Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

पौरखी पात्र – ४३

चित्रभित्रको मार्गचित्र

राजन पौडेल
१४ फागुन २०८२, बिहिवार

जिन्दगी भनेको आफैँले कोरेर बनाउने तस्बिर रहेछ। मेहनत गरे 'चित्र', अल्छी गरे 'विचित्र'। ललितकला (चित्रकला) सिक्दाका सुरुवाती क्षण र आजको उपलब्धि सम्झँदा मलाई यस्तै लाग्छ। म सम्झन्छु, ७–८ वर्षको उमेरमा खाली कागज भेट्नेबित्तिकै चित्र कोरिहाल्थेँ। ललितकला क्याम्पसमा पढ्ने विचार थियो, तर व्यावहारिक कारणले पढ्न नपाए पनि सिक्न भने छाडिनँ। अझै पनि सिकिरहेकै छु।

जागिर खाने सिलसिलामा निजी क्षेत्रका विभिन्न कार्यालयमा काम गरेँ। यसरी काम गर्दा पनि चित्र कोर्न भने छाडिनँ। यो एक प्रकारको नशा झैँ भएको थियो। त्यसैले अन्य सबै काम छाडेर यसैमा भविष्य खोजेँ र विगत १० वर्षदेखि यही पेसामा निरन्तर लागेको छु। आर्ट (कला) दैनिक नभई नहुने र दिनहुँ खपत हुने वस्तु होइन। त्यसैले यो व्यवसायमा एकनासको कमाइ हुँदैन। कुनै दिन राम्रै बिक्री हुन्छ, कहिले त एक रुपैयाँको पनि व्यापार हुँदैन। तर पनि लाग्छ— अब व्यवसाय लयमा छ। चित्रभित्रको मार्गचित्र क्रमशः प्रष्ट हुँदैछ।

सानै ठाउँमा भए पनि एक वर्षदेखि 'आर्ट ग्यालरी', तालिम र आवश्यक सम्पूर्ण सामग्रीहरू उपलब्ध गराउँदै आएको छु। विराटनगरमा मभन्दा सिपालु कलाकारहरू हुनुहुन्छ, तर ग्यालरी, तालिम र सामग्रीहरू एकै ठाउँमा पाइने पसल अन्यत्र देखेको छैन। न्युरो अस्पताल पूर्व, धर्मबाँध रोडमा रहेको उनको 'सन्साइन आर्ट' हेर्न लायक छ।

आर्टको मूल्य कसरी तय हुन्छ? ४३ वर्षीय पुष्कल लामिछाने पेन्टिङ र भाइबहिनीहरूलाई तालिम दिँदै भन्छन्— "आर्टको मूल्य त्यसको प्रकार (स्केच वा पेन्टिङ), साइज, प्रयोग हुने रङ्गको किसिम र मात्रा, फ्रेमको प्रकार, समय र मेहेनतमा भर पर्छ।" उनले अहिलेसम्म एउटै पेन्टिङ २५ हजार रुपैयाँसम्ममा बेचेका छन् भने स्केच ५ सय रुपैयाँदेखि उपलब्ध छ।

चुनौतीहरू के-के छन्? यस व्यवसायको पहिलो चुनौती भनेको कलाको कदर नहुनु नै हो। विराटनगरमा न त व्यवस्थित प्रदर्शनी स्थल छ, न त कला किन्ने चलन नै बसेको छ। विदेशी पर्यटकहरूको आगमन पनि न्यून छ। आर्ट केवल चित्र मात्र होइन, यो त व्यक्तिको सोच र संस्कार हो भन्ने बुझाइमा कमी छ। त्यसैले होला, राज्यको यसबारे न कुनै चिन्ता छ, न त कुनै प्रोत्साहन नै।

आर्ट सिक्न कति सजिलो छ? यदि व्यक्तिमा धैर्यता, निरन्तरता र सृजनशीलता छ भने यो सजिलो छ, अन्यथा निकै अप्ठ्यारो। मसिनो काममा एकाग्र भएर लाग्दा आँखा दुख्छ। घाँटीको पछाडिको भागमा दबाब पर्छ। लामो समयसम्म पेन्सिल वा ब्रस च्याप्दा औँलाहरू झमझमाउँछन् र पाखुरा दुख्छ।

ज्यामितिको ज्ञान किन आवश्यक छ? चित्रकला र ज्यामितिको निकै नजिकको नाता छ। ज्यामिति आर्टको आधारशिला हो। रेखा, कोण र तिनबाट निर्मित आकृति— वृत्त, त्रिभुज र चतुर्भुजबाट नै चित्रकला सुरु हुन्छ।

विराटनगर–८ का पुष्कल हाल क्यानभास र रङ्गमा मात्र सीमित छैनन्। उनको यो लगावले समाज र भविष्यलाई पनि स्पर्श गरेको छ। एक समर्पित शिक्षकको रूपमा उनी विराटनगरकै अरनिको बोर्डिङ स्कुलमा चित्रकला अध्यापन गराइरहेका छन्। साथै, आफ्नै स्टुडियोमा नयाँ पुस्तालाई कला सिकाइरहेका छन्। उनी भन्छन्— "कला सिकाउनु केवल सीप हस्तान्तरण मात्र होइन, उनीहरूको सोच, आत्मविश्वास र अभिव्यक्तिलाई बलियो बनाउने माध्यम पनि हो।"

उनको बुझाइमा चित्रकला रङ्गसँग खेल्नु मात्र नभई मानवीय भावना, कल्पना, सपना, संस्कृति र विचारहरूलाई अभिव्यक्त गर्ने शक्तिशाली दृश्य कला (Visual Art) हो। यो एउटा यस्तो भाषा हो, जसले शब्दबिना नै धेरै कुरा भन्न सक्छ। डिजिटल युगमा जहाँ बालबालिका मोबाइल र स्क्रिनमा सीमित हुँदै गएका छन्, उनीहरूलाई सृजनात्मक यात्रातर्फ डोर्‍याउनु प्रशंसनीय कार्य हो।

नेपालमा 'फाइन आर्ट'को इतिहास प्राचीन सभ्यतादेखि नै बलियो छ। यद्यपि, सीमित लगानी, सरकारी समर्थनको कमी र कलाकारको आर्थिक असुरक्षाले यस क्षेत्रको विकासमा बाधा पुर्‍याएको पुष्कल बताउँछन्।

हालै विराटनगरमा सम्पन्न कोशी प्रदेश स्तरीय ललितकला प्रदर्शनीमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्रादेशिक र स्थानीय तहमा प्रतिष्ठान गठन हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभएको थियो। त्यस्तै, चित्रकला विभाग प्रमुख सञ्जय वान्तावा र विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलले पनि स्थानीय तहमा कला संरचना हुनुपर्नेमा जोड दिनुभएको थियो।

भविष्यको योजनाबारे पुष्कल भन्छन्— "विराटनगरमै एउटा अझ व्यवस्थित आर्ट ग्यालरी र चित्रकला तालिम केन्द्र खोल्ने मेरो सपना छ।"

View : 132

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved