बैङ्कर रविना देशराज श्रेष्ठको बिहेमा उनका दुई छोराहरूको साथ थियो (१४ माघ, २०८१, कान्तिपुर दैनिक) । ललितपुर निवासी रवीना देशराज श्रेष्ठ तत्कालीन मेगा बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृत थिइन् । उनका दुई छोरा अभिनेता दाजुभाइ आयुष्मान देशराज र आशीर्मान हुन् । उनीहरूका बाबु व्यवसायी थिए भने आमा बैंङ्कर, दुवैबीच २०६६ सालतिर सम्बन्ध विच्छेदको प्रक्रिया चली अन्ततः छोडपत्र भयो ।
एकल महिलाको जीवन बिताइरहेकी उनै रविनाले आफ्नो प्रेमी बेलायती नागरिक स्टुआर्ट च्यापम्यानसित २२ जुन, २०२३ मा विवाह गरी अहिले मलेशियामा बस्छिन् । रविनाले जसरी छोरा आयुष्मानको प्रियङ्कासँगको बिहेको लागि तयारी गरेकी थिइन्, त्यसरी नै छोराहरूले पनि उनको बिहेको लागि गरे ।
आफ्नी विधुवा वा एकल आमाको बिहे सन्तानले गरिदिएको घटना समाजमा विरलै हुने गरेको छ जसमध्ये दुईवटा प्रकाशित खबरलाई संक्षेपीकरण गरी यहाँनेर प्रस्तुत गरिएको छ ।
छोराद्वारा विधुवा आमाको विहे (के. सुबागुनम, बीबीसी तमिल, २० मार्च २०२३) : पतिको मृत्यु पश्चात् एक्लै आफ्नो बच्चाको लालनपालन गर्ने महिला समाजमा थुप्रै छन् । तमिलनाडुको कल्लाकुरिची को प्रांगमपटु पञ्चायत निवासी सेल्वीको दुई छोरा हुन् भास्कर र विवेक । सन् २००९ मा भास्कर वेल्लुर इञ्जिनियरिङ्ग कलेजमा प्रथम वर्षका छात्र थिए भने विवेक एघार कक्षाका, सोही वर्ष उनको पिताको निधन भएको थियो ।
इञ्जिनियरिङ कलेजको तृतीय वर्षमा एक जना प्राध्यापकले भास्करलाई भनेका थिए – तिम्रो आमा यति लामो समयदेखि एक्लै बसिरहेकी छिन्, अर्को विवाह किन गर्दिनन् ? त्यतिबेला भास्करले प्राध्यापकको उक्त कुरा पचाउन सकेका थिएनन् ।
पतिको निधन पश्चात् महिलाले विधुवा भएर बाँकी जीवन व्यतित गर्नुपर्ने आम चलन रहेको समाजमा नातेदारहरू पनि विधुवा महिलाको अर्को अर्को विवाहको लागि तयार हुँदैनन् ।
कलेजको पढाई सकेपछि भास्कर जागिर गर्न थाले । अतिरिक्त पुस्तक पढ्ने बानी भएका उनले प्रख्यात तमिल लेखक पेरियारको पुनर्विवाह सम्बन्धी लेख पढे । त्यसपछि उनले आफ्ना मित्रहरूसंँग यस विषयमा कुराकानी, छलफल गरे । भाइ विवेकसित त्यो कुरा राख्दा भाइले आपत्ति जनाएनन् । तर आमाको भनाइ थियो – छोरा विवाहयोग्य भएको अवस्थामा मैले विवाह गरें भने लोकले के भन्लान् ? आमाको जीवन छोराहरूको वरिपरि घुम्ने गरेकोले सेल्वीले अर्को विवाहको लागि अनिच्छा जाहेर गरिन् ।
छोराहरूले– आमा तपाइँ कहिलेसम्म एक्लै सङ्घर्ष गर्नुहुन्छ ? जागिरको सिलसिलामा दुवै दाजुभाइले कहिलेकाहीं बाहिर जानुपर्ने हुन्छ । त्योबेला तपाइँलाई बढी अप्ठ्यारो हुन्छ होला । तपाइँको आफ्नो निजी जीवन पनि त छ । नातेदारहरू कसैले जव हाम्रो दुःखमा साथ दिएनन् भने हामीले उनीहरूको चिन्ता किन गर्ने ? भनी दैनिक सम्झाउन थाले ।
छोराहरूको साथ पाएकी सेल्वीले धेरै सोचविचार गरेपछि अर्को विवाह गर्ने निर्णयमा पुगिन् । उनीजस्ता धेरै महिलाका लागि उदाहरण बन्न उनी दोस्रो विवाह गर्न राजी भइन् । आमाको विवाहको लागि खोजिएको व्यक्ति खेती मजदुर येटुमलाईसित बातचित गरी हेर्नलाई भनियो । कुराकानी गर्दै जाँदा त्यस व्यक्तिसित आमा सेल्वीको माया बस्यो ।
बच्चाको बोझ नबनिकनै आफ्नो जीवनसाथी खोज्नुमा कुनै खराबी छैन । विवाह केवल यौनको लागि मात्रै होइन, एउटा जीवनसाथी भएमा हिम्मत, आँट आउँछ । पतिको निधनपछि एक्ली हुँदा अनेक व्यक्ति गलत आशयले सेल्वीनेर आउँथे । तर कोही पनि विवाहको उद्देश्यले आएनन् । एक्लो देखेर सेल्वीसित यौनको कुरा गर्न आउनेलाई सेल्वीले सोध्थिन् – के तपाइँ आफ्नो पत्नी र बच्चासित यस बारेमा बताउनुहुन्छ ? तव उनीहरू टाप कस्थे ।
सेल्वीको भनाइ थियो – जुन महिलाले उनीजस्तै पतिलाई गुमाएका छन् उनीहरूले एउटा साहसिक निर्णय लिनुपर्छ र पुनः घर बसाउनुपर्छ । म जस्तै महिलाहरू आफ्नो साँचो भावना लुकाउँछन् र डर त्रासमा बाँच्दछन् । एक्लो बाँच्नु बहुतै कठिन छ । यस्तो जीवन बाँच्नुको कुनै जरूरत छैन । म चाहन्छु कि महिलाले आफ्नो जीवनलाई महत्व दिउन् । अरूले के भन्लान् यसको पर्वाह नगरून् ।
विवाह उमेरको छोराहरूले मलाई दोस्रो विवाह गर्नका लागि भनेको कुरामा सेल्वी आफ्ना छोराहरूमाथि गर्व गर्छिन् ।
छोरीद्वारा विधुवा आमाको विवाह (अक्षर काका, सेतोपाटी, २०८०।०८।०३।१)
गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले २०५६ बैशाख ३० र जेठ ३ गते दुई चरणमा प्रतिनिधिसभा सदस्यको निर्वाचन मिति तय गरेको थियो । तत्कालीन नेकपा (माओवादी) नेतृत्वमा चलिरहेको सशस्त्र द्वन्द्वको कारणले पहिलो चरणमा ३६ जिल्लाका ९३ निर्वाचन क्षेक्रमा चुनाव हुँदै थिए । दोस्रो चरणमा ३९ जिल्लाका ११२ निर्वाचन क्षेत्रमा चुनावी कार्यत्रम तय गरिएको थियो ।
हतियारको बलमा राज्यसत्ता कब्जा गर्न हिँडेका माओवादीविरूद्ध किलो शेरा–टु (२०५५ जेठ दोस्रो सातादेखि प्रहरीले शुरू गरेको कारवाही) अप्रेसन चलाइएको थियो । देश दोहोरो बन्दुकको चेपुवा र चपेटामा थियो ।
अम्बिका पोखरेल कार्कीका पति ओम प्रहरीमा थिए । तत्कालीन राजघाट गाविस हाल बागमती नपा वडा नं. ६ निवासी उनले निर्वाचन लक्षित सुरक्षाका लागि अनेक रूप र बान्कीका हाकिमलाई रिझाएर घरपायकै काजमा थिए । घर नजिकै गस्ती गर्न पाएकाले उनी निर्धक्क ड्युटीमा खटिएका थिए ।
२०५६ वैशाख १९ गते गोधूलीको समयमा घर नजिकै, तर अर्को बाटोबाट उनको श्रीमानसहितको गस्ती टोली अगाडि बढ्दै थियो । अचानक मकैबारीमा लुकेर बसेका माओवादी छापामारहरूको समूहले प्रहरीको गस्ती टोलीमाथि गोली बर्सायो । संयोगले अरू प्रहरी छलिए । उनका श्रीमान ओममाथि थ्री नट थ्री राइफलका चार गोली लागे । घटनास्थलमै उनको निधन भयो । छोरी अर्पणा टुहुरो भइन्, अम्बिका विधवा भइन्, ओमका मातापिता पुत्रवियोगको पीडाले मर्माहत् बने ।
ओमको माडी नजिकै पोष्टिङ थियो । चितवनको माडी माविबाट २०५१ सालमा एसएलसी परीक्षा दिएकी अम्बिकाको विद्यालय आउजाउ गर्ने क्रममा अंकुराएको प्रेमसम्बन्ध नै पछि विवाहमा परिणत भएको थियो । विवाहपछि उनी सर्लाहीको राजघाट आएकी थिइन् । १९ वर्ष नछिचोल्दै छोरी अर्पणा जन्मिहालिन् ।
२० वर्षको उमेरमै जीवन यात्राबाट श्रीमान् छुटेपछि एक्लो बनेकी अम्बिकाको अनुभवमा महिलाका निम्ति समाजमा अनेक साँधसिमाना खडा रहेछन् । लक्ष्मणरेखा कोरिएका रहेछन् । अझ एकल महिलालाई त घरको सङ्घार काटेर बाहिर निस्कनसमेत दुसाध्य रहेछ । पाइलैपिच्छे समाजले विधवालाई हेर्ने शङ्काको नजरमा कुनै फेरबदल छैन । जीवनसाथी गुमाउँदा अनेक वचनवाण सहनुपर्ने, पाइला पाइलामा व्यवधानको सामना गरेर अघि बढ्नुपर्ने, श्रीमान्को यादले सताउने गरेको हुन्छ । ती सबै सहँदै व्यहोर्दै उनले जीवनलाई प्रदीप्त तुल्याउँदै आइन् ।
तत्कालीन सरकारले मृत्युपछि श्रीमानलाई एक पद बढुवा गरी राहत–निवृत्तिभरण दिएको भए पनि जनयुद्ध साम्य भएपछि सरकारले फर्किएर पनि सशस्क्र सङ्घर्षका त्रममा मारिएका सुरक्षाकर्मीका परिवारको अवस्था बुझ्ने चेष्टा गरेको छैन । अम्बिकाका माइला जेठाजू आनन्द कार्कीले बाबु गुमाएकी अर्पणाको पितृवात्सल्यको बोट मर्न दिएनन् । अर्पणालाई बाबु नभएको सुइँको पनि नहोस् भनेर सदैव चनाखो भै अभिभावकको छहारी दिइ संरक्षण गरिरहे । अम्बिकालाई पनि जेठाजूले जीवनको दुसाध्य बाटाहरूमा निकै भरथेग, सहायता गरे ।
अनि अन्माए आफैंले कन्यादान गरेका छोरीज्वाइँले
श्रीमान्को निधनपछि अम्बिका कर्मथलो सर्लाहीमा कमै बसिन् । छोरी अर्पणाले प्रवेशिका परीक्षा उत्तीर्ण गरेपछि अम्बिकाले चितवन भरतपुरको मालपोत चोकमा पसल व्यवसाय गर्दै स्वअध्ययन र साहित्य साधनामा उत्तिकै दत्तचित्त रहिन् । चितवनमै उनले दिवङ्गत पतिको नामबाट खडा गरेको ओम कार्की स्मृति साहित्य प्रतिष्ठानको माध्यमबाट उनले आफ्नो साहित्यिक चेतनामा पाइन् थपी नै रहिन् ।
छोरीप्रतिको कर्तव्यले अम्बिकाले अर्को बिहे गर्ने आवश्यकता कहिल्यै महशुश गरिनन् । विधवा जीवनको २५ वर्षे यात्रामा उनको घर, परिवार, नातागोता र आफन्तहरूको अनुहारसंँग चिनजान भयो । पैसा साथमा हुँदा र नहुँदाका साथीसंगीको भेद उनले थाहा पाइन् । समाजमा रहेका मानिसका अनेक रूप र बान्कीसंँग चिनापर्ची पाइसकेकीले उनी जो कसैलाई सहजै विश्वास पनि गर्न सक्दिनथिन् । तर कसैले विवाहको प्रस्ताव गरिहाले ‘अहिले त्यसबारे केही सोचेकी छैन, कथम् मेरो दिमागमा अब बिहे गर्नुपर्छ भन्ने आयो भने आफैं मान्छे खोज भनेर भन्नेछु’ भन्दै टार्थिन् ।
विज्ञान सङ्कायमा माइक्रो बायोलोजी लिएर स्नातक गरिरहेकी छोरीको उनले २०७९ बैशाख २१ गते कन्यादान गरेपछि भने उनलाई एक्लोपनले डस्न थाल्यो । श्रीमान्को यादले झन बढी लखेट्न थाल्यो । बुढेसकालमा सहाराविहीन हुनुपर्ला भन्ने चिन्ताले सताउन थाल्यो । एक्लोपनको सन्नाटाले अत्यास बढिरहेकै बखत आफन्तले पुनः विवाहको प्रस्ताव लिएर आए ।
तीन वर्षअघि कोभिड १९ को कहरमा पत्नी गुमाएर बसेका बुटवल मंगलापुरका कुञ्जरमणि ज्ञवालीसँंग विवाहको प्रस्ताव लिएर अम्बिकाको माइती पक्ष आएका थिए । २५ वर्षे जीवन भोगाइको पाठशालामा मानिसका अनेक रूप र छटासँंग परिचय पाएकी उनले हतपत्ती सम्बन्ध गाँस्ने कुरामा सचेत हुने नै भएर भनिन् ‘ठीक छ म विवाह गर्न राजी नै छु । कस्तो विचारको मानिस हो, उनले कस्ता मानिस खोजेका हुन्, यी पक्ष पनि त विचार गर्नुपर्छ’ भनेर जवाफ दिइन् ।
अम्बिका र कुञ्जर सामाजिक सञ्जाल फेसबुकमा जोडिए । कुराकानी बाक्लिँदै गयो । दुवैले एक अर्काको भावना गहिरोसँंग बुझे । पछि दुवैका छोरीज्वाइँ समेत भएर सामूहिक रूपमा भेटघाट भयो । हामी एकअर्काका लागि सही छौं भन्नेमा पुगेका छौं, तिमीहरू हुन्छ अगाडि बढौं भन्छौ कि के भन्छौ, निर्णय देओ, हामी त्यसमा राजी छौं भनेपछि उनीहरूले अम्बिका–कुञ्जरको इच्छालाई बिहेमा परिणत गरिदिए ।
समाजको मनले एकल महिलाको विवाह स्वीकारी सकेको छैन तर अम्बिका–कुञ्जरमणिको विवाहले एकल महिलाको विवाहप्रतिको दृष्टिकोण बदल्न भरपुर भूमिका खेलिरहेको छ । २५ वर्षपछिको दोस्रो बिहेबाट सहयात्राको हात पाएको अम्बिका–कुञ्जरमणिको विवाहले समाज परिवर्तनको कडीमा त्यस्ता धेरैलाई उत्प्रेरित गर्छ ।
त्यसमा पनि ‘जुन हातमाथि शङ्खबाट जलधारा झार्दै कन्यादान गरेको थिएँ, तिनै हातबाट अन्मिएर जीवनको अध्याय पूरा गर्न पाउँदा छोरीलाई असल शिक्षा दिएछुजस्तो आभास भएको छ’ भनेर जीवनको मार्गमा साथसाथै हिँड्न बाटो देखाएका छोरीज्वाइँले आफूmंलाई अन्माएर दोस्रो अध्याय शुरू गर्न अनुमति दिएकोमा अम्बिका साह्रै खुशी छिन् ।
View : 158
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved