छन् । यति हुँदाहुँदै पनि समृद्ध विद्यालय र सामान्य विद्यालयका बीचमा शैक्षिक स्रोत र गुणस्तमा भनौं राज्यराज्यमा भिन्नताहरू छन् ।

जापानको शिक्षा–प्रणालीले अनुशासन र शैक्षिक उपलब्धीमा पर्याप्त जोड दिएको छ । यहाँ १ देखि ६ सम्म ७ देखि ९ सम्म र १० देखि १२ सम्मका विद्यालयीय कक्षाहरू सञ्चालन हुन्छन् । यो प्रणाली नेपालको शिक्षा प्रणालीसँग मिल्दोजुल्दो देखिन्छ । तर कक्षा ५ सम्म यहाँ अनुशासन, शिष्टता, सभ्यता अनि देशको संस्कृति र परम्परा भनौं जापानी आदर्शलाई सिकाइन्छ । जापानी विद्यार्थीहरूले अन्तर्राष्ट्रिय स्तरको मूल्याङ्कन गणित र विज्ञान–विषयमा उच्चता प्राप्त गरेका छन् । अनुशासन सामुहिक भावना र शिक्षकको सम्मान, सरसफाई, सन्तुलित भोजन, सामाजिक र पारिवारिक जिम्मेवारी अनि स्वास्थ्यमा विद्यार्थीहरूलाई विद्यायले प्रेरित गर्छ । अमेरिकामा जस्तै जापानमा पनि विशेष शिक्षाको व्यवस्था गरिएको छ । एक प्रकारले भन्ने हो भने जापनमा कठोर शिक्षा–प्रणाली छ । यस कारणले तनाव र मानसिक समस्यामा विद्यार्थीहरू पर्छन् कि भन्ने कुरामा राष्ट्र सचेत पनि छ ।

अमेरिका, जापान, बेलायत, अस्ट्रेलिया, चीन जस्ता देशमा नेपालमा जस्तो शिक्षामा राजनीतिको प्रभाव र दवदवा छैन । यसकारण ती देशहरूले शिक्षा क्षेत्रमा धेरै प्रगति गरेका छन् । सम्बन्धित क्षेत्र वा विषयमा दायित्वबोध नगर्ने संस्था वा निकायहरू त्यहाँ छैनन् । सबैले आफ्नो दायित्व बोध गर्छन् ।

विश्वका अन्य कतिपय देशका शिक्षा–प्रणालीको तुलनामा नेपालको शिक्षा विकासशील अवस्थामा छ । १ देखि ५ अनि ६ देखि ८ त्यस्तै ९ र १० अनि उच्चमाध्यमिकमा ११ र १२ कक्षाहरू सञ्चालनमा छन् । नर्सरी लोअर केजी, अपरकेजीको प्रश्न बेग्लै हो । सबै बालबालिकाहरूलाई अनि पिछडिएका समूहका बालबालिकाहरूलाई अगाडि बढाउनका लागि विद्यालयमा भर्ना गर्ने र साक्षरता बनाउने लक्ष्य सरकारले लिएको छ । पाठ्यक्रममा स्थानीय तहको सांस्कृतिक र परम्परागत ज्ञानलाई समावेश गरिएको छ । यति हुँदाहुँदै पनि अरू देशको तुलनामा नेपालको यो शिक्षा–प्रणाली विज्ञान र प्रविधिमा अनि अनुशासनमा र साँस्कृतिक ज्ञानमा धेरै पछाडि परेको अनुभव हुन्छ । विशेष–शिक्षाको योजना भए पनि कार्यान्वयन पक्ष भने, नेपालमा कमजोर देखिन्छ ।

दुर्गम पनि र यातायातको सुविधा नभएका ग्रामीण क्षेत्रका विद्यालयहरूमा आधारभूत सुविधाहरू छैनन् । प्रशिक्षित र योग्य शिक्षकको अभाव छ । कुनै विषयको शिक्षक नआएमा कुनै अर्को विषयको शिक्षकलाई कक्षामा पठाउने उद्देश्यहीन प्रचलन आज पनि छ । सिकाइ सामग्रीको कमी हुनाले पनि विद्यार्थीहरू आवश्यक शिक्षा लिनबाट वञ्चित छन् । आर्थिक कारणले विद्यालय छाड्ने विद्यार्थीको संख्या पनि धेरै छ । महंगी र अविभाक बेरोजगार हुनुका कारणले पनि यस्ता समस्याहरू आएका छन् ।

हाम्रो देशको तुलनामा बेलायतको शिक्षा प्रणाली बढी व्यवस्थित छ । यहाँको शिक्षा पनि चार चरणमा विभाजित छ । उच्च शिक्षा प्रणाली चाहिँ बढी केन्द्रिकृत छ । शैक्षिक उपलब्धीमा बढी जोड दिइएको छ । प्राथमिक शिक्षा ६ वर्ष, जुनियर माध्यमिक शिक्षा ३ वर्ष र वरिष्ठ माध्यमिक शिक्षा ६ वर्ष गरी विभाजन गरिएको छ । अस्ट्रेलियामा सार्वजनिक, निजी विद्यालयहरू छन् । उच्च तहमा वा विश्वविद्यालय स्तरमा व्यवासायिक शिक्षालाई प्राथमिकतामा राखिएको छ । यहाँ शिक्षाको गुणस्तर उच्च छ । व्यवसायिक तालिम शिक्षाको मुख्य लक्ष्य हो । नयाँ कुरा सिकाउन र अनुसन्धानमा संलग्न गराउन प्रयास गरिन्छ । विशेष शिक्षा, समर्थन र सेवाहरू उपलब्ध गराइन्छ ।

भारतमा १–५–६–१० अनि ११–१२ का कक्षाहरू सञ्चालित छन् । विश्वविद्यालय स्तर पनि नेपालको जस्तै छ । तर भारतीय शिक्षा प्रणालीले विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित विषयलाई प्राथमिकतामा राखेको छ । देशको विविधताका कारणले विद्यार्थीहरूलाई विभिन्न भाषामा संस्कृतिको ज्ञान उपलब्ध गराइन्छ । भारतले विशेषशिक्षा व्यवस्था पनि गरेको छ । भारतमा पनि विद्यार्थीहरूले गुणस्तरीय शिक्षा प्राप्त गर्न सकिरहेका छैनन् । गुणस्तरहीन शैक्षिक सामग्रीहरू पनि समस्याका रूपमा रहेका छन् । आर्थिक असमानताका कारणले पनि सबै जनताको पहुँच शिक्षामा छैन ।

अन्त्यमा,
नेपाल, संयुक्त राज्य अमेरिका, जापान, बेलायत, चीन, अस्ट्रेलिया र भारतका शिक्षा प्रणालीले तिनका अनौठा सांस्कृतिक, आर्थिक र सामाजिक सन्दर्भलाई प्रतिविम्वित गर्छन् । प्रत्येक देशको शिक्षा प्रणालीमा आ–आफ्नै विशेषता र चुनौतिहरू छन् । नेपालले विश्वका यी शिक्षा–प्रणालीहरूबाट सिकेर आफ्नो शिक्षा प्रणालीमा सुधार गर्न सक्छ । नेपालको शिक्षा–प्रणालीलाई सबैका लागि समान अवसर र गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले अगाडि जानु पर्ने भएको छ । नेपालले आफ्नो शिक्षा–प्रणालीमा सुधार गर्नका लागि निम्निलिखित कुरामा ध्यान दिनु पर्ने छ ।

१. ग्रामीण र शहरी क्षेत्रका विद्यालयहरूलाई समान रूपमा आधारभूत शैक्षिक स्रोतहरू र सुविधाहरू उपलब्ध गराउने ।
२. विशेष आवश्यकता भएका बालबालिकाहरूका लागि व्यापकरूपमा विशेष शिक्षा कार्यक्रम लागु गर्ने ।
३. शिक्षकहरूलाई विषयगत दक्ष बनाउन तालिम दिने र व्यवसायिक शिक्षामा जोड दिने ।
४. शिक्षा क्षेत्रम डिजिटल र प्रविधिको प्रयोगलाई प्रबर्द्धन गर्दै शैक्षिक गुणस्तरमा सुधार ल्याउने ।
५. सबै बालबालिकाहरूले समान अवसर पाउन भन्ने ध्येय राखेर समावेशी शैषिक नीतिको विकास गर्ने ।

विश्वव्यापी शैक्षिक मानवका हिसाबले नेपाल धेरै पछाडि परेको छ । शिक्षामा सुधारात्मक कदमहरू अपनाएमा नेपालले भविष्यमा महत्वपूर्ण प्रगति गर्न सक्छ । अस्ट्रेलिया र भारतको व्यावसायिक शिक्षा प्रणालीबाट विशेष प्रेरणा लिन सक्छ । चीन र जापानको शैक्षिक कडाइ र अनुशासनको महत्वलाई आत्मसात् गरेर अगाडि बढ्न सक्छ । यसरी नेपालले गुणस्तरीय र समावेशी शिक्षा प्रणाली अपनाएर समृद्ध र उज्वल भविष्यको निर्माण गर्न सक्छ ।

आजको विश्वमा शिक्षा अत्यन्त महत्वपूर्ण बनेको छ । शिक्षामा लगानी र सुधारलाई प्राथमिकतामा राख्ने धेरै देशहरू छन् । तर यो प्राथमिकतामा चुनौतिहरू पनि छन् । विश्वबैंकको रिपोर्ट अनुसार औसतमा कूल बजेटको ४ देखि ६ प्रतिशतसँग शिक्षामा खर्च गरिएको छ । तर त्यो प्रतिशत समयक्रममा बढ्दै गएको छ । नेपालले भने ०८०–०८१ को बजेटमा लगभग ११ प्रतिशत रकम (१०.९) छुट्याएको छ । विकसित देशहरूले छुट्याएको रकम भनें अनुपातमा निकै उच्च छ । गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि यो लगानी महत्वपूर्ण छैन । अपुग छ ।

शिक्षामा भएको लगानीले कतिपय देशमा राम्रो प्रतिफल दिएको छैन । त्यसमा नेपाल पनि पर्छ । कतिपय देशको लगानीले राम्रो प्रतिफल दिएको पाइन्छ । विकसित देशहरूमा उच्च शिक्षाको दिएको पाइन्छ । विकसित देशहरूमा उच्च शिक्षाको स्तर पनि राम्रो छ । पर्याप्त सुविधाहरू उपलब्ध गराइएका छन् । प्रशिक्षित शिक्षकहरूको उपलब्धता छ । यसरी विद्यार्थीहरूको समग्र विकास र उन्नितका लागि महत्वपूर्ण योगदान पुगेको छ । केही विकासशील देशहरूले लगानी अनुसारको अपेक्षित प्रतिफल प्राप्त गर्न सकेको छैनन् । स्रोतको अभाव र कमजोर पूर्वाधारले गुणस्तरीय शिक्षाका लागि बाधा पुर्‍याइरहेको छ । त्यसमा नेपाल पनि पर्छ । 

नेपालले विद्यालय पूर्वाधार सुधार शिक्षकका लागि तालिम र शिक्षण सामग्रीको गुणस्तरीयतामा सुधारको उद्देश्य राखेको छ । अझै पनि धेरै कुरामा सुधारको आवश्यकता छ । विशेषता ः ग्रामीण र दुर्गम क्षेत्रमा अझै जोड दिनु पर्ने अवस्था छ ।
शिक्षामा गरिएको लगानीले विश्वमा सकारात्मक परिवर्तनहरू देखिएका छन् । तर पनि चुनौतिहरू पर्याप्त छन् । यस्ता चुनौतीहरूले विकासशील देशहरूलाई शिक्षा प्रदान गर्नका लागि अवरोध पुर्‍याएको छ । त्यसैले   नेपालले आफ्नो शिक्षा–प्रणालीमा सुधार गर्न र स्तरीयता प्राप्त गर्न विभिन्न अन्तर्राष्ट्रिय अभ्यासहरूबाट सिक्न सक्छ । शिक्षा क्षेत्रमा थप स्रोतहरू जुटाएर वा लगानी बढाएर गुणस्तरीय शिक्षाको पहुँच विस्तार गर्न सक्छ । यसरी नेपालले भविष्यमा विकसित समाज र समृद्ध राष्ट्र गर्न शिक्षालाई प्राथमिकतामा राख्नु पर्छ ।

View : 385

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved