Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

सामान्य बन्दै जनजीवन : त्रासपछिको आशा

जुनु भट्टराई
२ असोज २०८२, बिहिवार

विराटनगर । केही दिनअघि देशभरै चलेको जेन्जी आन्दोलनका कारण विराटनगरलगायत शहर सुनसान बने । बजार बन्द, सडक सुनसान, घरभित्र कैद झैं जीवन बिताउन बाध्य बनायो । 

तीन दिनसम्म निशेधाज्ञा र कफ्र्यूले सामान्य नागरिकको दैनिकी शून्यमा झारिदियो । बिहान बेलुकाको छाक टार्न पनि कामको भरमा आशा बाँधेर बस्नेहरूको जीवन थिलथिलो नै भयो । 

ती दिनहरू धेरैका लागि सम्झनासँगै निसास्सिएको त्रासको बोझ बने । तर अहिले सडकमा चहलपहल बढ्दै छ, पसल खुल्न थालेका छन्, र जीवन फेरि आफ्नै लयमा फर्कंदैछ । त्रासपछि पलाएको एउटा साझा भावना भने हो—आशा ।

विराटनगर–७ की सीता राई सडक छेउमा मकै पोल्दै दैनिक गुजारा गर्दै आएकी छन् । त्यो उनको कमाइको एकमात्र माध्यम हो । 

उनी सम्झन्छिन्, आन्दोलनको दोस्रो दिन त घरको ढोका नै खोल्न डर लाग्यो । बाहिर हिड्ने अवस्था नै थिएन, केही दिनमै अवस्था सामान्य बन्ला मैले त सोचेकै थिइन’, दैनिकी सामान्य अवस्थामा पुगेपनि मनमा अझै कता कता अनौठो डर भने अझै बाँकी रहेको उनी बताउँछिन् ।’

उनले मुस्कुराउँदै थपिन् अब सडकमा आगो बालेर मकै पोल्दा मन हलुका हुन्छ । काम गर्न पाउनु नै ठूलो राहत रहेछ ।

त्यस्तैगरी विराटनगर–१२ का ३८ वर्षीय सिटी सफारी चालक दीपककुमार मण्डल जोगवनी सीमादेखि विराटनगरसम्मको रुटमा सिटी सफारी चलाउँदै आएका छन् । 

मण्डलको आँखामा पनि त्यही आन्दोलनले मनमा निम्त्याएको त्रास अझै पनि हट्न सकेको छैन । 

उनले भने, हामी यात्रु चढाएर मात्र आम्दानी गर्छौं । तीन दिनसम्म सडक सुनसान भयो । सफारी चलाउनै पाइएन ।

घरभाडा कसरी तिर्ने भन्ने चिन्ताले रातभर निद्रा लागेन, केही बेर मौन रहेर फेरि उनले भने अब फेरि सडकमा यात्रु देख्दा जिन्दगी फर्किएको जस्तो लाग्छ । दशैं आउँदैछ, ऋण नलिई चाड पार गर्ने रहर छ । भगवानले साथ दिन्छ भन्ने आशा राख्छु ।

दैनिक मजदुरी गर्दै आएका रामप्रसाद यादवले आफ्नो पीडा पोख्दै भन्छन्, ‘ज्याला नपाए बेलुकी भात पकाउन सकिदैन । ती तीन दिनमा चुल्हो बाल्नै मुस्किल भयो । 

बच्चाले भोकले रुन थालेपछि मन पोल्यो । तर के गर्ने ? हामीजस्ता श्रमिकलाई यस्तो अवस्थामा पीडा त हुन्छ नै । 

उनको स्वर गम्भीर थियो, तर त्यसैमा आशा पनि मिसिएको थियो, अब फेरि काम पाइने भएको छ । दसैंमा छोरीलाई सानो कपडा दिन पाउँदा उसको खुशी नै मेरो दशैं हुनेछ ।’

जेन्जीको आन्दोलनको समयमा निम्तिएको एक प्रकारको त्रासले व्यापारीलाई पनि अछुतो राखेन । 

विराटनगर–९ की रीता श्रेष्ठ किराना पसल चलाउँछिन् । उनको पसल बन्द हुँदा ग्राहकले फोन गरेर सामान माग्थे । 

‘हामीसँग त के गर्ने उपाय थिएन । अहिले पसल खुले पनि थोरै सामान छ, धेरै सामान ल्याउन बाँकी छ’ उनी आफ्नो समस्या सुनाउँछिन् । तर उनी निकै आशावादी देखिन्छिन् ‘दशैंमा ग्राहकलाई निराश पार्नु हुँदैन । जसरी पनि सामान ल्याएर बेच्ने छौं । आखिर चाडपर्व त सबैसँग मिलेर मनाउने हो ।’

यस्तै अनुभव छ, नाड्लो ब्यापार गर्दै आएका शारदा विश्वकर्माको पनि । उनी भन्छिन्, ‘तीन चार दिनको आम्दानी गुम्दा ठूलो असर प¥यो ।

सामान बेचेको थोरै फाइदाले हो घर चलाउने, दशैं आउँदैछ, बच्चाले नयाँ लुगा माग्दा मनमा चिन्ता बढ्छ । तर कमाइ गरेर खुशी पार्न पाए, त्यो नै मेरो लागि सबैभन्दा ठूलो पर्व हो ।’

आन्दोलनपछि देखिएको तनावपूर्ण ती दिनहरूले सबैलाई मानसिक रुपमा विक्षिप्त बनाए पनि अहिले प्राय सबैको एउटै आवाज भने देखिन्छ, ‘जीवन चल्नैपर्छ, श्रममै भरोसा छ ।’

सडकमा चहलपहल बढ्दैछ । टोलमा फेरि रमाइलो सुनिन थालेको छ । अनुहारमा अझै चिन्ता झल्किन्छ तर त्यो चिन्तामाथि आशाको मुस्कान पलाइसकेको छ । 

सर्वसाधारण नागरिकले बिगत तीन–चार दिनको असहज समयमा धेरैले बुझ्न पाए—अनिश्चितता जुनसुकै बेला आउन सक्छ । तर जीवनलाई सामान्यतर्फ फर्काउने शक्ति श्रमकै हो । 

अब दशैं नजिकिदै गर्दा उनीहरू अझै चिन्तित छन्, तर श्रम गर्ने हातमा भरोसा राख्दै चाडलाई मुस्कानसहित स्वागत गर्ने तयारीमा जुटिरहेका छन् । यही आशा र आत्मविश्वासले विराटनगर फेरि जीवन्त बन्दै गएको छ ।

View : 378

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved