हाम्रो समाज र राज्य संयन्त्रमा मौलाएको भ्रष्टाचार केवल आर्थिक अनियमितता मात्र होइन, यो एउटा गम्भीर नैतिक र प्रणालीगत सङ्कट हो । फितलो विधि र नैतिक शून्यता नै यसको मूल कारण हो । जहाँ अनुचित तथा अदृश्य लेनदेनको ठोस प्रमाण खोज्ने कानुनी प्रावधानले भ्रष्टाचारलाई प्रोत्साहन दिन्छ, र आर्थिक तथा सामाजिक अपराधीहरूलाई विधिगतरूपमा ‘चोख्याउने’ परम्पराले सुशासनको धज्जी उडाउँछ, त्यहाँ न्याय र नैतिकताको कल्पना कसरी गर्न सकिन्छ ?
प्रणालीगत समस्याको आडमा न्यायकर्ताहरू स्वेच्छाचारी बन्दै न्यायालयलाई ‘चोख्यान केन्द्र’ बनाउन खोज्नु आफैंमा न्यायपालिकाको अपमान हो । झन् भ्रष्टाचार गरेर ‘सात पुस्ते’ सम्पत्ति जोडेकाहरू नै भ्रष्टाचारविरुद्धका अभियन्ता र भ्रष्टाचार निवारक निकायका हकदार बन्ने प्रचलनले त भ्रष्टाचारलाई थप संरक्षण दिइरहेको छ । यो प्रवृत्तिले भ्रष्टाचारलाई एउटा ‘बहादुरी’ ठान्ने सामाजिक मान्यता सिर्जना गरेको छ, जसले समाजलाई नै पथभ्रष्टताको आहालमा डुबाएको छ ।
भ्रष्टाचारको सञ्जाल र सामाजिक पतन
यो प्रवृत्तिले राज्य संयन्त्रका हरेक निकायमा घर जमाउँदा राजनीतिलाई ‘फोहोरी खेल’ मा परिणत गरेको छ र राजनेताहरूलाई भ्रष्टाचारको चास्नीमा डुबाएको छ । गलत कामबाट चाँडो लाभान्वित बन्ने मानसिकताले ग्रस्त सामाजिक चेतनाले ईमान र नैतिकतालाई केवल शब्दमा मात्र सीमित गराएको छ । ‘पथभ्रष्टता’ को दुर्गन्धले गन्हाएका तर सुकिलो वस्त्रमा सजिएका सामाजिक धमिराहरूलाई समाजले नै यो वा त्यो बहानामा अग्राधिकार दिंदै सम्मान गर्ने परिवेशले गर्दा भ्रष्टाचारीहरू चौडा छाती फुलाएर समाजका हरेक क्षेत्रमा सल्बलाएका छन् ।
इच्छाशक्ति र सङ्कल्प भए भ्रष्टाचारको ‘तमसुक’ (ऋणपत्र, दृश्य प्रमाण) खोज्नुपर्दैन । न्यूनतम २० हजारदेखि अधिकतम ६०–६५ हजार तलब बुझ्ने कर्मचारीको शहरैपिच्छे घडेरी, आलिशान बङ्गला, महंगो स्कुलमा छोराछोरीको पढाइ अनि श्रीमतीका गहनाका सेटहरू कताबाट आयो ? आफूलाई श्रमजीवी पत्रकार भन्छ, तर सामन्तको जस्तो जीवनशैली छ, के मिडिया हाउसको तलबबाट मात्र यो सम्भव छ ?
समाजसेवी भन्छ, जात, धर्म र लिङ्गको खेती गर्छ, तर दिन दुई गुना रात चौगुना सम्पत्ति जोडेको देखिन्छ, त्यो कसरी सम्भव भयो? नेता भन्छ, पेशा राजनीति भन्छ, तर उसैको महंगो गाडी छ, भव्य महल छ, तारे होटलमा लन्च र डिनर छ, आकाशको यात्रा छ, त्यो कसरी र कताबाट आयो ?
उल्लेखित प्रश्नहरू आफैंमा प्रमाण होइनन् र ? राज्यले चाहँदा यिनीहरूको सात पुस्ते आर्थिक इतिहास केलाएर आजीवन काराबास दिन सक्दैन र ? तर, पथभ्रष्टहरूको प्रतिनिधि पात्र वर्तमान शासन प्रणाली यसो गर्न चाहँदैन ।
स्वार्थकेन्द्रित समाज र कर्मचारीतन्त्रको हावी
स्वार्थकेन्द्रित समाज, आत्मकेन्द्रित राजनीति, कर्तव्यच्युत प्रशासक तथा सामन्तवादी चेतना र चिन्तन सामाजिक अग्रगमनका बाधक हुन् । राजनीतिले सामूहिकतावादी चिन्तन तथा प्रगतिशील सामाजिक व्यवहारको जग नबसाउँदा समाजको हरेक सदस्य स्वार्थकेन्द्रित फोहोरी आहालमा डुबुल्की मारिरहेको छ । स्वार्थकेन्द्रित समाजको ढाडमा टेकेर राज्य प्रशासन यन्त्रका साना–ठूला सबैको प्रवृत्ति पथभ्रष्ट बनेको छ र सोही प्रवृत्तिले जनसरोकारका निकायमा कब्जा जमाएको छ । परिणामस्वरूप, आज भ्रष्टाचारको छिटा नभएका मुकाम पाउनै मुस्किल भएको छ ।
पञ्चायती पाठशालामा दीक्षित वर्तमान कर्मचारीतन्त्रको मुहार मात्र फेरिएको छ, प्रवृत्ति फेरिएको छैन । समाजको कमजोर चेतनामा खेल्न माहिर यो वर्ग विगतमा राजा र पञ्चायतको बिल्लामा संरक्षित थियो । आज राजनीतिक दलको झण्डामा संरक्षित छ । बहुदलको नयाँ बिल्लामा नवजीवन पाएको सो पथभ्रष्ट सञ्जाल राज्य संयन्त्रको निर्णायक तहमा छ । विधि निर्माणकर्ताहरू उसैको कब्जामा छन् । चाहे जुनसुकै दलको किन नहोस्, सरकार र संसद उसैको कब्जामा छ । दलीय नेतृत्वको शीर्षस्थदेखि मध्यस्थ तह उसैको कब्जामा छ ।
राजनीतिक दलहरू कर्मचारीतन्त्रको मतिभ्रष्ट सञ्जालको छिटाले लतपतिएकाले सामूहिकतावादी सोच र चिन्तन विस्थापित भएको छ । दलीय अन्तरजीवनमा व्यक्तिवाद हावी भएको छ । दलीय संगठनका हरेक सञ्जालहरूलाई विवेकशून्य दासहरूको झुण्ड बनाएको छ । निष्ठा र नैतिकतालाई बन्धक बनाएको छ । ’लैबरी नाच’ का राजनीतिक नर्तक–नर्तकीहरूले नैतिक मूल्य–मान्यता समाप्त गराएर देशलाई भ्रष्टाचारीको उर्बर भूमि बनाएका छन् । दलहरू पथभ्रष्ट सञ्जालको प्रतिकूल हुने गरी कदम चाल्न सक्ने अवस्थामा छैनन् ।
न्याय प्रणाली र राष्ट्र निर्माणको चुनौती
पथभ्रष्ट चेतनाले ग्रसित समाज ’प्राप्तिको पुजारी’ भएको छ । राज्यका संवैधानिक अङ्गका जिम्मेवारहरू सफेद वस्त्रले ढाकिएका नरभक्षी जीवाणु जस्ता भएका छन् । सम्पत्ति शुद्धीकरण तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका संवैधानिक निकायहरू ‘देखाउने दाँत’ मात्र भएका छन् । न्यायमूर्तिहरूलाई ’मत्ता हात्ती’ बनाउने गलत विधिको कारण न्याय खरिदको वस्तु बनेको छ । न्यायमूर्तिहरू न्यायका बिक्रेता बनेका छन् । न्यायिक अराजकताले न्यायालय जनभरोसाको केन्द्र बन्न सकेको छैन ।
तहगत सिंहदरबारका ठूला र साना अधिकारीहरूले भ्रष्टाचारलाई टोल–टोलमा छिराएका छन् । नदी दोहन तीव्र छ । ‘असारै विकास’ ले तारे होटलहरू भरिभराउ छन् । एनजीओवालाको खेती फस्टाइरहेको छ । अनेकौं नामधारी अधिकारकर्मीका गाला रातापिरा र चिल्ला बनि नै रहेका छन् । उपभोक्ता समितिको नाममा नयाँ ठेकेदारको जन्म गराइएको छ ।
ठेकेदारहरू कामचोर र अराजक बनेका छन् । हरेक सिंहदरबारका प्रशासन यन्त्रको पथभ्रष्टता र स्वेच्छाचारिताले सीमा नाघेको छ । अनुचित लेनदेन सामान्य बनेको छ । कानुनका काइते छिद्रहरूले कर्मचारीलाई ‘घुस मैत्री’ बनाएको छ । प्रविधिको युग छ, जनसरोकारका निकायहरू प्रविधिमैत्री पनि छन्, तर घुस नदिएसम्म कम्प्युटरको सर्भर खुल्दैन, घुस दिनासाथ तुरुन्त खुल्छ । तर, प्रमाण छैन । जनतास“ग घुसको ‘कपाली तमसुक’ पनि छैन ।
भ्रष्टाचार गर्ने अनि भ्रष्टाचारविरुद्धको अभियन्ता बन्ने प्रचलन सामान्य बनेको छ । भ्रष्टाचारी भ्रष्टाचार निवारक संस्थाको हर्ताकर्ता बन्ने परम्परा नै बनेको छ । भ्रष्टाचार निवारक संस्थाले आक्कलझुक्कल भ्रष्टाचारी समाएझैं गर्यो भने पनि अदालतको ढोका पुग्न नपाई न्यायाधीशले सफाइ दिने कुरा घाम जस्तै छर्लङ्ग भएको छ । भ्रष्ट तस्कर तथा माफियाका नायकहरू न्याय निरूपणकर्ताका हितैषी बन्ने परिदृश्यलाई पचाउनु परिरहेको छ । मतिभ्रष्टहरूको राजले ईमानलाई झुम्रो बनाएको छ ।
अब्बल भ्रष्टाचारी जनताको प्रतिनिधि बनेका छन् । निष्ठा तथा इमान अपराधीहरूको निगाहाको वस्तु भएको छ । भ्रष्टाचारीमध्येका अब्बल भ्रष्टाचारी राजकीय अवसरका हकदार बनेका छन् । नैतिक मूल्य बहिष्करणमा परेको छ । कर्तव्य पालन पाठ्यपुस्तकमा सीमित भएको छ । यसको कारक के हो ? मतिभ्रष्टहरू किन बोरामा पैसा बोकेर दलको किट किन्न लामबद्ध छन् ? उनीहरू गाडीमा पैसा खा“देर निर्वाचनमा कुन उद्देश्यका लागि जान्छन् ? कसरी यो अवस्था सिर्जना भयो ? सामाजिक अपराधीहरूले निर्वाचन जित्ने अवस्था कसरी आयो ? नैतिक जिम्मेवारी कसले लिने ? तर, प्रश्नहरू अनुत्तरित छन् । यस्तो अवस्थामा भ्रष्टाचार नबढेर के बढ्छ ? dahalmani34050@gmail.com
View : 469
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved