Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

प्रतिनिधिसभा निर्वाचन

मधेशमै रक्षात्मक बनेका छन् मधेशवादी दल

उद्‌घोष संवाददाता
१२ फागुन २०८२, मङ्गलवार

सप्तरी । कोशी प्रदेशको सुनसरीबाट कोशी ब्यारेज तर्नासाथ सुरू हुन्छ मधेस प्रदेश । नेपालमा सङघीयता र समावेशिताको मुद्दालाई स्थापित गराउने श्रेय पाएका मधेशवादी दलहरूको उद्गमथलो मधेशमै यसपटकको निर्वाचनमा उनीहरू सबैभन्दा रक्षात्मक देखिएका छन् ।

त्यसो त कोशी प्रदेशमा पनि यो निर्वाचनमा पहिचानको स्वर मलिन बनेको छ । मधेशलाई आधारभूमि ठान्ने मधेशवादी दलहरूको अवस्था पनि यहाँ ठ्याक्कै त्यस्तै देखिएको छ ।

फागुन २१ को निर्वाचन मिति नजिकै आइरहदा दल र तिनका उम्मेदवारहरूले मतदाता आकर्षित गर्न सबै उपाय लगाइरहेका छन् । 

यही क्रममा मधेशमा पनि सबैजसो दलहरू चुनावी सफलता हात पार्न दौडधुप गरिरहेका छन् । यसक्रममा मधेशवादी दलहरू सबैभन्दा पछाडि देखिएका छन् ।

सुनसरीसँग साध जोडिएको सप्तरीको सप्तकोशी नगरपालिका–१ का रामचरित साह मधेसी दलहरूप्रती मधेशका नागरिकको भरोसा उठिसकेको बताउँछन् । 

‘हाम्रा आफन्तले आन्दोलनमा ज्यान गुमाए, त्यतिधेरै रगत बग्यो तर उपलब्धि के भयो ?’, सोमबार कोशी ब्यारेजस्थित चिया पसलमा भेटिएका उनले भने ‘हेर्नुहोला यो पटकको चुनावमा मधेशमा मधेशवादी दलहरूकै हालत एकदमै कमजोर हुनेवाला छ ।’ आफू पहिले सद्भावनामा रहेको र पछि मधेसी जनाधिकार फोरम हुँदै जनमततिर लागेको सुनाएका उनले थपे ‘मधेशवादी दलका नेताहरूको कार्यशैली र कमजोरीले हाम्रो आन्दोलन कमजोर भयो ।’

मधेश आन्दोलनका क्रममा पक्राउ परेर तीन महिना जेलमा बिताएका उनी जसरी मधेशवादी दलहरूसँग विरक्तिएका छन्, यस्तो संख्या बढेको बताउनेहरू धेरै छन् ।  

मधेशका सिराहा, सप्तरी, धनुषा, महोत्तरीलगायतका जिल्लाहरूमा यसपटक मधेशवादी दलहरूप्रतिको मोह ठूलो आकारमा घटेको देखिन्छ । 

‘लगातारको विभाजन, भयानक र लज्जास्पद सत्तामोहले मधेशवादी दलहरूले जनताको भरोसा गुमाएका छन्’ नेपालको संघीयताबारे अनुसन्धान गरिरहेका विश्लेषक अनुभव अजितले भने, ‘यो निर्वाचनमा यहाँका क्षेत्रीय दलहरू पूरै डिफेन्सिभ छन् । यो चुनाव मधेश केन्द्रित दलहरूका लागि ज्यादै चुनौतीपूर्ण देखिएको छ ।’

उनले जसरी मधेशवादी दलहरूलाई चुनौती देखेका छन्, मधेशमा एमाले झन् ठूलो तनावमा देखिन्छ । धनुषा ३ कि एमाले उम्मेदवार जुलीकुमारी महतो ‘पार्टीका नेताहरूले दिने गरेको मधेसविरोधी अभिव्यक्तिले असहज भएको’ बताउँछिन् । 

‘हामीमाथि नेताहरूको बोलीलाई  लिएर प्रश्न उठेका छन् । तर, हामी एमाले मधेशको हीतमा प्रतिबद्ध रहेको प्रष्ट पारिरहेका छौं ।’ 

उनले धेरै कुरा खुलाउन चाहिनन् । तर, उनको प्रचारमा हिंडिरहेका कार्यकर्ताहरू भने अध्यक्ष केपी ओली र सचिव महेश बस्नेतको बोलीले असजिलो पारेको बताउँछन् ।

यसरी मधेशवादी दल र एमालेको माहोल विग्रेको मधेशमा कांग्रेस र रास्वपाको अवस्था उनीहरूको दाँजोमा बलियो देखिन्छ । 

नयाँ पुस्तामाझ चर्चित बालेन शाहका कारण मधेशमा रास्वपामा ठूलो आकर्षण देखापरेको दाबी सो पार्टीले गरिरहेको छ ।

यसपटकको प्रतिनिधिसभा निर्वाचनमा मधेस प्रदेश शीर्ष तहका नेताहरूको प्रत्यक्ष भिडन्तस्थल पनि  बनेको छ । 

कांग्रेस सभापति गगन थापा मात्र होइन, अन्य  आठ दलका अध्यक्षहरू आफैं मधेशको चुनावी मैदानमा छन् । 

जनमत पार्टीका अध्यक्ष सीके राउत सप्तरी–२ बाट उम्मेदवार छन् भने जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सप्तरी–३ मा प्रतिस्पर्धा गरिरहेका छन् । 

संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारी महोत्तरी–३ मा चुनाव लड्दै छन् । 

राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो सर्लाही–२ मा छन् । आम जनता पार्टीका अध्यक्ष प्रभु साह रौतहट–३ मा उम्मेदवार बनेका छन् ।

राष्ट्रिय निर्माण दलका अध्यक्ष समिम मियाँ अन्सारी र समुन्नत नेपाल पार्टीका अध्यक्ष पूर्व आईजीपी सर्वेन्द्र खनाल दुवै बारा–४ मा आमनेसामने भएका छन् । 

नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झा भने कांग्रेसको चुनाव चिह्नमा रौतहट–१ बाट प्रतिस्पर्धामा छन् ।

यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पनि रौतहट–१ बाट चुनावी दौडमा छन् । 

पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधि धनुषा–३ मा छन् भने नारायणकाजी श्रेष्ठ सर्लाही–३ बाट उम्मेदवार बनेका छन् । यसरी मधेसका विभिन्न क्षेत्रमा राष्ट्रिय राजनीतिका प्रभावशाली अनुहारहरू चुनावी परीक्षामा छन् ।

नयाँ हुन वा पुराना सबै दलले मधेशलाई महत्व दिनुको कारण मतदाताको ठूलो संख्या नै हो । 

देशभर रहेका १ करोड ८९ लाख तीन हजार ६८९ मतदातामध्ये ३६ लाख ३६ हजार ४१४ जना मधेस प्रदेशमा छन् । अर्थात् कुल मतदाताको १९.२४ प्रतिशत हिस्सा यही प्रदेशमा केन्द्रित छ । 

प्रतिनिधिसभाका १६५ प्रत्यक्ष निर्वाचन क्षेत्रमध्ये ३२ क्षेत्र मधेसमा पर्दछन् । यसकारण मधेसमा सन्तोषजनक नतिजा निकाल्न सके संघीय सत्तामा प्रभाव जमाउन सहज हुने दलहरूको विश्वास छ ।

रास्वपाले पनि यही गणितलाई आधार मानेर मधेसमा विशेष रणनीति अघि बढाएको छ । 

महोत्तरीको एकडारा गाउँपालिका पुख्र्यौली थलो भएका, युवा पुस्तामाझ लोकप्रिय र जेन–जी आन्दोलनकालका ‘अदृश्य’ नायक भनिएका बालेनलाई अघि सार्दै उसले भावी प्रधानमन्त्रीको रूपमा अघि सारेको छ ।

कांग्रेस सभापति थापा पनि भावी प्रधानमन्त्रीका रूपमा प्रस्तावित छन् ।

२०४८ सालको आम निर्वाचनमा कांग्रेसले हालको मधेस प्रदेशअन्तर्गत पर्ने ३७ मध्ये २९ सिट जितेको थियो, जुन करिब ८० प्रतिशत हो । त्यतिबेला कांग्रेसले देशभर ११० सिट हात पारेको थियो । 

कांग्रेसको त्यही पुरानो विरासत फर्काउने भन्दै उसले मधेसमा योपटक जोड्बल लगाइरहेको छ ।

कांग्रेस, एमाले लगायतका दलहरूले मधेशमा प्रभाव गुमाएर मधेसी दलहरू उदाउने मुख्य अवसर संविधानसभाको पहिलो निर्वाचन बनेको थियो ।

२०६४ सालको निर्वाचन मधेस आन्दोलनको प्रभावबीच सम्पन्न भएको थियो । त्यस चुनावमा मधेसी जनअधिकार फोरमले मधेसका ४८ निर्वाचन क्षेत्रमध्ये १६ सिट जित्दै उल्लेखनीय उपस्थिति देखायो । 

माओवादी मधेसमा ६ सिटमा सीमित रह्यो भने कांग्रेसले नौ सिट जित्यो । एमाले र तमलोपाले पाँच–पाँच सिट पाए । सद्भावनाले चार, स्वतन्त्र उम्मेदवारले दुई र संयुक्त जनमोर्चाले एक सिट जितेका थिए ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा भने एमाले र कांग्रेसले मधेसमा आफनो स्थिति सुधार गरे । एमालेले नौ सिट र कांग्रेसले सात सिट जिते । 

जनता समाजवादी पार्टीले ६, लोकतान्त्रिक समाजवादी पार्टीले तीन, स्वतन्त्र उम्मेदवारले तीन, नेकपा (एकीकृत समाजवादी) ले दुई तथा माओवादी केन्द्र र जनमत पार्टीले एक–एक सिट जितेका थिए ।

निर्वाचनमा मधेसमा जातीय संरचना पनि निर्णायक तत्व मानिन्छ । 

राष्ट्रिय जनगणना, २०७८ अनुसार मधेसको कुल जनसंख्यामा यादव १५.२ प्रतिशत छन्, जुन सबैभन्दा ठूलो समूह हो । 

मुसलमान समुदाय १२.९ प्रतिशतसहित दोस्रो स्थानमा छ । थारू, तेली लगायत गैरदलित समूह र मधेसी दलित समुदायको पनि उल्लेखनीय उपस्थिति छ । 

पत्रकार तथा अभियन्ता भोला पासवानका अनुसार आर्थिक रूपमा सबल र राजनीतिक रूपमा सक्रिय तेली, सुडी र हलुवाई समुदायको प्रभाव मधेस राजनीतिमा स्पष्ट देखिन्छ । ‘यी समुदायको झुकाव बालेनतर्फ देखिन्छ,’ उनले भने ।

मधेस प्रदेशको नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष सोहन साहले आसन्न निर्वाचनलाई समाधानमुखी भन्दा बढी आक्रोश र बद्लावको मनोविज्ञानले निर्देशित चुनावका रूपमा चित्रण गरेका छन् । 

‘जेन–जी आन्दोलनमा भएको मानवीय क्षतिपछि जनतामा असन्तोष बढेको छ । यस्तो अवस्थामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध बालेन उम्मेदवार बन्दा मधेसका मतदाता आकर्षित देखिन्छन्,’ उनले भने । 

साथै, गगन थापाले जेन–जी आन्दोलनको भावनालाई समेट्दै कांग्रेसभित्र नेतृत्व परिवर्तनमा भूमिका खेलेपछि तल्लो तहका कार्यकर्तामा उत्साह देखिएको उनको अनुमान छ ।

View : 141

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved