विराटनगर । गुणस्तरबारे प्रश्न उठेपछि नेपालमा पनि केही भारतीय ब्रान्डद्वारा उत्पादित प्याकेटबन्द मसलामा तत्काल रोक लगाउन पत्राचार गरिएको अधिकारीहरूले बताएका छन् । भारतका दुई चर्चित मसला कम्पनीहरूमाथि केही देशले प्रतिबन्ध र केहीले निगरानी गर्न थालेपछि नेपालले पनि ती कम्पनीका चार प्रकारका मसलाको आयातमा तत्कालका लागि रोक लगाउने निर्णय गरेको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भारतका एमडीएच र एभरेस्ट ब्राण्डका साम्बर मसला, करी पाउडर र फिश करी मसलाको आयातमा तत्काल रोक लगाउन सम्बद्ध सरकारी निकायहरूलाई पत्राचार गरिएको जनाएको छ । ती मसलाको आयात अनुमति जारी नगर्ने भनेर पत्राचार भइसकेको छ, विभागकी महानिर्देशक मतिना जोशी वैद्यले भनिन् ।
विभागका अधिकारीहरूका अनुसार नेपालले आयात अनुमति रोक्न पत्राचार गरेका मसलाहरूमा एमडीएचबाट उत्पादित तीन प्रकारका मसला र एभरेस्टबाट उत्पादित एउटा मसला छन् ।
डोसा र इडलीसँगै खाइने दाल र तरकारीको परिकार बनाउन प्रयोग हुने एमडीएचको साम्बर मसला, तरकारीमा प्रयोग हुने मद्रास करी पाउडर र करी पाउडर मिक्स मसला छन् ।
त्यस्तै एभरेस्टबाट उत्पादित माछाको परिकारमा प्रयोग गरिने फिश करीको आयातमा रोक लगाउन पत्राचार गरिएको अधिकारीहरूले बताए । नेपालमा भने ती मसलाहरूमा प्रतिबन्ध नभई तत्कालका लागि आयातमा रोक मात्रै लगाइएको अधिकारीहरूले बताएका छन् । विभागले अन्य देशले निगरानीमा राखेका मसलायुक्त अन्य उत्पादनहरूको पनि गुणस्तर परीक्षण भइरहेको जनाएको छ ।
परीक्षणमा हानिकारक पदार्थ भेटिए अन्य मसलाहरूमा पनि प्रतिबन्ध लगाउनेबारे छलफल हुन सक्ने अधिकारीहरूले बताएका छन् । अब हुने आयातमा रोक लगाउने निर्णय गरेको पनि अहिले बजारमा भएका मसलाबारे भने विभागले केही भनिसकेको छैन ।
आयातमा रोक लगाइनुको कारण
गत महिना सिङ्गापुर र हङ्कङले भारतीय कम्पनीहरू ‘एमडीएच’ र ’एभरेस्ट’ का मसलामा ‘एथलीन अक्साइड’ नामक क्यान्सर गराउन सक्ने रासायनिक पदार्थ ठूलो मात्रामा पाइएको भन्दै आफनो देशमा बिक्रीमा रोक लगाएपछि कैयौं देशमा ती ब्रान्डका मसलाहरूको गुणस्तर परीक्षण भइरहेको छ ।
माल्दिभ्स, बंगलादेश र अस्ट्रेलियाका खाद्यपदार्थ नियमन गर्ने निकायहरूले पनि भारतीय मसलामाथि अनुसन्धान गरिरहेको विवरण सार्वजनिक भएका छन् ।
भारतीय मसलाको ठूलो बजार चीन, अमेरिका र बंगलादेशजस्ता देश भए पनि खानेकुराको संस्कृति र खुला सीमाका कारण नेपालमा पनि ठूलो मात्रामा भारतीय मसला आयात हुने गरेको छ । भन्सार विभागको चैत महिनासम्मको तथ्याङ्क अनुसार गत वर्षको नौ महिनामा चिया, कफीसँगै भारतबाट दुई अर्ब रुपैयाँको मसला आयात भएको छ ।
नेपालका अधिकारीहरूले ‘एथलीन अक्साइड’को प्रयोगबारे संयुक्त राष्ट्रसंघको विश्व स्वास्थ संगठन र खाद्य तथा कृषि संगठनले गठन गरेको ‘कोडेक्स एलिमेन्टारिअस कमिशन’ले बनाएको मापदण्डका आधारमा यस्तो रोक लगाइएको जनाएका छन् । सदस्यराष्ट्र भएकाले नेपालले पनि उक्त संस्थाले बनाएको मापदण्ड पालना गर्दै आएको छ । यद्यपि ती मसलामा कुन तत्वको मिसावट कति मात्रामा भेटिएको थियो भन्ने विस्तृत जानकारी विभागले सार्वजनिक गरेको छैन ।
नेपालमा उजुरी परेको छैन
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार खाद्य प्रविधि विभागले हालसम्म भारतीय मसलाको गुणस्तरबारे आफ्नो मातहतका निकायमा उजुरी नपरेको जनाएको छ । तर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गर्ने परीक्षणमा गुणस्तरमा कैफियत देखिएको अवस्थामा विभागले नेपालमा प्रतिबन्ध लगाउन सक्ने विभागका निर्देशक आनन्द पोखरेल बताउँछन् । नेपालमा पनि ती उत्पादनमा समस्या देखियो र रोक्नुपर्छ भनेर पत्र आयो भने विभागले रोक लगाउँछ, उनले भने । नेपालको खाद्यसम्बन्धी कानुनमा हालै भएको संशोधनले गुणस्तर कायम गर्नुपर्ने विषयलाई थप कडाइ गरेको अधिकारीहरू बताउँछन् ।
नेपाली मसलाहरूको अवस्था के छ
नेपालमै उत्पादित बेसारमा लीड भनिने अखाद्य पदार्थको मिसावट तोकिएको सीमाभन्दा धेरै भएकोबारे पटक–पटक प्रश्न उठ्ने गरेको छ । तर नेपालमा उत्पादन भएका मसलाहरूबारे हालसम्म उजुरी नपरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक पोखरेलले बताए । बरु हाम्रोमा आयुर्वेदिक औषधिले स्वास्थ्यमा असर गर्यो भनेर उजुरी परेको छ तर मसलाका कारण असर पुग्यो भनेर उजुरी आएको छैन, उनले भने ।
बीबीसी
View : 178
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved