Biratnagar, Morang, Nepal
१६ वैशाख २०८१, आइतवार
+977 21 450305, 515728, 578305
विचार

विचार

एलिट क्लबमा राजनीतिक बहस

प्रश्न उठ्ने गर्छ एलिटक्लबमा साप्ताहिक वा सामयिक रूपमा भएका बहसबाट उत्पादन भएका विचारहरू कहाँ खपत हुन्छन् ? पत्रपत्रिकामा आउँछन् ? स्थानीय, प्रदेश वा संघीय सरकार समक्ष पुर्‍याइन्छ ? अनि राजनीतिक दलहरूले त्यो विचार नीति निर्माणमा उपयोग गर्दछन् ? यी सबैको एउटै जवाफ हो– अहँ । हामी छलफल गर्छौं, निष्कर्ष बोकेर घर जान्छौं ।
यज्ञप्रसाद शर्मा
१६ फागुन २०८०, बुधवार

देशका तीन मूर्धन्य राजनीतिशास्त्रीहरू विराटनगर आउनु भएको अवसरमा गत बुधबार एलिट क्लब विराटनगरमा अन्तरक्रिया गर्ने अवसर प्राप्त भयो । तीन राजनीतिशास्त्रीहरू प्राडा लोकराज बराल, प्रा कृष्ण खनाल र प्राडा कृष्ण हाछेथूको परिवर्तित परिवेशसाग सम्बन्धित विचार र विश्लेषण सुन्ने अवसर प्राप्त भयो । जनमत बुझ्ने सन्दर्भमा विभिन्न जिल्लाको यात्रामा रहनु भएका उहाँहरूसँग क्लबको हलमा अन्तरक्रिया आयोजित थियो । अगुवा राजनीतिज्ञ तिनैजना नेपालको समकालीन राजनीतिलाई मार्गदर्शन गर्ने क्षमता राख्नुहुन्छ । जब राजनीतिक दलहरूराष्ट्रिय राजनीतिक विश्लेषणमा अल्मलिन्छन्, मार्गचित्र बनाउन सक्दैनन् तब सोध्ने उहाँहरूलाई नै हो । सञ्चारकर्मीहरू समसामयिक राजनीतिक घट्नाको विश्लेषण गर्नुपर्दा उहाँहरू मध्येकैमा पुग्नुपर्दछ ।

उहाँहरू जतिकै राजनीतिशास्त्रमा दख्खल राख्नु हुने अग्रज प्राध्यापक कृष्ण पोखरेल विराटनगरमा निवृत्त जीवन विताइरहनु भएको छ । उहाँलाई सञ्चारकर्मीहरू खोजी–खोजी आउाछन् र सोधीसोधी राजनीतिक खुराकका सामग्री तयार गर्दछन् । तर यस लेखमा तीन पाहुना प्राध्यापकहरूसँगको अन्तरक्रियाको मात्र चर्चा गरिएको छ, किनकि प्रा पोखरेल विराटनगरबासी हुनुहुन्छ र एलिट कलबका पूर्व महासचिव पनि । ऊहाँ नै यस अन्तरक्रियामा अतिथि वत्ताहरू ल्याउन सम्बन्ध सेतु बन्नुभएको थियो । त्यसैले अन्तरक्रिया तीनजना पाहुनाहरूसँग नै हो ।

राजनीतिलाई नीति मध्येको माउनीति मानिन्छ । राजनीतिक कर्ममा संलग्नहरूलाई राजनीतिज्ञ राजनीतिक दलका कार्यकर्ता वा नेताका रुपमा चिनिन्छन् । राजनीतिक नेता कार्यकर्तालाई शिक्षा दिने राजनीतिशास्त्री अर्थात राजनीतिका प्राध्यापकहरू अर्थात गुरु हुनुहुन्छ । नेपालमा राजनीतिशास्त्र पढाउने गुरुहरूको कमी छैन, संख्या ठूलै छ । तर राजनीतिशास्त्र पढाउने अधिकांश गुरुहरूका पनि अग्रज गुरु उहाँ तीनजना । उहाँहरूमध्ये पनि पूर्व राजदुत प्राडा लोकराज बराल सबैका गुरु अर्थात राजनीतिशास्क्रका महागुरु हुनुहुँदो रहेछ । यस्ता विद्वान वर्गको आगमनको अवसरमा एलिटक्लबले अन्तरत्रिया कार्यक्रम राखेर राष्ट्रिय राजनीतिको विषयमा  विमर्श गर्ने प्रयास गरेको थियो ।

एलिटक्लब समसामयिक राजनीतिक घट्नाक्रमबारे छलफल गर्ने साझा थलो हो ।  खास खास समयमा औपचारिक बहस वा अन्तरक्रािय गर्दछ भने हरेक शुक्रबार नियमित रुपले विमर्श कार्यक्रम सञ्चालन गरिरहेको छ । कहिले विषय तोकेर त कहिले विषय नतोकी खुल्ला । जुन शुत्रबार विषय तोकिएको छैन, सहभागीहरूले छलफल गरेर समसामयिक विषय छान्ने र त्यसैमा केन्द्रित भएर विचार आदानप्रदान गर्ने चलन छ । यसप्रकार छलफल अन्तरक्रियाको माध्यमबाट विचार निर्माण गर्ने काम एलिट क्लबले नियमित रूपमा गर्दै आइरहेको छ ।

प्रश्न उठ्ने गर्छ एलिटक्लबमा साप्ताहिक वा सामयिक रूपमा भएका बहसबाट उत्पादन भएका विचारहरू कहाँ खपत हुन्छन् ? पत्रपत्रिकामा आउँछन् ? स्थानीय, प्रदेश वा संघीय सरकार समक्ष पुर्‍याइन्छ ? अनि राजनीतिक दलहरूले त्यो विचार नीति निर्माणमा उपयोग गर्दछन् ? यी सबैको एउटै जवाफ हो– अहँ । हामी छलफल गर्छौं, निष्कर्ष बोकेर घर जान्छौं । त्यसो भए छलफल र छलफलपछिको निष्कर्षको अर्थ के रह्यो भनेर तर्कशास्त्रीहरूले तर्क प्रश्न गर्न सकिन्छ । 

बजारशास्त्रीहरूले बिक्री नहुने माल उत्पादन गरेर व्यवसाय कसरी चल्छ, भन्न सक्नुहुन्छ । यस्तो प्रश्न उठ्नु स्वाभाविक छ । अहिलेको व्यापारिक युगमा मानिसहरूले यस्तो प्रश्न आमरुपमा गर्छन्, गर्नुपर्दछ । किनकि मानिसहरूलाई तत्काल प्रतिफल चाहिएको छ । केही गर्‍यो कि त्यसवापत प्रतिफल के हातलाग्यो भनेर हिसाब किताब गरिहाल्ने चलन छ । बस्तुतः ज्ञान वा विचार तत्काल बिक्री हुने बजारू माल होइन । हाम्रो निष्कर्ष यो छ लिनोस् भन्दै हिड्ने हो भने कसैले सुन्नेवाला छैन । लिने त परै जाओस् । लेखेर वितरण गरौं, पढ्नेवाला छैन । किनकि अहिलेको मानव अझ जिम्मेवार पदमा बसेकाहरू अरुको सल्लाह, सुझाव वा निष्कर्ष ग्रहण गर्न तयार छैनन् । विचार वा विद्वताको कदर हुन छाडेको छ । पदमा पुगेपछि आफूलाई सर्वगुणी र सर्वज्ञानी ठान्ने मान्छेका लागि बुद्धि र ज्ञानभन्दा पद ठूलो हो । त्यही भएर बौद्धिक बहसको मान्यतामाथि प्रश्न उठाउने गरिन्छ । यस्ता कुरालाई विकास भनिदैन, यस्तो अध्ययन र बहसले कामको दर्जा पाउँदैन । त्यसै भएर हामीले देखिरहेका छौं कि कुनै पनि नेता वा कार्यकर्ता पदमा पुग्नुअघि सामान्य देखिन्छ तर पदमा पुग्नासाथ ऊ अरुलाई उपदेश बाँड्ने हैसियतमा पुगेको ठान्छ र अर्ती बाँड्न थालिहाल्छ ।

तत्काल बिक्री होस् वा नहोस् तर विचार उत्पादन गर्नु र गरिहनु बौद्धिक वर्गको कर्तव्य हो, नियमित कर्म हो । चाणक्यका नीति र कौटिल्यको अर्थशास्त्र अहिले पनि उत्तिकै पढिन्छ, उतिकै महत्वपूर्ण मानिन्छ । वेद, पुराण, महाभारत, रामायाण,गीता, त्रिपिटक, कुरान र बाइबलका सन्देसहरू अहिले पनि उत्तिकै मार्गदर्शक मानिन्छन् । तिनहरूले दिने ज्ञान र विचारअझै पनि उपयोगी छन्, समाजका लागि । अनेकौ मानिसहरू त्यसबाट आफ्नो जीवनदर्शन मिलेको बताउँछन्, त्यसैमा आधारित साधनामा लीन छन् । तसर्थ तत्काल सुन्ने वा बुझ्ने मानिसहरू नभए पनि विचार निर्माण निरन्तर भइरहनु पर्दछ । विचार आफैंमा उर्जा हो, शक्तिको पुञ्ज हो । शक्तिको नियम नै हो कि त्यो उत्पादन भएपछि नष्ट हुँदैन, पृथ्वीमा विचरण गरिरहन्छ । तत्काल केही शब्दमा, केही आवाजमा वा केही दृश्यको स्वरुपमा रहला, कालान्तरमा त्यसको स्वरुप बदलिएला तर चिरकालसम्म रहिरहन्छ । जब त्यो विचार वा ज्ञानको आवश्यकता दुनियालाई पर्दछ तब त्यसलाई जतनले उठाइन्छ तर जीवनमा अपनाइन्छ । समाजले ग्रहण गर्दछ । विचार उत्पादन र उपयोगको प्रणाली यही हो ।

अब फर्कौं गत हप्ताको अन्तरक्रियातर्फ । तीनमध्ये पहिलो वक्ता प्राडा कृष्ण हाछेथू हुनुहुन्थ्यो । उहाँले भन्नुभयो कि एलिट क्लबको बारेमा सानैदेखि सुन्दै आउएको थिएा । बीपी कोइराला, मनमोहन अधिकारी, गिरिजाफ्रसाद कोइराला जस्ता राजनीतिक आन्दोलनका शीर्षस्थ व्यक्तिहरू एलिट क्लबमा आएर विचार व्यत्त गरेको कुरा पढेको थिएँ । क्लबमा व्यक्त गरिएको विचारले राष्ट्रिय राजनीतिमा मान्यता पाएको चर्चा सुनेको थिएँ । ठूला नेता यहीं, राजनीतिक विमर्श गर्ने थलो यहीं भएकाले पनि हुनसक्छ त्यसबेला भनिन्थ्यो रे, ‘देशले भोलि जे गर्दछ आज त्यो विराटनगरले सोच्छ ।’ 

सानैदेखि यो भनाइ सुन्दै आउनु भएका प्रा हाछेथूले राजनीतिशास्त्र अध्ययन गरिहँदा र राजनीतिक विचार विमर्शमा भाग लिइरहँदा एक दिन म पनि एलिट क्लबमा गएर बोल्ने हुन्छु भन्ने सपना बुन्नु भएको रहेछ । प्रा हाछेथूले यही कुरा स्मरण गर्दै भन्न्नुभयो, ‘मेरो त्यो सपना आज पूरा भएको छ । वक्ताको रुपमा एलिट क्लबको मञ्चमा प्रस्तुत हुन पाएको छु ।’ त्यसपछि उहाँले क्लबप्रति आफ्नो अपेक्षा पनि राख्नुभयो, राष्ट्रिय राजनीतिको रुपान्तरणमा क्लबले उत्प्रेरकको भूमिका निर्वाह गर्न सक्नुपर्दछ । विराटनगरप्रति सिङ्गो देशको त्यो अपेक्षा छ ।

प्रा कृष्ण खनालले देशमा उठिरहेका प्रतिगामी सोचहरू पूरा हुने सम्भावना नभएको विश्लेषण बताउँदै दलका केही नेताहरूको गलत भूमिकाका कारण व्यवस्थाको भविष्यमाथि वितृष्णा बढेको वा प्रश्न उठिरहेको भए पनि नेताहरूको आचरण र व्यवहारमा सुधार गरेर नै राजनीतिलाई सही मार्गमा ल्याउन सकिने विश्वास व्यक्त गर्नुभयो । नेताहरू सच्चिए हाल देखिएका असन्तुष्टीहरू सम्बोधन हुनसक्ने सम्भावना पनि रहन्छ, उहाँले बताउनु भयो । उहाँले बहुदलीय व्यवस्थामा दलको विकल्प निरङ्कुशता हुन नसक्ने जिकिर गर्दै तत्काल नेतृत्वदायी भूमिकामा रहेका राजनीतिक दलहरूले बाटो देखाउन सकेनन् भन्दैमा दलीय व्यवस्था नै खराब भन्न नमिल्ने तर्क गर्नुभयो । 

उहाँले संघीय व्यवस्था तुलनात्मक रुपमा खर्चिलो भएको, प्रदेश सरकारले ठोस काम गरेर जनतामा राम्रो छवि बनाउन नसकेको र समानुपातिक प्रतिनिधित्वको सवालमा पछाडि परेको वर्ग र समुदायलाई अवसर नदिई त्यसको सट्टा टाठाबाठा, आफन्त, आसेपासे र चुनाव हारेका नेतालाई थन्क्याउने थलोका रूपमा दुरुपयोग भएको कारण त्यसको औचित्यमाथि प्रश्न उठिरहेको सन्दर्भ उल्लेख गर्दै भन्नुभयो, यसको सही जवाफ अहिलेका नेताहरूले दिनसक्नु पर्छ । पुराना राजनीतिक दललाई गाली गर्दै राजनीतिक सतहमा उदाएका नयाँ दलहरूले पनि जनतामा आशाको दियो जगाउन नसकेको ठहर गर्दै प्रा खनालले भन्नुभयो, उनीहरूले पनि परिवर्तन चाहने जनताको विश्वास जित्न सकेको पाइएन ।

प्राडा लोकराज बरालले नेताहरू दुरदर्शी हुनुपर्ने हो तर नेपालका नेताहरूमा दुरुदर्शीताको गुण पटक्कै नदेखिनु चिन्ताको विषय हो । उहाँले भन्नुभयो, विकास अभियानको नाममा बनेका अनावश्यक संरचना हुन् वा देशले लिएको नीति कुनैले पनि मुलुकको भविष्य सुनिश्चित भएको देखाउँदैन । क्रान्तिको नेतृत्व गर्ने राजनीतिक दलले देश निर्माणको नेतृत्व गर्न नसकेको देखियो भन्दै नेताको कार्यशैली परिवर्तनका लागि जनताले नै दवाव दिनुपर्ने अवस्था आएको बताउनुभयो । उहाँले एलिट क्लबको मञ्चबाट राजनीतिक नेताहरूलाई राष्ट्रिय एजेन्डाहरू पहिचान गरी साझा धारणा बनाउन र राष्ट्रको विकासको मुद्दामा एक भएर अगाडि बढ्न जरुरी रहेको बताउनु भयो । ‘राष्ट्रिय मुद्दाहरूमा प्रमुख राजनीतिक दलहरूबीच साझा दृष्टिकोण नबनेसम्म मुलुकको विकासले गति लिन र भविष्य सुनिश्चित हुन सक्दैन । राष्ट्रिय हितको सवालमा विभाजित विचार र दृष्टिकोण हुनु नै देशको बेहाल र जनतामा चरम निराशाको मूल कारण हो, उहाँको तर्क थियो ।

कार्यक्रममा सधैंझैं सहभागीहरूले जिज्ञासा राख्नुभयो, वक्ताहरूले सम्बोधन गर्नुभयो । उक्त अवसरमा राजनीतिशास्त्रीहरू एवम् क्लबका पूर्वअध्यक्ष महेन्द्रप्रसाद रिजाल एवम् पूर्व महासचिव प्रा कृष्ण पोखरेलले पनि विचार व्यक्त गर्नु भएको थियो । मेरो लागि पनि ऊक्त कार्यक्रम खास थियो । किनकि अरुबेला कार्यक्रम सञ्चालकको भूमिकामा रहने म त्यसदिन सभाध्यक्षको भूमिकामा थिएँ । अझ भनौ, त्यस महत्वपूर्ण कार्यक्रमको अध्यक्षता गर्ने अवसर पाएको थिएँ । 

अर्थसचिव मणि अर्ज्यालले सञ्चालकको र कार्यसमिति सदस्य सुशीलकुमार झा स्वागतकर्ताको भूमिकामा हुनुहुन्थ्यो । जे होस्, एलिट क्लबमा फागुन ९ गते बुधबार अपरान्ह भएको छलफलमा नेपालको राजनीतिक अवस्थाको चिरफार राम्रैगरी भएको छ । हाम्रो अभ्यासले संघीयताको मर्म बोक्न नसकेको र जनअपेक्षा पूरा गर्न नसक्दा असन्तुष्टी बढेको निष्कर्ष निकालिएको थियो । प्रदेश संरचना र समानुपातिक प्रनितिधित्वको नाममा भएका गलत अभ्यास जनताले नरुचाएको सबैको बुझाइ थियो । ठूलो र भद्दा संसद र प्रदेश सभाको भीड जनताको नजरमा बोझिलो र अनुत्पादक महसुस भएको निष्कर्ष पनि निकालिएको थियो । 

त्यस्तै बहुदलीय व्यवस्था मान्नेहरूले दलभन्दा बाहिर गएर समाधान खोज्न नहुने भन्दै राजनीतिक दललाई सुधार्न आन्तरिक र वाह्य दवाब आवश्यक रहेको ठहर गरिएको थियो । नेता बुढा हुनसक्छन् तर दल बुढो हुन सक्दैन भन्ने मान्यताका साथ समयसापेक्ष नीति लिएर अगाडि बढ्छ भने पुराना राजनीतिक दलहरूले पनि जनताको विश्वास पाउनसक्ने छ । जनताले खोजेको परिवर्तन प्रतिगमनको बाटोबाट प्राप्त गर्नसकिने सम्भावना छैन, त्यसैले सानोतिनो असन्तुष्टी देखिंदैमा अलोकतात्रिन्क प्रणालीतिर जनताको रुचि रहेको निष्कर्ष निकाल्नु परिस्थितिको अपव्याख्या मात्र हो ।

yagyasarma@yahoo.com

View : 252

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved