विराटनगर । ‘उनी पार्टीका मान्छे भएकाले ‘बलिको बोको’ बने । ‘नेता विशेष’ को मान्छे भएका भए शायद अरूझैं जोगिन्थे पनि होला’ राजनीति शास्त्रका प्राध्यापक कृष्ण पोखरेलले आइतबार साँझ लेखेको यो फेसबुक स्टाटसमा खासै धेरै कमेन्ट आएको छैन । सन्दर्भ नलुखाई प्रतीकात्मक ढंगले लेखिएको पोखरेलको यो स्टाटस कता लक्षित छ भनेर धेरैले नबुझेका पनि हुन सक्छन् ।
पछिल्लो समय विराटनगरको आफ्नै पुरानो थातथलोमा निवृत्त जीवन बिताइरहेका प्राध्यापक पोखरेल समसामयिक विषयमा पत्रपत्रिकामा लेखहरू पनि लेख्ने गर्छन् । उनी स्वयं वामपन्थी पृष्ठभूमिका प्रगतिशील प्राध्यापक हुन् ।
सामाजिक सञ्जालमा पनि चोटिलो कुरा लेख्न उनी छुटाउँदैनन् । सोही क्रममा उनले आइतबार साँझ फेसबुक स्टाटस लेखेका हुन् भन्न सकिन्छ । प्राध्यापक पोखरेलले लेखेको स्टाटसमा नामको सट्टा प्रयोग भएको सर्वनामका ‘उनी’ भनिने आखिर को हुन् त ? कसरी उनी बलिको बोको भए ?
बुझिने गरी प्राध्यापक पोखरेलले नलेखे पनि केही दिनअघिबाट विराटनगरमा उछालिएको ‘जापान प्रकरण’ का एक अभियुक्त भनिएका लिलाबल्लभ अधिकारी भन्ने व्यक्ति नै ‘उनी’ हुन् ।
उनै अधिकारी अहिले बलिको बोको बनेको पोखरेलले प्रारम्भिक ठहर गरेका छन् । उनी अर्थात् अधिकारी बलिको बोको हुनुमा उनी नेताको मान्छे नभएर पार्टीको मान्छे हुनु नै पोखरेलले कारण देखाएका छन् ।
समाचार स्रोतका अनुसार आइतबार राज्यको अनुसन्धानलाई सहयोग गर्छु भनेर काठमाडौं जानुअघिसम्म लिलाबल्लभ अधिकारीले धेरैलाई फोन गर्न भ्याएका थिए ।
उनले आफूनिकटका केही नेता, इष्टमित्रलाई विश्वासमा घात भएको गुनासो गरेको बुझिएको छ । अधिकारीले आफू यो मामिलामा मोहोरा बन्न पुगेको, र कसैलाई विश्वास गर्दा यस्तो नौबतमा फसिएको बताएको एक एमाले नेता बताउँछन् ।
अधिकारीले केही गुह्य कुरा बताएको तर त्यसलाई अहिले सार्वजनिक गर्दा उनलाई हानि हुने देखिएकाले चुपचाप बस्नुपरेको ती एमाले नेताले बताए । ‘उनी(अधिकारी) ले आफूलाई मर्का परेको कुरा बताएका छन्,’ ती नेताले भने, ‘अहिले पार्टी नेतृत्वको मनस्थिति नबुझी बोल्नु भनेको आफ्नै जिउमा बारुद सल्काउनु भएकाले हामी चुपचाप छौं ।’
उनले संकेत गरेको पार्टी नेतृत्व भनेको केन्द्रमा अध्यक्ष केपी शर्मा ओली हुन् भने प्रदेशमा मुख्यमन्त्री हिक्मतकुमार कार्की र प्रदेश अध्यक्ष घनश्याम खतिवडा । एमाले कोशी प्रदेश अध्यक्ष खतिवडा पार्टीभित्र दायाँबायाँ गर्दै अहिले अध्यक्ष केपी शर्मा ओलीको खास मान्छे भएका छन् ।
मुख्यमन्त्री कार्की ओलीका कुन हदसम्म फ्यान हुन् भने नेपालमा मात्र होइन दक्षिण एसियामै ओलीबराबरको राजनेता नजन्मिएको कार्की दावी गर्छन् । कार्की अविचलित अकण्टक ओलीको सेवकको रुपमा इतिहासदेखि हाजिर छन् ।
यता, जापान काण्डको बात लागेका कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारीको राजनीतिक ट्रयाक त्यति सफा छैन । कहिले कता कहिले कता लहसिने कारणले अहिले संकटमा परेका बेला अधिकारीलाई ग्वाम्लाङ्ग अँगालो हाल्न कोही पनि अघि सरेका छैनन् ।
एमाले स्रोतका अनुसार, अधिकारीको एकनिष्ठ प्रेम भएको भए अँगालो हाल्ने निस्किन्थे होलान् तर धेरैतिर राजनीतिक अफेयर राखेर बिटुलो बनेका उनलाई अहिलेको संस्थापन पक्ष भनिने एमाले पंक्ति च्याप्नभन्दा फाल्न नै लागिपरेको छ ।
स्रोतका अनुसार, नेकपा एमालेमा पार्टी कार्यकर्ताको घोषित वर्गीकरण नगरिए पनि १० बुँदे भनेर बेलाबेलामा छेडखानी हुने गरेको छ । निवर्तमान अधिकारी तिनै १० बुँदे मध्येका हुन् ।
पहिला पार्टीभित्र माधवकुमार नेपालको मान्छे भनिएर चिनिएका अधिकारीले कुनै समय शेरधन राईलाई हटाएर भीम आचार्यलाई मुख्यमन्त्री बनाउने पत्रमा हस्ताक्षर पनि गरेका थिए । तत्कालीन समयमा मन्त्री पद पाउने लोभले माधवकुमार नेपालको पार्टीमा नगई एमालेमै बसेका अधिकारीप्रति एमाले संस्थापन पक्षको सुरुदेखि नैै दिलचस्पी देखिदैन ।
यद्यपि पार्टी नेतृत्वको खास निकट नभए पनि प्रदेशमा आन्तरिक मामिला तथा कानून मन्त्रीको जिम्मेवारी अधिकारीले पाएका थिए । अहिले तिनै अधिकारी मानव तस्करीको संगीन आरोपमा फसेका छन् ।
यो बेला एमालेको संस्थापन पंक्तिलाई अधिकारी कुचाले बढार्नुपर्ने कसिंगर हावाले उडाएसरह भएको एमाले वृत्तमा चर्चा छ । जुन कुरा ‘उनी पार्टीका मान्छे भएकाले ‘बलीको बोको’ बने । ‘नेता विशेष’ को मान्छे भएका भए शायद अरू झैं जोगिन्थे पनि होला’ प्राध्यापक कृष्ण पोखरेलले लेखेको फेसबुक स्टाटसमा झल्किएको देखिन्छ ।
जापान प्रकरणमा तत्कालीन मन्त्री अधिकारीले दोष आफ्नो थाप्लोमा लिने तर अरुलाई नपोल्ने नीति अख्तियार गरेको लेखक तथा विश्लेषक मणि दाहाल ठान्छन् । यस प्रकरणमा ठूलै गिरोहको संलग्नता छ भनेर तत्कालीन मन्त्री अधिकारीले सार्वजनिक रुपमा भनेको कुरालाई नजरअन्दाज गर्न नहुने उनी बताउँछन् ।
‘अधिकारीले मन्त्री पदमा वहाल हुँदै गल्ती गरेका हुन्, उनी कसको नेतृत्वको मन्त्री थिए, अनुसन्धान त्यतातिर पनि हुनुपर्छ’ दाहालले भने । जापान प्रकरण मन्त्री, मुख्यमन्त्री दुवै कानूनी कठघरमा उभिनुपर्ने गरी घटनाक्रम विकास भएको उनको जिरह छ । ‘यो प्रकरणमा कसैले पनि ‘मत्स्य न्याय’को नियति भोग्न नपरोस्’ उनी भन्छन् ।
View : 98
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved