Biratnagar, Morang, Nepal
१६ वैशाख २०८१, आइतवार
+977 21 450305, 515728, 578305
कोशी

मोरङ कारागारमा कैदीबन्दीको औषधि उपचारमा समस्या

औषधि खरिदकाे बजेट ६ महिनामै रितियो, उपचारमा दाता खोज्दै कारागार प्रशासन

उद्घोष सम्वाददाता
१४ चैत २०८०, बुधवार

विराटनगर । मोरङ कारागारका कैदीबन्दीका लागि औषधि खरिद गर्न आवश्यक बजेट नहुँदा समस्या भएको छ । सरकारले विनियोजन गरेको बजेट ६ महिनामै सकिएपछि आगामी दिनका लागि औषधि खरिदमा समस्या भएको कारागार प्रशासनले जनाएको छ ।

मोरङ कारागारमा ९४ महिला ८ नाबालक/नाबालिकासहित एक हजार ५१ कैदीबन्दी छन् । तिनीहरूमध्ये १ सय ३१ जना कैदी बन्दी दीर्घरोगी छन् ।

कारागार प्रशासनका अनुसार उच्च रक्तचाप, मधुमेह, थाइराइड, क्यान्सर, मृगौला, मुटु जस्ता दीर्घरोग भएका कैदी बन्दी निकै छन् । उनीहरूलाई नियमित औषधि खुवाउनुपर्ने हुन्छ । तर, बिनियोजित बजेट औषधि खरिदमा सकिएपछि थप औषधि खरिद गर्न समस्या भएको बताइएको छ ।

कारागारका कैदीबन्दीका लागि औषधि किन्न बजेट अभाव भएपछि औषधि उपचारका लागि सहयोग गरिदिने दाताको खोजीमा रहेको मोरङ कारागारका प्रमुख  कृष्णहरि न्यौपानेले बताए ।

कारागार प्रमुख न्यौपानेले भने, ‘अब तीन महिना जतिलाई मात्र औषधि खरिद गर्ने बजेट रहेको हुँदा मानवीय नाताले कारागारमा थप औषधि खरिदमा समस्या हुन नदिन सरकारी तथा गैरसरकारी र सामाजिक संघसंस्थाहरूसँग सहयोग माग्न बाध्य भएका छौं ।’

उनले भने–‘साँघुरो बसाई, फोहोर मैलालगायतका कारण उनीहरू बिरामी नभएको दिन नै हुँदैन । बाँकी छ महिना उपचारका लागि सहयोग गरिदिने दाताको खोजीमा छौं ।’

कारागारमा रहेका कैदीबन्दीमध्ये नियमित औषधि खाने दीर्घरोगी बाहेक अतिरिक्त समय/समयमा कैदीबन्दी बिरामी हुँदा औषधि किन्नुपर्ने हुन्छ ।

कारागार विभागले चालु आर्थिक वर्षका लागि २१ लाख  बजेट पठाएको थियो । उक्त बजेटबाट यसअघि नै औषधि खरिदमा खर्च भईसकेकाले मुख्यत नियमित औषधि सेवन गर्ने कैदीबन्दीको दैनिक औषधिको व्यवस्थापनमा जटिलता देखिएको बताइएको छ । 

विराटनगर मेडिकल हब भएका कारण कोशी प्रदेशमा रहेका अन्य जिल्लाबाट समेत विरामी कैदीबन्दी यहाँ ल्याइने भएकाले पनि उनीहरूको औषधि उपचारमा अतिरिक्त बजेट खर्चिनु पर्ने अवस्था रहेको कारागार प्रशासनले जनाएको छ ।

जेलर न्यौपानेका अनुसार कोशी अस्पतालमा मात्र चार बर्षयताको कैदीबन्दीको औषधि उपचार खर्चको बिल १ करोड रूपैयाँ भुक्तानी गर्न बाँकी छ ।

कारागारमा कार्यरत अहेव भीमकुमार राईका अनुसार कारागारमा २८ जना महिलासहित एक सय ३१ जना नियमित औषधि सेवन गर्ने कैदीबन्दी छन् ।

कारागार प्रशासनको तथ्याङक अनुसार सबैभन्दा बढी उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने ३५ जना कैदीबन्दी छन् । यस बाहेक नियमित औषधि सेवन गर्ने मधुमेहका १५, मानसिक रोगका २५, श्वासप्रश्वास सम्बन्धी तीन, थाइराइडका ६, छारेरोगका दुई, क्षयरोगी १६, एआईभी एड्सका तीन, रक्तअल्पता दुई र मुटुका दुई जना दीर्घरोगी छन् । उनीहरूले नियमित औषधि सेवन गर्नैपर्ने हुन्छ । 

यसबाहेक १८ जना पुरूष र चार महिला गरी कूल २२ जना कैदीबन्दीले आफ्नै खर्चमा नियमित औषधि सेवन गरिरहेका छन् । प्रत्येक बर्ष कारागारमा कैदी र थुनुवाका संख्यामा वृद्धि भएकाले समस्या हुने गरेको कारागार प्रशासनले जनाएको छ । कतिपय अवस्थामा डाक्टरले सिफारिस गरेको औषधिसमेत खरिद गर्न नसकेको जेलर न्यौपानेको भनाइ छ ।

कारागार सुधार उच्चस्तरीय सुझाव समिति, २०६४ को सुझावको बुँदा नं १३ मा कैदीबन्दीहरूको औषधि उपचारको लागि पर्याप्त बजेटको व्यवस्था गर्ने भनेको छ । तर सानो ठाउँमा खचाखच कैदीबन्दी बस्नुपर्ने बाध्यताले प्राय दैनिक १० जना भन्दा बढी बिरामी हुने गरेको कारागार प्रशासनले जनाएको छ ।

अधिकांश कैदीबन्दीमा छाला र भाइरल ज्वरोको समस्या हुने गरेको छ । कारागारमा एक जना सिनियर अहेवको दरबन्दी रहेको छ ।  विभिन्न समयमा विशेषज्ञ डाक्टरको टोलीले कारागारमा आएर निःशुल्क स्वास्थ्य जाँच गरेर सहयोग गरिरहेको कारागार प्रशासनले जनाएको छ ।

View : 77

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved