विराटनगर । नेपाल सरकारको हात्तिपाइले रोग निवारण अभियान कार्यक्रम मोरङ जिल्लामा सफल भएको छ । हात्तिपाइले रोग मोरङबाट पूर्ण रुपमा निवारण भएकाले सरकारको अभियान सफल भएको हो ।
मोरङमा हालै सम्पन्न सर्भेक्षणले जनस्वास्थ्यका रुपमा हात्तिपाइले रोग नपाइएकाले यस वर्षदेखि जिल्लामा उक्त रोगको औषधि खुवाउनु नपर्ने भएको छ । स्वास्थ्य कार्यालय मोरङले बिहीवार पत्रकार सम्मेलन गरी मोरङमा हात्तिपाइलेको समुदायस्तरमा संक्रमण नदेखिएकाले यो रोगको आम औषधि चलाउनु नपर्ने जानकारी गराएको हो ।
स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले मोरङमा हात्तिपाइलेको समुदायस्तरमा संक्रमण नदेखिएकाले रोगको आम औषधि सेवन चलाउनु नपर्ने जानकारी दिए ।
मोरङका ६ वटा वडालाई तीनवटा ब्लकमा राखेर सर्भे गरिएको थियो । ६ वटा वडाका करिव १५० घरसंख्यालाई टोल वा गाउँको सीमाना छुट्टिने गरी विभाजन गरिएको थियो । छनौट गरिएको संख्यामा दुई वा सो भन्दा कम हात्तिपाइले देखिएमा सर्भेलाई पास भएको मानिने र तीन वा सो भन्दा बढीमा हात्तिपाइले देखिएमा सर्भेलाई असफल भएको मानिन्छ ।
हात्तिपाइले निवारणका लागि मोरङमा सन् २००१ मा गरिएको बेसलाइन सर्भेमा आम औषधि सेवन अभियानको कभरेज १३ दशमलव ६ रहेको थियो । सन् २०१२ देखि नियमित रुपमा हरेक वर्ष औषधि खुवाइदै आइएको थियो । गत वर्ष मोरङमा औषधिको कभरेज ८० दशलमव ८२ रहेको थियो ।
मोरङमा ११ वर्षदेखि निरन्तर हात्तीपाइले रोगविरुद्धको औषधि कार्यक्रम हुँदै आएको थियो । अब कोशी प्रदेशको झापा जिल्लामा मात्रै हात्तिपाइले रोग निवारण हुन बाँकी छ । मोरङसहित अन्य १३ जिल्लामा हात्तीपाइले निवारण भइसकेको छ ।
डा. मेहताका अनुसार हात्तिपाइले रोग एक प्रकारको मसिनो धागो आकारको परजीवीबाट संक्रमण भएपछि लाग्दछ । नेपाल सरकारले सन् २००३ देखि हात्तिपाइलेविरुद्धको औषधि खुवाउने अभियान सञ्चालन गरेको थियो ।
सन् २००३ देखि २०२० सम्ममा हात्तिपाइले निवारण गर्न लक्ष्य लिएको सरकार सो अवधिमा सफल हुन सकेन । अहिले सरकारले सन् २०३० सम्म हात्तिपाइले रोग निवारण गर्ने लक्ष्य राखेको छ ।
View : 220
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved