विसं २०७१ तिरको कुरा हो, म निर्माण क्षेत्रमा कार्यरत प्राविधिक थिएँ । बाहिरको खानपिनका कारण मेरो शरीर अलि मोटो र भद्दा हुँदै गइरहेको थियो । एक दिन मर्निङ वाकमा हिंडिरहेको बेला बरगाछीमा एकजना ठेकेदार साहेबसँग भेट भयो ।
सामान्य भलाकुसारीपछि मैले आफ्नो समस्या बताएँ । उहाँले भन्नुभयो, ‘त्यहाँ बासुकीनाथमा योग चलिरहेको छ, तपाईं जानुहोस् न’ ‘त्यो दिन त्यसै बित्यो ।’
योग कक्षामा प्रवेश र निरन्तरताको प्रेरणा
भोलिपल्ट बासुकीनाथतिर पाइला बढाएँ । मनमा कताकता दुविधा थियो– जान मिल्छ कि मिल्दैन, केही प्रक्रियाहरू पो छन् कि ? यस्तै सोच्दै सोच्दै गएँ । अप्ठ्यारो मानेर छेउमा उभिएको मात्र के थिएँ, एक जना गुरुले ‘आउनुहोस् न, तपाईंहरूकै लागि त हो’ भन्नुभयो । त्यसपछि म पनि जानी नजानी मञ्चमा जे–जे गरिन्छ, त्यही–त्यही गर्दै गएँ ।
म गएको पहिलो दिन मञ्चमा योग प्रशिक्षक बद्री पोखरेल दाइ हुनुहुन्थ्यो । दोस्रो दिन केहीबेरपछि नै उहाँले भन्नुभयो, ‘म अब दुई–चार दिनपछि अमेरिका जाँदै छु, आजदेखि मञ्चमा शिल्पाजी बस्नुहुन्छ ।’ त्यसपछि शिल्पाजीले कक्षा लिन थाल्नुभयो ।
उहाँको शालीन व्यक्तित्व, कोइलीको जस्तो मीठो आवाज र सहज एवं सरल तरिकाले सिकाउने शैलीले मलाई आकर्षित ग¥यो । दुई–चार दिनका लागि मात्र जान्छु भन्ने सोचेर गएको म, आफ्नो सोच परिवर्तन गरी नियमित योग अभ्यासमा लागें ।
केही दिनपछि नै कामकै सिलसिलामा म केराबारी बस्नुपर्ने भयो र त्यहाँको साइट हेर्नुपर्ने भयो । मैले चाहेर पनि अब योगलाई नियमित गर्न सकिरहेको थिइनँ, किनकि म केराबारी नै बस्न थालेको थिएँ भने हप्तामा एक–दुई पटक मात्र घर आउँथें ।
औपचारिक यात्राको सुरुवात
एक दिन शिल्पाजीले फोन गर्नुभयो, ‘मैले सह–योग शिक्षक तालिमको फर्म भरिदिएको छु है ! तिमीहरू दुवैजना, रामजानकी मन्दिर (बाटागल्ली) आउनु, र सकिन्छ भने नियमित आउनु’ त्यसपछि म र मेरी श्रीमती गङ्गा भट्ट पाण्डे औपचारिक रूपमा योगमा जोडिन पुग्यौं ।
यसरी योगमा जोडिएपछि विभिन्न कार्यक्रममा सहभागी हुँदै जाँदा योगसँग सम्बन्धित सबै पदाधिकारी र योग शिक्षकहरूसँग घुलमिल हुने अवसर मिल्यो । सबैैसँग पारिवारिक वातावरण बन्न पुग्यो । हुन त योग गहन विषय हो, भगवत् गीताका प्रत्येक अध्यायमा उल्लेख छ, तर मैले त्यसरी गहन रूपमा आत्मसात् गर्न सकेको छैन, यद्यपि आत्मसात् गर्ने प्रयासमा भने छु ।
दायित्वको विस्तार र व्यक्तिगत लाभ
विसं २०७४ सालमा पतञ्जलि योग महानगर समिति विराटनगरको गठन भएपश्चात् मलाई पनि सदस्य पदमा राखियो । त्यसपछि अझ जिम्मेवारी थपिएको महसुस भयो र योगमा सकेसम्म समय दिन थालें । मैले महानगर समितिको कोषाध्यक्ष पद सम्हालिसकेको छु ।
मैले योगमा लागेर शारीरिक रूपमा लिएको फाइदा भनेको चाहिँ दाहिने हातले पहिले पछाडि छुन छोडिसकेको थियो, हिजोआज मज्जाले छुन सक्छु ।
शिल्पाजीको नेतृत्वमा विराटनगर महानगर समितिले योगमा अग्रगामी फड्को मारेको छ भन्दा फरक पर्दैन । जम्मा ८–१० वटा केन्द्रहरू आज बढेर ४५ वटा केन्द्र पुगिसकेका छन् ।
वर्षमा २–४ वटा हुने शिविरहरू दिनपिच्छे हुन थालेका छन् र हामी ५८औं शिविर लगाउन सफल भएका छौं भने १९ वटै वडामा नियमित योग साधना केन्द्र खोल्न सफल भएका छौं । त्योभन्दा पनि ठूलो उपलब्धि भनेको स्थानीयवासीको उल्लेखनीय सहभागिता र अपार माया पाएका छौं ।
हाम्रा शिविरहरूबाट लगभग ३१,००० स्थानीयवासीले प्रत्यक्ष लाभ लिनुभएको छ ।
नढाँटी बताउनुपर्दा म अलिक अल्छी नै छु, तर उहाँले आफ्ना घर व्यवहारका सबै कामहरू सकेर योगका हरेक गतिविधिहरूमा सहभागी हुँदै तिनलाई सफल पार्दा, यो कसरी सम्भव छ भनेर म आफैं छक्क पर्छु ।
मैले केसम्म देखेको छु भने बिहान झापाको सुरुङ्गामा कक्षा लिएर बेलुका विराटनगरमा शिक्षण प्रशिक्षण तालिमको तालिम सकाएर फेरि बिहान सुरुङ्गाकै कक्षामा सहभागी भएको पनि देखेको छु ।
एक शब्दमा भन्नुपर्दा, जसलाई असार–साउनको भेलले रोक्दैन, जसलाई पुस–माघको जाडोले छुँदैन, जसलाई चैत–वैशाखको हुण्डरीले छेक्दैन, र जो बिना विराटनगरका सबै कार्यक्रमहरू अधुरा लाग्छन्, त्यो नाम हो शिल्पा प्याकुरेल ।
उहाँले आफ्नो कार्यकालमा एउटा जीवन्त इतिहास लेखिसक्नुभएको छ, जसलाई पछ्याउन सक्ने अरू कोही आए पनि ठूलो काम हुनेछ ।
भविष्यको परिकल्पना र व्यक्तिगत सन्तुष्टि
हामी सधैँ कार्य समितिमा रहँदैनौं, तर हामीले गरेको काम मृत्युपर्यन्त जीवन्त रहोस् भनेर ‘विराटनगर योग दर्पण’ योग सम्वन्धी स्मारिका तयार गरेका छौं ।
योगप्रेमीले यो जीवन्त इतिहासलाई सहर्ष स्वीकार गर्नुभएको छ । यो पुस्तक तयार पार्दा आफू पनि सहभागी हुन पाएकोमा आफूलाई अत्यन्तै गौरवशाली महसुस गरेको छु ।
शारीरिक रूपमा आफूलाई परिवर्तन गर्न सक्या छैन, म पूर्ण रुपमा योगी हुन सकेको छैन, तर आन्तरिक रूपमा परिवर्तन भएर नै होला सायद आजसम्म मधुमेह, रक्तचाप, थाइराइडजस्ता कुनै पनि रोगहरूले भेटेको छैन ।
आजसम्म महानगर समितिको कोषाध्यक्ष पदमा काम गरेर कार्यकालमा सक्रियपूर्वक कार्य गर्न सकेकोमा आफूलाई गौरवान्वित महसुस गरेको छु । सही नेतृत्व र लक्ष्य पक्का छ भने जस्तोसुकै बाधा परिस्थितिमा पनि सफलता प्राप्त गर्न सकिंदोरहेछ भन्ने एउटा ज्वलन्त उदाहरण हो शिल्पा प्याकुरेल ।
महानगर समितिको यो कार्यबाट प्रभावित भएर केन्द्र, प्रदेश, जिल्ला, महानगर, उपमहानगर, नगर र गाउँपालिकाहरूले आफ्ना दस्तावेजहरू तयार पार्न सकून् भन्ने मेरो कामना छ ।
मैले योगमा लागेर शारीरिक र मानसिक रूपमा धेरै कुरा पाएको छु ।
त्योभन्दा पनि सुख–दुःखमा साथ दिने असल मित्र पाएको छु र सबैभन्दा खुसी म यसैमा छु । यति भन्दै मेरो योग यात्राका दुई शब्द यही अन्त्य गर्दछु । ओ३म् । (मोहनप्रसाद पाण्डे पतञ्जलि योग विराटनगर महानगर समितिका निवर्तमान कोषाध्यक्ष हुन् ।)
(विराटनगर योग दर्पण , २०८२ साउन )
View : 685
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved