विराटनगर । झापा दमक–३ ढुकुरपानीका ६३ वर्षीय पुजन दाहाललार्ई तीन वर्षअघि घरअगाडि यति ठूलो टावर बन्छ भन्ने विश्वास नै थिएन । तर अहिले उनको घरअगाडि गगनचुम्बी टावर ठडिएको छ । ‘दमक भ्यु टावर’ भनिएको यो टावरको निर्माण कार्य यसै माघ महिनाभित्र सम्पन्न हुँदैछ ।
भ्यु टावर नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा बनेको हो । उनी प्रधानमन्त्री हुँदा शिलान्यास गरिएको टावरलाई उनीपछिको सरकारले पनि निरन्तरता दिएपछि निर्माण सम्पन्न भएको हो ।
सुरुका दिन भ्यु टावर बन्ला वा नबल्ना भन्नेमा निकै दुविधा रहेछ पुजनलाई । अब भने जुन उद्देश्यका साथ भ्यु टावर बनेको छ, त्यसअनुरुप टावर चल्छ कि चल्दैन भन्ने पिर परेको छ दाहाललाई । उनी भ्यु टावर निर्माणका लागि निःशुल्क जग्गा प्रदान गर्ने मध्येका एक हुन् ।
उनलाई दमक भ्यु टावर निर्माण भए पनि कतै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थलको हालत त हुन होइन भन्ने चिन्ता छ । जग्गादाता दाहाल डेढ अर्ब भन्दा बढी लगानीमा बनेको भ्यु टावर सञ्चालन गर्नका लागि कुनै कार्यविधि नबनाएकोमा चिन्तित छन् । जसले गर्दा यति धेरै लगानीको प्रतिफल सुनिश्चितता नहुने पो हो कि भन्ने आशङ्का उब्जिएको दाहाल बताउँछन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको परिकल्पनामा दृश्यावलोकन स्तम्भ (भ्यु टावर) बनाउने हल्ला सुन्दा दाहाल जस्तै ढुकुरपानीका वासिन्दाले सुरुमा पत्याएका थिएनन् । ‘हेर्दाहेर्दै १८ तलाको टावर बनिसक्यो,’ स्थानीय नरेन्द्र गौतम तीन वर्षअघि सम्झिदै त्यो बेला धानखेती मात्र रहेको ठाउँको अहिले रुपरेखा नै परिवर्तन भएको बताउँछन् । ठुलो सहर बस्ला जस्तो देखिए पनि भ्यू टावर सञ्चालन हुनेमा भने उनी पनि ढुक्क देखिदैनन् ।
‘दमक बजार क्षेत्रबाट निकै टाढाको दुरीमा भ्यु टावर बनेको छ’ दाहाल भन्छन्, ‘व्यावसायिक टावरको रूपमा भ्यु टावर निर्माण गरिएको भनिएको भने पनि भित्री सडकले नछोएको स्थानमा १८ तले टावर निर्माण भएकोले यसभित्र बैंक, वित्तीय संस्था, मार्केट सञ्चालन हुनेमा म चाहिँ त्यति विश्वस्त छैन ।’
राष्ट्रिय गौरवको परियोजनाका रूपमा दमक भ्यु टावरको निर्माण कार्य दमक बजारभन्दा सात किलोमिटर टाढा ढुकुरपानी गाउँमा २०७६ साल असार २७ गते सुरु भएको थियो । निर्माण कम्पनी आशीष ओम साइराम जेभीले यही माघ महिनाभित्र नै भ्यु टावर निर्माणको काम पूरा गरी सरकारलाई हस्तान्तरण गर्ने बताएको छ ।
भ्यु टावरको निर्माणमा रु एक अर्ब ३८ करोड १८ लाख चार हजार पाँच सय ६९ लाग्ने सुरुको सम्झौता थियो । पछि नौ प्रतिशत लगानी बढेर कूल लागत भ्याटबाहेक रु एक अर्ब ५० करोड ६३ लाख ८५ हजार नौ सय ६४ खर्च भएको छ । यही महिना निर्माण सम्पन्न हुने बताइएको भ्यु टावर सञ्चालनका बारेमा कुनै खाका भने तयार भएको छैन । जसका कारण भ्यु टावर कतै रमिता हेर्ने स्थानका रूपमा मात्र पो सीमित हुने हो कि भन्ने चिन्ता देखिएको छ ।
भ्यु टावर निर्माण हुने भन्ने भएपछि २१ जना स्थानीयले करिब पाँच बिघा जग्गा निःशुल्क प्रदान गरेका थिए । सोही स्थानमा अहिले १८ तलाको कङ्क्रिट ढलान र त्यसमाथिको २८ मिटर अग्लो स्टिल टावर निर्माणको काम पूरा भएको छ । आशीष ओम साइराम जेभीका सब–इन्जिनियर शुभशंखर बिराजीका अनुसार टावर निर्माणको सम्पूर्ण काम पूरा भएर अहिले रंगरोगनको काम भइरहेको छ ।
निर्माण कम्पनीका अनुसार भ्यु टावरको पूरै भवनको संरचना एक सय मिटर अग्लो रहेको छ । यो काठमाडौंको पुनः निर्मित भीमसेन धरहराभन्दा १६ मिटर अग्लो हो । हालसम्म १८ तलाको भवन निर्माणसँगै परिसरको टिकट काउन्टर, कोसेली घर, चिल्ड्रेन पार्क, सार्वजनिक शौचालय र खुला ठाउँ थिएटरको निर्माण सम्पन्न भइसकेको छ । टावरको हरेक तला चार मिटर उचाइको छ ।
भूकम्प, चट्याङ र आगलागी प्रतिरोधी प्रविधि प्रयोग गरेर निर्माण गरिएको हुँदा यो भ्यु टावर सबै प्रकारका जोखिमका दृष्टिले सुरक्षित र अत्याधुनिक रहेको निर्माण कम्पनीको दावी छ ।
चट्याङ नलागोस् भनेर ‘लाइटिङ एरेस्टर’ उपकरण र आगलागी रोक्न स्वचालित ‘स्प्रिङ्कल सिस्टम’ भवनमा जडान गरिएको छ । स्प्रिङ्कल सिस्टम भनेको आगलागी भएको आफै थाहा पाउने र आफै पानी हालेर निभाउने प्रविधि हो । भवनका सबै तलामा पिउने पानी पुर्याउने प्रशोधन प्लान्ट जडान गरिएको छ भने शौचालयमा प्रयोग भइसकेको पानीलाई प्रशोधन गरेर बगैंचामा प्रयोग गर्न सकिन्छ ।
विस्तृत परियोजना प्रस्तावअनुसार निर्माण गरिएको यस भ्यु टावरको भूइँतलामा ४० वटा चार चक्के र दुई सय वटा दुई चक्के सवारीसाधन अट्ने क्षमताको पार्किङ स्थल रहेको छ । चार वटा तलामा व्यापारिक प्रयोजनका पसलहरू, पाँचौ तलामा सेमिनार हल, छैटौंदेखि नवौं तलासम्म बैङ्क, वित्तीय संस्थालगायत व्यापारिक केन्द्र, दशौंदेखि चौधौं तलासम्म कृषि तथा औद्योगिक सामानको प्रदर्शनी हल, पन्ध्रौं र सोह्रौ तलामा रेस्टुरेन्ट र लज सञ्चालन प्रयोजनका लागि तयार गरिएको छ । सत्रौं र अठारौं तलामा दृश्यावलोकन उपकरणसहितको कक्ष रहेका छन् ।
ढुकुरपानीमा भ्यु टावर निर्माणसँगै त्यस आसपास नयाँ शहर बसाउने सरकारी योजना थियो । तर भ्यु टावर निर्माण भएको आसपासका स्थानमा नयाँ सहर निर्माणको लागि ‘स्मार्ट सिटी’ बनाउने नगरपालिकाको योजना स्थानीयको असहयोगका कारण अघि बढ्न नसकेको दमक नगरपालिका–३ का वडाध्यक्ष नवीन बराल बताउँछन् ।
बरालले दमक भ्यू टावरसँगै पूर्वतर्फ टाँसिएको ५९ बिघा जग्गामा दमक नगरपालिकाले ‘स्मार्ट सिटी’ बनाउने योजनाअन्तर्गत एकीकृत जग्गा व्यवस्थापन प्रक्रिया सुरु गरे पनि जग्गादाताले जग्गा दिन तयार नभएपछि ‘स्मार्ट सिटी’ बनाउने योजना असफल भएको बताए ।
दमक नगरपालिकाले ‘नयाँ दमक’ नामकरण गरी नयाँ र व्यवस्थित ‘स्मार्ट सिटी’ परियोजना सञ्चालनका लागि अघिल्लो आर्थिक वर्षमा रु एक करोड बजेट विनियोजन गरेको वडाध्यक्ष बरालको भनाइ छ । तर परियोजना सञ्चालन नभएपछि बजेट फ्रिज भएको उनले बताए ।
दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईं भ्यु टावर निर्माण सम्पन्न भएपछि यसको सञ्चालन गर्ने बारेमा कुनै तहबाट नगरपालिकासँग छलफल र सुझाव लिने काम अहिलेसम्म नभएको बताउँछिन् ।
ठुलो परियोजना रहेकाले पनि भ्यु टावर सञ्चालन गर्न नगरपालिका एक्ले नसक्ने उनको भनाइ छ । केन्द्र वा प्रदेश सरकारले यसको सञ्चालन गर्नुपर्ने र व्यवस्थापनको विषयमा भने नगरपालिकाले सहयोग गर्न सक्ने उनी बताउँछिन् ।
‘भ्यु टावर निर्माण पश्चात् त्यसको व्यवस्थापन गर्ने कुनै सोच र खाका तयार गरेको पाइँदैन’ उपप्रमुख भट्टराई भन्छिन् ‘व्यापारिक केन्द्रका रूपमा विकास गर्ने जुन उद्देश्यले भ्यु टावर जुन स्थानमा निर्माण गरिएको छ, अहिलेको समयमा चुनौती देखिन्छ । हाम्रो तहबाट त्यसको सञ्चालन गर्ने सामर्थ्य पुग्दैन, त्यसका लागि केन्द्र सरकारले नै यसको सञ्चालनको सम्पूर्ण जिम्मा लिनुपर्छ ।’
महालेखा परीक्षकको कार्यालयले दमक भ्यु टावर निर्माणको चरणमा नै यसको सञ्चालन कार्यविधि र लगानीको प्रतिफल सुनिश्चितताका बारेमा प्रश्न उठाएको थियो । माग तथा आवश्यकता पहिचानको आधारमा लगानीको प्रतिफल सुनिश्चित हुने गरी यस्ता आयोजना सञ्चालन गर्नुपर्ने भन्दै सरकारलाई सचेत गराएको थियो ।
View : 547
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved