नेपालको कम्युनिष्ट आन्दोलनमा भित्रिएका असंख्य विसंगति र विकृतिको स्रोत र त्यसलाई संगठन र व्यक्तिको सुक्ष्म ढंगले विश्लेषण नगरी अबको गन्तब्य कम्युनिष्ट आन्दोलनले पहिचान गर्न सक्दैन । तिनै यथावत विसंगति र विकृतिभित्र अल्मलिएको कम्युनिष्ट आन्दोलन २०८२ भाद्र २३ र २४को जेनजीको नामबाट भएको हिंसात्मक आन्दोलनले विघटनको संघारमा पुगेको छ । सबै पुराना घटनालाई आत्मसात नगरी गरिएको स्वार्थपरक एकताले अहिलेको परिवर्तिक नेपाली जनताको आकांक्षाको संवोधन गर्न सक्दैन ।
नेपाली जनताले खोजेको भ्रष्टाचारमुक्त समाज र शून्य सहनशीलताको राज्य प्रणाली पारदर्शिता र झन्झटमुक्त प्रशासनिक सेवा र रोजगारी र समतामूलक न्यायप्रणाली हुन् । २०७२ को गणतान्त्रिक संविधान जारिपछिको शासन प्रणालीले यी सबैखाले अपराधलाई अन्त्य गर्नु पर्नेमा झन् संस्थागत गर्दै लग्यो ।
शासक ‘मालिक’ र पहुँचबिहीन वर्ग ‘नोकर’को रूपमा स्थापित हुने अवस्थाको सिर्जना भयो । नेपालको मूलधार भन्ने कम्युनिष्ट पार्टीहरू यिनै गलत प्रणाली संस्थागत गर्न व्यस्त रहे । जसले दलाल पुँजीवादी प्रणालीलाई संस्थागत ग-यो ।
राज्य प्रणालीभित्र विचौलिया प्रथा संस्थागत हुन पुुग्यो । शासन प्रणाली जनताप्रति जवाफदेही हुन सकेन र झन् झन् निरंकुश बन्दै गयो । आम जनताको असन्तुष्टिलाई बेवास्ता गर्दै दमन गर्ने शैलीमा राज्यका सबै प्रणाली सञ्चालन हुन पुगे ।
विचौलियाको सहयोग नलिइ जनताले राज्यबाट प्राप्त गर्ने सेवा सुविधाबाट बञ्चित हुने अवस्थाको सिर्जना भयो । यी यावत विकृति र विसंगतिविरूद्ध अहिलेको उपभोक्तावादी नवपुस्ताले भाद्र २३ गते विद्रोहको विगुल फुक्यो ।
यी मौकालाई सदुपयोग गर्दै पश्चिमा साम्राज्यवादले सबैखाले स्वार्थ समूहलाई प्रयोग गरी राज्यका सबै प्रणाली ध्वस्त पार्ने काम ग-यो । जसले पुराना राजनीतिक दल र त्यसको नेतृत्वप्रति चरम असन्तोष पैदा गरेको छ । यही मौकालाई सदुपयोग गर्दै नेपालको शासन प्रणाली ४८ घण्टाभित्र ध्वस्त भएको तर गन्तब्य दिशाबिहीन छ । यस्तो अवस्थामा कम्युनिष्ट पार्टीभित्र स्थापित गरिएका सबै प्रणाली उपयोगबिहीन हुन पुगेका छन् । कम्युनिष्ट पार्टीहरूको शासनसत्ता सञ्चालन गर्ने विधि असफल भएको छ ।
२०७२ पछिको शासन सञ्चालन र पार्टी सञ्चालन प्रक्रियाको निर्मम ढंगले समीक्षा नगरी आगामी समाजवादको बाटो तय हुन सक्दैन । नेपाली समाजको असन्तुष्टिलाई ठीक ढंगले संवोधन गर्न र सबै प्रणालीभित्र रूपान्तरण गर्न अहिलेको पहिलो आवश्यकता नै सबै पार्टीभित्र रहेका मूल नेताको कार्यकारी भूमिकाबाट विदाइ र नयाँ नेतृत्वको स्थापना हो ।
जबसम्म मूल नेतृत्वलाई कार्यकारी भूमिकाबाट बिदाइ गरिंदैन तबसम्म अहिलेसम्म भए गरेको सकारात्मक र नकारात्मक पक्षको समीक्षा हुन सक्दैन । तसर्थ मूल नेतृत्वको विदाइ र नयाँ नेतृत्वको स्थापना अहिलेको प्रमुख कार्यभार हो ।
मूल नेतृत्वलाई कार्यकारी. भूमिकाबाट बिदाइ गरिसकेपछि कम्युनिष्ट पार्टीभित्र मौलाएका तमाम विकृति र विसंगतिको निर्मम समीक्षा र पार्टी सञ्चालनका विधि र प्रक्रियाको रूपान्तरण गर्ने हो । विधि प्रक्रियामा रूपान्तरण गर्दै सबै नेता र कार्यकर्ताको जीवनशैली व्यवहारमा रूपान्तरण गर्नु अर्को कार्यभार हो ।
राजनीतिलाई पेशाको रूपमा प्रयोग गर्दा मौलाएको भ्रष्टाचार र धनवादलाई अन्त्य गर्नु, सबै नेता कार्यकर्तालाई उत्पादन प्रणालीमा जोड्दै आत्मनिर्भर बनाउने अभियानलाई अँन्दोलनको रूपमा केन्द्रदेखि वडा तहसम्म पु¥याउने योजना बनाएर कार्यान्वयनमा लैजानु पर्छ । तब मात्रै राजनीतिलाई पेशा होइन सेवाको रूपमा स्थापित गर्न सकिन्छ ।
अहिलेको दोस्रो कार्यभार उत्पादन प्रणालीस“ग जोडिएको संगठन प्रणालीको विकास हो । यी कार्यभार पूरा गरे मात्र समाजवादमा प्रवेश गर्ने आधार तयार गर्न सकिन्छ ।
समृद्ध नेपाल सुखी नेपालीको नाराले मात्रै देश समृद्ध हुन सक्दैन । सबैखाले साम्राज्यवादी वित्तीय संस्था र सरकारको आर्थिक परनिर्भरताको अन्त्य गर्न वैकल्पिक विश्वका वित्तीय संस्था र विभिन्न फोरमको सहकार्यलाई बढवा दिने नीति तय गर्नुपर्छ । कृषि उत्पादन, प्रशोधन, पर्यटन र जलस्रोतलाई गुरुयोजनाको रूपमा सञ्चालन गर्ने व्यवहारिक र परिणाममुखी नीति कार्य योजना र गतिशीलता समयसापेक्ष, जनउत्तरदायी कर्मचारी प्रणालीको विकास गर्नेतर्फ ठोस कदम चाल्नुपर्छ ।
शिक्षा, स्वास्थ्य र रोजगारी नेपाली जनताको मौलिक हक (नैसर्गिक) अधिकार हो । शिक्षा, स्वास्थ्यमा मौलाएको माफियाकरणको अन्त्य हुने प्रत्याभूतिको ग्यारेन्टी गरी व्यापक रूपमा रोजगारी सिर्जना गर्ने व्यावहारिक दृष्टिकोण कानुन र व्यवहारमा रूपमान्तरण अनिवार्य छ ।
देशभित्र सञ्चालित पश्चिमा अनुदानमा चलेका सामाजिक संंस्था (एनजीओ र आइनजीओ) माथि कडा नियन्त्रण गर्नुपर्छ । ३० प्रतिशत सञ्चालकको लगानी भएका गरेका सामाजिक संस्थाहरूलाई सशर्त विदेशी अनुदान लिन पाउने व्यवस्थाको ग्यारेन्टी नगर्ने हो भने नव उदारवादको पञ्जामा देश पुग्ने छ । यी गम्भीर विषयको समीक्षा र त्यस अनुरूपको नीति तय गर्नु यो पहिलो पुस्ताको कार्यकारी नेतृत्व असमक्ष भैसकेको छ ।
इतिहासको योगदानको वर्णन गरेर अब भविष्यको बाटो तय हुन सक्दैन भन्ने ठहर नेकपा (एकीकृत समाजवादी) भित्रको ठूलो पङ्ति रहेको छ । तसर्थ अहिलेको पहिलो आवश्यकता कम्युनिष्ट आन्दोलनको पुनर्गठन हो । सबैखाले क्रान्तिकारी एवं देशभक्त राष्ट्रवादी जनसमुदायलाई यो पुनर्गठनको महान अभियानमा संलग्न हुन आह्वान गर्दछौं । यो बाटो कठिन छ । तर, यो नै समयको माग हो । क्रान्तिकारीहरू कठिन बाटो हिंड्न डराउँदैनन् ।
हामी देशको स्वाधिनता, सार्वभौमसत्ता, स्वतन्त्रता र समतामूलक राज्यप्रणालीको निर्माण गर्दै समाजवाद निर्माण गर्ने अभियानमा अगाडि बढ्न चाहन्छौं । मबाट हामी र मेरोबाट हाम्रो भन्ने भावनालाई व्यवहारबाटै पुष्टि गर्न चाहन्छौं ।
शक्ति, पद र पैसाले आफ्नो वर्चश्व सर्वशालीन हुन सक्दैन भन्ने सन्देश भाद्र २३ र २४ को आन्दोलनले पुष्टि गरिसकेको छ । यो तथ्यलाई आत्मसात गरेर अगाडिको बाटो तय गर्न कम्युनिष्ट पार्टीको पुनर्गठन पहिलो अनिवार्य सर्त हो भन्ने हाम्रो ठम्याइ हो । दोस्रो हामीभित्र बढेको गलत प्रवृत्ति र संगठनात्मक प्रणालीभित्रको विकृति र विसंगति हटाउँदै रूपान्तरित हुनु दोस्रो कार्यभार हो ।
यी दुई कार्यभार पूरा गरेपछि मात्र बृहद् कम्युनिष्ट एकता अहिलेको आवश्यकता हो । यी दुई कार्यभार पूरा नगरी गरिएका एकता स्वार्थकेन्द्रित हुन्छन् । विगतमा भएका एकताले यो कुरालाई पुष्टि गरिसकेको छ । यी यावत तथ्यहरूलाई बेवास्ता गर्दै समयले विस्थापित गरिसकेका पहिलो पुस्ताका पुराना नेताहरू फोहोरको कन्टेनरमा जम्मा गरेर गरिएको एकता देश जनता र कम्युनिष्ट आन्दोलनको रूपान्तरण गर्न गरिएको एकता होइन भन्ने कुरामा हामी प्रष्ट हौं ।
अहिले ९–१० पार्टी भेला गरेर गरिएको एकता र त्यसमा देखिएको भिडतन्त्र कमिटी प्रणालीले नै आन्दोलनको रक्षा गर्न सक्दैन र देशलाई विदेशी हस्तक्षेपबाट मुक्त गर्दै स्वाधीन र सम्पन्न मुलुक बनाउने दिशातर्फ न अघि बढ्न सक्छ ।
यो दक्षिणीपन्थी अवसरवादीतर्फ अग्रसर भएको एकताले कम्युनिष्ट आन्दोलनलाई विसर्जनको बाटोतर्फ लैजाने खतरा बढेको छ । तसर्थ पुनर्गठन रूपान्तरण र बृहद् कम्युनिष्ट क्रान्तिकारीहरूको एकता अहिलेको आवश्यकता हो । यो महान अभियान सफल पार्न सबै छरिएका क्रान्तिकारीहरू जुटौं ।
(हरि काफ्ले विघटित नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य हुन् ।)
View : 348
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved