कतै पहिरोले लग्यो सडक, कतै पुलै बगायो
विराटनगर । दशैँ मनाउन घर फर्किने यात्रुहरूले यसपटक निकै कष्टकर यात्रा गर्नुपर्ने भएको छ । बाढी पहिरोका कारण राष्ट्रिय राजमार्गहरू नै अवरुद्ध छन् । सडक मार्गबाट यात्रा गरिरहेका यात्रुहरू अलपत्र परेका घटना बढिरहँदा कोशी प्रदेशका पनि प्रमुख राजमार्ग बाढी पहिरोकै कारण सञ्चालन हुन सकेका छैनन् । अधिकांश राजमार्ग अवरुद्ध हुँदा दशैँको मुखमा यात्रुहरूले ठुलो सास्ती भोग्नुपर्ने भएको हो ।
कोशी प्रदेशभित्रका कटारी–घुर्मी–ओखलढुंगा–सोलुखुम्बु सिद्धिचरण राजमार्ग, घुर्मी–खोटाङ–भोजपुर–तेह्रथुम हुँदै पाँचथरको चिवाभञ्ज्याङसम्मको मदन भण्डारी मध्यपहाडी लोकमार्ग, गाईघाट–फोक्सिङटार–दिक्तेल सगरमाथा राजमार्ग, दमक–चिसापानी–रवि सडक, चारआली–इलाम–पाँचथर–ताप्लेजुङ मेची राजमार्गका अधिकांश खण्ड बाढी र पहिरोका कारण अवरुद्ध बनेका छन् ।
असोज ११ गतेदेखि परेको अविरल वर्षापछिको बाढी र पहिरोले कोशी प्रदेशका मुख्य सडक मार्ग र सहायक सडकहरू अवरुद्ध बनेका हुन् । सिद्धिचरण राजमार्गका दर्जनौं ठाउँमा पहिरो खसेर यातायात अवरुद्ध भएको जनाइएको छ । घुर्मी, क्यात्तुके लगायतका ठाउँमा पहिरोले बगाएको सडक मर्मत गर्न अझै केही दिन लाग्ने सडक डिभिजन कार्यालय घुर्मीले जनाएको छ ।
मध्यपहाडी लोकमार्गका धेरै ठाउँ अवरुद्ध छन् । मध्यपहाडी लोकमार्गअन्तर्गत हलेसी तुवाचुङ नगरपालिका–७ हलेसीमहादेवस्थानको बर्खेटार खण्ड अवरुद्ध बनेको छ । अवरुद्ध सडक खुलाउन सडक विभागको डोजरले पहिरो पन्छाए पनि पहिरो लगातार खसेका कारण ऊक्त सडक मार्ग हुँदै दित्तेलबाट काठमाडौं, विराटनगर, धरान लगायतका ठाउँ पुग्ने सवारी साधन सञ्चालन हुन नसकेको प्रहरीले जनाएको छ ।
सगरमाथा राजमार्गअन्तर्गत उदयपुर र खोटाङ जोड्ने फोक्सिङटारको पक्की पुल नै गत शनिबारको कोशीको बाढीले बगाएको छ । जसका कारण खोटाङको एकमात्रै विकल्प बनेको सडक सम्पर्क दशैँको समयमा टुटेको छ । गत वर्षमात्रै सञ्चालनमा आएको उक्त पुल कोशी नदीको बाढीले बगाएपछि खोटाङवासीको वर्षौंदेखिको सपना समेत कोशीमै बगेको हो । १२ वर्ष लगाएर निर्माण भएको पुल उद्घाटन समेत हुन नपाई बगाएपछि त्यस क्षेत्रका आम नागरिकहरू चिन्तित बनेका हुन् ।
पुल बगेपछि त्यस क्षेत्रका राजनीतिककर्मीहरूले सडक मार्गको तत्कालीन विकल्प र दीर्घकालीन समाधानका लागि पहल सुरु गरेका छन् ।
कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईसहित सडक विभागका इन्जिनियरहरूको टोलीले बिहीबार फोक्सिङटार पुलको स्थलगत अनुगमन गरेको छ । अनुगमनपछि पुल बाहेक पहिरोले क्षतिग्रस्त बनेको सगरमाथा राजमार्ग खण्डको फोक्सिङटारदेखि रसुवाघाटसम्मको सडक शनिबारसम्म मर्मत गर्न निर्देशन दिएको मन्त्री राईले बताए । साथै कोशी नदीमा पानी घट्नासाथ बेलिबृज जोड्ने प्रक्रिया अघि बढाउने उनले बताए ।
‘बगाएको पुल निर्माण व्यवसायीले ठेक्का सम्झौताअनुसार सम्पन्न गरिनसकेको कारण सरकारलाई हस्तान्तरण भएको छैन, अबको प्रकृया र पुल चाँडोभन्दा चाँडो बन्ने सुनिश्चितताको लागि आवश्यक पहल गरिरहेका छौं’ उनले भने । तर यात्रुको मुख्य चाप हुने दशैँ तिहारकै मुखमा भने कोशी नदीबाट कसरी मानिसहरूलाई आवत–जावत गर्ने गराउने भन्नेमा चिन्ता थपिएको छ ।
दमक–चिसापानी–रवि सडकको पनि एक दर्जन खण्डमा पहिरोले क्षति गरेको जनाइएको छ । यो सडकमा दशैँमा पूर्णरुपमा यातायातका साधन सञ्चालन हुन कठिन हुने निश्चित छ ।
लगातारको वर्षाले मेची राजमार्गका ठाउँठाउँ भासिएको छ । इलाम खण्ड अन्तरगत इलाम नगरपालिका–९ माइखोला सडक खण्ड निरन्तर दबिएको र सडक किनारमा पहिरो गएर क्षतिग्रस्त बनेको जनाइएको छ । पानी नरोकिएसम्म तत्कालै उक्त सडकमा सवारी साधन सञ्चालन गर्न नसकिने जनाइएको छ ।
मेची राजमार्ग तराईबाट इलाम, पाँचथर र ताप्लेजुङ जोड्ने एक मात्रै सडक हो । यो सडकको विकल्पमा अहिलेसम्म वैकल्पिक सडक नभएका कारण दशैँमा हजारौं यात्रुले सास्ती व्यहोर्नुपर्ने निश्चितजस्तै बनेको छ ।
मानिसहरूको बिचल्ली हुने अवस्था बन्दै गएको स्थानीय जनप्रतिनिधिहरूले बताएका छन् । उक्त सडकको बिहीबार कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर र इलाम क्षेत्र १ का सांसद महेश बस्नेत लगायतले स्थलगत निरीक्षण गरेका छन् ।
स्थानीयले भने संघीय सरकारको बजेटबाट इलाम नगरपालिका–१० सिमलगोलाई हुँदै माईजोगमाइ–माईबेनी–तिल्केनी वैकल्पिक सडक खण्ड सञ्चालनमा पहल गर्नुपर्ने सुझाव दिएका छन् ।
मेची राजमार्ग जोड्ने हेवाखोलाको बेलिब्रिज समेत शनिबारको बाढीले बगाएपछि अहिले पाँचथरबाट ताप्लेजुङको सडक सञ्जाल टुटेको छ । हेवाखोलामा अघिल्लो वर्षमात्रै पक्की पुल बगाएपछि बेलिब्रिज जडान गरिएको थियो । तर यसपटक बेलिब्रिज पनि बगाएका कारण सडक सञ्चालन गर्न कठिन भएको हो ।
उक्त स्थानमा डाइभर्सन गरेर सडक सञ्चालन गर्न मौसम सफा भएको खण्डमा पनि कम्तिमा एक हप्ता लाग्ने सडक डिभिजन कार्यालय इलामले जनाएको छ ।
हेवाखोलामा तत्काललाई मानिसहरू आवत–जावतका लागि निर्माण गरिएको फड्के भने बिहीबार बेलुकादेखि सञ्चालनमा आएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ ।
यता बुधबार साँझदेखि परेको अविरल वर्षाका कारण पाँचथरमा बाढी र पहिरोबाट थप क्षति भएको छ । बिहीबार विहान परेको ठूलो पानीपछि आएको बाढीले फेमे खोलामा बुधबार मात्रै बनाइएको बाँसको फड्के पुल बगाएको छ ।
फिदिम–११ र १ जोड्ने फेमे खोलाको मोटेरेवल पुल बगाएपछि त्यहाँ आवतजावतका लागि स्थानीयको प्रयासमा फड्के बनाइएको थियो । भारी वर्षाका कारण ठाउँठाउँमा पहिरो जाँदा सडकहरू क्षतिग्रस्त बनेको जनाइएको छ । फिदिम–२ को रमिते भ्यू टावर नजिकै लेदो सहितको पहिरो खसेका कारण मेची राजमार्ग पनि पुरिएको छ ।
View : 104
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved