Biratnagar, Morang, Nepal
३ वैशाख २०८२, बुधवार
+977 21 450305, 515728, 578305
आर्थिक

भक्तपुरको झल्को दिने विराटनगरको ‘ड्रिम गार्डेन’ (फोटो)

भक्तपुरको इँटा, काठ र कलाकृति अनि पोखरेली ढुंगा बिच्छ्याएर बनाइएको दरबार ब्यांकेटको आडैमा बनेको कलात्मक ढुंगेधारा र मण्डप यहाँका थप आकर्षण हुन् ।
उद्‌घोष सम्वाददाता
३ वैशाख २०८२, बुधवार

विराटनगर । ‘विराटनगरमा घुम्नलायक ठाउँ कहाँ–कहाँ हो ?’ कोशी प्रदेशको राजधानी शहरमा पहिलोपटक आइपुग्ने कसैले यस्तो प्रश्न गरे तपाईको उत्तर के होला ? ‘कोइराला निवास’, धेरैले धेरैलाई दिने पहिलो उत्तर यही हो । 

राजनीतिमा चाख भएकाहरूका लागि त कोइराला निवास आकर्षणको विषय बन्ला । तर, राजनीतिमा चाखै नदिने मान्छे परे भने तिनले घुम्ने कहाँ ? विराटनगर र यस आसपासका क्षेत्रमा घुम्ने, पर्यटकलाई समय कटाउने ठाउँ नभएपछि धेरै मानिस जोगबनीतिर जाने गरेको पनि पाइन्छ । जोगबनी सीमापारिको एउटा सानो भारतीय शहर हो । जुन घुम्ने ठाउँ भन्दा पनि किनमेल गर्ने ठाउँ हो ।

शहरमा पछिल्लो समय खुलेका केही व्यापारिक मलबाहेक विराटनगरको इज्जत धान्नेगरीको घुम्ने वा अलमलिने ठाउँ नै छैन भन्दा पनि हुने दयनीय अवस्था छ । केही पुराना उद्योग, केही सपिङ मल र कोइराला निवास देखाएर घुम्न आउनेहरूलाई केहीबेर भुल्याउने अड्को–पड्को तेलको धुपको अवस्थामा अब एउटा जानैपर्ने नयाँ गन्तव्यको निर्माण अन्तिम चरणमा पुगेको छ ।

विराटनगरमा घुम्ने, मन बहलाउने ठाउँ नभएको तितो यथार्थलाई भित्रैबाट महसुस गरी त्यसको अभाव हटाउन दत्तचित्त भएर लागिरहेका बाबुछोरा बसन्त हुमागाईं र श्रृजन हुमागाईंको एउटा सपनाको परियोजना अन्तिम चरणमा पुगेको छ ।

घुम्ने ठाउँ थप्ने, पर्यटक तान्ने र त्यसैलाई आम्दानीको मुख्य स्रोत बनाउने व्यावसायिक सोचसहित यी बाबुछोराले कुनैबेलाको ‘ड्रिम गार्डेन पार्क’ लाई नयाँ स्वरुप दिइरहेका छन् । ड्रिम गार्डेन पार्कलाई आकर्षक रिसोर्टको स्वरुपमा रुपान्तरण गर्ने लक्ष्यसहित हुमागाईं बाबुछोराले पछिल्लो समय लगानी, श्रम र समय लगाइरहेका छन् । 

यदि पछिल्लो दुई तीन महिनायता तपाई ड्रिम गार्डेन पुग्नुभएको छैन भने तपाईलाई लाग्नेछ, कतै म भक्तपुरतिर त आइपुगिन ? तर, ढुक्क हुनुहोस्, तपाई विराटनगरमै हुनुहुन्छ । र, यहीँ बसेर तपाईले भक्तपुरको झल्को पाउने खालको मौलिक संरचनाहरूमाझमा आफूलाई पाउनु हुनेछ । यो अवसर पछिल्लो समय ड्रिम गार्डेनमा उपलब्ध हुन थालेको छ । 

विराटनगर महानगर–१९ स्थित बैजनाथपुरमा २०७४ मा स्थापना भएको ड्रिम गार्डेन पार्क बसन्तको सपनाको एउटा परिणाम थियो । बसन्तलाई कक्षा ६–७ मा पढ्नलाई भारत सिलिगुडीको एउटा बोर्डिङमा भर्ना हुँदा दैनिकजसो बगैंचाको हेरविचार गर्ने काम गर्नुपथ्र्यो । 

‘म गार्डेनिङमा राम्रै विद्यार्थी रहेछु, चासो र रुचि पनि थपियो’, भक्तपुरको मल्लकालीन राजाका पालाको जस्तो ब्यांक्वेट हल बनाएका बसन्तले भने ‘त्यहाँबाट फर्केपछि मैले घरमा पनि गार्डेनिङ गरेँ । फार्म हाउस जस्तो रहेको यहाँ पनि पछि बगैचाहरू लगाएँ ।’ 

त्यसो त कुनैबेला रसायनिक पदार्थको कारोबार गर्ने उनले यहाँ त्यसको गोदाम घर पनि बनाएका थिए । पछि कामत घर बनाउनका लागि भनेर उनले जग्गा थपे, माछा पोखरी बनाए, बगैंचा थप्दै लगे । 

‘यो जमिनमा बोटविरुवा ल्याउने, रोप्ने, हुर्काउने काममा निरन्तर लागिरहेँ’, उनले सुनाए ‘सिमल,  सखुवा, राजवृक्ष, सल्लाका रुखहरू हुर्काएको छु । त्यसैले यो ठाउँ  हरियाली बन्न गयो । २०७४ देखि यसलाई पार्कमा परिणत गरेँ ।’ 

जसै यो ठाउँ पार्कमा परिणत भयो, फराकिलो माछा पोखरी ‘स्वीमिङ पुल’ मा रुपान्तरित भयो, रेष्टुरेन्ट बन्यो । प्रवेश शुल्क लिएर अवलोकन गर्न आउनेहरू थपिन थाले । 

‘त्यतिले मात्रै चित्त नबुझेर हामीले केही टिपिकल काम गर्नुपर्छ भन्ने योजना बनायौं’, अहिले ड्रिम गार्डेनको व्यवस्थापन सम्हालिरहेका बसन्तका छोरा श्रृजनले भने ‘त्यसपछि भक्तपुरको परम्परागत शैलीको ब्यांकेट बनाउने, त्यहीको शैलीको कलाकृतिहरू कुँदिएका संरचनाहरू निर्माण गर्ने काममा लाग्यौं । त्यसैको परिणामस्वरुप तयार भएको छ दरबार ब्यांकेट ।’ 

उनका अनुसार भक्तपुरको इँटा, काठ र कलाकृति अनि पोखरेली ढुंगा बिच्छ्याएर बनाइएको दरबार ब्यांकेटको आडैमा बनेको कलात्मक ढुंगेधारा र मण्डप यहाँका थप आकर्षण हुन् । 

यसबाहेक हरियाली बगैंचा, त्यसैको माझमा रहेको फराकिलो र शान्त रेष्टुरेन्ट, बालबालिकाका लागि खेल्ने पार्क र स्वीमिङ पुलले पछिल्लो समय विवाह जस्ता ठूला समारोहदेखि जन्मदिनदेखि एनिभर्सरी मनाउनेहरूसम्म, केहीबेर घुम्न आउनेदेखि परिवारका साथमा लञ्च डिनर गर्न आउनेहरूसम्मको रोजाइमा ड्रिम गार्डेन पर्न थालेको छ । 

‘५ सय जना क्षमताको ब्यांकेट हल र एक हजारभन्दा बढीले सजिलै एकैपटक घुम्दा पनि साँघुरो नहुने स्पेस तयार भएको छ’, बसन्तले भने ‘अब विराटनगरमा घुम्ने ठाउँ कहाँभन्दा ड्रिम गार्डेन भन्ने एउटा नयाँ गन्तव्य तयार भएको छ भन्न सक्ने अवस्थामा छु ।’ 

भक्तपुरको जस्तै गरी टिपिकल शैलीमा खडा भएको सभाहल, ठूलो र फराकिलो स्वीमिङ पुल, झपक्क परेको बगंैचा र बालबालिकाका लागि खेल्ने ठाउँ अनि रेष्टुरेन्ट अहिले यहाँ उपलब्ध छन् । 

‘अब छिटै यहाँ कोठाहरू पनि थपिनेछन्, हामी त्यसको तयारीमा जुटेका छौं’, बसन्तले भने ‘कोठाहरू पनि थपिएपछि हामी रिसोर्टको मापदण्ड पूरा गर्ने ठाउँमा पुग्छौं । त्यो हाम्रो लक्ष्यमा छ । काम पनि छिटै थाल्दैछौं ।’

उनका अनुसार स्वीमिङ पुल, बगैंचा, रेष्टुरेन्ट, जमिनबाहेक नयाँ सभाहल निर्माणमा मात्रै साढे चार करोडभन्दा बढी लगानी भइसकेको छ । 

‘भक्तपुरे निर्माण सामग्री, त्यहीँको जस्तो कलाकृति र संरचना तयार पार्दा खर्च सोचेभन्दा धेरै भयो’, उनले भने । 

आर्थिक मन्दीले सबैतिर लगानी घटिरहेका बेला हुमागाईं परिवारले जोखिम मोलेर किन यति धेरै लगानी गर्यो त ? जवाफमा बसन्त भन्छन् ‘व्यापारमा जोखिम स्वाभाविक विषय हो । तर, यो कुरा केवल व्यापार मात्रै होइन, मेरो सपनाको कुरा पनि हो । 

एउटा सुन्दर बगैंचाभित्र ठूलो सभाहल, स्वीमिङ पुल, रेष्टुरेन्टसहितको संरचना तयार पारौं भन्ने थियो । अब कोठाहरू बनाएर सपना पूरा गर्ने अन्तिम कसरतमा छु ।’ 

उनका अनुसार २०७४ मा पार्क सुरु भएकै वर्ष बाढीका कारण ड्रिम गार्डेनको कारोबार डेढ  महिना प्रभावित भयो । कोभिडकालमा दुई वर्ष व्यवसाय ठप्प नै रह्यो । 

विस्तारै  डर हराउँदै गएपछि अहिले फेरि राम्रो कारोबार भइरहेको अनुभव हुमागाईंको छ ।

‘सकेसम्म राम्रो सेवा र सत्कार दिने, मिठा परिकारहरू दिने प्रयासमा हामी दत्तचित्त छौं’, बसन्तले आग्रह गरे ‘एकपटक पुष्पलाल चोकबाट थोरै अगाडि रहेको ड्रिम गार्डेन आइदिनुस् । हामी तपाइँलाई निराश बनाउने छैनौं ।’

View : 550

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved