Biratnagar, Morang, Nepal
१५ असार २०८१, शनिवार
+977 21 450305, 515728, 578305
विचार

तीनपुस्ते पार्क बनाउन बढेका पाइला

राजन पौडेल
२२ जेठ २०८१, मङ्गलवार

राजन पौडेल

जीन्दगीमा धेरै कुरा गर्न बाँकी छ ।
सबै भन्दा ठूलो कुरा मर्न बाँकी छ ।।

–क्षेत्रप्रताप अधिकारी

अब कति नै बर्ष बाँचुला र ? मर्नु भन्दा पहिले अझ धेरै सामाजिक काम गर्ने इच्छा छ ।  र, योजनाहरु छन् । अनुभव र सिकाइ पनि छन् ।  ती मध्येकै यो एउटा मुख्य काम हो । विराटनगरमा तीनपुस्ते नेशनल लिभर्टी पार्क निर्माण । कुनै पनि सरकारी निकायको आर्थिक सहयोग नलिई बन्ने पार्कको नारा नै छ ‘जनताले बनाएको पार्क, सरकारलाई उपहार ।’ 

जीवनको उत्तरार्द्धमा मर्न पहिले काम गर्ने उनको हुटहुटी धेरैका लागि प्रेरणा हुन सक्छ । हुन त मनुस्यले गर्ने कर्म र मरणको सिलसिलामा साहित्यकार राजेन्द्र सुवेदीले फागुन २०५८ को गरिमा पत्रिकामा लेखे ‘यस समाजलाई आमूल परिवर्तन गर्छु भन्नेहरु नै सिद्घान्तको लडाईंमा जुटेका र सत्तामा पुगेकाहरु पनि कतिपय अवसरमा समाज रुपान्तरणको काम गर्न बाँकी देख्न सक्दैनन् । अनि कतिपय अवसरमा भने मर्ने कामलाई नै गर्न बाँकी रहेको देख्छन् ।’ 

तर, यहाँ उल्लेख गर्न खोजिएको पात्र, पात्रको प्रवृत्ति, बिगतदेखिको उनले गरेको सामाजिक  काम  र तीनपुस्ते पार्कको परिकल्पना बिल्कुलै फरक छ ।   

यो तीनपुस्ते पार्कको ‘आइडिया’ कसरी आयो भन्दा विराटेश्वर बृद्घा आश्रम सेवा समितिका अध्यक्ष जगतप्रसाद अर्ज्यालले भने ‘बैसाख ७, २०८१ मा म ८३ बर्ष लागें । यही शुभ दिनमा एउटा शुभ कार्यको थालनी गर्ने अठोट गरें । तीनपुस्ते नेशनल लिभर्टी पार्क निर्माणको लागि सहयोग सङ्कलन । सोचाइ त पहिलेनै आएको थियो । तर, साइत जुर्‍यो जन्म दिनमा । बिगतमा सामाजिक काम गर्दा प्राप्त आर्थिक र सामग्री सहयोगको सही सदुपयोग,  कामको उपलब्धी ।  काम गर्ने सिलसिलामा सिकेका सिकाइ । भोगेका अप्ठ्यारा । पाएका प्रशंसापत्र, पुरस्कार र हौसला । बृद्घबृद्घाहरुको आशीर्वाद । सबै सम्झदा यो काम पनि सफल हुन्छ भन्नेमा ढुक्क छु । तर पनि मनको अन्तर कुन्तरमा डर पनि छ । जन्मदिनमै जन्मेको  योजना अलपत्र पर्ने पो हो कि भनेर । म मरे पनि थालेको काम चै नमरे हुन्थ्यो ।’ 

यसो भन्दाभन्दै उनको बोली क्रमशः मलिन हुँदै गयो । र, ठप्पै रोकियो । केही भन्न खोजे तर उनले सकेनन् । आवाजै निस्केन । निस्कियो त केबल आँशु । आँखाभरी टिलपिल आँशु । हेर्दाहेर्दै निथ्रुक्कै भिजेका परेलाबाट आँशु झर्न थाले । उनको यो आँशु परिवार, आफन्त, इष्टमित्रमा कुनै शोक परेर हैन । लाउन खान नपुगेर हैन । रोगले सताएर हैन । कुनै आपत बिपत परेर पनि हैन । न त ऋण तिर्न नसकेरै हो । होत त केबल मर्न पहिले नयाँ काम गर्ने हुटहुटीको हो । केही नकेही नासो छोडेर जाने तीव्र इच्छाको हो ।

विराटनगर–८ मा रहेको विराटेश्वर बृद्घाश्रमै कुरा गर्दै थियौं । तर, निकैबेरसम्म उनी चुप रहे । मैले पनि बोल्न सकिन । एकक्षण पछि झर्दै गरेका आँशु हत्केलाले पुछ्दै उनले भने ‘एक महिना भयो पार्क निर्माणकालागि आर्थिक सङ्कलन गर्न थालेको । अहिलेसम्म दुई लाख रुपैंयाँ जम्मा भएको छ । सुरुसुरुमा छ । धेरैलाई यस बारे थाहा पनि छैन । गर्मीले गर्दा हिड्डुल गर्न, भेटेर भन्न पनि सकेको छुइन । तर पनि प्राप्त भएको आर्थिक सहयोगले हौसला बढेको छ ।’ यसो भन्दा भन्दै उनको अनुहार क्रमशः उज्यालो हुँदै आयो । बोलिमा त्यत्तिकै प्रष्टता । अनि दर्बिलो प्रस्तुति । 

अगाडि बास्केट भएको साइकल । त्यसमा ताल्चा लगाएको जस्ता पाताको खुत्रुके । अनि तीनपुस्ते नेशनल लिभर्टी पार्क निर्माण सहयोग भनेर लेखेको ब्यानर । ब्यानरमा सहयोग गर्न सक्ने रू ५, १०, २०, ५०, १०० र १००० । बैंकको नाम र खाता नम्बर । यसबारे भन्दिनुन भन्दा उनले भने, सहयोग गर्ने इच्छुकले माथि उल्लेखित रकम मध्ये कुनै रकम सहयोग गर्न सक्नुहुन्छ । तर, एक व्यक्ति एक नोट मात्र । यदि तीन जना परिवारका सदस्यहरुको तर्फबाट भए तीन वटा नोट खुत्रुकेमा हाल्न सकिन्छ । सहयोगको यो तरिका अलिक फरक लाग्यो । किन यस्तो ? उनले  भने सहयोग थोरथोरै होस् । तर, सहभागिता धेरैको होस् । बढोस् आफ्नोपनाको सोच, बिना कुनै आर्थिक बोझ । एक जना एउटा नोट भएपछि नोटको संख्या बराबर सहयोग गर्नेहरुको संख्या हुन्छ । 

खुत्रुकेको चावी कृषि बिकास बैक विराटनगर शाखामा छ । खुत्रुके भरिएपछि बैकमा लान गरेको छ । बैकले चावी खोलेर गणना गरी खातामा जम्मा गरिदिन्छ । 

मैले चिल्ड्रेन पार्क, शहीद पार्क, सूचना प्रविधि पार्क, ईको पार्क, प्रेम स्मृति पार्क भन्ने त सुनेको । तर, यो तीनपुस्ते पार्क त अलिक अनौठो लाग्यो । 

यस्तो आइडिया कसरी आयो ? उनले भने ‘बिगत दुई दशकदेखि बृद्घा आश्रम सञ्चालन गरिरहँदा लाग्यो परिवारमा अघिल्लो पुस्ता र पछिल्लो पुस्ताको बीचको अन्तरक्रिया, माया, प्रेम, सम्बन्ध र बुझाइमा क्रमशः फिकापन आइरहेको छ । त्यस्तै भौगोलिक रुपमा  हिमाल, पहाड र तराईमा बसोबास गर्न मानिसहरुको रहनसहनमा आ–आाफ्नै सुन्दरता छन् । ती सुन्दरताहरुलाई एक अर्काले बुझ्नु छ । माला झै उन्नु छ । राज्यको शासकीय स्वरुप राणा शासनकाल, राजतन्त्रकाल र प्रजातान्त्रिक कालका पनि आ–आफ्ना बुझाइ र बिशेषताहरु छन् ।

तसर्थ पारिवारिक तहमा तीनपुस्ता, भौगोलिक रुपमा तीन क्षेत्र र शासकीय स्वरुपका तीन कालखण्ड एकै स्थानमा झल्काउने उद्देश्यले तीनपुस्ते नेशनल लिभर्टी पार्क निर्माण गर्न लागिएको हो । यो एक मनोरञ्जन स्थलका साथसाथै अघिल्लोपुस्तादेखि पछिल्लो पुस्तासम्मकाले परिवार, प्रकृति र देशमा भएको परिवर्तनबारे हेर्ने, बुझ्ने र अन्तरक्रिया गर्ने थलो हुनेछ । पार्कमा बिभिन्न क्षेक्रमा योगदान गर्ने ब्यत्तिहरुको सालिक, अघिल्लो पुस्ताले प्रयोग गर्ने सामग्रीहरु,  बिभिन्न भेगमा पाइने जनावर, बोटबिरुवा, चराचुरुङ्गीहरुको मूर्ति र चित्रहरु रहनेछन् । बालबालिकादेखि बृद्घाहरुले खेल्न मिल्ने खेल सामग्रीहरु रहनेछन । यसबारे उनले थपे पार्कलाई ज्ञानबर्धक, राष्ट्रिय एकता र सद्भाव झल्काउने बनाउन बिषय विज्ञहरुसँग छलफल भइरहेको छ ।  

ठूलो योजना छ । बजेट कति लाग्छ होला ? लामो सास तान्दै उनले भने जग्गासहित गरेर करिब पाँच करोड लाग्ने अनुमान छ । पाँच करोड !’

उनले भने ‘हो पाँच करोड त लागिहाल्छ नि । जग्गा किन्न करिब डेड करोड लाग्छ होला ।’

निर्माण कार्य कति बर्षमा सक्ने लक्ष्य छ ?

दुई बर्ष भित्रमा सकिन्छ की । २०८२ सालको गणतन्त्र दिवसका दिन पार्कको शिलान्यास गर्ने विचार छ । हेरुँ के हुन्छ । 

यसका लागि आर्थिक सहयोग जुटाउन बढी नै मेहनत गर्नु छ । पार्क, पार्कको उद्देश्य, लागत, सहयोग गर्ने प्रक्रियाबारे सामाजिक सञ्जालमार्फत जानकारी दिन सक्दा प्रभावकारी हुने थियो । यसकालागि कसैले सहयोग गरिदिए आभारी हुने थिएँ ।

गत हप्ता तीन स्कुलका शिक्षक र विद्यार्थीहरुले आश्रममा आई बृद्धबृद्धाहरुसग अन्तरक्रयिा, फलफूल बितरण र पार्क निमार्णकालागि सहयोग गरे । ज्यादै खुसी लाग्यो । फर्कने बेलामा आ–आफ्ना साथी, घरपरिबार, छरछिमेकी र नातेदारहरुसँग यसबारे भन्छौ भनेका छन् । 

पार्क निमार्णपछि पार्कमा घुम्न जाँदा मेरो पनि यसमा सहयोग छ भनेर गर्व गरुन् । आफ्नै जस्तो गरुन् । र, हजुरबाआमासँग भनुन् स–सानो सहयोगले पनि ठूलो काम हुने रहेछ ।

View : 272

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved