Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
वातावरण

धरानमा देखिएको चरीबाघ

बिरालो प्रजातिको सबैभन्दा सानो शिकारी

१ मंसिर २०८२, सोमवार

सुनसरीको धरान–१४, विजयपुरस्थित हात्तीसारमा गत मंगलबार साँझ फेला परेको वन्यजन्तुबारे विभिन्न अड्कलबाजी आइरहेका बेला, त्यो जनावर चरीबाघ (लिओपार्ड क्याट) रहेको पुष्टि भएको छ । प्राणीशास्त्रका अध्येता तथा संरक्षणकर्मी डा. विश्वनाथ रिजालले यस दुर्लभ प्रजातिबारे विस्तृत चर्चा गरेका छन्।

चरीबाघको परिचय र शारीरिक विशेषता

चरीबाघ नेपालमा पाइने जंगली बिरालो प्रजातिमध्ये सबैभन्दा सानो आकारको हो । यो घरेलु बिरालो जस्तै सानो देखिए पनि यसका विशेषताहरू फरक छन् ।

आकार : शरीरको लम्बाइ ४०–६५ सेन्टिमिटर, पुच्छर २५–३० सेन्टिमिटर र तौल करिब २ देखि ७ किलोग्रामसम्म हुन्छ ।

रङ र चिह्न : वयस्क अवस्थामा यसको शरीर पहेंलो मखमली रङको हुन्छ । शरीरभरि काला र स्पष्ट थोप्ला (टाटा) देखिन्छन्, जुन काँधतिर पुगेर दुई फराकिला धर्सामा मिसिन्छन् ।

विशेष चिह्न : कालो कानको पछाडिबाट सेता दागहरू देखिन्छन् । आँखाबाट नाकसम्म कालो रेखा र टाउकाबाट काँधसम्म ठाडा डोराहरू हुन्छन् । आँखा ठूला र गोलाकार हुन्छन्, जुन राति हेर्न सक्षम हुन्छन् ।

बासस्थान र फैलावट  : चरीबाघ घाँसेमैदान, झाडी, बुट्यान, आद्र पतझर वन, नदी किनार तथा खेतबारी वरपरका क्षेत्रमा समेत बसोबास गर्छ ।
भौगोलिक क्षेत्र : यो प्राणी दक्षिण तथा दक्षिण–पूर्वी एसिया, पाकिस्तानदेखि जापान र इन्डोनेसियासम्म पाइन्छ । 

नेपालमा उपस्थिति : तराई, चुरे र मध्यपहाडी क्षेत्र (समुद्र सतहबाट करिब २०० देखि ३००० मिटर उचाइसम्म) मा पाइन्छ । चितवन, बर्दिया, कोशीटप्पु, शिवपुरी, मकालु–बरुण र अन्नपूर्ण क्षेत्रमा यसको उपस्थिति दर्ता भएको छ । पूर्वी नेपालका सुनसरी, धरान, झापा, ताप्लेजुङ आदि जिल्लामा पनि यो पाइन्छ ।

अन्य विशेषताः यो सुख्खा र पानी दुवै क्षेत्रमा चलाखीपूर्वक बाँच्न सक्छ र पौडिन पनि जान्ने जनावर हो ।

जीवनशैली र प्रजनन
आहार  : यिनीहरू प्रायः चराका साथै मुसा, चमेरा, किराहरू र कहिलेकाहीं भ्यागुता तथा कुखुरासमेत सिकार गर्छन् ।
स्वभाव  : यो दिनमा लुक्ने र रातमा सिकार गर्ने एक्लै बस्ने जीव हो । यो मानिस नजिक पनि बाँच्न सक्छ, तर डराउने र लजालु स्वभावको हुन्छ ।

प्रजनन  : यसको प्रजनन समय फागुनदेखि वैशाखसम्म हुन्छ । गर्भ अवधि करिब ६५–७५ दिन हुन्छ र २ देखि ४ वटासम्म बच्चा जन्माउ“छन् ।
संरक्षणको अवस्था र कानुनी कारबाही : चरीबाघ नेपालको संरक्षित वन्यजन्तुको सूचीमा पर्दछ ।

अन्तर्राष्ट्रिय सूची : अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संस्था (आईयूसीएन) को सूचीमा कम चिन्ताको विषयमा रहे पनि साइटस परिसूचक २ अन्तर्गत अन्तर्राष्ट्रिय व्यापार नियन्त्रणमा छ ।
नेपालको कानुन : वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार यसलाई मार्ने वा घाइते बनाउनेलाई कडा कानुनी कारबाही हुने व्यवस्था छ । मार्ने वा घाइते बनाउनेलाई रु एक लाखदेखि पाँच लाखसम्म जरिवाना वा एक वर्षदेखि दस वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ ।

आग्रह : यदि कतै यो जीव देखिएमा नजिकको प्रहरी वा वन कार्यालयलाई खबर गर्नु नै उत्तम हुन्छ ।

चरीबाघको संरक्षणमा मुख्य खतराहरूः वन विनाश, बासस्थान नष्ट हुनु, डढेलो, सडक दुर्घटना, किसानसँगको द्वन्द्व (कुखुरा खाएको आरोपमा मारिनु) र अवैध रूपमा घरपालुवा बनाउने वा व्यापार गर्ने कार्य हुन् ।

(विश्वनाथ रिजाल प्राणीशास्त्रका अध्येता तथा संरक्षणकर्मी हुन् ।)

View : 467

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved