विराटनगर । दसैँमा साथीभाइसँग बसेर रमाइलो गर्ने र केही रकम दाउमा लगाएर मनोरञ्जन लिने चाहनाले कतिपयलाई यसपटक प्रहरी हिरासतसम्म पुर्याएको छ ।
जुवा खेलेको आरोपमा पक्राउ परेपछि उनीहरूले दसैँसमेत हिरासतमै बिताउनुपरेको छ ।
कोशी प्रदेशका तीन जिल्लामा दसैँ अवधिभर जुवा खेलेको आरोपमा २० जना पक्राउ परेका छन् ।
प्रदेशका अन्य जिल्लामा पनि जुवाको आरोपमा धेरै जना पक्राउ परे पनि सामान्य रकम राखेर तास खेल्नेहरूलाई प्रहरीले चेतावनी दिएर र पुनः नखेल्ने सर्तमा छाडेको पाइएको छ ।
जुवासम्बन्धी मुद्दामा पक्राउ परेका २० जनाबाट प्रहरीले ६ लाख ९९ हजार ७ सय १० रुपैयाँ बरामद गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक सुमन तिम्सिनाका अनुसार दसैँ अवधिमा मोरङ, झापा र सुनसरीमा जुवासम्बन्धी चारवटा मुद्दा दर्ता भएका छन् ।
दसैँको रमाइलोमा जुवा खेल्दा पक्राउ परेकामध्ये अधिकांश चाडपर्व सकिएपछि छुटिसकेका छन् ।
प्रहरीको तथ्यांकअनुसार मोरङमा एउटा मुद्दा दर्ता गरी पाँच जनालाई पक्राउ गरिएको थियो । उनीहरूबाट २० हजार ९ सय ३० रुपैयाँ बरामद भएको थियो ।
झापामा दुईवटा घटनामा पाँच–पाँच जनाका दरले १० जना पक्राउ परेका थिए ।
ती घटनाबाट क्रमशः एक लाख २२ हजार ७ सय ८० रुपैयाँ र एक लाख ८५ हजार रुपैयाँ बरामद भएको थियो । त्यस्तै, सुनसरीमा जुवासम्बन्धी एउटा मुद्दा दर्ता गरी पाँच जनालाई पक्राउ गरिएको थियो ।
उनीहरूबाट तीन लाख ७१ हजार रुपैयाँ बरामद भएको प्रहरी उपरीक्षक तिम्सिनाले जानकारी दिए ।
तीन जिल्लामा भएका घटनाको विवरणले दसैँमा जुवा खेल्ने प्रवृत्ति अझै कायम रहेको देखाउँछ ।
केही समयको रमाइलोका लागि रकम दाउमा लगाउँदा प्रहरीको कारबाहीमा पर्ने र चाडपर्वको समय हिरासतमा बिताउनुपर्ने अवस्था आउँछ ।
दसैँमा परिवार र आफन्तसँग रमाइलो गर्ने अवसरलाई जुवातर्फ मोड्दा आर्थिक जोखिमसँगै कानुनी झन्झटसमेत बेहोर्नुपर्ने हुन्छ ।
चाडपर्वका बेला जुवाजन्य गतिविधि नियन्त्रण गर्न प्रहरीले निगरानी बढाउने गरेको छ ।
तर, कारबाहीमा पर्ने क्रमले मनोरञ्जनका नाममा हुने यस्ता गतिविधि नियन्त्रण गर्न प्रहरीको सक्रियतासँगै नागरिकको जिम्मेवारी पनि उत्तिकै आवश्यक रहेको देखाउँछ ।
कतिपय घटनामा मनोरञ्जनका लागि सामान्य रकम राखेर तास खेल्ने समूहलाई पनि प्रहरीले जुवा खेलेकै आरोपमा कारबाही गर्ने गरेको पाइएको छ ।
View : 29
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved