Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
विचार

मौसमी फल जामुन

५ साउन २०८२, सोमवार

नेपाल, भारतलगायत दक्षिण पूर्वी एसियाका उष्ण मौसमी क्षेत्रको रैथाने प्रजातिको एक बनस्पती हो जामुन   (जामुना) । अन्य भाषाहरुमा जाभा प्लम, ब्ल्याक प्लम, जाम्बुल तथा महाफला भनेर चिनिने जामुनका रुखहरू सदाबहार हुन्छन् ।

गर्मी याममा विशेषगरी असार महिनामा पाक्ने यो फल रसिलो भएको सानो आकारको, पाक्दाखेरी गाढा बैजनी रंगको र भित्र दाना अर्थात बीउ भएको स्वादिष्ट फल हो । गुलियो र केही टर्रो स्वादको जामुन एक विशिष्ट औषधीय गुणले भरिएको हुन्छ ।

जामुनका रुखहरू निकै नै अग्ला झ्याम्म परेका बढीमा २० मिटरभन्दा बढी उचाइ भएका हुने गर्दछन् । खासगरी गर्मीको मौसममा यसका रुखले शितल छहारीको काम गर्ने गर्दछ । साथसाथै यसका फल, पात, बीउ, बोक्रा र जरासमेत अत्यन्त लाभकारी छन् । जुन विभिन्न बिरामीहरूका लागि आयुर्वेदिक औषधिको रुपमा वर्षौंदेखि प्रयोग हुँदै आइरहेको छ । स्वास्थ्य एवम् पोषणको दृष्टिकोणले जामुनको फल सेवन गर्नुका विभिन्न फाइदाहरू रहेका छन् ।

शरीरलाई आवश्यक पर्ने विभिन्न पौष्टिक तत्वहरु जस्तै  भिटामिन ए, भिटामिन सी, फलाम, म्याग्नेसियम, प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम आदि भरपुर मात्रामा पाइने भएकाले जामुन गुणकारी फल सबित भएको हो ।

रोग प्रतिरोधात्मक क्षमताको विकास गर्नुका साथै मधुमेह रोगको लागि नियन्त्रकको भूमिका निर्वाह गर्दछ । जामुनको सेवनले शरीरमा इन्स्युलिनकोे उत्पादन वृद्धि गर्दछ जसले रगतमा चिनीको मात्रा सन्तुलन हुन जान्छ र फलस्वरूप मधुमेहको उचित उपचार प्रदान गर्न मद्दत गर्दछ ।

यसमा फलामको मात्रा पाइने हुनाले हेमोग्लोबिन बढाउने काम पनि गर्दछ । मुटुको स्वास्थ्य, पाचन प्रणाली, जोर्नीको समस्यामा समेत यसले सकारात्मक प्रभाव पार्ने गर्दछ ।  त्यसैगरी उच्च रक्तचापलाई कम गर्ने, अनि चिल्लो पदार्थ अर्थात बोसो घटाउन सघाउ पु¥याउने भएकाले वजन घटाउन चाहनेको लागि अत्यन्तै प्रधावकारी मानिन्छ ।

यो फल गर्मीको मौसममा पाइने भएको कारणले भित्री शरीरको तापक्रममा समेत नियन्त्रण गर्न सहयोग गर्दछ । शरीरलाई शितलता प्रदान गर्ने प्राकृतिक पद्धतिको रुपमा जामुनको फल सेवन गर्न सकिन्छ ।

हरेक फलहरू आ–आफ्नो मौसममा फुल्ने–फल्ने हुन्छन् र ती फलको आ–आफ्नै किसिमका गुण, विशेषत तथा लाभदायिकता हुन्छन् । त्यसैगरी  जामुनको फलका विभिन्न लाभ छन् । यसको फल मात्र नभई बीउ, पात र बोक्रासमेतलाई औषाधिको रुपमा प्रयोग गर्न सकिन्छ ।

यसका अन्य फाइदाहरू पनि छन् जस्तै कब्जियत र पखाला जस्ता पेट सम्बन्धी समस्याको निदान, भरपुर मात्रामा एन्टिअक्सिडेन्ट गुणहरु प्राप्त, रगत बढाउन तथा शुद्धिकरण गर्ने, छालालाई सफा एवं छालाको स्वास्थ्यको लागि प्रभावकारी , घाँटीको लागि अत्यन्तै प्रभावकारी रहेको चिकित्सकहरु बताउँछन् ।

 यस्ता विभिन्न फाइदाजनक तत्वहरुको कारणले जामुनको सेवन यसको मौसममा छुट्याउनै नहुने कुरा हो । समग्रमा शरीरको स्वस्थको निमित्त जामुनको फल सबै उमेर समूहका व्यक्तिले खान मिल्छ ।

स्वस्थको दृष्टिकोणले मात्र नभई जामुनलाई वातावरणीय स्वच्छताको रुपमा पनि हेर्न सकिन्छ । यो बाह्रैमास हरियो भइरहने भएकाले पर्यावरणको सुन्दरता त बढाउने नै भैहाल्यो त्यसमाथि घरको वरिपरि यसको वृक्ष लगाउनाले पर्याप्त अक्सिजन प्राप्त गर्न पनि सकियो ।

समग्रमा यसले प्राकृतिक वातावरण सन्तुलन कायम गर्न मद्दत् गर्दछ । यो फलको रुख प्रायजसो जङ्गलमा पाइने तर  हाम्रो घर–गाउ“मा बगैंचामा, खेतवारीमा कमै मात्रामा रोप्ने गरिन्छ, यो कारणले यसको प्रवद्र्धन हुन सकेको छैन ।  

खरिद बिक्रीका लागि पर्याप्त बजार अर्थात ठूलो उत्पादन नभएकाले धेरै परिमाणमा बिक्री वितरण गरेको पाइँदैन । यसको बजार सीमित छ । केही स्थानीय हाटबजारमा राखेको पाइन्छ । अधिक प्रयोग गर्न सकियो भने यसको बजार पनि विस्तार हुन सक्छ । जसले गर्दा आर्थिक दृष्टिकोणबाट पनि यसको महत्वलाई झल्काउन सकिन्छ । ओझेलमा परेको  र कम मात्रामा प्रबद्र्धन भएकाले पाउनु पर्ने जति लाभ भने प्राप्त गर्न सकिएको छैन ।

 जे कुराको पनि एउटा सीमा हुन्छ । अर्थात फाइदा छ भने सँगसँगै बेफाइदा पनि जोडिएर आएको हुन्छ । ठिक्क मात्रामा प्रयोग गर्दा फाइदा हुन्छ । बढी मात्रा प्रयोग गर्दा दबाई पनि विष बराबर हुन्छ । त्यसैगरी जामुनको सेवनमा पनि हद भन्दा बढी जानु भएन । बढीमा २५० ग्रामसम्म दैनिक रुपमा खान सकिन्छ र त्योभन्दा माथि गयो भने यसले फाइदा भन्दा बेफाइदा निम्त्याउन सक्ने भएकाले ठिक्क मात्रामा दैनिक सेवन गरी यसबाट फाइदा लिन सकिन्छ । 

त्यसैगरी हरेक घरमा आफ्नो बगैंचामा जामुनको वृक्षरोपण गरी वातावरणीय लाभ लिन र यसको प्रवद्र्धन गरी आर्थिक लाभ लिनसमेत अत्यन्तै आवश्यक छ । अतः गुणकारी, मौसमीफल रोपौं, सेवन गरौं र सेवन गर्न प्रोत्साहन गरौं । 

View : 749

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved