विराटनगर । विश्व महाशक्ति राष्ट्र अमेरिका यतिबेला राष्ट्रपतीय चुनावको चटारोमा छ । उपराष्ट्रपति कमला ह्यारिस र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपति बन्ने दौडमा छन् । अमेरिकी राष्ट्रपति चुनावको यो होडमा न्यूयोर्क राज्यमा कमला ह्यारिसको चुनावी कमाण्डर छन् विराटनगरका युवा सोमनाथ घिमिरे ।
डेमोक्र्याट उम्मेद्वार ह्यारिसको चुनावी अभियानमा संसारभरबाट त्यहाँ भेला भएका आप्रवासीहरू सहभागी छन् । त्यसमध्ये दक्षिण एसियालीहरूको हिस्सा ठूलो मध्येको एक हो । दक्षिण एसियाली देशबाट भाग्य बनाउन न्यूयोर्कमा रहेका लाखौं सर्वसाधारणले आप्रवासीहरूप्रति उदार ह्यारिसलाई सहयोग गर्न ‘साउथ एसियन फर ह्यारिस’ अभियान चलाइरहेका छन् । ५३ वर्षे घिमिरे त्यही अभियानको निर्देशक बनेर नेतृत्व गरिरहेका छन् ।
‘राष्ट्रपतीय चुनावमा ८० प्रतिशत नेपालीले कमला ह्यारिसलाई समर्थन गरेका छन्’ चुनावी चटारोका बीच छोटो बिदामा जन्मथलो विराटनगर आइपुगेका घिमिरेले उद्घोषलाई सुनाए, ‘नेपाल, भारत, बंगलादेश, पाकिस्तान, म्यानमार, मालदिभ्स, भूटान, अफगानिस्तानबाट पुगेका धेरैको समर्थन उहाँ(कमला)लाई नै छ । स्वदेशीहरूको त हुने भइहाल्यो । त्यसैले उहाँको जीत हुनेमा हामी विश्वस्त छौं ।’
विराटनगर–३ पोखरियामा जन्मेहुर्केका, तीनटोलियामा पनि धेरै वर्ष बिताएका घिमिरे अमेरिका पुगेर निजी काममा मात्रै एकोहोरिएका थिएनन् । अमेरिका बसाइको २८ वर्षमा उनले निजी कामसँगै सामाजिक र राजनीतिक काममा पनि आफूलाई सक्रिय तुल्याए । त्यही सत्रियताले उनलाई त्यहाँ राजनीतिक रुपमा स्थापित गरिरहेको छ ।
मानवअधिकारको सक्रिय अभियन्ता भएकै कारण घानामा उत्कृष्ट अधिकारकर्मीका रुपमा सममानित भइसकेका उनी पहिलो अमेरिकी नेपाली हुन् । घानामा ४८ देशका अधिकारवादीलाई सम्मान गरिएको थियो । उनी अन्तर्राष्ट्रिय लिडरसिप अवार्डबाट विभूषित भइसकेका छन् ।
यसरी निरन्तर बढ्दै गएको त्यही उचाइकै कारण आउँदो वर्ष सन् २०२५ मा हुने अमेरिकी प्रादेशिक चुनावमा उनी डेमोक्र्याट उम्मेद्वार बन्ने दौडमा छन् । ‘म २०२५ मा न्यूयोर्क राज्यको ‘न्यूयोर्क स्टेटको एसेम्बली मेम्बर’ का लागि डेमोक्र्याट उम्मेद्वार बन्ने दौडमा छु’, उनले भने ‘पार्टीकै तर्फबाट अहिले पनि म डिस्ट्रिक जुडिसियल डेलिगेट्स निर्विरोध छानिएको छु । त्यसैले आशावादी छु ।’ अमेरिकाको स्टेट एसेम्बली मेम्बरलाई नेपालका प्रदेश सांसद जसरी बुझ्न सकिन्छ ।
विराटनगरमा हुन्जेल नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघमा सक्रिय रहेका घिमिरे शैलजा आचार्यको राजनीतिक अभिभाकत्वमा हुर्किए । सन् १९९६ डिसेम्बर २१ मा उनले अमेरिकी भूमि टेक्दा त्यहाँ विरलै नेपाली भेटिन्थे । कम्प्युटर साइन्स पढ्न त्यहाँ पुगेका उनले सुरुमा भोगेका हन्डर, ठक्कर र अपमानको कहर भुल्दै गएका छन् ।
‘न्यूयोर्क पुगेको तीन चार वर्ष एकदमै गाह्रो भयो । सबैभन्दा पहिला त नेपाल धेरै मिस हुन्थ्यो’, नोष्ट्याल्जिक बन्दै उनले सम्झिए, ‘नेपालीहरू धेरै थिएनन् । त्यसैले त्यहाँ धेरै हेपाइ सहनुपर्थ्यो । तर, मेरो कलेजका एक जना भारतीय प्रोफेसरले मलाई हौसला दिनुहुन्थ्यो । यो अवसरको भूमि हो भन्नुहुन्थ्यो । विस्तारै घुलमिल हुँदै गइयो । विस्तारै कलेजमा नेपाली चार जना जति भेटिए । अनि बसाइ सहज हुँदै गयो ।’
त्यहाँ पुगेको एक सातापछि नै काममा लागेका उनले सुरुमा होटलमा भाडा माझे, टेबल पुछे, वेटर भएपछि केही सहज भयो । आम्दानी पनि बढ्यो । होटलमा १५ वर्ष काम गरेपछि उनले टायल्स, मार्बल, ग्रेनाइटको आफ्नै व्यापार चलाए ।
कोरोना महामारीपछि त्यो व्यापार बन्द भयो । अहिले उनी लगवाडियाको डोमेस्ष्टिक एयरपोर्टमा सुपरभाइजरको रुपमा काम गरिरहेका छन् । त्यो काम र सामाजिक, राजनीतिक काममै उनका दिनहरू बितिरहेका हुन्छन् । विराटनगरको आदर्श रात्री क्याम्पसमा नेविसंघको इकाइ सचिव हुँदै अमेरिका पुगेका उनले आफू पढ्ने लग वाडिया कलेजमा पनि नेविसंघको समिति बनाए ।
सिटी युनिर्भसिटी अफ न्यूयोर्क मातहतको यो कलेजमा सन् २००० मा नेविसंघ गठन गर्दा त्यसबेला नेविसंघमा गुरुराज घिमिरे सभापति र गगन थापा महामन्त्री थिए । त्यसपछि घिमिरेले नेपाली विद्यार्थीलाई काम खोज्ने, कोठा खोज्नेदेखि अन्य सहयोग गर्ने काम सुरु गरे ।
नेपालमा माओवादी द्वन्द्व बढ्दै गएको थियो । नेपालीहरू अमेरिकातिर धेरै ओइरिन थालेका थिए । सन् २००५ देखि नेपालीको संख्या त्यहाँ बढ््दै गयो । सहरमा नेपाली थपिदै गएपछि न्यूयोर्कका नेपालीहरूले भने सजिलो महसुस गर्दै गए । त्यहीबेला त्यहाँ नेपाल सेन्टर स्थापना भयो ।
सन् २००७ मा कुलचन्द्र गौतम तथा मुरारीराज शर्माहरूको अगुवाइमा स्थापित सेन्टरको महासचिव भए घिमिरे । नेपालीलाई सहयोग गर्न भनेर स्थापना भएको सेन्टर केही समयमै छिन्नभिन्न जस्तो भयो ।
त्यसअघि नै अमेरिकामा ‘अलाइन्स फर डेमोक्रेसी एण्ड ह्युमन राइट्स फर नेपाल’ नामक संस्था स्थापना भएको थियो । नेपालमा राजा ज्ञानेन्द्रले कु गरेर निरंकुशता लादेका थिए । सो संस्थाले संयुक्त राष्ट्रसंघको न्यूयोर्कस्थित मुख्यालयदेखि वासिङ्टन डिसीमा रहेको ह्वाइटहाउसमा नेपालमा लोकतन्त्र पुनःबहालीको माग गर्दै निरन्तर प्रदर्शन गर्यो । त्यसले विश्वकै ध्यानाकर्षण गराएको थियो । सन् २०११ मा घिमिरे सो संस्थाको सभापति चुनिए ।
त्यसको कार्यकाल सकिएपछि उनी कांग्रेसकै भ्रातृसंस्था नेपाली जनसम्पर्क समिति न्यूयोर्कको सभापति बने । ‘समिति कांग्रेसको भ्रातृसंस्था थियो तर हामीले सबैलाई सहयोग गर्यौं’, उनले भने ‘नेपालीहरूका लागि काम खोज्ने, इमिग्रेसनको समस्या सुल्झाउनेदेखि कोठा खोज्ने, कसैलाई एउटाबाट अर्को राज्य सरेर जाने काममा सहजीकरण गर्यौं ।’ अहिले घिमिरे गिरिजाप्रसाद कोइराला फाउन्डेसन अमेरिकाको अध्यक्ष छन् ।
‘मलाई विराटनगरकै अग्रज दाइ लव घिमिरेले शैलजा आचार्यसँग चिनाउनुभएको थियो’, उनले सम्झना गरे ‘त्यही लिगेसीले अमेरिका गएर सक्रियता देखाउन पाएँ ।’ नेपाली प्रजातान्त्रिक आन्दोलनको अग्रणी दल कांग्रेस पृष्ठभूमिका भएका कारण उनी अमेरिकामा डेमोक्र्याट दलमा आवद्ध भए । त्यसमा आवद्ध बनेर सक्रिय बनेको पनि दुई दशक नाघिसकेको छ ।
यसबीचमा उनी सम्बद्ध विभिन्न संस्थाहरूले ३० हजारभन्दा बढी नेपाली र त्यत्तिकै संख्यामा दक्षिण एसियाली मुलुकका आप्रवासीहरूलाई सहयोग गरिसकेको छ ।
आप्रवासीप्रति अनुदार डोनाल्ड ट्रम्पले ५७ जना नेपालीलाई देश निकाला गर्न लागेका थिए । ‘हामीले कानुनी लडाइ लड्न उहाँहरूलाई सहयोग गर्यौं’, उनले भने ‘अमेरिकाको विभिन्न जेलमा थुनिएका ती नेपालीलाई देश निकाला हुनबाट बचायौं । अहिले केस चल्दै गर्दा पनि काम गर्ने सुविधा पाउनुभएको छ । ८० लाख, ६० लाख तिरेर पुगेकाहरू निकालामा परेको भए के हुन्थ्यो, कल्पना गर्न पनि सकिन्न ।’
मानवअधिकारको ग्यारेन्टी, कानुनको शासन र श्रमको सम्मान हुने भएकै कारण अमेरिकाप्रति विश्वकै आकर्षण छ । ‘आकर्षण उच्च छ, त्यहाँ अवसर पनि छ’, अमेरिकी सपना बुनिरहेका नेपालीलाई उनको टिप्स छ ‘अंग्रेजी भाषामा बलियो पकड बनाउनुस्, केही न केही सीप सिकेर मात्रै जानू । अन्यथा दुःख धेरै पाइन्छ । पातपातमा डलर फलेको हुन्न त्यहाँ ।’
सन् २०१८ यता घिमिरे नेपालका दुर्गम क्षेत्रहरूमा ‘डिजिटल ब्रिजेस फर नेपाल’ अभियानमा आवद्ध छन् ।
स्थानीय सरकारसँग मिलेर डिजिटल शिक्षाका लागि काम गर्ने यो संस्थाले नेपालका मनाङ, जोमसोम, गोर्खा, सोलुखुम्बु, मोरङ, कालिकोट, खोटाङ लगायतका क्षेत्रमा विद्यालयहरूमा डिजिटल शिक्षाका लागि सहयोग गरिरहेको छ । केही वर्षभित्रमा नेपालका सबै जिल्लामा यो अभियान पुर्याउने लक्ष्य राखिएको घिमिरेले बताए । गतवर्ष मात्रै विराटनगर– १९ मा रहेको सार्वजनिक माविमा कम्प्युटर ल्याब स्थापना गर्न यही अभियानले सहयोग गरेको थियो ।
सुरुमा अमेरिका जाँदै गर्दा घिमिरे सोच्थे, पढेर नेपाल नै फर्कन्छु । तर, पारिवारिक दायित्व र अभिभाराले उतै बस्न बाध्य पारेको उनी सुनाउँछन् । उनले जतिबेला नेपाल छाड्दै थिए, त्यसबेला गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री थिए ।
अहिले सत्तावरिपरि रहेका नेताहरू विभिन्न राजकीय जिम्मेवारीमा थिए । अहिले तीन दशकपछि पनि तिनै नेताहरू उही जिम्मेवारीमा छन् । उनी अमेरिका पुग्दा बिल क्लिन्टनको पहिलो कार्यकाल चल्दै थियो ।
उनले दुई कार्यकाल बिताएपछि जर्ज डब्लु बुस र बाराक ओबामा दुई–दुई पटक राष्ट्रपति बने । डोनाल्ड ट्रम्प एकपटक र अहिले जो बाइडेन राष्ट्रपति छन् । अबको केही समयमै अमेरिकाले नयाँ राष्ट्रपति पाउँदैछ, जहाँ उनी ह्यारिस जिताउने अभियानमा छन् ।
‘हामीले देश छाड्दा जो जो सत्ताको वरिपरि थिए यहाँ अहिले पनि तिनै देखिन्छन् तर देशले फड्को मार्न सकेको देखिन्नँ, म्युजिकल चेयर चलेको चल्यै छ’, उनले कुराकानीको बिट मारे ‘सायद हामीमा भिजनको अभाव भयो कि, यसबारे गम्भीर समीक्षा हुन जरुरी छ भन्ने लाग्छ ।’
View : 384
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved