Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

प्रतिनिधि सभा निर्वाचन

राजनीतिका चतुर खेलाडी ओली र गच्छदार, साढे तीन दशकदेखि चुनावी क्षेत्र पेवा जस्तै

नेपालका पुराना दुई प्रतिद्वन्द्वी दलका यी दुई चर्चित नेताहरूबीच एउटा रोचक संयोग के छ भने, यी दुवैले समान रूपमा अहिलेसम्म ६–६ पटक जितेका छन् । एक–एक पटक हारेका यी दुई नेताहरू आठौं पटक चुनावी मैदानमा ओर्लदा समान खाले चुनौतीले पनि घेरिएका छन् ।
उद्‌घोष संवाददाता
११ फागुन २०८२, सोमवार

विराटनगर । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रमा कुल ४९५ जना उम्मेदवार छन् । तीमध्ये दुई जना उम्मेदवार यस्ता नेता हुन्, जसले २०४८ देखिका सबै निर्वाचन लडेका छन् । 
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार दुवै नेता आठौं पटक चुनावी परीक्षा दिइरहेका छन् । 

नेपालका  पुराना दुई प्रतिद्वन्द्वी दलका यी दुई चर्चित नेताहरूबीच एउटा रोचक संयोग के छ भने, यी दुवैले समान रूपमा अहिलेसम्म छ–छ पटक जितेका छन् । 

एक–एक पटक हारेका यी दुई नेताहरू आठौं पटक चुनावी मैदानमा ओर्लदा समान खाले चुनौतीले पनि घेरिएका छन् । 

ओलीले झापा ५ मा रास्वपाका बालेन शाह, कांग्रेसकी मन्धरा चिमरिया, नेकपाका रञ्जित तामाङ लगायतको चुनौती बेहोरिरहेका बेला सुनसरी ३ मा गच्छदार एमालेकी भगवती चौधरी, नेकपाका दुर्गेश चौधरी र रास्वपाका अशोककुमार चौधरीको अवरोध पन्छाउनु पर्नेछ ।

यसपटक कोशी प्रदेशमा ४१ वटा राजनीतिक दलका ४०४ जना र स्वतन्त्र ९१ जना गरी कुल  ४९५ जना उम्मेदवार भैरहदा नयाँ अनुहारको खोजी तीव्र बनेको छ । यी मध्ये जम्मा २८ जना प्रतिनिधिसभामा पुग्नेछन् । यसपटक सबैभन्दा बढी मोरङ र सुनसरीमा ११०–११० जना उम्मेदवार छन् । 

मोरङका ६ वटा निर्वाचन क्षेत्रमा राजनीतिक दलबाट ८५ र स्वतन्त्र २५ तथा सुनसरीमा चारवटा निर्वाचन क्षेत्रमा ३८ स्वतन्त्र र राजनीतिक दलका ७२ जना उम्मेदवार छन् । सबैभन्दा कम सोलुखुम्बुमा १२ जना उम्मेदवार छन् । 

आठौंपटक चुनाव लडिरहेका एमाले अध्यक्ष ओली झापा–५ बाट र कांग्रेस नेता गच्छदार सुनसरी–३ बाट उम्मेदवार छन् । 

२०४८ सालदेखि भएका सबै निर्वाचमा उम्मेदवार बनेका ७४ वर्षीय ओलीले अहिलेसम्म एक पटक मात्र पराजय बेहोरेका छन् । 

२०५६ को निर्वाचनमा एमाले विभाजित बन्दा पनि झापाका दुई क्षेत्रबाट विजयी भएका ओली २०६४ को पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन झापा क्षेत्र नम्बर ७ बाट माओवादी उम्मेदवार विश्वदिप लिङ्देनसँग पराजित भएका थिए । 

२०५१ सालमा तत्कालीन एमाले अध्यक्ष मनमोहन अधिकारी नेतृत्वको सरकारमा गृहमन्त्री रहेका ओली २०६३ सालमा उपप्रधान तथा परराष्ट्रमन्त्री बनेका थिए । २०७२ सालमा पहिलोपटक उनी प्रधानमन्त्री भए ।

२०७४ सालमा झन्डै दुईतिहाइ बहुमतका साथ प्रधानमन्त्री बनेका थिए । ओलीकै कार्यकालमा एमाले र माओवादी एकता भयो र उनकै कार्यकालमा विभाजन पनि भयो ।

२०७०, २०७४ र २०७९ मा पनि शानदार जीत हात पारेका ओली २०८१ असार ३० गते चौथो पटक प्रधानमन्त्री बनेका थिए । 

उनी गत भदौ २३ र २४ को जेनजी आन्दोलनका कारण पदबाट राजीनामा दिन बाध्य भएका थिए । जेनजी आन्दोलनकै क्रममा  राज्यपक्षबाट मारिएका नवयुवा अनि मुलुकभरी भएको विध्वंसको अपजस काँधमा बोकेर चुनाव लडिरहेका ओली सर्वाधिक असहज अवस्थामा छन् ।

अरूबेला  देशभर दौडेर एमालेको मत माग्ने ओली यसपटक बालेन शाहसँग लड्दा आप्mनै क्षेत्रमा मात्रै खुम्चिन बाध्य भएका छन् । 

नेपाली राजनीतिमा आत्मविश्वासी र निडर नेताको छवि बनाएका ओली कुनै बेला  आफनो क्षेत्रबाट ‘एमालेबाट जुत्ता उठाए पनि चुनाव जित्ने’ बताउँथे । तिनै ओली यसपटक इतिहासकै कठिन चुनावी परीक्षामा छन् । 

ओली र उनको दलले झापा ५ मा अनुभव गरिरहेको दबाबकै परिणामस्वरूप यसअघि कहिल्यै  घरदैलो नगरेका ओली यो पटक टोलटोल पुगेर मतदाताका गुनासो सुनिरहेका छन् । 

यसअघिका निर्वाचनमा देशभरका सभाहरूमा सम्बोधन गर्न पुग्ने ओली यसपटक अहिलेसम्म आफ्नो क्षेत्रमै बढी केन्द्रित देखिन्छन् । 

पहिले मतदातासँग दोहोरो कुरै नगर्ने उनी यसपटक मतदाताको कुरा ध्यानसँग सुनिरहेका छन् ।

ओलीजस्तै २०४८ सालयता लगातार आठौं पटक चुनावी प्रतिस्पर्धामा होमिएका अर्का उम्मेदवार हुन्, सुनसरी क्षेत्र नम्बर ३ का कांग्रेस उम्मेदवार विजयकुमार गच्छदार ।

७२ वर्षीय गच्छदार अहिलेसम्म २०७९ मा मात्र पराजित भएका छन् । त्यति बेला उनलाई एमालेकी भगतवती चौधरीले हराएकी थिइन् । 

२०४८, २०५१ र २०५६ को निर्वाचनमा नेपाली कांग्रेसबाट विजयी भएका गच्छदारले २०६४ मा कांग्रेस छाडेर मधेसी जनअधिकार फोरमबाट उम्मेदवारी दिए ।

त्यति बेला मोरङ र सुनसरी दुवै क्षेत्रबाट जितेका गच्छदार २०७० को निर्वाचनमा पनि दुई ठाउँबाटै उम्मेदवार बनेका थिए । त्यसबेला मोरङबाट पराजित भएका उनी सुनसरीबाट विजयी बनेका थिए । 

२०७४ को निर्वाचनदेखि नेपाली कांग्रेसमै फर्किएका गच्छदारलाई तत्कालीन कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी उपसभापति समेत बनाएका थिए ।

२०७४ मा कांग्रसेबाट निर्वाचित भए पनि भ्रष्टचार प्रकरणका कारण २०७६ माघमा गच्छदारको सांसद पद निलम्बनमा परेको थियो ।

२०४८ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको  सरकारमा मन्त्री  बनेका थिए । लामो समय कोइरालाको ‘किचन क्याबिनेट’को सदस्य रहेका गच्छदार उनै कोइरालाको विपक्षमा उभिएर कांग्रेसबाट बाहिरिएका थिए ।

उनको  संसदीय यात्रा जति लामो छ, सरकारमा पाएको अवसरको यात्रा पनि उत्तिकै लामो छ । 

२०४८ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा सञ्चार राज्यमन्त्री बनेका गच्छदार १८ पटक मन्त्री भइसकेका छन् । 

२०६४ देखि २०७४ सम्म बनेका सबैजसो सरकारमा  सहभागी भएका उनी ६ वटा सरकारमा गृह, भौतिक निर्माण लगायतका महत्वपूर्ण मन्त्रालयको जिम्मेवारीमा थिए ।

प्रजातन्त्र पुनः स्थापनापछिका अन्य चुनावभन्दा यो पटक गच्छदार चुनौतीले घेरिएका छन् ।

यसअघिका चुनावमा जस्तो पार्टी केन्द्रमा रहने उनको बलियो प्रभाव पनि यसपटक खस्केको अवस्थामा छ । 

विशेष महाधिवेशनबाट गच्छदारका अनन्य मित्र शेरबहादुर देउवालाई सभापतिबाट विस्थापनमा पारेर गगन थापा नेतृत्वमा आएपछि उनी मात्र होइन, निकट विगतमा संस्थापनमा रहेका धेरै नेताको पार्टीभित्र एकछत्र प्रभाव घटेको स्थिति छ । 

भ्रष्टाचार प्रकरणमा मुछिएर बदनाम बनेका उनले यसपटक आफ्नो अन्तिम चुनाव भनेर मत मागिरहेका छन् ।  

उनकै भतिजा दुहबी नगरका मेयर वेद गच्छदारका हातमा पनि सभापति गगन थापाले हस्ताक्षर गरेको टिकट थियो । उनले आफ्ना पारिवारिक अग्रज विजयलाई चुनाव लड्न आप्mनो टिकट छाडिदिए ।

२०४८, ०५१, ०५६, ०६४, ०७० र २०७४ गरी ६ वटै चुनाव जित्ने क्रममा गच्छदारले संविधानसभाका दुइटा चुनाव भने कांग्रेस बाहिरबाट लडेका थिए ।

२०६४ को पहिलो संविधानसभा निर्वाचनदेखि गच्छदारले लगातारजसो दल अदल–बदल गरिरहे । उनी जतिसुकै अस्थिर बने पनि सुनसरी–३ का मतदाता उनलाई पत्याउने सवालमा सधैं स्थिर देखिए । उनीहरूले मन र मत फेरेनन् । गच्छदारलाई नै सधैं जिताइरहे ।

०४८, ०५१ र ०५६ का तीन संसदीय चुनाव सुनसरी–२ मा लडेर कांग्रेसबाट जितेका उनले २०६४ को पहिलो संविधानसभा निर्वाचन मधेसी जनअधिकार फोरमबाट लडे । 

त्यस बेला उनको क्षेत्र सुनसरी–३ भइसकेको थियो । त्यो निर्वाचनमा उनले मोरङ–७ बाट पनि जितेका थिए । लगातार आठौं पटक चुनावी मैदानमा ओर्लदा उनीसँग पहिलेजस्तो सुखद विगतको साथ छैन ।

२०७९ को निर्वाचन लड्ने बेलासम्म गच्छदारसँग कहिल्यै नहारेको बलियो चुनावी इतिहास साथमा थियो । त्यति बेला एमालेकी भगवती चौधरीले उनको तीन दशक लामो संसदीय यात्रामा ठेस लगाइदिएकी थिइन् ।

माओवादी, एकीकृत समाजवादी लगायत दलसँग गठबन्धन भएका बेला पनि भगवतीबाट पराजित गच्छदारको आठौं चुनावी ‘एटेम्प्ट’ के होला ? राजनीतिक वृत्तमा यसको उत्तर प्रतीक्षाको विषय भएको छ ।

View : 142

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved