Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
विचार

विराटनगरमा ध्वनि आतङ्क र निरीह शासक

मोटरसाइकलले निकालेका चर्का आवाजले बाटो हिँड्ने सर्वसाधारण, अन्य सवारीचालक तथा घरभित्र बसेका बालक, बृद्ध लगायत सबैलाई पिरोलेको कुरा तिनको दिमागले बुझ्न चाहेको छैन। अनि त्यस्ता मोटरसाइकल चालकका घरपरिवारका सदस्य र अभिभावकले पनि यसमा ध्यान दिएको देखिँदैन। यस कार्यलाई विद्यमान सवारी कानुनले निषेध गरेको छ र देशका अन्य शहरमा यस्ता मोटरसाइकल चलाउने चालक र बनाउने मेकानिकलाई समेत कारबाही गरेको देख्न पाइन्छ। तर खै, विराटनगरको शासन, प्रशासन चलाउने जिम्मेवार र शान्ति–सुरक्षा दिनुपर्ने निकाय यिनको अगाडि लाचार देखिएका छन्।
अनिमेष आचार्य
७ पुष २०८२, सोमवार

विराटनगरमा हिजोआज के कति कारणले उच्च ध्वनि प्रदूषण हुने गर्छ, कहिले विचार गर्नुभएको छ ? पहिला पनि यस विषयमा उद्‌घोष  दैनिक  पत्रिकामार्फत लेख लेखेको थिएँ, तर समयक्रमसँगै विराटनगरमा ध्वनि आतङ्क घट्नुको सट्टा झन् झन् बढ्दै गएको महसुस गरेको छु। यहाँ हरूलाई के कस्तो अनुभव भएको छ?

सामान्यतया ग्रामीण क्षेत्र भन्दा नगर, महानगरमा ध्वनि प्रदूषण बढी हुने गर्छ। तर केही वर्षदेखि विराटनगरमा सामान्य भन्दा बढी नै होहल्ला र चर्का आवाजहरू सुनिने गरेको छ। एकै बिहानदेखि सडकमा गुड्ने सवारीसाधनदेखि मध्यरातमा घर अगाडिबाट चर्का स्वरमा लाउडस्पिकर र डीजे बजाउँदै हिड्ने जुलूस, जात्रा र अन्य जनसमूह नियमितजस्तै भएको छ।

खाली सडकमा गुड्दा पनि निरन्तर हर्न बजाउनेहरू उल्लेख्य मात्रामा भेटिन्छन् भने व्यस्त सडकमा त झन् हर्न बजाउनु कुनै नौलो कुरै भएन। मान्छे र सवारीसाधनको संख्या बढेसँगै होहल्ला र चर्का आवाज निरन्तर सुनिरहनु नगरवासीको बाध्यता नै भएको छ। त्यसै कारणले विराटनगरमा चर्का आवाज निकाल्ने केही प्रमुख स्रोतहरूका बारेमा चर्चा गरौं न एकैछिन।

 ठूला सवारीसाधन

  इन्धनबाट चल्ने सबै सवारीसाधनले आवाज निकाल्ने गर्छ नै। चाहे त्यो दुई पाङ्ग्रे होस् कि चार वा दश पाङ्ग्रे। अझ ट्याक्टरले निकाल्ने आवाज सबैभन्दा चर्को हुने गर्छ। इञ्जिनले निकाल्ने आवाज त रोक्न सकिँदैन। तर उपयुक्त क्षमता भन्दा बढी भार बोकेका सवारीसाधनले सामान्य भन्दा बढी चर्को आवाज निकाल्छ।

अनि सवारीसाधनमा जडान गरिएका प्रेशर हर्नले सामान्य भन्दा बढी हल्ला गर्छ। साङ्घुरा सडकमा जाम लाग्दा हर्न बजाउन थाल्छन् सवारीचालक भने अनावश्यक ठाउँमा पनि चर्को हर्न बजाउँदै गुड्ने बानीले ध्वनि प्रदूषणमा वृद्धि गरेको छ विराटनगरमा।

 दुई पाङ्ग्रे सवारीसाधन 

हिजो–आज बुलेट, क्रशफायर लगायत अन्य मोटरसाइकलहरूमा साइलेन्सर पाइपमा फेरबदल गरेर चर्का आवाज निकाल्दै कुदाउने क्रम विराटनगरमा बढेको छ। एकै बिहानदेखि मध्यरातसम्म पनि चर्का आवाजमा गुडाउने मोटरसाइकल चलाउनेहरूले आफूले त ठूलो काम गरें भन्ठानेका होलान्।

तर तिनका मोटरसाइकलले निकालेका चर्का आवाजले बाटो हिँड्ने सर्वसाधारण, अन्य सवारीचालक तथा घरभित्र बसेका बालक, बृद्ध लगायत सबैलाई पिरोलेको कुरा तिनको दिमागले बुझ्न चाहेको छैन। अनि त्यस्ता मोटरसाइकल चालकका घरपरिवारका सदस्य र अभिभावकले पनि यसमा ध्यान दिएको देखिँदैन।

यस कार्यलाई विद्यमान सवारी कानुनले निषेध गरेको छ र देशका अन्य शहरमा यस्ता मोटरसाइकल चलाउने चालक र बनाउने मेकानिकलाई समेत कारबाही गरेको देख्न पाइन्छ।

तर खै, विराटनगरको शासन, प्रशासन चलाउने जिम्मेवार र शान्ति–सुरक्षा दिनुपर्ने निकाय यिनको अगाडि लाचार देखिएका छन्। सुरक्षाकर्मीको बाक्लो उपस्थिति भएकै ठाउँबाट यस्ता मोटरसाइकलहरू दिन–रात निर्वाध कुदिरहेका छन्, कसैलाई रोकेको, सोधेको देखिँदैन।

कतिपय हेर्दा सभ्य देखिने मोटरसाइकल चालकसमेत खुला सडकमा अनावश्यक हर्न बजाउँदै गुडिरहेको पनि सामान्य घटना भएको छ विराटनगरमा। हर्न निषेध अभियान पनि कुनै बेला चलेको थियो, अहिले खै किन हराएको छ?

३. तीन पाङ्ग्रे सवारीसाधनः विराटनगरको पुरानो पहिचान तीन पाङ्ग्रे रिक्सा हिजो–आज विलुप्त नै भएको छ। बरू तीनको ठाउँमा ब्याट्रीबाट चल्ने रिक्साहरू छ्यापछ्याप्ती छन् बजारमा। हुन त ब्याट्रीबाट चल्ने रिक्साहरू कुनै पनि आवाज ननिकालेर गुड्नुपर्ने हो।

तर नियमित मर्मतसम्भार नगरेका यस्ता रिक्साहरू गुड्दा ट्रक अथवा रेल भन्दा चर्को आवाज निकालेर गुड्छन् सडकमा। अनि रिक्साहरूले सडकमा बाटो छेकेपछि पछाडिबाट अन्य सवारीसाधनले बजाउने हर्नले गर्ने हल्लाको त कुरै छैन।महानगरको काम भनेको यस्ता रिक्सा दर्ता गरेर शुल्क उठाउने मात्र हो त? यिनको यान्त्रिक अवस्था जाँच्ने कार्य नियमित गर्ने र बेलावखत आकस्मिक जाँच गर्नुपर्ने हो महानगर र ट्राफिक प्रहरीले।

 लाउडस्पिकर र डीजे 

साँझ–बिहान वा मध्यराति मस्त निन्द्रामा रहेका बेला अचानक चर्को आवाज निकाल्दै हिड्ने जुलूस, जन्ती वा लाउडस्पिकर जडान गरेका सवारीसाधनको कर्कश आवाजले हैरान हुनु त सामान्यजस्तै भैसक्यो विराटनगरमा। बिहे होस् कि जात्रा वा जुलूस होस्, भजन, किर्तन वा सप्ताहपुराण वा जागरण, सबैको नाममा चर्का स्वरमा लाउडस्पिकर बजाउँदा कसैले कसैलाई विचार गर्दैनन् यहाँ।

समारोहहरूमा घर हाताभित्र सीमित राखेर बजाउनु वा लाउडस्पिकर बिना ब्याण्डबाजा बजाउनु त पुरानो जमानाको कुरा भयो क्यार।

अझ एकै जनाले केटा र केटीको स्वरमा कर्कश आवाज निकाल्दै लाउडस्पिकरमा गाउँदा नाच्ने जन्तीका दृश्य अनौठा छैनन् यहाँ। उद्वेकलाग्दो कुरा त तिहारमा देउसी–भैलो खेल्न समय तोक्ने प्रशासनले रातभर यस्ता चर्का ध्वनि प्रदूषण गर्ने कुरामा रोक लगाउन कुनै पहल गरेको देखिँदैन।

राजनीतिक दलहरूका कार्यक्रममा त दुई–चार किलोमिटर परसम्म तार बाँधेर लाउडस्पिकर जडान गरेर तिनका नीरस र कर्कश भाषण सुन्न नागरिकलाई बाध्य बनाइरहेका छन्। कुनै धार्मिक, व्यापारिक वा सांस्कृतिक कार्यक्रम हुने भयो भने हप्तौँ दिनसम्म कर्कश ध्वनिसँग लाउडस्पिकरमा प्रचार–प्रसार हुनु अति नै सामान्य झैं भएको छ विराटनगरभित्र।

पटक्का : बितेका केही महिना जुनसुकै बेला पटक्का पड्केको सुनिनु अचम्म रहेन विराटनगरमा। अनौठो कुरा भनेको नेपालको गृह प्रशासनले देशभर पटक्का निषेध गरेको दशकौं भैसक्यो। तर विराटनगरमा चाड–पर्व (तिहार र छठ विशेष) मात्र हैन, कुनै पनि समारोह, विवाह, जन्ती आदिमा रातभर पटक्का पड्केको सुनिन्छ। अझ जिल्ला प्रशासन तथा प्रहरी कार्यालय अगाडिकै घर र सडकमा निरन्तर पड्केका यस्ता पटक्काका आवाज शासक, प्रशासकले किन सुन्दैनन् कुन्नि ?

शासन–प्रशासनकै उपस्थितिमा हुने गरेका कतिपय समारोहमा नै पटक्का पड्काएको समेत देखिन्छ। कसैलाई कारबाही गरेको समाचार आजसम्म सुन्न पाइएको छैन विराटनगरमा। लक्ष्मीपुत्रहरूका नगदनारायण र राशनको प्रभावले शासन–प्रशासनले यिनको अगाडि शीर्षासन गरेको पो हो कि?

विराटनगरका अधिकांश क्षेत्रका नागरिक राति आफ्नो घरभित्र शान्तिसाथ सुत्न पाउँदैनन्। दिनभर हुने हल्लाको त कुनै लेखाजोखा छैन। यसले नागरिकको स्वास्थ्य, शिक्षा तथा कार्यक्षेत्रमा ज्यादै नकारात्मक असर पुगेको छ भने यो समस्या दिन–दिनै बढ्दो क्रममा छ।

होहल्ला र चर्का ध्वनि आतङ्कबिरुद्ध समाजका सबै पक्ष जागरूक नभई यसको समाधान हुन सक्दैन। विराटनगरमा चर्का आवाज निकाल्ने गतिविधिमा कतिपय शिक्षित र सम्पन्न नागरिकहरू तथा संघ–संस्थाहरूकै संलग्नता छ, उनीहरूले आफ्नो गल्ति सच्याउनु पर्छ।

आफूलाई महानगरवासी र सभ्य समाज भनाउने नागरिक समूह, जनप्रतिनिधि एवं शान्ति, सुरक्षा र शासन–प्रशासन चलाउने अधिकारवाला सबैले ध्वनि प्रदूषण विरुद्ध अभियान चलाउने, जनचेतना फैलाउने, अनि नमान्नेलाई कारबाही गर्ने हो भने ध्वनि प्रदूषण रोक्न धेरै समय लाग्दैन।

स्थानीय समाजका सदस्यका साथमा निर्वाचित जनप्रतिनिधिसहित विराटनगर महानगरले यसमा पहल सुरू गर्नुपर्छ, पछिल्तिरबाट जिल्ला प्रशासन र प्रहरीले सहयोग गर्नुपर्छ। ध्वनि प्रदूषणरहित शान्त वातावरण सभ्य समाजको परिचय हो भने शान्त वातावरणमा बस्न पाउनु हाम्रो नागरिक अधिकार पनि हो। एकपटक सबैले विचार गर्ने कि।

View : 389

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved