विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश समितिका वर्तमान उपसभापति रमेशजंग रायमाझीले आसन्न दोस्रो प्रदेश अधिवेशनमा सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
उनले पार्टीभित्र आफ्नो लामो राजनीतिक योगदान, अनुभव र जिम्मेवारी निर्वाह गरेको दाबी गर्दै प्रदेश सभापतिमा दाबी प्रस्तुत गरेका हुन् ।
रायमाझीले कांग्रेसमा ४० वर्षदेखि निरन्तर सक्रिय रहेको उल्लेख गर्दै यसपटक प्रदेश नेतृत्व सम्हाल्न तयार रहेको बताए । विद्यार्थी राजनीतिबाट पार्टीको राजनीतिमा प्रवेश गरेका उनले कोशी प्रदेशकै भूगोलमा रहेर पार्टीको काम गरेको बताए ।
रायमाझीले पञ्चायती व्यवस्थाका कठिन दिनमा जेल जीवनसमेत बिताएको स्मरण गर्दै पार्टीले आफूलाई राष्ट्रिय सभामा संसदीय दलको नेता, प्रतिपक्षी दलको नेता हुँदै प्रदेश समितिको उपसभापति बनाएर महत्वपूर्ण जिम्मेवारी दिएको बताए ।
ती जिम्मेवारीमा आफूले सफलतापूर्वक निर्वाह गरेको भूमिका पार्टीका नेता, कार्यकर्ताहरूबाटै मुल्याङ्कन हुनुपर्ने बताए ।
‘म ४० वर्षदेखि यही पार्टीमा काम गरिरहेको छु । विद्यार्थी राजनीतिदेखि अहिलेसम्म यही भूगोलमा रहेर साथीभाइसँग सुखदुःखमा साथ दिएको छु । पार्टीले मलाई राष्ट्रिय सभामा संसदीय दलको नेतासम्मको जिम्मेवारी दिएर परीक्षा लिइसकेको छ, म सफल भएर आएको छु,’ उनले भने, ‘त्यही अनुभव र योगदानका आधारमा यस पटक प्रदेश सभापतिको नेतृत्व लिन चाहेको हुँ ।’
प्रदेशको नेतृत्वमा आफ्नो उम्मेदवारीप्रति मोरङसहित कोशी प्रदेश र केन्द्रका नेताहरूको सद्भाव तथा सहयोग रहेको उनले दाबी गरे । अहिले पनि सबै नेताहरूको सद्भाव प्राप्त भइरहेको उनले बताए ।
प्रदेश सभापतिका आकांक्षीहरूबीच सहमति हुन सक्ने सम्भावनालाई पनि उनले अस्वीकार गरेका छैनन् ।
सर्वसम्मत नेतृत्व चयन भए आफूलाई नै नेतृत्व प्राप्त हुने वातावरण बन्ने उनले दाबी गरे । तर सहमति नभए निर्वाचन प्रक्रियामा आफू नडराउने बताए । लोकतान्त्रिक पार्टीको कार्यकर्ता भएकोले निर्वाचनमा सहभागी भएर आउने परिणाम स्वीकार गर्ने उनले स्पष्ट पारे ।
‘कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले निर्वाचन प्रक्रियामा जान हामी तयार छौँ । निर्वाचनको परिणाम स्वीकार गर्छौँ । तर पार्टीभित्र सर्वसम्मत नेतृत्व चयन गर्ने वातावरण बन्यो भने नेतृत्वले छलफल गरेर निष्कर्ष निकाल्न सक्छ,’ रायमाझीले भने ।
उनले आफू कोशी प्रदेशको भूगोल र पार्टी संगठनसँग परिचित रहेको तथा प्रदेश सभापतिका अन्य आकांक्षीहरूसँग पनि मिलेर काम गर्न सक्ने अवस्था रहेको बताए । अन्य आकांक्षीहरूलाई समेत आफ्नो नेतृत्वको समितिमा समेटेर काम गर्न आफू तयार रहेको बताए ।
‘उपसभापति हुँदा पनि अत्यधिक मतका साथ निर्वाचित भएको हुँ । अहिलेका अधिकांश महाधिवेशन प्रतिनिधि त्यतिबेलाकै प्रतिनिधि हुन् । उहाँहरूको विश्वास र समर्थन मलाई रहने भएकाले जितप्रति विश्वस्त छु,’ उनले भने ।
रायमाझीका अनुसार आगामी प्रदेश अधिवेशनको मिति केन्द्रीय समितिले घोषणा गर्ने र पुसभित्रै सम्पन्न हुनेमा विश्वस्त रहेको बताए । अधिवेशनमा करीव २५० जना प्रतिनिधि सहभागी हुने बताए ।
उनले १५ औं केन्द्रीय महाधिवेशनपछि पार्टीभित्रको गुट–उपगुटको अवस्था कमजोर बनेको दाबीसमेत गरे । अहिले कांग्रेसका सबै नेता तथा कार्यकर्ता पार्टीभित्रै रहेर अधिवेशनमा सहभागी हुने अवस्था बनेको उनको भनाइ छ ।
प्रदेश नेतृत्व चयनमा नेताहरूको गुटभन्दा पनि महाधिवेशन प्रतिनिधिको निर्णय निर्णायक हुने उनले बताए ।
प्रदेश अधिवेशनको उद्घाटन सभापति गगन थापाबाट हुने र सोही अवसरमा प्रदेश समितिको नयाँ भवनको उद्घाटन गर्ने कार्यक्रम बनिरहेको जानकारी दिए ।
अधिवेशनका लागि आइतबार मात्रै वर्तमान प्रदेश समितिको पदाधिकारी बैठक बसेर १५ सदस्यीय तयारी समिति गठन गरेको जानकारी दिए ।
उनका अनुसार पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसके दोस्रो चरणको निर्वाचन हुनेछ । त्यस अवस्थामा पनि तीन दिनभित्र अधिवेशन सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताए ।
प्रदेश समितिमा एक सहमहामन्त्री, एक सदस्य र कोषाध्यक्ष मनोनीत हुने व्यवस्था रहेको छ । सभापतिसहित अन्य पदमा निर्वाचन हुने उनले जानकारी दिए ।
यसअघि ८६ सदस्यीय रहेको प्रदेश समितिको संरचनामा १५ महाधिवेशनबाट संशोधन आएपछि थप स्पष्ट हुने बताए ।
View : 68
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved