Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

‘मनोचिकित्सककहाँ गएपछि औषधि खानैपर्छ भन्ने धारणा गलत हो’

आन्दोलनका क्रममा देखिएको तनाव, सामाजिक मिडियामा लगातार देखिएको उत्तेजना र अनिश्चितताको वातावरणले युवाहरूमा भय, झिनझिनाहट, अस्थिरता, छटपटी र निन्द्रामा समस्या ल्याइदिएको छ ।
उद्‌घोष संवाददाता
५ मंसिर २०८२, शुक्रवार

निरन्तर बदलिदो राजनीतिक परिवेश, जेनजी आन्दोलनले युवाको मनोविज्ञानमा पारेको हलचल थामिन नपाउँदै चाडपर्वकै नाममा देखिने आर्थिक दवाब, त्यसको लगत्तै बाढी–पहिरो जस्ता प्राकृतिक विपद्ले ल्याएको लगायतका कारणले नेपाली समाजको मानसिक स्वास्थ्य पछिल्लै वर्षहरूमा अत्यन्तै चुनौतीपूर्ण मोडमा पुगिरहेको छ । कोशी प्रदेशमा मात्र होइन, देशभर मानसिक स्वास्थ्य सेवामा आउने बिरामीको संख्या ह्वात्तै बढेको मानसिक रोग बिशेषज्ञहरू बताउँछन् । त्यसमाथि मानसिक स्वास्थ्यप्रति हाम्रो सामाजिक मानसिकता अझै पनि ‘लाजको कुरा’, ‘बोल्न नहुने विषय’ र ‘सहनुको कुरा’ जस्ता भ्रम अझ पनि जरा गाडेर बसेको छ । जसले गर्दा सामान्य तनाव उपचार नपाएर जटिल रोग बन्दै गइरहेको छ । त्यसैले मानसिक समास्याको बिषयमा अब पनि खुलेर नबोल्ने हो भने यसले निकट भबिष्यमा ठूलो स्वास्थ्य संकट ल्याउन सक्ने सरोकारवालाहरू बताउँछन् । 

यही परिप्रेक्ष्यमा कोशी अस्पतालका मानसिक स्वास्थ्य विशेषज्ञ डा. सचिन नेपाली सँग पछिल्लो अवस्थादेखि लिएर उपचार, सामाजिक दृष्टिकोण, युवाको समस्या, सामुदायिक भूमिकादेखि मानसिक समस्यालाई कम गर्न अपनाउनुपर्ने जिवनशैली लगायतका बिषयमा उद्घोषकर्मी जुनु भट्टराई ले गरेको कुराकानीको सार :

 

पछिल्लो समय मानसिक स्वास्थ्य समस्याका बिरामी बढ्दै गएको सुनिन्छ किन यस्तो भएको ? 

पछिल्ला केही ममहिनाहरूमा मानसिक स्वास्थ्य समस्याको तीव्र वृद्धि कुनै एक कारणले मात्र भएको होइन, विभिन्न सामाजिक, भावनात्मक र मनोवैज्ञानिक कारणहरूको संयोगले भएको हो । देशभर देखिएको जेनजी आन्दोलनले धेरै युवाको आत्मविश्वास, भविष्यप्रतिको योजना र मनोवैज्ञानिक धरातलमा गहिरो असर पारेको छ । 

आन्दोलनका क्रममा देखिएको तनाव, सामाजिक मिडियामा लगातार देखिएको उत्तेजना र अनिश्चितताको वातावरणले युवाहरूमा भय, झिनझिनाहट, अस्थिरता, छटपटी र निन्द्रामा समस्या ल्याइदिएको छ । त्यससगै बाढी–पहिरो जस्ता विपद्को आघातले प्रभावित क्षेत्रका मानिसहरूमा मात्र होइन, प्रत्यक्ष रूपमा नछुने तर समाचार र दृश्यका माध्यमबाट मनोवैज्ञानिक असर पाउनेहरूमा समेत डर, चिन्ता, असुरक्षा र भविष्यप्रतिको निराशा बढाएको छ । 

चाडपर्वका बेला हुने आर्थिक दबाब, महंगी, बेरोजगारी र रोजगारीको अनिश्चितताले थप तनाव सिर्जना गरेको छ । यी सबै घटनाहरूले मानिसहरूलाई भावनात्मक रूपमा कमजोर बनाइरहेको छ, र त्यसको प्रत्यक्ष असर मानसिक स्वास्थ्य सेवामा पुग्ने बिरामीको संख्यामा देखिएको छ ।

यस्तो समस्याबाट कुन उमेर समूह र कुन लिङ्ग सबैभन्दा बढी प्रभावित देखिएका छन् ?

वर्तमान अवस्थामा सबैभन्दा धेरै प्रभावित हुने उमेर समूह २० देखि ३० वर्षका युवा हुन् । कारण सरल छ, यो उमेर जीवनको आधार बनाउने समय हो । एकातिर पढाइको दवाब, अर्कोतिर रोजगारको खोजी, केहीमा वैदेशिक रोजगारीको तयारी, आर्थिक दायित्व, र सामाजिक अपेक्षा, यी सबैले युवाहरूलाई निरन्तर दबाबमा राखिरहेको छ । जुन उमेरमा आत्मविश्वास, सपना र योजना सबैभन्दा सक्रिय हुनुपर्छ, त्यही समयमा अनिश्चितता बढ्दा मानसिक स्वास्थ्य सबैभन्दा चाडो प्रभावित हुन्छ । 

लिङ्गका हिसाबले हेर्दा महिलामा समस्या संख्या अलि बढी देखिन्छ । महिलाले घर, परिवार र कामको दुबै जिम्मेवारी सम्हाल्नुपर्ने, हर्मोनका कारणले तनाव फरक पर्ने, समाजको ‘सहनशील हुनुपर्छ’ भन्ने अपेक्षाले भावनालाई भित्रै दबाउने परिस्थिति व्यतित गर्नुपर्ने अनि समस्या खुलाएर बोल्दा धेरैजसोले ‘ठीक हुन्छ’ भन्दै हल्का रूपमा लिनु, यी सबै कारणले महिलामा ‘एञ्जाइटी’, ‘प्यानिक’, तनाव र ‘डिप्रेसन’ अपेक्षाकृत बढी देखिन्छ । पुरूषहरूमा पनि समस्या धेरै देखिन्छ, तर उनीहरू खुलस्त व्यक्त नगर्ने भएकाले धेरैजसो ढिलो उपचारका लागि आउने गर्छन्, जसले समस्या गहिरो बनिदिन्छ ।

‘मनोचिकित्सकोमा गएपछि औषधि खानैपर्छ’ भन्ने भ्रम कत्तिको गलत छ ? के प्रत्येक बिरामीलाई औषधि अनिवार्य हुन्छ ?

मनोचिकित्स (साइकेट्रिस्ट) कहाँ गएपछि औषधि खानैपर्छ भन्ने भ्रम धेरैमा पाइन्छ, तर त्यो एकदमै गलत कुरा हो । मानसिक स्वास्थ्यका सबै बिरामीलाई औषधि आवश्यक हुँदैन । धेरैलाई सामान्य परामर्श, मनोचिकित्सा, जीवनशैलीमा सुधार र नियमित भावनात्मक सहयोगले पनि ठूलो परिवर्तन ल्याइदिन्छ । 

साइकेट्रिस्ट कहाँ गएको मात्रले ‘रोग ट्याग’ लाग्दैन, न त ‘आजीवन औषधि’ खानुपर्छ  औषधि आवश्यक परेका मामलाहरू पनि धेरैजसो अस्थायी हुन्छन् र ६ देखि ९ महिनामा क्रमशः घटाउदै बन्द गर्न सकिन्छ । आधुनिक औषधिहरू सुरक्षित र वैज्ञानिक रूपमा प्रमाणित छन्, तर चिकित्सकले नदिएसम्म आफूखुशी औषधि प्रयोग गर्नु हानिकारक हुन सक्छ । मनोचिकित्सामा सबैभन्दा ठूलो उपचार भनेको समस्या बेलैमा बुझेर, सही ठाउँमा गएर, सही तरिकाले भावनालाई ठीक रूपमा व्यवस्थापन गर्नु हो । 

उपचार ढिलो गर्दा के–कस्ता गम्भीर समस्या आउन सक्छन् ?

मानसिक समस्याको प्रारम्भिक संकेत सामान्य तनाव वा अनिन्द्रा भएर सुरू हुन्छ, तर मानिसहरूले यसलाई बेवास्ता गर्दा समस्या क्रमशः जटिल रूप लिन थाल्छ । ढिलो उपचारले सामान्य चिन्तालाई एन्जाइटी डिसअर्डरमा, हल्का तनावलाई गहिरो डिप्रेसनमा, साधारण बेचैनीलाई अत्यधिक त्रास र अनियन्त्रित तनावलाई मनोविकारसम्म पु/र्याउन सक्छ । समस्या चाँडै नसम्हालिँदा सम्बन्धहरू बिग्रने, काम–पढाइमा ध्यान नलाग्ने, व्यवहार असामान्य देखिने, अकारण रिस उठ्ने, सामाजिक रूपमा अलग हुने, र आत्महत्या सोच्नसम्म पुग्ने अवस्था पनि देखिएको छ ।

नेपालमा धेरै बिरामी केवल ‘समयले निको हुन्छ’ भन्दै घरमै बस्छन्, तर मनोस्वास्थ्यका अधिकांश समस्यामा ‘समयले होइन, उपचारले’ मात्र समाधान दिन्छ । ढिलो परामर्श लिदा उपचार अवधि लामो हुने, औषधि आवश्यक पर्ने सम्भावना बढ्ने, र दैनिकीमा ठूलो अवरोध आउने हुनाले, मानसिक स्वास्थ्यमा समयमै उपचारको बाटो रोज्नु अत्यन्तै महत्वपूर्ण हुन्छ ।

पछिल्लो आन्दोलन र बेरोजगारीले युवामा कस्तो मनोसामाजिक असर पारिरहेको छ ?

पछिल्लो समय युवाहरूमा देखिएको मानसिक अस्थिरता केवल आन्दोलन वा बेरोजगारीसँगै सीमित छैन, बरू उनीहरूको भविष्यप्रतिको अनुभूति नै हल्लिएको छ । धेरै युवा विदेश जानका लागि राहदानी, स्वास्थ्य परीक्षण, फाइल, बैंक ग्यारेन्टीसम्म पूरा गरिसकेका थिए । तर आन्दोलन र नीतिगत अनिश्चितताले हजारौं युवाको योजना स्थगित भयो । जसले उनीहरूमा निराशा, आक्रोश, तनाव, र ‘अब के गर्ने ?’ भन्ने असुरक्षित भावना जन्माएको छ । 

केही युवाले घरमा आर्थिक दवाब झेलिरहेकाले थप चिन्तित छन् । धेरैमा ‘एडजस्टमेन्ट डिसअर्डर’ (समायोजन विकार) देखिएको छ, जसमा व्यक्तिले अचानक बदलिएका परिस्थितिसँग आफूलाई मिलाउन गाह्रो मान्छ । उनीहरूमा निन्द्रा नआउने, बेचैनी बढ्ने, आत्मग्लानि, डर, छटपटी, र भविष्यप्रतिको निराशा जस्ता लक्षण धेरै देखिन्छन् । युवाहरूका लागि ठूलो चुनौती भनेको समस्या बोलेर व्यक्त गर्न नचाहने, आफन्त तथा साथीभाइसँगं आफूमा भएको समस्याको बारेमा खुलेर कुराकानी गर्न नसक्ने, र समाजले ‘ठूलै कुरा हो र ?’ भन्दै बेवास्ता गर्ने प्रवृत्ति हो । जसले अवस्थामा सुधारभन्दा बिग्रिने सम्भावना बढाउँछ ।

कस्तो अवस्थाको तनाव देखिंदा चिकित्सक कहाँ पुग्नु अत्यावश्यक हुन्छ ?

दैनिक जीवनमा तनाव हुनु सामान्य हो, काम, पढाइ, सम्बन्ध, आर्थिक दवाबले गर्दा मानिस तनावमा पर्न सक्छ । तर जब त्यही तनावले दैनिकीमै असर पार्न थाल्छ, तब त्यसलाई सामान्य तनाव भन्न मिल्दैन । यदि तनावका कारण काममा ध्यान नलाग्ने, निन्द्रा हराउने, खाना खाने बानी बिग्रने, चिडचिडोपन बढ्ने, सामाजिक सम्पर्क कम हुन थाल्ने, परिवारसँग व्यवहार बिग्रने, वा सधैं निराश महसुस हुने अवस्था आउँछ भने तुरून्तै चिकित्सक वा परामर्शदाता कहाँ जानुपर्छ ।

तनावलाई हाँसोले छोपेर, वा ‘सहनुपर्छ’ भन्ने सामाजिक मान्यतामा बन्धिएर घरभित्रै राखिरहनु अत्यन्तै हानिकारक हुन्छ । मनोस्वास्थ्यमा समस्या देखिएपछि चिकित्सक कहाँ जानु कमजोरी होइन, बलियो निर्णय हो ।

पछिल्लो समयमा मानिसहरूमा बढ्दो मानसिक समस्या कम गर्न स्थानीय तह वा सामुदायिक संस्थाले के–कस्ता भूमिका खेल्न सक्छन् ?

मानसिक स्वास्थ्य सेवा नेपालमा अझै सबै ठाउँमा समान रूपमा उपलब्ध छैन । धेरै ठाउँमा विशेषज्ञ पुग्न सक्दैनन्, त्यसैले समुदायस्तरमै प्रभावकारी संरचना आवश्यक हुन्छ । स्थानीय तहले महिला स्वास्थ्य स्वयंसेविकालाई आधारभूत मानसिक स्वास्थ्य तालिम दिनु सबैभन्दा प्रभावकारी उपाय हो, किनकि उनीहरू समुदायको पहिलो ढोका हुन् । 

स्वास्थ्य चौकीहरूमा नियमित परामर्श कक्षा सञ्चालन गर्न, जोखिम समूह (महिला, बालबालिका, वृद्ध, विपद्का पीडित) पहिचान गरेर पुनः जाँच गर्न, विद्यालय तथा कलेजमा मानसिक स्वास्थ्य अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्न अत्यावश्यक छ । त्यस्तै, स्थानीय तहले मनोस्वास्थ्य–मैत्री वातावरण बनाउन मानसिक स्वास्थ्य सहायता कक्ष, सामुदायिक संवाद कार्यक्रम र सचेतना अभियान सञ्चालन गर्न सक्छ । मानसिक समस्या शारीरिक रोग जस्तै सामान्य हुन्छ भन्ने बुझाउन सकिए मात्र समुदायमा डर, लाज र गलत धारणाहरू कम हुन्छन ।

मानसिक स्वास्थ्य सन्तुलनका लागि कस्तो जीवनशैली सबैभन्दा प्रभावकारी हुन्छ ?

मानसिक स्वास्थ्य सुधार केवल औषधिले मात्र सम्भव हुँदैन—जीवनशैली नै मनको स्थिरता बनाउने मुख्य आधार हो । नियमित सुत्ने र उठ्ने समय निर्धारण गर्नु, राति अबेर ननिदाउने बानी बसाल्नु, खानपानमा सन्तुलन राख्नु—विशेष गरी बेलुकामा हल्का खाने, प्रशोधित, चिल्लो–मीठो पदार्थ कम गर्ने, र प्रशस्त पानी पिउने आदतले मानसिक स्वास्थ्यमा महत्वपूर्ण सुधार ल्याउछ । 
दैनिक १५–२० मिनेटको हल्का व्यायाम वा हिडाइले शरीरमा तनाव घटाउने हर्मोन कम गर्छ र मनोदशालाई सन्तुलन गर्ने हर्मोन सक्रिय बनाइदिन्छ । 

मनमा आएको बोझ मनमै नथुन्ने, नजिकका मानिससँग कुराकानी गर्ने, आवश्यक परे परामर्श लिने, र सामाजिक सम्पर्क जोगाइराख्ने बानीले मानसिक स्वास्थ्यलाई सन्तुलित राख्छ । डिजिटल हाइजिन पनि महत्वपूर्ण हुन्छ । सामाजिक मिडियामा अत्यधिक समय बिताउदा तुलना, ईष्र्या, डर र निराशा बढ्ने भएकाले यसको प्रयोगमा नियन्त्रण अनिवार्य छ ।

View : 374

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved