Biratnagar, Morang, Nepal
१८ माघ २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
विचार

अन्तर्राष्ट्रिय शिक्षा दिवसमा नसमेटिएका पक्षहरू

अन्तर्राष्ट्रिय शिक्षा दिवसको मर्म बालबालिकाहरूको सर्वाङ्गिण विकास, उनीहरूको मानसिक स्वास्थ्य र व्यक्तित्व निर्माणमा केन्द्रित हुनु पर्छ । शिक्षा केवल किताबी ज्ञानमा सीमित हुनु हुँदैन, यो जीवनोपयोगी सीप, आत्मनिर्भरता र सामाजिक उत्तरदायित्व सिकाउने प्रक्रियासँग गहिरो रूपमा जोडिनु पर्छ ।
अधिवक्ता खुशीराज गौतम
१७ माघ २०८१, बिहिवार

Advertisement

            वर्तमान समयमा विश्वव्यापी सञ्चार र प्रविधिको अभूतपूर्व विकासलाई वालवालिकाको शिक्षासँग गाँसेर उनीहरुलाई दक्ष वनाउनु फर्छ । यसमा दुई मत छैन । यसले व्यक्तिहरूलाई मात्र सशत्त बनाउँदैन राष्ट्र निर्माणमा पनि यसको महत्व सर्वाधिक छ । तथापि वालवलिकाको सर्वाङ्गिण विकासको प्रथम पाटो सामाजिकीकरणलाई यस   अन्तर्राष्ट्रिय शिक्षा  दिवसमा खासै समेटिएको देखिदैन ।


    अन्तर्राष्ट्रिय शिक्षा दिवसको मर्म बालबालिकाहरूको सर्वाङ्गिण विकास, उनीहरूको मानसिक स्वास्थ्य र व्यक्तित्व निर्माणमा केन्द्रित हुनु पर्छ । शिक्षा केवल किताबी ज्ञानमा सीमित हुनु हुँदैन, यो जीवनोपयोगी सीप, आत्मनिर्भरता र सामाजिक उत्तरदायित्व सिकाउने प्रक्रियासँग गहिरो रूपमा जोडिनु पर्छ । तर, हाल विद्यालयहरूले बालबालिकाहरूलाई पढाइको भारले थिचिरहेको, छुट्टीका दिनसमेत विद्यालय खोल्ने र उनीहरूको मानसिक स्वास्थ्यलाई बेवास्ता गरिरहेको अवस्था छ ।

विद्यालयहरूको यान्त्रिक प्रणालीले बालबालिकामा विभिन्न मानसिक समस्या निम्त्याइरहेको छ । विशेषगरी, अत्यधिक दबाबका कारण बालबालिकाहरू ‘मास साइकोजेनिक डिसअर्डर’(सामूहिक मनोविज्ञान विकार ) जस्ता मानसिक समस्याबाट ग्रस्त भएका छन् ।
 

बेला बेलामा मास हिस्टिरया (समूहगत अनियन्त्रित भावना) का कारणले विद्यालयमा बालवालिकाहरु समूहगत वेहोस भएको पनि पाइएको छ । बेलायती मनोवैज्ञानिक ‘साइमन वेस्ली’ का अनुसार यस्ता समस्या तत्काल सम्बोधन नगरिए भविष्यमा गम्भीर संकट निम्त्याउन सक्छ । नेपालमा यस्ता समस्या समाधानका लागि कानुनी व्यवस्था रहे पनि यसको प्रभावकारी कार्यान्वयन नहुँदा बालबालिकाहरूको मानसिक स्वास्थ्य थप जोखिममा परेको छ । 

प्रत्येक वर्ष २४ जनवरीमा मनाइने अन्तर्राष्ट्रिय शिक्षा दिवस यस पटक ‘एआई र शिक्षा : स्वचलनको संसारमा मानव एजेन्सीको संरक्षण’ भन्ने नाराका साथ  विश्वभर यो दिवस मनाइयो । शिक्षाले राष्ट्रहरूको विकास र स्थायित्वका लागि महत्त्वपूर्ण भूमिका खेल्छ ।

यही तथ्यलाई मान्यता दिंदै संयुक्त राष्ट्र संघको महासभाले ३ डिसेम्बर २०१८ मा हरेक वर्ष २४ जनवरीलाई ‘अन्तर्राष्ट्रिय शिक्षा दिवस’ मनाउने निर्णय गरेको थियो । 
    द्रुत प्राविधिक विकासका लागि प्राविधिक शिक्षा अति आवश्यक छ भन्ने यस पटकको नाराले नै प्रष्ट पार्छ ।
    

नेपाल सरकारवाट जारी भएको शिक्षा नियमावली २०५९ को नियम ८५ ले विद्यालय बन्द हुने दिनहरूको स्पष्ट व्यवस्था गरेको छ । घटस्थापनादेखि पूर्णिमासम्म, सार्वजनिक बिदा, वर्षे विदा ४५ दिन र स्थानीय चाडपर्वका पाँच दिनसम्म विद्यालय बन्द हुने व्यवस्था नियमावलीमा छ । तर, यस्ता नियमहरू पालना नगरी परीक्षा वा अन्य शैक्षिक कार्यक्रमका नाममा विद्यालय खोल्नु कानुनी अपराध हो ।

मुलुकी अपराध संहिता २०७४ को दफा ५०(३) ले नेपाल सरकारको अवज्ञा अवहेलना गर्ने कार्यलाई कडा अपराधका रूपमा व्याख्या गर्दै तीन वर्षसम्म कैदको व्यवस्था गरेको छ । नेपाल सरकारवाट जारी भएको नियमावलीको अवहेलनालाई फौजदारी कसूर नै मान्नु पर्दछ ।

तर नियमनकारी निकायहरु विद्यालयमा विद्यालय व्यवस्यापन समिति वा प्रधानाध्यापक कसलाई कसूरदार मान्ने भन्ने वारेमा द्विविधामा रहेको देखिन्छ । तथापि प्रधानाध्यापक विद्यालयको सम्पूर्ण जिम्मेवार व्यक्ति रहेकोले प्रधानाध्यापकलाई उन्मुक्ति दिएर यस्तो कसूरलाई सहजै पञ्छाउनु पनि हुँदैन ।

यसरी यस विषयमा नियमनकारीहरुले पर्याप्त चासो नदिंदा बालबालिकाहरूले अनावश्यक शैक्षिक दबाब सहनु परिरहेको छ । यस्ता कार्य रोक्न स्थानीय तहको मुख्य जिम्मेवारी हो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ अनुसार स्थानीय तहले शिक्षा सम्बन्धी काम कर्तव्य र अधिकारप्रति जिम्मेवार बन्नुपर्ने स्पष्ट व्यवस्था छ । 
    

बालबालिकाको अधिकार संरक्षणका लागि विद्यालयको पाठ्यक्रम र पठनपाठनको संरचना यान्त्रिक प्रणालीभन्दा बाहिर जान आवश्यक छ । विश्वका धेरै देशहरूले बालबालिकाको सर्वाङ्गीण विकासका लागि पाठ्यघण्टीलाई सीमित राख्दै उनीहरूलाई खेलकुद, कला र सामाजिक कार्यक्रमहरूमा सहभागी गराउँछन् ।

नेपालमा पनि यस्ता अभ्यासहरूलाई प्राथमिकतामा राख्नुपर्छ । शिक्षण विधिमा सुधार गर्दै बालबालिकाहरूलाई बुझ्न सजिलो र रोचक पाठ्यवस्तु तयार गर्नुपर्छ । पाठ्यघण्टीको संरचना बालबालिकाको मनोवैज्ञानिक तथा शारीरिक विकासलाई ध्यानमा राखेर बनाइनुपर्छ । बालबालिकाको मनोविज्ञान र उनीहरूको चासोअनुसार शिक्षण पद्धतिमा लचिलोपन आवश्यक छ । कुनै पनि पाठ्यक्रम र पाठ्यवस्तुमा वालवालिका केन्द्रमा रहनु पर्छ, स्थानीय तह वा विद्यालयको लहडमा आधारित हुनु हुँदैन । 

 समग्रमा अन्ततः, अन्तर्राष्ट्रिय शिक्षा दिवस २०२५ को सन्देश बालबालिकाको अधिकार र शिक्षा प्रणालीलाई मानवतावादी दृष्टिकोणबाट पुनः परिभाषित गर्नुमा छ । बालबालिकालाई यान्त्रिक प्रणालीबाट मुक्त गरी उनीहरूको व्यक्तित्व विकासमा ध्यान दिन सके मात्र हामीले समृद्ध समाजको परिकल्पना साकार गर्न सक्छौं ।

अन्तर्राष्ट्रिय शिक्षा दिवस एक दिन मात्रै मनाउने होइन, शिक्षाको महत्त्व बुझ्ने र प्रवर्द्धन गर्ने प्रतिबद्धता पनि हो । यस दिनले हामीलाई शिक्षा प्रत्येक वालवालिकाको अधिकार हो र यो हाम्रो समाजलाई राम्रो र बलियो बनाउने माध्यम हो भनी सम्झाउँछ । 

शिक्षाबाट मात्रै समृद्ध, शान्तिपूर्ण र समान समाज निर्माण गर्न सकिन्छ । यो लक्ष्य हासिल गर्न हामीले व्यक्तिगत र सामूहिक प्रयास गर्नुपर्छ । अस्तु ।।
            
      

View : 142

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved