Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

फेरि आयो कोशीमा ‘ह्वाइट फ्रण्टेड गुज’

उद्‌घोष संवाददाता
२७ पुष २०८२, आइतवार

सुनसरी । नेपालमै चराको राजधानी भनिने कोशीटप्पुमा यस पटक भएको ३९ औं चरा गणनामा ‘ग्रेटर ह्वाइट फ्रण्टड गुज’ पनि फेला परेको छ ।

साइबेरियादेखि उडेर आउने यो पंक्षी १८ वर्षअघि नेपालमै पहिलो पटक कोशीटप्पुमै रेकर्ड भएको थियो ।

कोशीटप्पु क्षेत्रको बोराबाँधभन्दा एक किलोमिटर दक्षिण कोशी नदीको बीच भागको बगरमा शनिबार एउटा यो दुर्लभ पंक्षी भेटिएको हो । 

कोशीटप्पुमा जलपंक्षी गणनाका क्रममा पानीमा डुंगाबाट सवार टोलीले ८४ वटा बार हेडेड गुज (खोया हाँस) को बथानसँगै यो एउटा पंक्षी देखेका थिए । 

नेपालमा ९ सय ३ प्रजातिका चरा रहेकोमा कोशीटप्पुमा मात्रै ५ सय ३८ प्रजाति रेकर्डमा छन् ।

गुगल सर्चका अनुसार सन् २००४ मासंरक्षणकर्मीद्वय सोम जिसी र अनिष तिम्सिनाले पहिलो पटक कोशीटप्पु वन्यजन्तु आरक्षभित्रको क्षेत्रमा दुई वटा गुज फेला पारेका थिए । 

‘बार हेडेड र ह्वाइट फ्रण्टेड दुबै उस्तै प्रजातिका हुन् तर, ह्वाइट फ्रण्टेडको चुच्चोको फेद सेतो हुन्छ’ तिम्सिनाले भने ।

यसअघि कोशीटप्पुमा सन् २००५ र २०१७ मा पनि देखिएको यो चरा चितवनको नारायणी नदी र पोखराको फेवातालआसपासको सिमसार क्षेत्रमा पनि यदाकदा देखिन थालेको उनले बताए । 

यो पंक्षी सर्वोच्च शिखर सगरमाथाभन्दा माथिबाट उडेर जाडो छल्न तराईको क्षेत्रमा आउने गरेको छ । कोशीटप्पु र आसपासको सिमसार क्षेत्रमा पाँचदिन जलपंक्षीको गणना हुन्छ ।

कोशी पंक्षी समाजको अगुवाईमा चरा गणना हुने गरेको छ । गणनाका क्रममा चखेवा र खोयाहाँसका झुण्डहरू फेला पर्ने गरेकोमा चतराको दक्षिणी बोराबाँध क्षेत्रमा मानिसको चहलपलह भएकाले यस वर्ष जलपंक्षी भेटिएका छैनन् । 

चखेवा भने कोशीमा बढी मात्रामा भेट्न थालिएको छ । यो पंक्षी जोडी मर्यो भने चारो नखाई आफू पनि मर्ने गरेको बताइन्छ । 

कोशी नदी र आसपासमा मानवीय अतिक्रमणले युरोपदेखि जाडो छल्न र बच्चा कोरल्न आउने चराको संख्या कोशी क्षेत्रमा कम हुँदै गरेको छ । 

नदीमा सरकारको चासो नहुने भएकाले पनि माछा मार्ने, चौपाया चराउने र नदीमा दाउरा निकाल्नेहरूको बाक्लो उपस्थिति हुन्छ । जसका कारण स्थानीय रैथाने जलपंक्षी पनि कम हुँदै गएको छ ।

कोशी नदीमा २२ थरीका हाँस प्रजातिका चरा पाइने गरिएकोमा प्रजाति पनि कम हुँदै गएको चरागणकहरू बताउँछन् । 

कोशी पंक्षी समाजका अध्यक्ष चक्र तिम्सिनाले चराको अध्ययन र अवलोकनका लागि बिभिन्न देशबाट पर्यटकहरू कोशी टप्पुमा आउने गरेको बताए । 

बाहिरबाट आउने चरा अवरोधन हुने ठाउँमा जाने भएकाले कोशी ब्यारेजको दक्षिण (भारत) तर्फ बढी पाइने गरेको छ । 

उत्तरबाट उडेर आउने चरा मानिसको चहलपहल देखेर ब्यारेजको दक्षिणतर्फ उत्रिने गरेको पंक्षीविद् बताउँछन् । 

चराले नै संसारमा नाम चलेको कोशीटप्पुमा मानिसको अवरोध रोक्न तीनै तहको सरकारले चासो लिनुपर्ने समाजका अध्यक्ष तिम्सिनाले बताए । 

कोशीटप्पु पुगेका सुनसरी इटहरीका रञ्जीत झा मानिसका कारण बसाई सरेर आउने चराको आगमनमा असर हुनु भनेको मानिसकै कमजोरी बताउँछन् । 

‘विश्वका बिभिन्न देशका विश्वविद्यालयका विद्यार्थी चरा अनुसन्धानमा आउने कोशीटप्पुमा चराको संरक्षणमा सरकारको भूमिका देखिएको छैन’ उनले भने ।

View : 318

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved