Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
विचार

राजनीतिक दलको पुनर्संरचना र अबको बाटो

मूलधारका राजनीतिक पार्टीहरूले आत्मसमीक्षा गर्दै प्रष्ट देखिने सुधारका वाचासहितको व्यवहारमा पुष्टि हुने गरी नेतृत्व, नीति र कार्यक्रममा पुनर्संरचना गरी समाजवादको मूल आत्मालाई आत्मसात गर्दै सबैखाले बिचौलिया प्रथा, पक्षपात, भेदभावलाई निर्मूल पार्न आफ्ना पार्टीका सबै निकायमा निष्पक्षताको महसुस गराउन सक्नुपर्छ ।
हरि काफ्ले
३ असोज २०८२, शुक्रवार

२०८२ साल भदौ २३ र २४ गतेको जेनजी (युवा पुस्ता) भनिएकोले गरेको आन्दोलन र त्यसले पारेको तत्कालीन असरहरूको बारेमा सूक्ष्म विश्लेषण नगरी राजनीतिक दलहरूले अबको बाटो तय गर्न सक्दैनन् । जसले समयको गति पश्चिमा साम्राज्यवादले डिपस्टेट (नवउदारवादी) मार्फत् मच्चाएको यो नरसंहार नेपाली जनमानसको इच्छा र आकांक्षाअनुरूप आफूलाई समयको मागअनुरूप पार्टीभित्र ब्यापक पुनर्संरचना गरेर अगाडि बढ्ने दलहरू मात्र भविष्यमा पुनर्स्थापित हुन सक्छन् । त्यसो गर्न नसक्ने दलहरूको उपदेयता रहने सम्भावना रहँदैन । 

नेपाली राजनीतिमा आएको व्यापक भ्रष्टपथ र दलाल पूँजीपति वर्गको संरक्षण गर्ने परिपाटीको विकास राज्य सञ्चालन गर्नेहरूबाटै २०५१ सालको ‘हंग पार्लियामेन्ट’ देखि विकास भएको हो । यसको अन्त्य २०६२–६३ को आन्दोलनपछि हुनुपर्ने थियो । तर, राज्य सञ्चालन गर्ने दल र तिनका मुख्य नेता नै सर्वमान्य राजनेता बन्ने हुटहुटीले लोकतन्त्रका सबै मूल्य मान्यता स्खलित हुन पुग्यो ।

राजनीति सेवा हुनुपर्नेमा दलका सामन्तहरूले पेशामा रूपान्तरण गर्न पुगे । जसले गर्दा जनताले कुनै पनि सरकारी कार्यालयबाट न्यायापूर्ण सेवा समयमा प्राप्त गर्न सकेनन् । 

एउटै पार्टीभित्र राज्य संयन्त्रभित्र नवसम्भ्रान्त बन्दै गए । त्योभन्दा पार्टी  काम गर्ने करिन्दामा परिणत भए । सबै पार्टी कमिटीभित्र तिनै सम्भ्रान्त वर्गको हालीमुहाली र वोलवाला हुन थाल्यो । साँचो हृदयले देश, जनता, पार्टीको हितमा काम गर्ने लाखौं नेता, कार्यकर्ता विदेश पलायन वा निस्क्रिय हुने अवस्थाको सिर्जना भयो । 

मूल नेतृत्व तिनै सुविधाखोर र अवसरवादी विचौलियाको घेराबन्दीमा पर्‍यो । इमान्दार कार्यकर्ताको न्यायपूर्ण आवाज दबिन थाले । जसको परिणाम पार्टी पद्धति, अनुशासन, समर्पण, त्याग सबै गौण र पद, प्रतिष्ठा र पैसाप्रधान हुन पुग्यो । जसले पार्टीभित्र हुनेखाने र हुँदा खाने वर्गको विकास भयो । यसरी कार्यकर्ताभित्र बढेको वर्गीय खाडलको अध्ययन, नियन्त्रण र मूल्यांकनमा पार्टीको मूल नेतृत्व चुक्न पुग्यो ।

इतिहास र योगदानभन्दा चाकरी र चाप्लुसीले प्रश्रय पायो । योग्यता र क्षमता भएका कार्यकर्ता पार्टीको मूल प्रवाहमा आउन नसक्ने अवस्था सिर्जना भयो । पार्टीमा लाग्नु, नेता बन्नु भनेको अकुत पैसा आर्जन गरेर विलासी जीवन बिताउने हो भन्ने मान्यताको विकास हुन थाल्यो । 

यस्ता गलत प्रवृत्तिले अहिलेका युवापुस्ता (जेनजी) राजनीतिबाट पूरै अलगाव हुन पुग्यो । ठेक्कापट्टा, सरूवाबढुवामा सबै बिचौलियाले एकछत्र राज गर्‍यो । मूल नेतृत्वका नजिकमा रहेका स्वकीय सचिव, सल्लाहकार र विषयविज्ञ भन्नेहरूले जनताको वास्तविक आवाज मूल नेतृत्वसम्म पुग्न दिएनन् । जसको उदारहण २–३ नजिकको नेकपा सरकारका प्रधानमन्त्री केपी ओलीसँग भेट्न कम्युनिष्ट सरकारका पहिलो लोकप्रिय अर्थमन्त्री भरतमोहन अधिकारीले पटक पटक प्रधानमन्त्रीको सचिवालयलाई अनुरोध गर्दा पनि ९ महिनासम्म भेट्न दिएनन् ।

यसबाट के प्रष्ट हुन्छ भने राज्य सञ्चालन र पार्टी सञ्चालनमा राम्रो टिम निर्माण गर्न सकिएन भने स्वार्थी समूहले पार्टी र सरकार दुबैलाई बद्नाम गराउँछन् । हालको मूल धारको पार्टीमा रहेको क्रोनिक (धेरै पुरानो) रोग नै यही हो । यसको सल्यक्रिया गरेर निराकरण गर्नु पहिलो आवश्यकता हो । 

मूलधारका मुख्य नेताप्रतिको नकारात्मक धारणामा परिवर्तन ल्याउन तत्काल पार्टीको पुनर्संरचना गरी विवादरहित सक्षम नेतृत्वलाई स्थापित गरेर सबैखाले अवसरवादी नेतृत्वमा पुगेर मालिक बन्नेहरूको वरखास्त र इमान्दार मूलप्रवाहबाट किनारा लागेका नेता कार्यकर्तालाई मूलप्रवाहमा ल्याउनु दोस्रो कार्य हो । अहिलको आन्दोलनमा विकास भएको भाष्यलाई गलत साबित गर्न सबै दलले सुध्रने वाचा गर्दै नया“ नेपाल बनाउने खाकासहित जनतासँग माफी माग्नुपर्छ । 

देशभित्र विभिन्न भेषमा रहेका विदेशी दलालहरूको पहिचान गरी कार्वाहीको दायरामा ल्याउने वाचा गर्नु अनिवार्य सर्त हो । विश्वव्यवस्थामा आएको परिवर्तनलाई आत्मसात गर्दै विश्वव्यवस्थामा प्रभाव शून्य भएका अन्तर्राष्ट्रिय संस्थाहरूसँगको समिप्यता छोड्दै उदीयमान समानतामा आधारित संस्थाहरूमा प्रवेश गर्ने एजेण्डासहित अगाडि बढ्नुपर्छ । ती संस्थाहरू जस्तै ब्रिक्स, सांघाई सहयोग संगठन, न्यू डेभेलप्मेन्ट बैैंक जस्ता समानतामा आधारित संस्थाहरू हुन् ।

शीतयुद्धकालीन समयमा जन्मिएको असंलग्न आन्दोलनको उपदेयता सकिएको छ । एक धु्रवीय विश्व र बहुधु्रवीय विश्वव्यवस्था बीचको तीब्र धु्रवीकरण भैरहेको अवस्थामा व्यापक सहभागिता बहुध्रुवीयतर्फ बढिरहेको छ । तसर्थ बहुध्रुवीय विश्वव्यवस्थामा प्रवेश गर्ने एजेण्डालाई प्रमुख कार्यभार बनाउनुपर्छ ।

भ्रष्टाचारको अन्त्य गर्न २०४७ देखि अहिलेसम्म उच्च पदस्थ सबैको सम्पत्ति छानविन गर्ने शक्तिशाली आयोग गठन गर्ने वाचासहित जनतामा जाने आँट गर्नुपर्छ । 

राज्यले दिने सेवाप्रवाहमा छिटो छरितो र पारदर्शिता मुख्य एजेण्डा बन्नुपर्छ । सर्वक्षेत्रका लोभीपापीबाट हुने अपराधलाई कडा कानुन बनाई कार्वाहीको दायरामा ल्याउनुपर्छ । पार्टीहरूले विदेश पलायन भैरहेका युवा जनशक्ति रोक्न व्यापक रोजगारीको सिर्जना गर्ने, कृषि र कृषि प्रशोधन उद्योगलाई क्रान्तिको रूपमा अगाडि बढाउने ठोस् योजना अघि सार्नु पर्दछ ।

 पश्चिमी संस्कृतिले आक्रमण गरिरहेको नेपाली संस्कृतिको संरक्षण र विकास गर्ने वैज्ञानिक कार्ययोजना बनाई लागू गर्न तयार हुनुपर्छ । समाजवाद उन्मुख संविधानको भावना अनुरूप स्पष्ट खाकासहित समाजवादको जग बसाल्ने खालका आर्थिक नीति अगाडि सार्नुपर्छ । जसको कार्यान्वयन गर्न अफ्रिकी देश बुर्किना फासोले तीन वर्षमा चौतर्फी गरेको आर्थिक व्रmान्तिबाट शिक्षा लिन सक्नुपर्छ । कृषि, पर्यटन र जलस्रोतलाई उच्च प्राथमिकतामा राखेर राज्यको प्रभावकारी उपस्थिति देखिनेगरी कार्ययोजना बनाई लागू गर्न तत्पर हुनुपर्छ । 

समाजवादी वित्तीय संस्थाको स्रोतअनुसारका आर्थिक नीतिमा व्यापक सुधार गर्दै देशका आवश्यकताको संवोधन हुने अर्थव्यवस्थाको ढा“चा विकास गरी कार्यान्वयन गर्न अग्रसर हुनुपर्छ । कृषि उपजमाथिको बिचौलिया प्रथाको अन्त्य गरी कृषकलाई उचित मूल्य प्रदान गर्न स्थानीय निकायको नेतृत्वमा कृषि बजारको विकास गर्नुपर्छ । 

संवैधानिक अंगलाई निष्पक्ष र सवल बनाउन राजनीतिक भागवण्डालाई प्रमुख कानुन बनाई निषेध गर्नुपर्छ । ती निकायमा नियुक्त हुने व्यक्ति देशभक्त र विषयविज्ञ हुनुपर्छ । यदि यसमा हेक्का नराख्ने हो भने अहिलेको जस्तो दिशाबिहीन बिद्रोह बारम्बार दोहोरिन सक्छ ।

समयको माग अनुरूप मूलधारका राजनीतिक पार्टीहरूले आत्मसमीक्षा गर्दै प्रष्ट देखिने सुधारका वाचासहितको व्यवहारमा पुष्टि हुने गरी नेतृत्व, नीति र कार्यक्रममा पुनर्संरचना गरी समाजवादको मूल आत्मालाई आत्मसात गर्दै सबैखाले बिचौलिया प्रथा, पक्षपात, भेदभावलाई निर्मूल पार्न आफ्ना पार्टीका सबै निकायमा निष्पक्षताको महसुस गराउन सक्नुपर्छ । 

आदेश होइन सुझावलाई ग्रहण गर्दै पार्टीभित्रको लोकतन्त्रिकरणको विकास गर्न तत्पर हुने दलहरूको पुनः उपदेयता बढ्ने छ । यसो गर्न नसक्ने दलहरूको उपदेयता सकिने छ । यो नै अहिलेको प्रमुख आवश्यकता हो । 

View : 592

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved